मानव तस्कर फन्दामा पक्राउ परेका ५ नेपालीलाई स्वदेश फर्काइयो
काठमाडौँ: मलेसियास्थित नेपाली दूतावासले फेडरेटेड स्टेट्स अफ माइक्रोनेसियाको याप राज्यमा पक्राउ परेका १६ मध्ये पाँच नेपालीको उद्वार गरी स्वदेश पठाएको छ ।
उद्वार गरी स्वदेश फर्काइएका पाँच नेपालीहरुमा गुल्मीका वसनकुमार थापा, चितवनका वाकसिंह घलान, कमल बहादुर घलान, कमल तामाङ् र काभ्रेका पृथ्वी तामाङ् छन् ।
विदेशी तथा नेपाली मानव तस्करले अमेरिका र अष्ट्रेलिया लगिदिने प्रलोभन देखाउँदै ती नेपालीलाई मलेसिया र इन्डोनेशिया हुँदै माइक्रोशेसिया पुर्याएर अलपत्र छोडेका थिए । माइक्रोनेसिया प्रशान्त महासागर क्षेत्रमा अवस्थित टापुहरुको सानो मुलुक हो ।
अलपत्र अवस्थामा रहेका उनीहरुलाई माइक्रोनेसियाका अध्यागमन अधिकारीले घर फिर्ती केन्द्रहरुमा राखेका थिए । माइक्रोनेसियाली अधिकारीहरुले नेपाली दूतावास मलेसियालाई सम्पर्क गरी उनीहरुको जिम्मा लगाएका थिए ।
दूतावासको आग्रहमा माइक्रोनेसियाली अधिकारीले निशुल्क एकतर्फी ट्राभल डकुमेन्ट जारी गरेपछि उनीहरुको स्वदेश फिर्ती सम्भव नभएको क्वालालम्पुरस्थित नेपाली दूतावासद्वारा मंगलबार जारी प्रेस वक्तव्यमा उल्लेख छ ।
पक्राउ परेका १६ जनामध्ये ७ जनालाई अन्र्तराष्ट्रिय आप्रवासी संगठनको पहलमा २५ जुनमा नेपाल फर्काइएको दूतावासले जनाएको छ ।
माइक्रानेसियामा अझै चार जना नेपाली अध्यागमनमा रहेको दूतावासले जनाएको छ । उनीहरुलाई संयुक्त राष्ट्रसंघीय मानवअधिकार उच्चायुक्तको कार्यालयले शरणार्थीको दर्जा दिएको छ ।