के बीपी भारतपरस्त थिए त ?

के बीपी भारतपरस्त  थिए त  ?

अन्नपूर्ण पोस्ट्को गत साउन ८ गतेको परिशिष्टांक ‘फुर्सद'मा ‘बीपीका तीन राजनीतिक घुम्ती' शीर्षकको लेख छापियो । लेखमा बीपी कोइरालाको नेपाली राष्ट्रियताको अवधारणाको क्रमविकासको चर्चा गरिएको छ । कोइराला भारतीयबाट प्रो–भारतीय, प्रो–नेपाली हुँदै पूर्ण नेपाली बन्न पुगेको कुरालाई विभिन्न तथ्यको सहायताले पुष्टि गर्न खोजिएको छ । तर, लेखमा भएका विरोधाभाषपूर्ण तर्कहरूले अन्यथा पुष्टि गर्न खोजेको भान हुन्छ ।

१. भनिएको छ, ‘२००७ सालभन्दा अघिसम्म विप्र कोइरालाको नेपालसम्बन्धी ज्ञान त्यतिसारो देखिँदैन । उनलाई के लागेको थियो भने ब्रिटिस शासनको अधीनमा रहेका ५ वा ६ सय भारतीय राज्यहरूसरह नेपाल पनि यौटा स्वायत्त भारतीय राज्य थियो ।' यो भनालाई पुष्टि गर्न उनको जन्म, शिक्षादीक्षालगायत सबै राजनीतिक संस्कार भारतमै भएको तथ्य अघि सारिएको छ ।

प्रमाणका रूपमा उनका दाजु मातृकाप्रसादको भनाइलाई उद्धृत गर्दै बीपीको विसं २००३ सम्म परिवारजनलाई भेटघाट गर्न र छुट्टी मनाउन आउनेबाहेक नेपालसँग कुनै भावनात्मक सम्बन्ध थिएन भनेर जिकिर गरिएको छ । मातृकाकै अर्को भनाइ छ, ‘विश्वेश्वर कोइराला र मेरो फरक के हो भने उनी ज्यादाजसो भारतीय भूमिमा रहे र उनको सोचाइ पनि कहिलेकाहीँ त्यही पृष्ठभूमिमा आधारित रह्यो ।' थप प्रमाणका लागि कोइरालाले आत्मवृत्तान्तमा आफूहरू भारतीय स्वतन्त्रता आन्दोलनको दौरानमा हुर्केकाले त्यसको प्रभाव परेको भनेर बताएको उल्लेख गरिएको छ । लेखको निष्कर्ष छ, कोइराला व्यक्तिगत रूपले नेपालीभन्दा बढी आफूलाई भारतीय भएको अनुभव गर्थे ।

तर ‘नेपाली राष्ट्रिय कांग्रेसको स्थापनाकालसम्म नेपालको स्वतन्त्र र सार्वभौम राष्ट्रको हैसियतप्रति विप्र कोइराला अनभिज्ञ नै थिए भन्ने देखिन्छ' भन्ने वाक्यले अर्को ठाउँमा उल्लेख गरिएको तर्क ‘२००७ सालभन्दा अघिसम्म कोइरालालाई नेपालसम्बन्धी ज्ञान न्यून थियो' भन्ने तर्कको खण्डन गर्छ । स्मरणीय छ, नेपाली कांग्रेसको स्थापना विसं २००३ मा भएको थियो । लेखक फेरि थप्छन्, ‘सुवर्णशमशेर र उनको नेपाल प्रजातन्त्र कांग्रेसको समूहसँग एकीकरण भएपछि नै विप्रले नेपालको स्वतन्त्र राष्ट्रको हैसियतलाई बिस्तारै बुझ्न थालेको पाइन्छ । ‘एकीकरण विसं २००६ को चैतमा भएको हो । नेपाली राष्ट्रिय कांग्रेसकोे स्थापना हुनुअघि बनारसमा नेपाली छात्र संघको स्थापना भइसकेको थियो ।

त्यसका कार्यक्रममा कोइराला आमन्त्रित हुन्थे । कोइराला उपस्थित भएको एउटा त्यस्तै कार्यक्रममा काठमाडौंबाट जेल ब्रेक गरेर भागेका गणेशमान सिंह पनि पुगेका थिए । यसले बताउँछ, छात्र संघको स्थापनाको उद्देश्यसँग अनभिज्ञ रहेर कोइराला त्यहाँ तमासा हेर्नमात्रै गएका थिएनन् । काठमाडौंमा आन्दोलनको स्थितिबारे कोइराला जानकार थिएनन् भनेर सोच्नु तर्कपूर्ण हुँदैन । नेपाली राष्ट्रिय कांग्रेसको स्थापना स्वयंमा नेपालबारे अनभिज्ञताको परिणाम होइन । भेलाले जेलमा रहेका टंकप्रसाद आचार्यलाई सभापति र कोइरालालाई कार्यकारी सभापति चुनेको थियो । भेलामा उपस्थित सदस्यहरूले नेपालप्रति अनभिज्ञ व्यक्तिलाई नेता चुने भन्नु कति तर्कसंगत हुन्छ ?

२००३ सालको मजदुर हडतालमा सहभागी हुन बीपी विराटनगर आइपुगे । उनलाई त्यहाँबाट सरकारले गिरफ्तार गरी काठमाडौं ल्याएर थुन्यो । नेपाली राष्ट्रिय कांग्रेसले सत्याग्रह गर्‌यो । विसं २००५ मा कृष्णप्रसाद भट्टराई र केदारमान व्यथितको साथमा बीपी गुप्त भेषमा काठमाडौं आएर गतिविधि बढाउन लागे । बीपी गिरफ्तार भए, जेलमै २९ दिन अनशन बसे ।

यी सबै घटनाको पृष्ठभूमिमा बीपी नेपालप्रति अनभिज्ञ थिए भन्न मिल्दैन । त्यसमाथि बीपी कानुनका स्नातक पनि थिए । उनलाई पिता कृष्णप्रसाद कोइरालाले राणाहरूको विरोधमा गरेको प्रतिरोध र पाएको सजाय थाहा थिएन भन्नु पक्कै पनि जायज ठहर्दैन । जहाँसम्म मातृकाको भनाइको कुरा छ, त्यसलाई बीपी–मातृका द्वन्द्वको पृष्ठभूमिमा बुझ्नुपर्छ, न कि जस्ताको तस्तै ।

२. लेखमा उठाइएको दोस्रो तर्क छ– राष्ट्रियताबारे बीपीको द्वैध नीति । लेखकले बीपीको भारतवाद र भारतपरस्ततालाई पुष्टि गर्न तीनवटा प्रमाण दिन खोजेका छन् । पहिलो, बीपीले २००३ सालमा नेपालको स्वतन्त्रता आन्दोलनलाई सहयोग गर्न एउटा राजनीतिक संगठन स्थापना गर्न गरिएको अपिलमा परेको भाषा । दोस्रो, बीपीले नेपाली राष्ट्रिय कांग्रेसको स्थापना सम्मेलनमा उद्घाटन भाषणमा व्यक्त गरेको अंश । र तेस्रो, एकीकृत नेपाल–भारत वैदेशिक तथा सुरक्षा नीति ।

संगठन स्थापनाका लागि गरिएको अपिलमा परेको नेपाल भारतको अभिन्न अंग भन्ने अंशको सवालमा त्योभन्दा अगाडि र पछाडिको अंशलाई साथमा राखेर बुझ्नुपर्छ । लेखमै उद्धरण गरिएको अंश यस्तो छ, ‘आजको समयको माग नेपालमा जवाफदेही सरकारको स्थापना र भारतको स्वतन्त्रता प्राप्तिको बृहत् उद्देश्य लिएको नेपाललाई समेत समेटेर यौटा अखिल भारतीय संगठन बनोस् भन्ने छ... तर हामीले भारततर्फको जिम्मेवारी पनि भुल्नु हुँदैन । नेपाल भारतकै अभिन्न भाग हो ।' यो अंशबाट स्पष्ट हुन्छ, बीपी दुइवटा दायित्वको कुरा गर्छन्– एक मातृभूमि नेपालको र दोस्रो कर्मभूमि भारतप्रतिको । यसलाई अन्यथा लिनु हुँदैन । ‘नेपाल भारतको भाग' भन्ने सन्दर्भमा ‘भाग' शब्दको अर्थ बुझ्न अपिलमा परेको यो अंशको बृहत् सन्दर्भलाई उल्लेख गर्नु उपयुक्त हुन्छ–

‘स्वभावैले नेपालीहरूको पहिलो जिम्मेवारी आफ्नो राष्ट्रप्रति रहन्छ । किनभने त्यो जतिसुकै खराब भए पनि लाखौं नेपाली मानिसको राजनीतिक र सांस्कृतिक प्रेरणाको स्रोत त्यही नै हुन्छ । तर, हामीले भारततर्फको आफ्नो जिम्मेवारी पनि भुल्नु हुँदैन । नेपाल भारतकै अभिन्न भाग हो । तसर्थ, भारतीय माटोमा हुने जुनसुकै कुराबाट पनि त्यो पूर्ण रूपमा प्रभावित हुन्छ । त्यस वास्तविकताले गर्दा नेपालको समस्याको जग पनि भारत नै भएको छ ।'

‘अभिन्न भाग'को अर्थनिष्पत्ति गर्दा भूगोललाई बुझ्नु किमार्थ सही होइन । यो अभिन्नता प्रभाव क्षेत्रको अर्थमा हो । भारतमा राम्रो भए पनि नराम्रो भए पनि त्यसको प्रभाव नेपालमा पर्ने भएकाले नेपालको समस्याको समाधान भारतको समस्या समाधानसँग एकाकार भएको छ भन्ने आशय हो । नेपालको मुक्ति भारतीय मुक्तिबाट अभिन्न छैन, भारतमुक्त भयो भने त्यसको प्रभाव स्वभावतः नेपालमा परिहाल्छ । यस्तो सरल अर्थलाई अनर्थ लाग्ने गरी उद्धरण गर्नु र गलत तर्कको पुष्टि गर्न खोज्नु मनासिब ठहर्दैन । नेपाली राष्ट्रिय कांग्रेसको उद्घाटनमा प्रस्तुत भाषणमा परेको ‘नेपाल र भारत दुई देश होइनन्' भन्ने अंशको व्याख्या लगत्तैको वाक्यबाट प्राप्त हुन्छ ।

नेपाललाई जातीय, धार्मिक र आर्थिक दृष्टिबाट भारतवर्षको प्रमुख अंग भनिएको छ । स्मरणीय के छ भने ‘भारतवर्ष' भनेको भारतमात्र होइन । जसरी नेपाल भारतवर्षको प्रमुख अंग हो, भारत पनि भारतवर्षको अर्को अंग हो । त्यसपछिको अंशमा बीपीले नेपाल र भारतको अलग अस्तित्वलाई निरंकुश शासक र साम्राज्यवादीले भजाइराखेको तर्फ सतर्क हुनुपर्ने तर्क गरेका छन् ।

अलग देशको आन्तरिक मामिला अलग हुन्छ, यसमा परस्पर हस्तक्षेप गर्नु हुँदैन भनेर जनतालाई पनि विभाजित गर्दै उनीहरूले आआफ्नो स्वार्थ सिद्ध गरिरहेका छन् भन्ने बीपीको तर्क हो । हिन्दुस्तानको १८५७ को स्वतन्त्रता आन्दोलनलाई नेपाली र सिख सेनाद्वारा नियन्त्रण गराएजस्तै नेपाली स्वतन्त्रता आन्दोलनलाई भारतीय सेनाद्वारा दबाउने प्रयास हुनसक्ने भएकाले यो द्वैधतालाई चिरेर दुवै देशका जनता एकार्काको सहयोगमा जुट्नुपर्छ भन्ने आह्वान हो बीपीको ।

पार्टीको स्थापना सम्मेलनमा बीपीका मार्गदर्शक आचार्य जेबी कृपलानी, जयप्रकाश नारायणहरूले समेत नेपाल स्वतन्त्र राष्ट्र भनिए पनि यो देश सदासर्वदा भारतकै अविञ्छेद अंग रहेको धारण राखेका थिए भनेर गृष्मबहादुर देवकोटाको पुस्तकलाई सन्दर्भ दिइएको छ । पहिलो कुरा गृष्मबहादुरले उद्धरण गरेको अंश पूर्ण नभएको मात्र होइन उनीहरूको भनाइ जस्ताको तस्तै पनि होइन । दोस्रो, उल्लिखित महानुभावहरू बीपीको कुन स्तरको ‘मार्गदर्शक' हो भन्ने पनि बहस हुनु आवश्यक छ । उदाहरणका लागि जवाहरलाल नेहरूसँगको बीपीको सम्बन्धलाई नै लिन सकिन्छ ।

बीपीको नेपाल–भारत एकीकृत वैदेशिक तथा सुरक्षा नीतिको अवधारणालाई लेखकले टंकप्रसाद आचार्य र महेन्द्रको अवधारणाको कसीमा नेपालविरोधी पुष्टि गर्न खोजेका छन् । महेन्द्रले टंकप्रसादमार्फत नेपाल–भारत सम्बन्ध विशेष नरहेको स्पष्टीकरण दिए भन्ने दाबी लेखकको छ ।

 

लेखक थप्छन्, बीपी प्रधानमन्त्री हुँदा नेपाल–चीन सम्बन्धमा महत्त्वपूर्ण काम भए र नेपालले एक स्वाधीन राष्ट्रको भूमिका खेल्यो । नेहरूको नेपालसम्बन्धी वक्तव्यको बीपीले कडा प्रतिवाद गरेको पनि लेखकले उल्लेख गरेका छन् । लेखकले बीपीको वैदशिक सम्बन्धको चिन्तनमा आएको मोडको रूपमा यी घटनालाई स्मरण गरेका हुन् ।

२०११ सालसम्म विशेष सम्बन्धकोे दुहाई दिने बीपीको चिन्तनमा यस्तो कायाकल्प कसरी भयो, त्योचाहिँ लेखमा छुटेको छ । तर, लेखक बीपीको यो नीतिसँग पनि सन्तुष्ट छैनन् । २०४५ र ०४६ सालमा चीनसँग हतियार खरिद गरेको कारण नेपालले नाकाबन्दीमात्र बेहोर्नु परेन राजनीतिक व्यवस्था नै परिवर्तन भयो भनेर नेपाल–भारत सम्बन्ध विशेष रहेको कुरालाई बीपीले हेलचेक्य्राइँ गरेको तर्क गर्छन् लेखक, ‘कोइरालाले आफ्नो प्रधानमन्त्रित्व कालमा नेपाल–भारत सम्बन्धको संवेदनशीलतालाई तत्कालीन परिस्थिति र अन्तर्रष्ट्रिय परिवेशअनुरूप नहेरेर हलुका रूपमा लिएको देखिन्छ ।'

लेखकको यस्तो अन्तरविरोधी तर्क उदेकलाग्दो छ । बीपीले पाकिस्तान, इजरायललगायत पूर्वी युरोपका देशसँग सम्बन्ध विस्तार गरेर एउटा स्वायत्त र सार्वभौम राष्ट्रको परिचय दिएको कुरालाई फेरि लेखक ‘रोमान्सिकता'को ट्याग भिराइदिन्छन् । महेन्द्र–टंकप्रसादले गरेको त्यही कुरा जायज, बीपीले गरेको त्यस्तै कुरा कसरी रोमान्टिक हुन्छ ? बीपीको त्यही रोमान्टिक परराष्ट्रनीतिका कारण महेन्द्रले नेहरूको समर्थनमा प्रजातन्त्रको घाँटी निमोठ्न सकेकोे जिकिर देख्दा लेखकको विश्लेषण र निष्कर्ष अलमल्ल परेको प्रस्ट देखिन्छ ।

लेखक भन्छन्, ‘२००७ सालको परिवर्तनपछि नेपालको राजकाजमा भारतीय सल्लाहकारहरूको भूमिका, भारतीय सैनिक मिसनको स्थापना, नेपालको उत्तरी सिमानामा १७ वटा भारतीय सैनिक चेकपोस्टको स्थापनाजस्ता घटनाले बीपीलाई नेपालको भारतसँग विशेष सम्बन्ध रहेको बुझाइमा पुर्‌याएको बुझिन्छ । ‘पहिलो त भारतीय सैनिक मिसन नेपाल आउँदा बीपी सरकारमा थिएनन्, नेपाली कांग्रेसको अध्यक्षको हैसियतले मातृका प्रधानमन्त्री थिए । यो घटना २००८ सालको हो । नेपालको इतिहास र नेपाली कांग्रेसको सामान्य इतिहासमा चासो राख्ने हरेकलाई थाहा भएको कुरा हो, नेपाली कांग्रेसभित्र त्यो बेला मातृका र बीपीबीच द्वन्द्व चर्केको थियो ।

नेपाली कांग्रेसले बीपीलाई प्रधानमन्त्रीका रूपमा सिफारिस गरेको थियो तर त्रिभुवनले मातृकालाई रोजे । मातृका दरबार र दिल्लीलाई रिझाएर प्रधानमन्त्री पदमा रहिरहन चाहन्थे । केआई सिंहको विद्रोहको बहानामा भारतीय सैनिक मिसन नेपाल आउनु त्यसैको एउटा कडी थियो । लेखकको उक्त निष्कर्ष आफैंमा उदेकलाग्दो देखिन्छ । बीपी यति कच्चा थिए चिन्तनमा ?

३. २०२५ सालमा बीपी जेलमुक्त भएको घटनाको चर्चा परस्पर विरोधी तर्कहरूले घेरिएका छन् । जेठ २ गते आएको सुवर्णशमशेरको वक्तव्यमा राजासँग सहकार्य गर्ने बेहोरा उल्लेख थियो । गिरिजा कोइरालाको हवाला दिएर लेखक सुवर्णको यो वक्तव्य दिल्लीको इच्छाअनुसार भएको बताउँछन् । लेखकको तर्कअनुसार उँचो व्यक्तित्वका कारण बीपी दिल्लीको प्रयोजनका लागि उपयोगी साबित हुन सक्थे । सुवर्णको वक्तव्य आएको छ महिनापछि दिल्लीले कुन प्रयोजनका लागि बीपीलाई रिहा गराएको थियो स्पष्ट छैन । दिल्ली नेपाल दरबारसँग असन्तुष्ट भएको उत्तरी सीमाबाट भारतीय सुरक्षा दस्ता हटाएपछि हो । तर, यो घटना बीपी रिहा भएको एक वर्षपछि भएको थियो ।

भारतले आफ्नो असन्तुष्टि नाकाबन्दीमार्फत व्यक्त गर्‌यो । लेखकका अनुसार तीन वर्षपछि बीपीले आह्वान गरेको सशस्त्र संघर्ष भारतको सहयोगमा थियो । तर, लेखक भन्छन्, बीपीको त्यो निर्णय ‘सुवर्णशमशेरको मेलमिलापको वक्तव्यविपरीत' थियो । लेखकको अर्को जिकिर छ, ‘कोइराला सुवर्णमार्फत भारतबाट प्रयोग भएर सशस्त्र संघर्षलाई स्वीकार गर्न पुगेका थिए ।' सुवर्णबारेमा लेखक भन्छन्, ‘सुवर्णशमशेरको नेपाल प्रजातान्त्रिक कांग्रेस भारतीय सत्ताको सल्लाहमा खोलिएको थियो । यो पार्टी खोल्नुको प्रयोजन नै विप्रको पार्टीसँग एकीकरण गरी सशस्त्र आन्दोलनद्वारा राणाको सत्तालाई समाप्त गर्ने भन्ने थियो ।' कुनै पार्टीको स्थापनाको उद्देश्य नै यस्तो पनि हुन्छ ? सुवर्ण र बीपी समग्रमा भारतका गोटी नै बनिरहे आफ्नो राजनीतिक जीवनभर ?

निष्कर्ष

प्रस्तुत लेखको उद्देश्य बीपी वा सुवर्णको राजनीतिक जीवनको विश्लेषण गर्नु होइन । ‘बीपीका ३ राजनीतिक घुम्ती' शीर्षकको उपर्युल्लेखित लेखमा गरिएको तर्कहरूमा रहेको अन्तरविरोधको पर्यावलोकन गर्नुमात्र हो । बीपी भारतपरस्त वा ढुलमुले वा प्रखर राजनेता जेसुकै हुन सक्लान् । बीपी एक व्यक्ति हुन्, कुनै अमूक समूहले भनेजस्तो ‘महामानव' होइनन् । मानिसबाट गल्ती हुन्छ, बीपीले पनि गल्ती गरेका हुन सक्छन् । बीपीका चिन्तन त्रुटिपूर्ण देखिनु अनौठो होइन । तर एउटा कालखण्डको राजनीतिलाई विभिन्न प्रकारले प्रभावित पारेका व्यक्तिको व्यक्तित्वको चरित्र चित्रण गर्दा परस्पर अन्तरविरोधी र काल्पनिक तर्कहरूले महत्त्व पाउनु हुँदैन ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.