संस्कारका वैज्ञानिक आधार
ज्ञान शब्दको विशिष्ट अर्थका लागि प्रयोग हुने शब्द नै विज्ञान हो । विशिष्ट शाश्वत ज्ञानको संयोजन नै वेद हो । वेद तथा वेदांगले निर्दिष्ट गरेको व्यावहारिक पक्ष नै संस्कार हो । जो आआफ्नो धर्म र परम्पराअनुसार खारिँदै आएको छ ।
पुस्तौंपुस्ता हस्तान्तरण हुँदै आएको विशिष्ट ज्ञानको अवशेष नै संस्कारका रूपमा समाजमा स्थापित र प्रचलित छ ।
हाम्रा पूर्वीय दर्शन र उपनिषद्हरूमा मूर्त र अमूर्त कुरालाई बुझ्न अनेकौं प्रश्न उपस्थापन गरेर समाधानको प्रयास गरिएको छ । ती प्रयासमा अधिकांश विज्ञानसम्मत छन् । त्यस्ता केही प्रसंगलाई यहाँ प्रस्तुत गरिएको छ ।
श्रावणमा शिवपूजा किन ?
भगवान् शंकरको शिरमा चन्द्रमा सुशोभित भएको कारणले चन्द्रमौली, सितांशुशेखर आदि नामले पुकारिन्छ । श्रावण महिनामा सूर्य कर्कट राशिमा प्रवेश गर्ने भएको हुनाले चन्द्रमाको राशिमा सूर्यको प्रवेश भगवान् शिवको शिरमा विराजमान चन्द्रमा जल, शीतलता प्रदान गर्ने ग्रहको रूपमा मानिन्छ । भगवान् शंकरलाई जलधारा प्रिय छ ।
जलधारा, अभिषेक गर्नाले भगवान् शिव प्रसन्न हुनुहुन्छ । सम्पूर्ण सृष्टिको आधार शिव र शक्ति हुनुहुन्छ । सृष्टिको आरम्भ नै प्रकृति र पुरुषको महान् समागमले सृष्टि गतिशील छ । भगवान् शिवलाई जल, दूध, वेलपत्र विभिन्न प्रकारका फूलहरू अर्पण गरेर जीवनमा सुस्वास्थ्य, दीर्घायुका लागि कुशको जलले अभिषेक गरिन्छ ।
भगवान् शंकरले नै सम्पूर्ण सृष्टि, स्थिति र संहारकारक शक्तिलाई आफूभित्र निहित गर्नुभएको छ । जुन समयमा जुन विषयको आवश्यकता पर्दछ, त्यही त्रिगुणी शक्तिलाई प्रकट गरी सृष्टिको सवै कार्यलाई सम्पादन गर्नुहुन्छ । श्रावण महिनामै हरियोपन, वनस्पति, लता, गुल्महरूमा फल्ने फुल्ने, विकसित हुने ऊर्जा प्रकृतिमा उत्पन्न हुन्छ ।
भगवान् शिवको माटोको पार्थिवेश्वर शिवलिंग बनाएर महाअभिषेक गर्दा जीवनमा सुख, शान्ति, समृद्धि प्राप्त गर्न सकिन्छ । श्रावणभरि नै भगवान् शिवको पूजा, आराधना गरेर, ओम नमः शिवाय, महामृत्युञ्जय मन्त्र, रुद्राभिषेक गरेर वेदका मन्त्रहरूद्वारा भगवान् शिवको आरधना गरिन्छ ।
श्रावण महिनामा आकाशगंगा वर्षावृष्टिले प्रकृतिरूपी पार्वतीको अभिषेक भइरहेको हुन्छ । त्यसै क्रममा सृष्टि गतिशील हुन्छ । तसर्थ श्रावण महिनामा भगवान् शंकरको ज्योतिर्मय लिंग, पार्थिव लिंग, नर्वदेश्वर शंकरको अभिषेक गर्दा सवै प्रकारको कल्याण हुन्छ ।
स्नानबिना किन खानु हुँदैन ?
मानव शरीर षडचक्र नवद्वारले युक्त शरीर देवालय हो । यो देवालयलाई प्रतिदिन शुद्ध, पवित्र बनाउनुपर्छ । सम्पूर्ण कर्मका लागि बाहिर र भित्र शुद्ध हुन आवश्यक पर्छ । बाहिरी शुद्धिका लागि स्नान, पवित्र वस्त्र, चन्दन आदि आवश्यक पर्छ । अनि भित्री शुद्धिका लागि जप, ध्यान, योग, तपस्या आवश्यक पर्छ ।
बिहान शौचादि कर्मद्वारा शारीरिक मल निष्कासित भइसकेपछि स्नान गर्नुपर्छ । स्नानपूर्व शरीरको छिद्रमा अवरोध भएको र तापक्रम बढेको हुन्छ । यो समयमा स्नान गर्नाले शरीरमा नयाँ जीवनको सञ्चार भएको अनुभूति हुन्छ । बिहानीमा स्नान गर्नाले पाचनप्रणाली पनि सक्रिय हुन्छ । त्यसको फलस्वरूप भोक लाग्छ ।
भोक लागेर भोजन गर्नाले हरेक दृष्टिले शरीरलाई फाइदा पुग्छ । बिहानीको स्नानपूर्व पनि उखुको रस, पानी, दूध, फल, औषधि भने खान सकिन्छ जसले पाचनप्रणाली र पेटको अग्नि (जठराग्नि) प्रज्ज्वलनमा केही नकारात्मक असर पार्दैन । वैदिक धर्मदर्शनमा स्नान, शारीरिक शुद्धिका लागि सम्पूर्ण पवित्र नदी, सरोवर, पवित्र घाटहरूमा स्नान गरी शारीरिक शुद्धि, मानसिक शान्ति आध्यात्मिक उन्नतिका लागि स्नान आवश्यक पर्छ । सन्तुलित आहार र सुस्वास्थ्यका लागि स्नान अति आवश्यक छ ।
चन्दन किन लगाउने ?
चन्दन धारण गर्नाले आयुवृद्धि, शारीरिक शुद्धि, शरीरमा ऊजा, सौन्दर्य वृद्धि गराउँछ । चन्दनहरूमा श्रीखण्ड, रक्तचन्दन, गोपीचन्दन अन्य सुगन्धित वनस्पतिहरूको भष्म तथा पवित्र तीर्थस्थलको माटोलाई चन्दनको रूपमा प्रयोग गर्ने शास्त्रीय विधान छ । तीर्थस्थानको शुद्धीकरण गरी तयार पारिएको माटोलाई पनि चन्दनको रूपमा प्रयोग गर्ने गरिन्छ ।
त्यस चन्दनलाई त्रिपुण्ड, उध्र्वपुण्ड वा विन्दु जुन रूपमा धारण गरे पनि प्रमुख रूपमा निधार तथा शरीरका विभिन्न अंगहरूमा लगाइन्छ । ती अंगहरूको सक्रियता र शरीरमा रहेका विन्दुहरूको जागरणले (इडा, पिंगला, सुषुम्नासहित) १० नाडीहरू जागृत हुन्छन् । नाडीहरूको जागरणबाट शारीरिक, मानसिक, आध्यात्मिक शक्ति उत्पन्न हुन्छ । ती केन्द्रहरूको जागरणबाट अलौकिक शक्ति, ऊर्जा, सम्पूर्ण ग्रहनक्षत्रहरूको सकारात्मक ऊर्जा, दैविक ऊर्जा र प्राणदायिनी शक्तिको जागरण हुन्छ ।
चन्दन–भष्म आदि धारणले सम्बन्धित देवताको स्वरुपसँग एकाकार हुने आध्यात्मिक विज्ञान हो । भगवान् शंकरको उपसना गर्दा शरीरका विभिन्न ठाउँमा त्रिपुण्ड धारण गरिन्छ । भगवान् विष्णुको उपासना गर्दा उध्र्वपुण्ड धारण गरिन्छ, देवीको उपासना गर्दा विन्दु श्री धारण गरिन्छ । भगवान् गणपतिको पूजा गर्दा शिरमा चन्दनको चन्द्रबिन्दु धारण गरिन्छ । सूर्यको उपासना गर्दा रक्तचन्दनको द्वादस रश्मि तिलक धारण गरिन्छ ।
शरीरमा सौर्य ऊर्जा गतिशील हुन्छ । सम्बन्धित देवताको अलौकिक शक्ति, आभा, तेज, ऊर्जा प्राप्त गर्न सकिन्छ । रातो तिलक समृद्धिको सूचक, कालो तिलक तन्त्र साधनाको सूचक, सेतो तिलक शान्तिको सूचक, नीलो तिलक आरोग्यताको, पहेँलो आध्यात्मिक उन्नतिका लागि धारण गरिन्छ । मानवशरीरमा हुने विकार किटाणुलाई नष्ट गर्ने शक्तिको रूपमा चन्दनलाई धारण गर्ने विधान पनि छ । जुनसुकै किटाणुलाई नष्ट गर्न सुगन्धयुक्त चन्दन धारण नै विधानसम्मत रहेको छ ।
मन्दिर परिक्रमा किन ?
वेदका सम्पूर्ण एक लाख मन्त्रमध्ये असी हजार मन्त्र कर्मकाण्डका छन् । असी हजार मन्त्रलय परमात्माको अलौकिक आलोकको वर्णन गरेका छन्, जहाँ स्तुतिपरक र कर्मपरक मन्त्रहरू पर्दछन् । त्यसअन्तर्गत सोह्र हजार मन्त्रले उपासनाको पद्धति, उपासनासम्बन्धी वृहत्तर साधना र चार हजार मन्त्रले ज्ञानको चर्चा गरेको पाइन्छ । सांसारिक मनुष्य भौतिक रूपले सुख, समृद्धि, शान्ति, उन्नति प्राप्त गर्न निरन्त कर्म गरी नै रहेको हुन्छ ।
उसको भावना, सुख, समृद्धि, शान्ति र सम्पूर्ण सनातन शान्तिको मार्गमा प्रवृत्ति भइरहन्छ । मन्दिरमा गएर देवतालाई आह्वान, आसन, फूल, फल, धूप, दीप, नैवेद्य, आरतिआदि गरेर परमात्माको नजिक पुगी साक्षात्कार गर्न आराधना गरिरहन्छ । यस क्रममा मन्दिरमा विशेष मन्त्रद्वारा देवतालाई आह्वान गरी विशेष मुहूर्तमा, विशेष स्थानमा स्थापित देवताको नजिक जाँदा खाली खुट्टा मन्दिरभित्र परिक्रमा गर्नुपर्छ ।
खाली खुट्टा मन्दिरभित्र प्रवेश गर्दा खुट्टाबाट तरंगित हुँदै त्यहाँको चुम्बकीय तरंग मानिसको शरीरमा सञ्चारित हुन्छ । भगवान्लाई दाहिने पारेर परिक्रमा गर्दा खुट्टाबाट देवालय परिसरको सकारात्मक ऊर्जा शरीरभित्र गतिशील हुन्छ । एक, तीन, पाँच, सात, नौ, एघार, एक्काइस सत्ताइस, चौवन्न, एक सय आठ र एक हजार आठपटक मन्दिर परिक्रमा गर्दा व्यक्तिको सम्पूर्ण आन्तरिक शक्ति क्रियाशील हुन्छ ।
उसका सम्पूर्ण शरीरका अवयवहरू शक्तिशाली बन्दछन् । साथै ऊ मन्दिरमा बाहिर निस्केर परमात्माको अलौकिक शक्तिको गुणगान गाउँदै आफ्नो स्थानमा फर्किन्छ । यो विशेष पर्व, विशेष दिन, तिथि मितिमा गरेको पूजा र परिक्रमाले सुखशान्ति र समृद्धि प्राप्त हुन्छ । मन्दिरमा जानु भनेको परमात्माको शक्तिलाई आपूmभित्र प्रवेश गराउनु र देवताको सम्मुख आफूलाई पुनः क्रियाशील गर्नु हो ।
स्वयम्वरमा औंठी किन ?
वैदिक संस्कारअनुसार विवाहसंस्कार पनि अति महत्त्वपूर्ण र पवित्र संस्कार हो । यस संस्कारमा वरवधूले एकअर्कालाई रातो टीका लगाइदिने गर्छन् । कहिल्यै नओइलाउने दूबोको माला र औंठी लगाइदिने शास्त्रीय मान्यता पनि छ । रातो चन्दन आदिले रंगाएको अक्षता, दूबोको माला र औंठी वरले वधूलाई र वधूले वरलाई लगाइदिने प्रचलन रहेको छ ।
वैदिक विज्ञानअनुसार रातो रङको सम्बन्ध शरीरको रगत र समृद्धिसँग छ । कहिल्यै नओइलाउने दूबो मानवजीवनमा दीर्घायु र आत्मिक उन्नतिका लागि रहेको छ । साहिँली औंला (अनामिका)मा लगाइने औंठी सुन आदि धातुको बनाइएको हुन्छ । सुनलाई पवित्र र कहिल्यै खिया नलाग्ने धातुका रूपमा लिइन्छ ।
यी तीन वस्तुलाई साक्षी राख्दै साहिँली औंलामा नै किन औंठी लगाउने भन्ने प्रश्नमा साहिँली औंलाको सम्बन्ध सीधै मानिसको मुटुसँग सम्बन्धित हुन्छ । त्यसैकारणले स्वयम्वरमा दाहिने हातको साहिँली औंलामा औंठी लगाई टीका, माला आदि लगाइन्छ । मन, मस्तिष्क, मुटु र हृदयदेखि तिमी हामी एक हौं र अब हामीले रगतको जस्तो रातो गाढा र सुमधुर सम्बन्ध, सुनको जस्तो पवित्र सुन्दर स्वरूपको जीवनयात्रा सुरु गरेका छौं ।
हामी आपसमा एकअर्काका परिपूरक हौं । सम्पूर्ण जीवन समन्वय र सन्तुलित बनाउँदै अगाडि बढ्नेछौं । हामी एकअर्काका सम्पूर्ण जिम्मेवारी, सहयोग, सहकार्य, रगतको जस्तो गाढा जीवनको सुरुआत गर्ने प्रण गर्छौं । हामी यही प्रण गरी प्रणयसूत्रमा बाँधिदैछौं । विवाहभन्दा पूर्व स्वयम्वर गर्ने विधान अति वैज्ञानिक रहेको पुष्टि हुन्छ ।
वैदिक समाजव् यवस्थाअन्तर्गत धर्म, अर्थ, काम र मोक्ष प्राप्तिका लागि गृहस्थ धर्मलाई सही र सन्तुलन गराउने स्वयम्बर गरी रगतको जस्तो रातोपन, दूबोको जस्तो सधैं हरियाली र सुनको जस्तो उज्यालो र उत्तम जीवनको कामना गर्दै स्वयम्वरमा औंठी लगाइन्छ ।
हाम्रा संस्कारहरूका वैज्ञानिक कारणहरू छन्, वैदिक संस्कारको अनुसरणले जीवनमा सुख, शान्ति, समृद्धि, पारिवारिक उन्नति, सुखद् जीवनयापनका लागि सहयोग पुग्छ ।