राहत कुर्दै प्यूठानका बाढीपीडित

राहत कुर्दै प्यूठानका बाढीपीडित


दाङः बाढीपहिरोबाट सबैभन्दा बढी प्रभावित जिल्ला प्युठानमा अझै पर्याप्त राहत वितरण हुनसकेको छैन । जिल्ला प्रशासन कार्यालयले तत्काल उपचार खर्च भन्दै दिएको ६-८ हजार रुपैयाँबाहेक अन्य कुनै पनि राहत सामग्री प्रभावित ठाउँमा पुग्नसकेको छैन ।

चार दिनदेखि कयौं ठाउँमा पीडितहरू भोकभोकै छन् । शुक्रबार केही राहत सामग्री लिएर प्युठान पुगेको नेपाली सेनाको हेलिकोप्टर पनि प्रभावित ठाउँमा अवतरण हुन सकेन । मौसमको खराबीका कारण राहत बोकेको सेनाको हेलिकोप्टर दाङको विमानस्थलमा ९ घन्टा अड्किएको थियो । त्यसपछि प्युठान पुगेको हेलिकोप्टर सबैभन्दा प्रभावित गाविस फोल्लीका लागि उडे पनि त्यहाँ अवतरण हुन नसकेपछि सदरमुकाममै राहत सामग्री थन्किएको छ ।

सबै ग्रामीण सडकहरू बिग्रिएका कारण पैदल मार्ग भएर राहत पुर्‍याउन निकै कठिन रहेको जिल्ला प्रहरी प्रमुख रञ्जितसिंह राठौरले बताए । ‘शुक्रबार नेपाली सेनाको हेलिकोप्टरमा केही राहत आएको थियो तर त्यो पनि प्रभावित ठाउँमा पुग्न सकेन', उनले भने, ‘दिनभरिको प्रयासपछि पनि फोप्लीमा हेलिकोप्टर बस्न नसक्दा सदरमुकाममै थन्किएको छ ।' सरकारले तत्काल राहतस्वरूप दिने प्रतिपरिवार ४० हजार रुपैयाँ पनि अझै दिन सकिएको छैन । जिल्ला दैवीप्रकोप समितिका अनुसार त्यो राहत बाँड्न जिल्लामा पर्याप्त बजेट छैन ।

गत मंगलबारदेखिको अविरल वर्षा र बाढीपहिरोका कारण प्युठानमा मात्रै ३८ जनाको मृत्यु भइसकेको छ भने ६ जना अझै बेपत्ता छन् । तीमध्ये सबैभन्दा धेरै फोप्लीमा २४ जनाको मृत्यु भएको छ । अहिलेसम्म जिल्लाका फोप्ली, अर्खा, पुँजा, डाम्री, माझकोट, लुङलगायत गाविस बढी प्रभावित छन् । यी गाविसबाट करिब ३ सय घरपरिवार पहिरोले विस्थापित भएका छन् ।

फोप्लीका बासिन्दा धनेश्वर भण्डारीका अनुसार फोप्लीमा अहिले विस्थापितहरूको स्वास्थ्यमा समस्या देखिन थालेको छ । त्यहीं बसेर राहत र उद्धारकार्यमा खटिइरहेका उनका अनुसार मानिसहरूमा पखाला लाग्ने, ज्वरो, रुघाजस्ता रोगको संक्रमण बढेको छ । मृत्यु भएका आफन्त तथा घरबार पहिरोले पुरेका पीडितहरूका लागि बस्ने बास र खानाको समेत समस्या हुन थालेको उनले बताए ।

‘भर्खरैका सुत्केरी, बालबालिका तथा वृद्धाहरू अलपत्र र बेवारिसे छन्', उनले भने, ‘पर्याप्त राहत सामग्री नै आएको छैन । यहाँ पीडितहरूको सारै बिचल्ली छ ।'

 

लगातारको वर्षासँगैको बाढी र पहिरोले प्युठानका रजवारा, खुङ, पुँजा, खवाङ, फोप्ली, लुङ र भिंग्रीका बासिन्दाले घरबार छोडेका छन् । जिल्लामा सबैभन्दा धेरै फोप्ली गाविसका ३, ४, ५, ६ र ९ नं वडामा मात्रै १४६ घरपरिवार विस्थापित भएको प्रहरीले जनाएको छ । विस्थापित परिवारलाई स्थानीय विद्यालय, गोठ तथा आफन्तका घरमा राखिएको प्रहरीले जनाएको छ ।

त्यस्तै डाम्रीमा ४२, अर्खामा २८ र लिबाङमा १७ परिवार विस्थापित भएको प्रहरीले जनाएको छ । उत्तरी प्युठानका स्याउलीबाङ र ओखरकोटमा १६ परिवार विस्थापित भएका छन् ।

सबैभन्दा बढी प्रभावित प्युठानको फोप्ली गाविसमा अझै ४१ घर पहिरोको जोखिममा छन् । त्यहाँ पुगेर फर्किएका जिल्लाका डीएसपी राठौरका अनुसार फोप्लीका ३, ४, ५ र ६ नं वडामा ती घर जोखिममा परेका हुन् । केहीलाई सुरक्षित ठाउँमा सारिए पनि केहीले भने घर छोडेका छैनन् । तलमाथिका गाउँहरूमा पहिरो गएपछि बीचबीचमा रहेका ती घर पनि जोखिममा परेका छन् ।

यहाँका धेरैजसो ठाउँहरूमा अहिले पानीका मुहान पनि फुट्न थालेका छन् । जमिन फाट्ने र पानीको मूल निस्किन थालेपछि पहिरोको त्रास अझै बढेको छ । ठाउँठाउँमा जमिन रसाउन थालेको स्थानीयले बताएका छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.