स्वाभिमान र समृद्धि
मुलुक सधैँको राजनीतिक अस्थिरता, द्वन्द्व र वैदेशिक चलखेलबाट मुक्त भई समृद्धिको मार्गमा अघि बढ्दै छ । वर्षौँको अस्थिरता संविधानले समाप्त गरेको छ । संविधानको मूल मर्मविपरीतका राजनीतिक सिद्धान्त बोकेका राप्रपा नेपाल र राष्ट्रिय जनमोर्चाहरूले पनि यो संविधानलाई आलोचनात्मक समर्थन गरी सहयोग गरेको अवस्था छ ।
अनेकौँ विदेशी चलखेललाई चिरेर ९० प्रतिशतभन्दा बढी मतका साथ यो संविधान पारित भयो, जुन विश्वमै एउटा दुर्लभ घटना हो । संविधान जारी भएपछि विनाशकारी भूकम्पले थिलथिलो भएका नेपालीले पनि केही सन्तुष्टीको सास फेरे— अब त देश समृद्धि र विकासको पथमा लम्कने आशामा । विडम्बना, भारतले विरोधमात्र गरेन, अमानवीय र अशोभनीय नाकाबन्दी लगायो केही मधेसी दलको असन्तुष्टिका नाममा । सरकारले मधेसी दलसँग वार्ता गरी संविधानका केही बुँदामा संशोधन पनि गर्यो, तैपनि भारतले संविधानको विरोध गरिरह्यो । स्वाभिमानी नेपाली जनताले त्यसको प्रतिकार गरे, अन्ततः नेपाली स्वाभिमानले जित्यो, भारत झुक्यो, नाकाबन्दी खुल्यो । केपी ओली नेतृत्वको सरकार धन्यवादको पात्र बन्यो, नेपाली राष्ट्रवाद बचाएकोमा ।
ओली सरकारले मित्रराष्ट्र चीनसँग पारवहन र व्यापार सम्झौता गरी एउटा इतिहास कायम गर्यो, जसले नेपाललाई ल्यान्ड लक राज्यबाट ल्यान्डलिंकड राज्य बनायो । मित्रराष्ट्र चीनका बन्दरगाह पनि प्रयोग गर्न सक्ने बनायो । हाम्रो बन्द व्यापार र दिनचर्यामा भारतको पूर्ण पकडलाई विस्थापित गरायो । त्यतिमात्र होइन, ठूला जलविद्युत् आयोजना, केरुङ काठमाडौँ, पोखरा, लुम्बिनी जोडिने रेलमार्ग निर्माण, नेपाल, चीन करमुक्त व्यापार जस्ता दीर्घकालीन महका आयोजना गर्ने भनी सम्झौता भए । जसले गर्दा नेपालीका मनमा विकास र समृद्धि सम्भव छ, भनी आशा र विश्वास पलायो ।
जनकल्याणमा आधारित भई ओली सरकारले समृद्धिको सपना र खाकासहितको बजेट ल्यायो अनि पहिलोपटक नेपालीबीच विकास र समृद्धिको बारेमा चर्चा-परिचर्चा र बहस सुरु भयो, एउटा सकारात्मक र सुखद् परिवेशको श्रीगणेश भयो । प्रधानमन्त्री केपी ओली र उनको सरकार लोकप्रियताको शिखरमा पुगे ।
नेपाल र मित्रराष्ट्र चीनबीचको सम्बन्ध देखेर षड्यन्त्रपूर्ण रूपमा गणतन्त्र, धर्म निरपेक्षता र संघीयता नेपालको संविधानमा कायम गर्न सफल अमेरिकासहितका युरोपेली संगठनका राष्ट्र र दक्षिणको छिमेकी भारत जो कहिल्यै नेपाल र नेपालीको मित्र भएन, उनीहरूलाई छटपटी भयो— नेपाललाई सधैँ अस्थिर र गरिब बनाई छिन्नभिन्न गरी तिब्बतलाई मित्रराष्ट्र चीनबाट अलग गर्ने योजना असफल हुने देखेर । त्यसपछि सुरु भयो भारतको आडमा पश्चिमा राष्ट्रको ओली सरकारलाई पदच्युत गर्ने खेल ।
ओली सरकारलाई पदच्युत गरी मित्रराष्ट्र चीनसँग भएका सबै सम्झौता र समृद्धिको सपना र खाकासहितको हालको बजेट कार्यान्वयन हुन नदिन एउटा बृहत् षड्यन्त्रको तानाबाना बुनियो । राष्ट्रघाती मधेसवादी दल त छँदै थिए, आफैँले बढाएको, पढाएको, हुर्काएको र जनयुद्धको नाममा अस्थिरता फैलाउन पठाएको दल माओवादी केन्द्र र यसका प्रमुख नेतालाई प्रधानमन्त्री छानियो र उनको सहयात्रीका रूपमा बीपीजस्तो राष्ट्रप्रेमीले हुर्काई बढाएको पार्टी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई छानियो । मधेसवादी दलको सहयोग उनीहरूलाई प्राप्त छ ।
नेपाललाई सदाको लागि अस्थिर, गरिब र गुलाम बनाउने छिमेकीको स्वार्थले जितेको छ । के हामी स्वाभिमानी नेपालीले यसैलाई शिरोधार्य गरेर बसिरहने कि देशलाई कसैको इशारामा नचल्ने बनाउन कम्मर कस्ने ?
यसले विदेशी प्रभुको इशारा चल्दैन भन्ने प्रचण्डलाई विश्वास गर्ने आधार समाप्त पारिदिएको छ । नेपाललाई सदाको लागि अस्थिर, गरिब र गुलाम बनाउने छिमेकीको स्वार्थले जितेको छ । के हामी स्वाभिमानी नेपालीले यसैलाई शिरोधार्य गरेर बसिरहने कि देशलाई कसैको इशारामा नचल्ने बनाउन कम्मर कस्ने ?
बीपीको आदर्श र सिद्धान्त मान्ने राष्ट्रभक्त कांग्रेसका रामचन्द्र पौडेल, शशांक कोइराला, पीएल सिंह, प्रकाश कोइराला, रामबाबु प्रसाई, देवेन्द्र नेपाली जस्ता नेता तथा कार्यकर्ताले यसको जवाफ माग्न सक्नुपर्छ, अन्यथा नेपाल कहिल्यै पनि स्वाभिमानी, स्थिर, विकसित र समृद्ध राष्ट्र बन्न सक्दैन ।