को हुन एलिट

को हुन एलिट

काठमाडौंमा गल्फ खेल्ने एक हजारजति छन्; जसमा धनाढ्य, उच्चपदस्थ र अवकाशप्राप्त सैनिक, विदेशी कूटनीतिज्ञ आदि पर्छन् । एलिट भेला हुने ठाउँ मानिने गल्फ कोर्समा निजामतीकै उच्चपदस्थले पनि जाने आँट गरेका छैनन् । गल्फर दीपक आचार्यका अनुसार गल्फ महँगो खेल त हो, काठमाडौंकै स्तरीय हेल्थ क्लबसँग तुलना गर्दा अचाक्ली महँगो भन्न मिल्दैन । तैपनि यसमा खास वर्गका मान्छेमात्र आकर्षित छन् । ‘यो एलिटले खेल्ने निकै महँगो खेल हो भन्ने परेको हुनसक्छ', उनी सुनाउँछन् ।

गल्फका साथै टेनिस, पाँचतारेका हेल्थ क्लब एलिटका ‘स्टाटस सिम्बोल' मानिन्छन् । भेटिने मान्छे करिब उही हुन्छन् । पत्रकार किशोर नेपालले आत्मकथा ‘मेरो समय'मा २०३० सालको दशकतिर न्युरोडको इन्दिरा रेस्टुराँ सम्भ्रान्त वर्गका व्यक्तिको हैसियत प्रदर्शन गर्ने थलोका रूपमा रहेको उल्लेख गरेका छन् । एलिट ठान्न थालेपछि हैसियत प्रदर्शन गर्ने यस्तै छुट्टै थलो खोजी गर्न थाल्छन् ।

दरबारमार्गको अन्नपूर्ण क्याफे एक समय एलिटको हैसियत प्रदर्शन गर्ने थलो थियो । २०६० को दशकमा रियल स्टेटको व्यापार चम्किएपछि जग्गाको कारोबारबाट च्याउसरी उम्रिएका नवधनाढ्य अन्नपूर्ण क्याफेमै भेला हुन थाले । धेरै एलिटका लागि त्यो जग्गा दलाल (जेडी)को अखडा भयो र आफ्नो अखडा परिवर्तन गर्न थाले ।

विश्लेषक सीके लालका अनुसार अभिजात्यले सामान्यतः आफ्नो क्षमतामा चम्किँदै गएकोलाई सुरुमा होच्याउँछ । टुप्पाबाट पलाएको भन्छ । तर, प्रगति नरोकिने देखिए आफूमा समाहित गर्न खोज्छ, अधिकांश समाहित हुन्छन् ।

तीजस्तै जीवनशैली अपनाउन थाल्छन् । समाहित नहुनेलाई बेवास्ता गर्न खोज्छन् । बेवास्ता गर्दा पनि चम्किँदै गए अस्तित्वलाई अस्वीकार गरिन थालिन्छ । अझै चम्किँदै गए बदनाम (डिफेम) को प्रयास सुरु हुन्छ । अभिजात्यसँग सम्बन्ध जोडेका र क्षमतामा चम्किएका रूपचन्द्र विष्ट (पञ्चायतकालीन राष्ट्रिय पञ्चायत सदस्य) गजबका उदाहरण हुन् । ‘उनलाई अन्तिममा डिफेम नै गरियो', लाल भन्छन्, ‘नत्र विष्ट असाधारण व्यक्तित्व थिए ।'

 

विश्लेषक कृष्ण खनालका अनुसार एलिट आफैंमा खराब हैन, गाली गर्दा प्रयोग हुने शब्द पनि हैन । पश्चिमाहरूले एलिटलाई अपरिहार्य मानेका छन् । समस्या तब सुरु हुन्छ, जब एलिट सर्वसाधारणसँग घुलमिल हुन दिगमिग मान्न थाल्छ । उसको हैसियत देखिने ठाउँमा मात्र पुग्न थाल्छ । किनकि एलिट राज्यको नीतिमा प्रभाव पार्नसक्ने व्यक्ति हो ।

उसले ‘स्टाटस मेन्टेन' गर्ने नाममा एलिटसँग मात्र उठबस गर्न थालेपछि ऊ सर्वसाधारणसँग टाढा हुन्छ । यसको प्रभाव नीतिनिर्माणमा पर्न थाल्छ । एलिटकै कुरा सुनिरहने भएकाले नीतिमा तिनको हितको मात्र कुरा पर्न थाल्छन् । बहुसंख्यक सर्वसाधारणको हित जोडिएका मुद्दा ओझेलमा पर्न थाल्छन् ।

एलिट सार्वजनिक सवारीमा यात्रा गर्दैन । एलिट सर्वसाधारण भेला हुने ठाउँमा जाँदैन, गल्फ कोर्स/टेनिस कोर्ट/पाँचतारेको हेल्थ क्लबमा जान्छ । एलिट सर्वसाधारणसँग भेट्न सकेसम्म पन्छिन्छ । अनि, उसको सम्पर्क हुने जो गल्फकोर्समा, हेल्थ क्लबमा भेटिन्छन् तिनकै हित नीतिमा प्रतिविम्बित हुन थाल्छ ।

नियुक्ति, ठेक्कापट्टा आदि लाभका पद/काम त्यही सानो सर्कलमा भेटिने वा तिनको सिफारिसकाले पाउन थाल्छन् । ‘एलिट आफैंमा खराब हैन, एलिटइजम (सम्भ्रान्तवाद) खराब हो', खनाल थप्छन् । सम्भ्रान्तवादले विधिको शासनलाई टेर्दैन । नेटवर्क/सम्बन्धका आधारमा काम हुन्छ । क्युमा बस्नु उसका लागि अपमानजनक हुन्छ । जहाँ पनि ‘प्रिभलेज' खोज्छ ।

प्रणालीले काम गर्दैन । जवाफदेही हुन पर्दैन । ‘एलिट हुँ भन्ने भएपछि मान्छेमा दम्भ आउँछ, जे गरे पनि हुन्छ भन्ने हुन्छ', लाल थप्छन्, ‘त्यो भइदिएपछि भ्रष्टाचार बढ्छ, नैतिक स्खलन हुन्छ, सामाजिक मूल्यमान्यता बिग्रन्छ ।'

एलिटले हस्तक्षेप गर्दा प्रभावी हुने तर अरूको दाल नगल्ने अवस्था हुनु भएन । नीति निर्माणमा जनताको आवाज प्रभावी भए एलिट जति भए पनि फरक पर्दैन । खनालका अनुसार एलिटले एलिटका लागि मात्र काम गरे समस्या हुने हो । उसले बृहत्तर हितमा काम गर्छ भने समस्या हैन । समाजले डिमान्ड गरेपछि नीति बनाउने हो ।

राजनीतिले त्यसलाई प्राथमिकीकरण र प्रशोधनको काममात्र गर्छ । शिक्षा कस्तो चाहिने समाजले निर्धारण गर्नपर्छ । तर, मुलुकमा शिक्षा कस्तो बनाउने भन्ने नीतिमा शिक्षाको व्यापारबाट एलिट भएकाको चल्ने भयो । बैंकसम्बन्धी कानुनले बैंकका सञ्चालकभन्दा कयौं गुणा बढी बचत गर्ने बचतकर्ताको हित संरक्षण प्राथमिकतामा पर्नुपर्ने हो । तर, यहाँ एकाध बैंक सञ्चालक बैंकसम्बन्धी कानुन मस्यौदामा हावी भए ।

पश्चिमा हामीभन्दा चर्को सामन्तवादबाट गुज्रिएका हुन् । विकासक्रममा तिनले सम्भ्रान्तवादबाट मुक्ति हुन खोजे । समाजले कुल/घरानमात्र नपत्याउने भयो, क्षमता खोज्न थाले । सम्भ्रान्तले पनि भोलि नेतृत्वमा पुगेपछि सर्वसाधारणको दुःख÷पीडाबाट टाढा नरहोस् भनेर छोराछोरीलाई सानैदेखि सर्वसाधारणसँग घुलमिल हुन सिकाउन थाले ।

स्कुलले स्वयंसेवामा पठाउन थाले । यसरी एलिट वर्गका नानीहरू पनि गरिब, दुःखीका समस्यासँग अवगत हुने भए । बिल–हिलारी क्लिन्टनकी छोरी स्वतः एलिट हुने भइन् । तर, उनले पनि सर्वसाधारणसरह काम गरेकी छन् । समाजमा एलिट भए पनि त्यो फेरिइरहेको हुन्छ । ‘हामीकहाँ उही परिवार/खान्दान प्रभावशाली हुने धेरै भयो', खनाल भन्छन्, ‘हिजो ठूलाबडा, कूटनीतिक नियोगका भोजभतेरमा रमेशनाथ पाण्डे देखिन्थे, अहिले उनका छोरा देखिन्छन् ।'

अर्थशास्त्री डा. स्वर्णिम वाग्लेका अनुसार अमेरिकामै अहिले पनि ‘न्युफ्लावर'ले आफूलाई एलिट ठान्छन् । बेलायतबाट सन् १६२० मा न्युफ्लावर जहाजमा अमेरिका झरेका परिवारका व्यक्ति न्यु फ्लावरका नामले चिनिन्छन् । विश्व बैंकमा काम गर्दा वाग्लेका फिलिपिनो हाकिमका छोराले अमेरिकी युवतीसँग बिहा गरे । ‘मेरो छोराले न्युफ्लावरसँग बिहा गर्‌यो नि, म्यानहट्टनमै फ्ल्याट छ', फिलिपिनोले सहकर्मीहरूलाई सगर्व सुनाएका थिए ।

खनालका अनुसार एलिटको परिभाषाले व्यापक कुरा ओगट्छ, अभिजात्यलाई नै एलिट सम्झिइए पनि । अभिजात्य त एलिटको एउटा अंशमात्र हो । राज्यको नीतिमा प्रभाव पार्नसक्ने व्यक्ति एलिट हो । नीतिनिर्माण तहमै हुनुपर्छ भन्ने छैन, बाहिर रहे पनि प्रभाव पार्न सक्छ । लेखेर ‘ओपिनियन' निर्माण गर्नसक्ने पनि एलिट हुन् ।

‘पावर एलिट' सामान्यतया राजनीतिकर्मी हुन्छन् । नेपालको हकमा केपी ओली, शेरबहादुर देउवा, प्रचण्ड आदि पावर एलिट हुन् । जुनसुकै गठबन्धनमा फिट भइरहेका कमल थापा, विजय गच्छदार पनि पावर एलिट हुन् । सम्पत्ति नै एलिट हुन पर्याप्त हुन्न । तर, सम्पत्तिको ताकतमा नीतिनिर्माणमा प्रभाव राख्नसक्ने एलिट हुन्छ ।

उदाहरणका लागि विनोद चौधरी, उपेन्द्र महतो सम्पत्तिवान् मात्र भए एलिट हुन्थेनन् । तर उनीहरू सम्पत्तिवालमात्र हैनन्, नीतिनिर्माणमा प्रभाव राख्छन् । गाउँलेले कुरा सुन्छन् भने गाउँको ठालु पनि सानो घेरामा एलिट नै हो । गाउँको विकासनिर्माणदेखि न्याय निसाफमा ठालुको भूमिका हुन्छ । मधेसमा यस्ता थुप्रै गाउँ छन्, जहाँ अहिले पनि आफ्नो प्रभाव क्षेत्रको नियाँनिसाफ त्यहाँका जमिनदारले गर्छन् । थारूमै अभिजात्यवाद बढी पाएको खनाल सुनाउँछन् ।

दाङमा परशुनारायण चौधरी र बर्दियामा राधाकृष्ण थारू अभिजात्य भएकै कारण राजनीतिमा लामो समय चुनौतीमुक्त भइरहे । तर, पृथ्वीनारायण शाहको पालाको ६ थरवाला परिवारका मान्छे गुमनाम जीवन बिताइरहेको छ, कतैप नि उसका कुरा सुनिन्न भने एलिट हैन । ‘हिङ नभए पनि हिङ बाँधेको टालो छ भन्ने उखानले कसैलाई एलिट बनाउन सक्तैन', खनाल भन्छन् ।

पुस्ताअनुसार एलिट फेरिन्छन् । शाहवंशीय इतिहासमा एलिटको परिवर्तन भइरहेको छ । गोरखामा ६ थर भारदार प्रभावशाली थिए । काठमाडौंमा उथलपुथलसँगै परिवर्तन भइरहयो । जंगबहादुर प्रधानमन्त्री नहुँदासम्म कुँवरकै अवस्था गतिलो थिएन ।

तर, जंगबहादुर परिवारको शासन एक सय तीन वर्ष चलाउन पाएपछि उनीहरू नै ठूलो अभिजात्यका साथै पावर एलिटका रूपमा उदाए । २००७ सालको परिवर्तनपछि दृश्य परिवर्तन भयो । एलिटमा स्थापितको शक्ति कमजोर भए पनि नयाँ एलिटहरू दृश्यमा आए । राणा शासनविरुद्ध लडेकाहरू, जो सम्पन्न परिवारका भए पनि राणाशासकद्वारा धपाइएका, हेपिएका परिवारका थिए । तर पञ्चायती शासन सुरु भएपछि राणाशासनताका प्रभावी परिवार फेरि हावी हुन पायो ।

महेन्द्रले चाहेर पनि पुरानो सामन्ती संरचना ढाल्ने अवस्था रहेन । किनकि उनको शासनको खम्बा तिनै एलिट थिए । महेन्द्रको सत्ताको पिलर राणाशासनमा हालिमुहाली गरेका तिनै राणा र भारदार खलक भए । कांग्रेसलाई सेल्टर दिइरहेको भारतको डरले पनि महेन्द्रले पुराना शक्तिलाई चिढ्याउन चाहेनन् ।

तिनकै आडमा सत्तामा चलाए । तिनलाई छाड्दा खम्बा ढलेर संस्था नै गल्र्यामगुर्लुम हुने डर थियो । त्यही भएर शासन गर्ने तौरतरिकामा खासै बदलाव भएन । राणासँग सम्झौता त गरे तर तिनलाई पनि कज्याएरै शासन गरे । उनले लोयल्टी किनेर भए पनि सत्ता लम्ब्याउन चाहे । यस क्रममा सार्वजनिक जग्गा, जंगल बक्सिस दिने क्रमलाई निरन्तरता दिए । एलिटले थप धनी हुने मौका पाए । सेनाको नेतृत्व राणा परिवारमै जाने बन्दोबस्त गरियो ।

२०४६ पछि एलिटको फौज त खडा भएको छ । किनकि सत्तामा पहुँच छ, धन कमाएका छन् । ‘तैपनि समाजले एलिट मान्नचाहिँ शक्तिका साथै एकाध पुस्तालाई पुग्ने धन नभई समाजले एलिट भनेर पत्याउँदैन', वाग्ले टिप्पणी गर्छन् । दुई पुस्तालाई पुग्ने धन भएपछि प्रभाव स्वतः हुन्छ । पूर्वसचिव कृष्ण ज्ञवाली विद्यार्थीकालमा पञ्चायती शासनको खम्बाका रूपमा रहेका काठमाडौंका घरानिया नै एलिट हुन ठानेको सुनाउँछन् ।

विराटनगरको एलिट क्लबले बीपी कोइरालालाई प्रवचन दिन बोलाएपछि एलिट पञ्चायतका पक्षधरमात्र हुँदैन रहेछन् भन्ने लाग्यो । वास्तवमा यसको दायरा अलि विस्तृत नै छ ।

पञ्चायती कालसम्म व्यक्ति चम्किन क्षमता मात्रले पुग्थेन कि भन्ने देखिन्छ । अनुसन्धाता प्रत्यूष वन्तका अनुसार त्यति बेला उदाएका डोरबहादुर विष्ट, यदुनाथ खनाल, भीमबहादुर पाँडे, डा. भेषबहादुर थापा क्षमतावान् भए पनि पारिवारिक पृष्ठभूमि, दरबारको प्रवद्र्धन पनि देखिन्छ ।

तर २०४६ पछि व्यक्ति आफ्नै क्षमतामा पनि चम्किन सकेको देखिन्छ । ‘राजनीतिज्ञ, सेना, कर्पोरेट जगत्बाट छुट्टै रहेर काम गर्दा पनि समाजमा एलिट देखिने हैसियत बनाउनसक्ने अवस्था बनेको छ', उनी भन्छन् । राणाकालमा दरबार हाइस्कुल खुल्यो । राणाले चाहेका परिवारलाई मात्र त्यहाँ पढ्ने अवसर थियो, अरूले शिक्षामार्फत एलिट हुन पनि पाउँथेनन् । स्कुल यत्रतत्र खुल्न थाले ।

तर अंग्रेजी माध्यमका स्कुल (सेन्ट जेभियर्स आदि) खुले, जसमा सर्वसाधारणको प्रवेश कठिन थियो । फेरि पनि तिनै प्रभावशाली परिवारकै व्यक्तिको वर्चश्वले निरन्तरता पाउने अवस्था बन्यो । अवस्था फेरिएको छ, अंग्रेजी माध्यमकै स्कुल पनि छ्यास्छ्यास्ती छन् । मजदुरी गर्नेले पनि छोराछोरीलाई अंग्रेजी माध्यमको शिक्षा दिलाउने अवसर छ । यसैले एलिट हुने अवसर धेरैलाई छ ।

एलिट राज्यको नीतिमा प्रभाव पार्नसक्ने व्यक्ति हो । ‘स्टाटस मेन्टेन' गर्ने नाममा एलिटसँग मात्र उठबस गर्न थालेपछि ऊ सर्वसाधारणसँग टाढा हुन्छ । यसको प्रभाव नीतिनिर्माणमा पर्न थाल्छ । एलिटकै कुरा सुनिरहने भएकाले नीतिमा तिनको हितको मात्र कुरा पर्न थाल्छन् ।

मानवशास्त्री डा. हिक्मत विष्टका अनुसार नेपालमा एरिस्टोक्र्याट भन्न मिल्ने एलिट भएनन् । राणा परिवारलाई एरिस्टोक्र्याट भनिए पनि गहिरिएर हेर्दा भन्न मिल्दैन । राणा प्रधानमन्त्रीले लगाउने श्रीपेचको फुर्का युरोपका होटलको द्वारेको पोसाकबाट नक्कल गरिएको छ । युरोपमा महिलाले लाउने पेटी वीरशमशेरले लाएका थिए । पोसाक ब्यान्डमास्टरबाट नक्कल गरे ।

‘एरिस्टोक्र्याट हुन आफ्नै संस्कृति÷परम्पराको वैभवमा खडा भएको हुनपर्छ, जसको नक्कल अरूले गरून्', उनी भन्छन् । राणाहरूले सम्पत्ति बनाए पनि बुझ्दै नबुझी विदेशीको नक्कल गरे । ‘बरु मल्ल राजामा एरिस्टोक्र्याट भन्न मिल्ने गुण थिए', उनी थप्छन् । एलिट हुन उसको ट्रेन्ड अरूले पछ्याउनुपर्छ । बदलिँदो समाजमा सोसल मिडिया प्रयोगकर्ता नै एलिट हुन् । पढालिखा छन्, घटनाक्रममा अपडेट छन्, विचार अभिव्यक्त गर्छन्, समान विचारवाला संगठित हुन्छन् । राज्यसत्तामाथि नै दबाब सिर्जना गर्न थालिसकेका छन् ।

बेलायतमा राजनीतिमा प्रभावशाली ८० प्रतिशतसम्म अक्सफोर्ड÷क्याम्ब्रिजको पृष्ठभूमिका हुन्छन् । राजनीतिमा यस्तो प्रभाव हुनुको कारण ती मात्र क्षमतावान् भएर भएको होइन । एउटै स्कुल÷कलेज पढ्नेको नेटवर्क हुन्छ । राजनीति, पत्रकारिता सबैतिर त्यो नेटवर्कको फाइदा उठाउन सकिन्छ । ‘बेलायतमा सरकारमा विपक्ष पनि, व्यवस्थापनमा युनियन, हुँदाहुदा युरोपियन युनियनमा रहने र बाहिरिनेमा पनि उही दुई तीन विश्वविद्यालयका उत्पादन देखिन्छन्', विश्लेषक सीके लाल टिप्पणी गर्छन् ।

जापानमा इम्पेरियल युनिभर्सिटी भनिने टोकियो, होक्काइडो, क्योटो, ओसाका, नागोया, क्युसु र तोहोकु विश्वविद्यालय नपढे जापान चलाउने सपना नदेखे हुन्छ । अधिकांश कर्मचारी र राजनीतिज्ञ यिनै विश्वविद्यालयका उत्पादन हुन्छन् । जापानको थिंक ट्यांकमा लामो समय काम गरेका डा. सूर्यराज आचार्यका अनुसार राजनीति, कर्मचारीतन्त्र, मिडिया, बौद्धिक जता पनि यिनै विश्वविद्यालयका उत्पादनको एकछत्र छ । ती विश्वविद्यालयमा पढेपछि सोझै एलिटमा दरिन्छन् । कर्पोरेट जगत्मा निजी क्षेत्रका वासेडा र केइयो विश्वविद्यालयका उत्पादनको वर्चश्व छ ।

नेपालमै पनि बूढानीलकण्ठ, सेन्ट जेभियर्स आदि नामी स्कुल पढेकाको नेटवर्क विश्वव्यापी छ, जसले नेटवर्कभित्रका कसैले कुनै काम गर्दा सजिलो पार्छ । अनुसन्धाता प्रत्यूष वन्तलाई मार्टिन चौतारीमार्फत अनुसन्धानको काम अघि बढाउन अमेरिकामा १२ वर्ष बस्दा बनेको नेटवर्कले काफी काम गर्‌यो ।

एलिट परिवारका जन्मेको आधारमा कसैले राम्रो शिक्षादीक्षा पायो । आफ्नै नेटवर्क छ । अब उसलाई काम गर्न सघाउने कि डाहा गर्ने ? यस्तो प्रश्न गर्ने वन्त उनीहरूको रचनात्मक काममा सघाउँदा समाज लाभान्वित हुने बताउँछन् । उनी आफ्नै उदाहरण दिने गर्छन् । काठमाडौंको मुटुमै पुख्र्यौली सम्पत्ति भएका कारण उनी सम्पत्ति जोड्न अमेरिकामा रोकिएनन्, काठमाडौं फर्के । यहाँ आएपछि उनी अनुसन्धानकर्ममा जुटे ।

काठमाडौंमा घर, छोराछोरीको पढाइका लागि पैसाको चिन्ता आदि भएको भए हेल्मेट टिचर भएर कलेज कलेज धाउँदै दिन बित्न सक्थ्यो । ‘आधारभूत आवश्यकताको चिन्ता नभएकै कारण पूरा समय अनुसन्धानमा लगाउन सकियो', उनी सुनाउँछन् ।

मुलुकको नीतिनिर्माण तह, राजनीति र कर्मचारीतन्त्रमा ग्रामीण भेगको सरकारी स्कुलबाट पढेकाको एकछत्र छ । तिनलाई सहरका निजी स्कुल पढेकाले के बुझेका छन् भन्ने छ । आफू एलिट भइसके पनि एलिट परिवारमा जन्मिएकाप्रति डाहा छ । ‘एलिटको शिक्षा, अन्तर्राष्ट्रिय एक्सपोजर, नेटवर्कको सदुपयोग गर्नुपर्छ, न कि डाहा', उनी थप्छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.