प्रचण्ड र बेइजिङ
सम्भावित प्रधानमन्त्री पुष्पकमल दाहालले कूटनीतिक भेटघाटलाई तीव्रता दिएका छन् । यसबीच चिनियाँ राजदूत उ चुन्ताईसँगको भेटघाटमा दुईपक्षीय सम्बन्ध र त्यसको भविष्य निकै चासोका साथ उठेको छ, जुन अस्वाभाविक हैन ।
भारतको नेपालको मामिलामा देखिँदो हस्तक्षेपकारी नीति, संविधान जारी भएयताको आर्थिक नाकाबन्दी र त्यसले नेपालमा उत्पन्न गरेको भारतविरोधी आम मनोविज्ञान र प्रधानमन्त्री केपी ओली व्यापार र पारवहन विषयसहित चीनसँगको सम्बन्धलाई दिएको व्यापक आयामको पृष्ठभूमिमा ओलीको राजीनामालाई भारतमा उसको ठूलो विजयका रूपमा हेरिएको छ, आधिकारिक तहमा समेत यदि संस्थापनलाई उद्धृत गर्दै आएका सञ्चारमाध्यमका टिप्पणीहरू हेर्ने हो भने ।
त्यस अर्थमा ओलीको उत्तराधिकारीको रूपमा अगाडि आएका पुष्पकमल दाहालप्रति भारतको चासो र केही अपेक्षालाई अस्वाभाविक भन्न नमिल्ला, तर पनि आगामी दिनमा दाहाल नेपालको हित, सार्वभौमसत्ता, स्वतन्त्र हैसियत आदिबाट निर्देशित हुनेछन् या बाहिरी स्वार्थ र दबाबबाट, त्यो सर्वाधिक चासोको रूपमा हेरिनेछ, मुलुकभित्र । त्यसैबाट उनको भावी मूल्यांकन पनि हुनेछ ।
चिनियाँ राजदूतसँगको भेटघाटमा दाहालले प्रधानमन्त्री ओलीले चीनसँग गरेका सम्झौता, सहमतिविरुद्ध आफू नजाने या त्यसलाई कार्यान्वयन गर्दै दुईपक्षीय सहयोगलाई थप उचाइमा पुर्याउने प्रतिबद्धता जनाएका छन् । ओलीकै प्रधानमन्त्रीत्व कालमा र पहिला माओवादीका कमान्डर रहेका हालका उपराष्ट्रपति नन्दकिशोर पुनले हस्तान्तरण गरेको निमन्त्रणा स्विकार्दै राजकीय भ्रमणमा नेपाल आउने तयारी राष्ट्रपति सी जिनपिङले गरिरहँदा नेपालमा सत्ता र नेतृत्व परिवर्तन हुन लागेको छ ।
सामान्यतया, नेतृत्व परिवर्तनकै कारण छिमेकबाट हुन लागेको उच्चस्तरीय भ्रमण प्रभावित हुनुनपर्ने हो, तर नेपालमा सत्ता परिवर्तन विविध बाह्य स्वार्थ र क्रियाकलापबाट समेत हुने तथ्य सर्वत्र जानकारीको विषय हुने हुँदा त्यस्ता परिवर्तनले ती भ्रमणका तालिकालाई पनि स्वाभाविक रूपले प्रभावित गर्ने गर्छन् ।
ओली बहिर्गमनमा भारतमा देखा परेको उत्साहले चीनको त्यो आशंकालाई अझ प्रगाढ बनाएको छैन भन्ने सकिन्न । त्यसैले दाहालले चिनियाँ राजदूतलाई दिएको आश्वासनमा भावी सरकारको वैदेशिक मामिला र छिमेकीसँगको सम्बन्धको स्पष्ट मान्यता झल्केको छ, तर अहिले विधिवत्रूपमा प्रधानमन्त्री बन्नुअघि र यता संवेदनशील विषयहरूमा आम सहमति नबनाई दाहालले दिएको आश्वासनले कति विश्वस्त गर्ला, नेपाललाई नजिकबाट नियालिरहेको चीनले ?
नेपालको राजनीति र नेतृत्वले नेपाली जनतामाझ समेत विश्वसनीयता गुमाएका छन् । विदेशी र अन्तर्राष्ट्रिय जगत् उनीहरूको यो गिर्दो विश्वसनीयताबारे अनभिज्ञ छैन । त्यसैले आगामी दिनमा नेपाली नेतृत्व वर्गले संयमित र बृहत् साझेदारीको मार्गचित्रको रूपमा विदेश नीति र अनुकुल व्यवहार प्रस्तुत गर्न सक्नुपर्छ ।
नेपाली राष्ट्रिय हित, सार्वभौम हैसियत र स्वतन्त्रतालाई प्राथमिकताको केन्द्रमा राख्नु त पर्छन नै, आन्तरिक राजनीतिमा भारतीय भूमिका अस्वीकार गर्ने आँट पनि उनले जुटाउनुपर्नेछ ।