त्रिवि सभा र कार्यदिशा

त्रिवि सभा र कार्यदिशा

नेपालको जेठो उच्च शिक्षाप्रदायक त्रिभुवन विश्वविद्यालयले ५७ वर्ष पार गरेको छ । देशले अंगीकार गरेको उच्च शिक्षा नीतिलाई व्यवस्थित गर्न त्रिविको महत्त्वपूर्ण भूमिका छ । नौवटा विश्वविद्यालय र उच्च शैक्षिक प्रतिष्ठानहरूको प्रतिनिधित्व यसैका उत्पादनहरूले नेतृत्व लिएका छन् । अहिले त्रिविका ६० आंगिक र १०८४ सम्बन्धन प्राप्त कलेज छन् । त्यही अनुपातमा ७,५०० को हाराहारीका शिक्षक र बराबर कर्मचारी रहेका छन् ।

त्रिविले ५७ वर्ष प्रवेशको क्रममा धेरै प्राज्ञिक निर्णयहरू गरेको छ । त्यसअनुुसार विश्वविद्यालयका केन्द्रीय विभागलाई उत्कृष्ट शैक्षिक तथा अनुुसन्धान केन्द्रको रूपमा विस्तार गर्ने नीति अवलम्बन गरेको छ । त्रिवि केन्द्रीय विभागमा अध्यापन गर्न न्यूनतम एम फिल्ड र पीएचडी अनिवार्य गर्ने नीतिसमेत लिएको छ । उच्च शिक्षा नीति बहुविश्वविद्यालयको प्रयोग र त्रिविको भावी कार्यदिशासहित त्रिविसभा सम्पन्न भएको छ, यो सुखद् पक्ष हो ।

नेतृत्वको परिभाषा व्याख्या गर्नु कठिन काम रहेछ । आफूलाई नेतृत्वमा परिभाषित गर्न उपकुलपतिलाई धौधौ परेको छ । आगामी दिनमा त्रिविको अध्ययन/अध्यापन गुणस्तरमा व्यापक सुधार गरी विश्व प्रतिस्पर्धी बनाउन त्यही किसिमको प्रविधियुक्त प्रणालीको विकासमा जोड दिएको हुनुपर्छ ।

शिक्षामा गुणस्तर निरन्तर कायम हुन सकोस् र त्रिविप्र्रदत्त शिक्षाको उत्पादन विश्व बजारमा बिक्न सकून् भनेरै सुधारका नीति कायम गर्न खोजिएको हो । यो नीति समयअनुकूल परिवर्तन हुँदै जानुपर्छ । पाठ्यक्रममा त्यहीअनुसार सुधार हुनुपर्छ । मेरो, हाम्रो र हामी सबैको त्रिवि भन्ने भावना जागृत हुनुपर्‍यो । त्रिविको स्वायत्तताप्रति सबैका ध्यान पुग्नुपर्‍यो । स्वायत्तता एकातिर काम कारबाही अर्कोतिर भएको छ, त्यो प्राज्ञिक स्वायत्तताको हो । व्यक्ति स्वायत्तता होइन । यहाँ गलत अर्थले बुझिन्छ । राजनीतिक प्रचण्डताले सीमा नाघेर त्रिवि थला परेको छ ।

त्रिवि सभा बस्छ, नेतृत्वलाई निर्देशन गर्छ, बजेट पास गर्छ, तर कार्यान्वयन गर्न दिँदैन । विशुद्ध परामर्शदाता बन्न सकोस् त्यो नभएर राजनीतिक हुक्के, बैठके र छाते लगेर थोपरिन्छ, अनि कहाँ खोजेर पाइन्छ, खोजेको प्रतिफल ? प्राज्ञिक उन्नयनको निम्ति नेतृत्वले बलिदानी गर्नैपर्छ, अन्यथा त्रिवि धरापमा परिरहन्छ । वर्तमान नेतृत्वबाट यो अपेक्षा गरेको छ शिक्षा क्षेत्रले ।



महाभूकम्पबाट करिब नौ अर्ब हाराहारीको नोक्सानी बेहोरेको त्रिवि सभाले बजेट, नीति तथा कार्यक्रम पास गरेको छ । सुदूरपश्चिमको छाउपडी गोठजस्तै छ, उपकुलपतिको कार्यालय । यस्तो गोठमा बसेर कसरी उच्च शिक्षा नीति बन्न सक्छ ? कतिपय आंगिक क्याम्पस, पुस्तकालय, प्राज्ञिक तथा प्रशासनिक केन्द्रहरूसमेतको यही हालत छ । त्रिविको भत्केका संरचना पुनर्निर्माणमा सरकारले खासै चासो दिएको छैन । गत वर्ष नै चार अर्बको प्रतिबद्धता गरेकोमा हालसम्म त्यो कार्यान्वयन भए÷नभएकोबारे कुनै जानकारी छैन ।

जीवनको ३५ वसन्त त्रिविमा बिताएका तीर्थ खनियाँको नेतृत्वमा छ त्रिवि यतिबेला । अहिले सहयोगी हातको असहयोगका कारण खुच्चिएर बस्नुपरेको छ उनलाई । त्रिविका अनुसन्धान केन्द्रलाई व्यवस्थित गर्न मात्र होइन, ऐतिहासिक कीर्तिपुर क्षेत्रलाई समेत अत्याधुनिक प्राविधियुक्त बनाउने सुरमा छन् उपकुलपति खनियाँ ।

शिक्षक र विद्यार्थीलाई कक्षाकोठामा अनिवार्य देख्न र परीक्षा प्रणालीमा व्यापक सुधार गरी दुई किसिमको परीक्षा प्रणालीको खारेजीको लागि आवश्यक कार्यमा जुटेको अवस्था छ । पूर्वाधार पुगेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विश्वविद्यालयसित सहसम्बन्धन नीतिलाई उच्च प्राथमिकतामा राख्न प्रतिबद्धताअनुसार त्रिवि नेतृत्व जुटेका छ । अंगीकार गरेका नीतिअनुरूप उच्चस्तरीय जनशक्ति उत्पादन गर्ने सम्बन्धन नीतिमा विगतका कमीकमजोरी केलाउँदै नयाँ सम्बन्धन नीति कार्यान्वयनको पहल पनि भइरहेको छ ।

उच्च शिक्षा सञ्चालनमा संस्थागत स्वायत्तता नीति कार्यान्वयन त्यत्तिकै जरुरी छ, जसले पूर्वाधार पुगेका कलेज उच्च तथा प्राविधिक शिक्षामा थप योगदान दिन सकून् । प्रभावकारी अनुगमन र मूल्यांकनमा थप कडाइ गरिनुपर्छ । फितलो अनुगमनले गतिलो प्रतिफल पाइन्न भन्नेमा नीति गहकिलो बनेको छ । शिक्षाको मूल्य र मान्यताप्रति उदासीन र अज्ञानताका कारण सुधारका संकेतहरू नदेखिएको विगतलाई वर्तमानले चुनौती दिएको र रणनीति तयार पार्नमा थप बल पुगेको छ । उच्च शिक्षा प्राथमिकता सूचीमा नपरेको कारण विश्वविद्यालय यो अवस्थामा गुज्रिएको हो ।

रूपान्तरित विश्व परिवेशमा शिक्षाको महत्त्व बुझी दिगो समाज निर्माणमा प्राविधिक ज्ञानको महत्त्वलाई गाउँगाउँसम्म पुर्‍याउने नीतिअनुरूप इन्जिनियरिङ, स्वास्थ्य तथा विज्ञानका क्षेत्रमा क्षमता विस्तार गराउन र सहरकेन्द्रित हुनबाट रोक्न त्रिवि नेतृत्व क्रियाशील छ । तर त्यसको कार्यान्वयनको लागि सरकार, स्थानीय प्रतिनिधि र ग्रामीण समाजको भूमिका महत्त्वपूर्ण हुन्छ ।

विश्वविद्यालय एक्लैले गर्न पनि सक्दैन, त्यसैले समृद्ध नेपालको परिकल्पना साकार पार्न उच्च शिक्षा नीतिलाई कार्यान्वयनको राष्ट्रिय प्राथमिकताको सूचीमा राख्नैपर्छ । प्राज्ञिक वर्चस्वमा मात्र यो सम्भव हुन्छ विश्वविद्यालय जस्ता प्राज्ञिक संस्थामा राजनीतिक व्यक्तिको भूमिकामाथि थप छलफल हुुनु जरुरी छ । तबमात्र मात्र देश, जनताले खोजेको उच्च शिक्षा प्राप्त गर्न सकिन्छ ।

ऐनमा स्वायत्तता र संगठित संस्थाको रूपमा दिए पनि यी निकायमा राज्यको यथेष्ट आर्थिक लगानी प्रत्याभूत नगरेसम्म स्वायत्तताको वास्तविक अर्थ रहन्न । ऐनकानुनले प्रत्याभूत गरेको स्वायत्ततालाई अक्षुण्ण राख्न, आर्थिक रूपमा सम्पन्न गराउन राज्यको लगानी तथा विश्वविद्यालय स्वयंले आयआर्जन गर्न सक्ने क्षेत्र, भौतिक चल-अचल सम्पत्ति नास नहुुने गरी उपयोग गर्न सक्नुपर्छ । कति दिनसम्म डोनर एजेन्सीका भरमा विश्वविद्यालय सञ्चालन गर्न सकिन्छ ?

भागबन्डाको राजनीतिका कारण त्रिवि थला परेको यथार्थ हो, तर त्रिविलाई सक्षम र सबल बनाउन नेतृत्वले राखेका प्रस्तावमा रजिस्ट्रार र रेक्टर सहयोगी बने भने हामीले चाहेको शिक्षा नीति लागू हुन सक्छ ।

सामाजिक रूपान्तरणमा शिक्षाको महत्त्वपूर्ण भूमिका रहन्छ । कुनै पनि देशको सम्पूर्ण विकासको मेरुदण्ड नै शिक्षा हो । तर यी उच्च शिक्षाका निकायलाई अवैधानिक गतिविधिले नियन्त्रण गर्न खोजिरहेको छ । आफूअनुकूल भए ठीक र नभए विरोधको रणक्षेत्रमा पुगेर त्रिवि नेतृत्वविरुद्ध उत्रिने असहिष्णु र अलोकतान्त्रिक तत्त्वले विश्वविद्यालय थला पारेको छ, तर यो विग्रहलाई निरुत्साहित पार्न नेतृत्वले अहं भूमिका खेल्नेछ ।

हाम्रा सैद्धान्तिक बाटो फरकफरक होला, तर ‘समय सुहाउँदो शिक्षा ' सबैको गन्तव्य हो । त्रिविको उन्नति हुने काममा उपकुलपतिलाई सबैले सघाउनुपर्छ, नेतृत्व त्रिविप्रतिकूल नीतिमा लाग्यो भने नियन्त्रण पनि गर्नुपर्छ, तर विरोधका नाममा विरोध मात्र गरेर उन्नति हुँदैन । भागबन्डाको राजनीतिका कारण त्रिवि थला परेको यथार्थ हो, तर त्रिविलाई सक्षम र सबल बनाउन नेतृत्वले राखेका प्रस्तावमा रजिस्ट्रार र रेक्टर सहयोगी बने भने हामीले चाहेको शिक्षा नीति लागू हुन सक्छ । निर्णय लिँदा सँगसँगै आउने जोखिम पनि नेतृत्वमा बसेका सबैले उठाउनुपर्छ ।

सहयात्री र सहयोगीलाई विश्वासमा लिएर काम गर्ने निर्णयका साथ उपकुलपतिले पदभार ग्रहण गरेको हुन्छ, अन्य पदाधिकारीले पनि नेतृत्वलाई सहयोग गर्ने कसम खाएको हुन्छ, तर नेतृत्वमा पुगेपछि सैद्धान्तिक अडान राख्नुहुन्न । नेतृत्वलाई साथ दिएर त्रिविलाई समयसुहाउँदो उच्च शिक्षालयको रूपमा विकास गर्न एकजुट हुनुपर्छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.