गथामुग पर्वयसको वातावरणीय र धार्मिक महत्व

गथामुग पर्वयसको वातावरणीय र धार्मिक महत्व

भक्तपुरः प्रत्येक साउन कृष्ण चतुर्दशीका दिन काठमाडौं उपत्यकाको सहरका टोलटोल तथा गाउँका चौबाटो, तीनदोबाटो तथा दोबाटोमा जलाइने गथामुग (घण्टाकर्ण) लाई सर्वसाधारणहरु पिचासको संज्ञा दिन्छन् ।

त्यस्तै गथामुगलाई बालबालिका मारेर खाने राक्षसकोे रुपमा बढी चित्रण गरिएको पाइन्छ । समाजलाई दुःख दिने पात्रको रुपमा रहेको गथामुगलाई सोहीअनुसार दोबाटो र चौबाटोमा लगी जलाउने गरिन्छ । यसलाई जलाइसकेपछि बालबालिकालाई उसको खरानीको टीका लगाइदिने तथा त्यसलाई नाघ्न लगाइन्छ । यसो गर्दा बालबालिकामा रहेको डर भाग्ने तथा रुन्चे लागेको हट्ने जनविश्वास रहेको छ ।

तर संस्कृतिविद्हरु गथामुग कुनै पिचास वा राक्षस नभई स्थानीय क्षेत्रमा रहेका भैरव तथा अन्य देवताको प्रतीक भएको बताउँछन् । उनीहरुका अनुसार गथामुग अन्य देवीदेवताको नाम सुन्न नचाहने नास्तिक, सुनलाई भन्दा फलामलाई महत्व दिने व्यक्ति र भाग्यमा भन्दा कर्ममा विश्वास गर्ने पात्र हुन् ।
‘विशेष गरी देवदेवीको नाम सुन्नुपर्ला भनी हरहमेशा आफ्ना कानमा ठूलाठूला घण्टा झुण्डाइराख्ने भएर उनको नाम घण्टाकर्ण भएको हो’, संस्कृतिकर्मी ओमप्रसाद धौभडेल भन्छन् ।

संस्कृतिकर्मी धौभडेलका अनुसार अहिलेसम्म भेटिएको प्रमाणमध्ये सबैभन्दा पुरानो गोपाल राजवंशावलीमा उल्लेख भएको गण्ठकर्ण चवदशबाट घण्टाकर्ण भएको हो । त्यस्तै ने.स. ६९१ मा लेखिएको हितोपदेश ग्रन्थमा पनि गण्ठकर्ण चवदश र ने.स. ७९२ को एउटा नेपालभाषाको गीतमा पनि स्पष्टसँग छ्वालीको घण्टासुर बनाई सेलाउने उल्लेख रहेको उनी बताउँछन् ।


ने.स. ८१८ मा भक्तपुर तलेजुस्थित मालती चोकमा भेटिएको एउटा शिलापत्रमा साउन शुक्ल चतुर्दशीलाई स्पष्टसँग गाथामोगल चवदश भनिएको उनले बताए । गथामुग च¥हेको दिन भक्तपुरको नवदुर्गा गणभित्र महादेवको उत्पत्ति हुने जनविश्वाससमेत रहेको छ । यसैलाई आधार मानी गाथा (नवदुर्गा गण बन्ने जाति) बाट शिवलिङ्ग स्थापना हुने भएकोले यस दिनलाई गाथामुग च¥हे भनिएको संस्कृतिकर्मीहरुको मत रहेको छ ।

‘बनमालाहरु कुनै कलाकार होइनन्, त्यसैले उनीहरुले यस दिन बनाउने शिवलिंग साँच्चिकै शिवलिंग जस्तो नभई मुग (माटाको डल्ला फुटाउने डलेढो) जस्तो बन्न गएकोले यस दिनलाई गथामुग भनिएको हो’, संस्कृतिकर्मी धौभडेलले भने ।

यस हिसाबले पनि गथामुग कुनै राक्षस वा पिचास नभई महादेव भएको अर्का संस्कृतिविद् एवं इतिहासविद् प्रा.डा. पुरुषोत्तमलोचन श्रेष्ठको तर्क रहेको छ ।
‘हाम्रो संस्कृतिमा मार्ग कृष्ण चतुर्दशीलाई बाला चतुदर्शीले चिनिन्छ । जसका प्रमुख नायक बालासुर जो शिवकै एक रुप हो’, प्रा. डा. श्रेष्ठ भन्छन्, ‘चैत कृष्ण चतुदर्शी पिशाच चतुर्दशी हो, जसका अधिपति भूतप्रेत पिचास शिवकै गण हो । यता फागुन कृष्ण चतुर्दशी शिवरात्री त भगवान शिवकै पूजा आराधना गर्ने दिन हो । त्यसैले श्रावण कृष्ण चतुर्दशीको दिनका नायक गथामुग पनि शिवकै रुप भएकोमा दुईमत हुन सक्दैन ।’

उनका अनुसार गथामुगको आकृति हेर्दा उन्मक्त भैरवसँग मिल्दोजुल्दो छ । ‘उन्मक्त भैरव पनि महादेव नै हुन्’, उनी थप्छन् ।
यस दिन स्थानीय वासिन्दासँग मागेर ल्याइएको छ्वाली र नर्कटको सहायताले बनाइएको गथामुगलाई नाङ्लोमा लेखिएको विशाल डरलाग्दो मुखाकृति, कपडाबाट बनाइएका पुतलीहरुको माला, भोगटेलगायतले सिंगारिएर साँझको बेला स्थानीय दोबाटो र चौबाटोमा दहन गरेर गथामुग पर्व मनाइन्छ ।

यस दिन नेवार बस्ती भएका भक्तपुरसँगै ललितपुर, काठमाडौं, काभ्रे, मकवानपुर, धनकुटालगायतका गाउँठाउँका एउटै दोबाटोमा दर्जनौं गथामुग दहन गरिन्छ । भक्तपुर नगरभित्र विशेष आकर्षणको रुपमा रहेको दत्तात्रय क्षेत्रमा मात्रै यस दिन पाँचवटा गथामुग दहन गरिन्छ ।

यसरी भीमकाय परालबाट बनेको गथामुग सेलाउन जाँदा गुठी तथा दाफाभजनका सदस्यहरुले बाजागाजा बजाउने तथा अन्यले छ्याली बालेर सँगसँगै गई विभिन्न अश्लील गालीहरु गर्ने गरिन्छ ।

पराल र नर्कटबाट बनेको गथामुगलाई अश्लील र भद्दा देखाउन दुइटा ठूल्ठूला हरिया भोगटे र परालको डोरी बेरेर बनाएको डल्लो झुन्ड्याइन्छ । त्यसलाई पुरुषको जनेन्द्रिय अंगको प्रतीक मानिन्छ ।

गथामुगको वातावरणीय महत्वसमेत रहेको छ । असारपछि साउन महिनामा दिनहुँजसो झरी भइरहन्छ । यसले भुसुना, लामखुट्टे जस्ता हानिकारक कीराहरुले सर्वसाधारणलाई दुःख दिन्छन् । यसले मानिसहरु मौसमी बिरामी पनि हुन्छन् ।

यस्ता हानीकारक कीराहरुलाई टोलबस्तीबाट भगाउन छ्वालीलगायत बालेर धुँवा आगो बनाएर बस्तीभन्दा टाढासम्म भगाउन घन्टाकर्णको दहन गरिनु वैज्ञानिक भएको वातावरणविद्हरु बताउँछन् ।

उनीहरुका अनुसार यसै दिन किसानहरुले आआफ्नो भण्डार तथा पराल र छ्वाली राख्ने ठाउँ सफा गर्छन् । यस दिन गथामुग बनाउन सर्वसाधारणहरु बाजागाजासहित घरघरमा गएर छ्वाली र पराल माग्न जाने गर्छन् । यसरी माग्न आउनेलाई किसानहरुले आफूले सफा गरेको ठाउँबाट उब्रेको छ्वाली तथा पराल दिएर पठाउँछन् ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.