अमैत्री कार्य

अमैत्री कार्य

गत साता नेपाल र भारतबीच दुइटा घटनाबाट फेरि असहजपन र तीक्तता प्रदर्शन भए । तनाव र अविश्वासले चरमोत्कर्षको स्वरूप लियो । निरन्तरको राजनीतिक हस्तक्षेप र सम्भावित प्रधानमन्त्री पुष्पकमल दाहालले आरोप लगाएको ‘माइक्रो म्यानेजमेन्ट' दाग नमेटिने गरी भारतको ‘इस्टकोट' मा टाँसिने देखियो ।

पहिलो, सप्तरीको तिलाठी र सीमापारि भारतको कुनौलीका जनताबीच हिंसात्मक द्वन्द्व भयो । नेपाली भाग डुबानमा पर्ने गरी भारतमा अमानवीय किसिमले बाँध निर्माण भएको यो पहिलो घटना होइन र पक्कै पनि न्यूनतम मानवीय र अन्तर्राष्ट्रिय मान्यता भारतको लागि पनि बाध्यकारी हुनुपर्छ भन्ने अडान नेपाल सरकारले लिन सक्यो भने आगामी दिनमा यस्ता घटनाको पुनरावृत्ति रोकिनेछ ।

यद्यपि यो दुई मुलुकबीचको झगडाभन्दा पनि सीमावारिपारिका निकटसम्बन्धी र सहयोगीबीचको झगडा हो । समस्या उत्पन्न हुँदा स्थानीय तहमा न्याय, विवेकसम्मत मानवीय संवेदनशीलतालाई ध्यानमा राख्दै दुईपक्षीय स्थानीय पञ्चायती संयन्त्र निर्माणले तनावले हिंसाको उग्र रूप लिनुपूर्व नै समाधान दिन सक्नेछ ।

तर अतीतमा अन्तर्राष्ट्रिय सीमानजिकै हेपाहा शैलीमा भारतले बाँध निर्माण गर्दै आएको पृष्ठभूमिले नेपालमा विरोध र प्रतिरोधले उग्र रूप लिनुलाई अस्वाभाविक मानिने छैन । यी घटनामा नेपालको तर्फबाट देवनारायण यादवलगायत स्थानीय व्यक्तिले ज्यानको माया मारेर प्रतिरोध गरेपछि भारत बाँध निर्माण नगर्न सहमत भएको हो । आशा गरौँ, त्यो निर्णयप्रति ऊ इमानदार र प्रतिबद्ध रहिरहनेछ भविष्यमा पनि ।

 

यसैबीच दोस्रो घटनामा एक भारतीय (विहारी) अधिकारीले आईएसआईबाट सप्तकोशी बाँधलाई खतरा भएको बारे नेपाली पक्षलाई सूचना दिएपछि यहाँ विभिन्न प्रतिक्रिया उत्पन्न भएका छन् । नेपाल र भारतले त्यो ‘सूचना' नेपाललाई दिँदा यहाँ स्वाभाविक रूपमा प्रश्न उठ्यो, ‘के यो सूचनाको आधार विश्वसनीय छ ? ' सूचना विश्वसनीय भएको आधारमा शंका भए पनि यस्ता धम्कीलाई बेवास्ता गर्न मिल्दैन ।

तर त्यस्ता सूचनाको विश्वसनीयता र स्रोतसमेतबारे नेपाल आश्वस्त हुनु आवश्यक छ । भारतको सुरक्षा अवधारणाअन्तर्गत नेपालमा भारतविरोधी शक्तिको उपस्थिति तथा सक्रिय गतिविधि हुन सक्ने मान्यता छ, तर त्यो कति अवधारणात्मक छ र कति यथार्थमा आधारित छ अनि दुईका बीच कति अन्तर छ, त्यसको आवधिक विश्लेषण र निष्कर्षबारे प्रमाण आदानप्रदान हुनैपर्छ दुई मुलुकबीच ।

भारतले सायदै उसका संदिग्ध गतिविधि र त्योसँग जोडिएका हुनसक्ने व्यक्तिमाथि नेपालले कारबाही गरेकोमा भारतलाई सहयोग गरेको तथ्यलाई खुलेर स्वागत या स्वीकार गरेको छ ।

सूचनाको विश्वसनीयता जस्तो भए पनि नेपालले निरोधात्मक सावधानी अपनाउनुपर्ने हुन्छ । तर त्यो कुनै पनि तरिकाले भारतीय सुरक्षा निकायहरूको आपत्तिजनक प्रवेशको पूर्वाभ्यास हुनु हुँदैन । नेपाल र भारतबीच अविश्वासको जालो यो हदसम्म नबढेको भए यति कुरा शंका गर्नुपर्ने आवश्यकता आउने थिएन । भारतीय शैली र ‘एटिच्युड' मा परिवर्तन आएमा विश्वासको वातावरण बन्नमा सहज हुनेछ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.