ट्रकलाई ओभरटेक गर्नु जीवनकै भूल

ट्रकलाई ओभरटेक गर्नु जीवनकै भूल

हेटौँडाः चालक बद्रि खड्का हेटौँडा–१० स्थित बसपार्कमा काँकडभिट्टाबाट आउँदै गरेको यात्रुबाहक बसको प्रतिक्षमा थिए । इमेज यातायातको ना ५ ख ४०६४ नम्बरको रात्रीबस शनिबार राती करिब ११ः३० बजे बसपार्क आइपुगेपछि बस चालकले उनलाई २८ जना यात्रुसहितको बस जिम्मा लगाए ।

खड्का ठाउँ–ठाउँमा परेको वर्षा छिचोल्दै सदाझैँ करिब ४५ मिनेटमा मनहरी पुगे । सयौं पटक यात्रु लिएर सुरक्षित बसको यात्रा गरेका खड्काले शनिबार राती मनहरी–३ रमनटारमा ट्रकलाई ओभरटेक गर्न खोज्नु नै उनको जीवनको सबैभन्दा ठूलो भुल भयो ।

प्रायः घण्टौं जाममा पर्ने समस्याका कारण उनी छिटो भन्दा छिटो नारायणगढ–मुग्लिन सडकखण्ड पार गर्न चहान्थे । पूर्व–पश्चिम राजमार्ग रमनटारसम्म ५०-६० किमि प्रति घण्टा गतिमा रहेको ना ५ ख ४०६४ नम्बरको बसको गति बढाउन उनले अगाडि रहेको ट्रकलाई ओभरटेक गर्ने प्रयास गरे।

सडकको लेन क्रस गरेपछि उनले बसको स्टेरिङ मोड्न सकेनन् । अन्ततः ओभरटेक गर्ने प्रयास गरेको करिब २० सेकेन्डपछि काठमाडांैबाट गाईघाट जाँदै गरेको ना ५ ख ५०५५ नम्बरको अग्नी यातायातको बससँग ठोक्कियो।

उनले गरेको हठात् निर्णयले अनाहकमा नौ जनाको ज्यान गयो । ३१ जना घाइते भए । बसमा सुतिरहेका यात्रुमध्ये छ जनाले आँखा समेत खोल्न पाएनन् । बाँकी दुई जनाको उपचारको लागि हेटौँडा ल्याउँदै गर्दा बाटोमा र एक जनाको उपचारको क्रममा हेटौँडा–११ स्थित चुरेहिल अस्पतालमा मृत्यु भएको मकवानपुर प्रहरी प्रवक्ता डिएसपी बामदेव गौतमले बताए ।

मृत्यु हुनेहरुमा त्रियुगा नगरपालिका–१० का २५ वर्षीय विनोद कुमार चौधरी, दश वर्षीय मनिरत्न चौधरी, २७ वर्षीय सन्तोष चौधरी, उदयपुर गाईघाटकी तीन वर्षीय बालिका मुस्कान चौधरी रहेकी छिन् ।

दुर्घटनामा परी दुबै बसका सहयोगीको मृत्यु भएको छ । ताप्लेजुङ घर भई झापा तोपगाछी–९ बस्ने अग्नी बसका सहयोगी २९ वर्षीय लक्ष्मीप्रसाद अधिकारी र इमेज बसका सहयोगी बारा निजगढस्थित सिङ्गौलका विशाल धामीको मृत्यु भएको हो ।

ठेगाना नखुलेकी करिब ३३ वर्षीय भिमकुमारी तामाङ (भिमिसा) र अन्य दुई जनाको सनाखत हुन बाँकी रहेको गौतमले जानकारी दिए । मृतक यात्रुमध्ये पाँच जना अग्नी र एक जना इमेज बसका यात्रु रहेका छन् ।

दुर्घटनामा छ जनाको घटनास्थलमै, दुई जनाको उपचारको लागि ल्याउँदै गर्दा बाटोमा र एक जनाको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । घाइतेमध्ये १४ जना सामान्य उपचारपछि घर फर्किएको मकवानपुर प्रहरीले जनाएको छ ।

घाइते इमेज बस चालक बद्री खड्का, सप्तरीका भोलेश्वर यादव र अर्का नाम नखुलेका एक व्यक्ति गम्भीर रहेको अस्पतालले जनाएको छ । हेटौँडा–१० स्थित सामुदायीक आँखा अस्पतालमा दुई जनाको आँखाको उपचार भइरहेको र अन्य १५ जनाको चुरेहिल अस्पतालमा उपचार भइरहेको मकवानपुर प्रहरीले जनाएको छ । काँकडभिट्टाबाट काठमाडौँ आउँदै गरेको बसले ट्रकलाई ओभरटेक गरी लेन क्रस गर्ने क्रममा बिपरित दिशाबाट आउँदै गरेको बससँग ठोक्किएर दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी प्रमुख कृष्ण थापाले बताए ।

सस्तो भयो ज्यान
त्रियुगा नगरपालिका–१० उदयपुरका मौलाई चौधरी श्रीमती सिंहनीदेवीसँगै कान्छा छोरा विनोद र नाती मनिरत्नलाई लिएर काठमाडौँबाट घर फर्कदै थिए । तर हेटौँडा पुग्न नपाउँदै उनले छोरा र नाती गुमाउनुपर्यो ।

टाउकोमा चोट लागेका मौलाईले चुरेहिल अस्पतालमा उपचार गराईरहँदा पनि हातमा नातीको चप्पल छाडेका थिएनन् । ‘राम्रो गाडी चढ्न नसक्दा छोरा र नाती गुमाएँ, गरिबको ज्यान सस्तो भयो’,उनले रुँदै भने, ‘अब मेरो बंश पनि नरहने भयो ।’

उदयपुर गाइघाटकी पावर्ती चौधरी चुरे हिल अस्पतालको आइसियु कक्षमा उपचार गराइरहेकी छिन् । बसमा छोरी च्यापेर निदाएकी पार्वतीले चुरेहिलमा आएपछि मात्र आँखा खोलिन् ।

आइसियु कक्षमा बेला बेला होस खुल्दा उनी बरबराउँदै भन्छिन्, ‘मेरो खुट्टा पनि चल्दैन, ज्यानभरी घाउ छ । लौन मेरी छोरी खोजिदेऊ ।’ उपचारको क्रममा  उनकी तीन वर्षीय छोरी मुस्कानको आइतबार बिहानै अस्पतालमा मृत्यु भयो । तर पार्वतीको अवस्था गम्भीर भएकाले अस्पतालले दिउँसो तीन बजेपछि मात्र उनलाई छोरी बितेको खबर जानकारी गराएको थियो ।

अग्नी बसका यात्रु त्रियुगा, गाईघाटका टिकाराम राउतले ठूलो आवाज आएपछि मात्र दुर्घटना भएको थाहा पाए । ‘सबै यात्रुहरु बसमा निदाइरहेका थिए,एक्कसी ठूलो आवाज आयो र म झ्यालबाट उछिट्एिर सडकमा पछारिन पुगेँँ’, उनले भने, ‘बाहिर चारैतिर उडिरहेको धुलो हटेपछि जताततै शव र घाईतेहरु देखेँ र म पनि बेहोस हुन पुगेछु ।’
स्थानीय टंक मोक्तानले स्थानीय र प्रहरीले तत्कालै घाइतेलाई उपचारको लागि अस्पताल पुर्याएकाले धेरै घाइतेको ज्यान जोगिएको बताए ।

‘मेरो घर भन्दा करिब ५० मिटर तल ठूलो आवाज आएपछि दौडिएर सडकमा पुगेँ, त्यहाँ पुग्दा शव छरिएका र घाइतेहरु छटपटाईरहेका थिए’, घटनाबारे बताउँदै उनले भने, ‘अलि घुमारो सडकका कारण विपरित दिशाबाट आउने सवारी साधन नदेख्दा प्रायः यहाँ दुर्घटना हुने गरेको छ ।’ दुर्घटनास्थल हेटौँडादेखि करिब ३५ किमिको दुरीमा पश्चिममा रहेको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.