पढ्ने तन्नेरी !

पढ्ने तन्नेरी !

पोखराका विक्रम थापाको हातमा अहिले ओह्रान पामुकको पुस्तक 'इस्तानबुल' छ । सिभिल इन्जिनियरिङमा ब्याचलर सकेर मास्टर्सको लागि तयारी गरिरहेका थापा धेरैजसो अंग्रेजी भाषाका पुस्तक पढ्छन् । फिलोसपिकल टेस्ट आउने आख्यान उनको मुख्य रुचिको विषय हो ।

महिनामा तीन/चार हजार पुस्तक किन्न खर्च गर्ने थापाले यसरी पढ्न थालेको चार वर्ष भएछ । 'स्कुल छँदा अलिअलि पढिन्थ्यो पछि कलेजमा पढ्ने साथीहरूको सर्कल बन्यो, झन् धेरै पढ्न थालियो' थापा भन्छन् ।

बुटवलका विक्रम बगदेश भने अहिले इतिहास पढिरहेका छन् । ज्ञानमणि नेपालको 'नेपालको महाभारत' पढिरहेका उनी ज्ञान बढाउन पुस्तक पढ्छन् । 'पुस्तकहरू महँगा छन्' बगदेश भन्छन्, 'चाहे जति नसके पनि पढ्न चाहिँ छोडिन्न' । अर्घाखाँचीमा जन्मे÷हुर्केका उनी सानो छँदा घरमा आउने माओवादी नेता, कार्यकर्ताको प्रेरणाले पुस्तक पढ्न थालेको बताउँछन् ।

काठमाडौंमा आईटी पढिरहेका विवेक मिश्र अहिले 'आउट अफ पोभर्टी' नामक पुस्तक पढिरहेका छन् । विकास र व्यवस्थापनबारे धेरै रुचि राख्ने उनी फेसबुक, ट्विटरजस्ता सामाजिक सञ्जालहरूमा हुने चर्चा, परिचर्चाबाट पुस्तक छान्ने बताउँछन् ।

नेपालीमा अनुदित चिनियाँ साहित्यहरू पढिरहेका जुम्लाका महेश नेपालीलाई भने पुस्तक पाउनै गाह्रो छ । तर पनि नेपालगन्ज वा काठमाडौं आएको बेला उनी सके जति पुस्तक किनेर लैजान्छन् । 'केही जान्न, बुझ्न सकेसम्म पढ्ने प्रयास गर्छु', उनले फेसबुक च्याटमा बताए ।

त्रिभुवन विश्वविद्यालयमा अर्थशास्त्रमा स्नातकोत्तर गरिरहेकी भक्तपुरकी सिर्जना सैंजू पनि उस्तै पढन्ते हुन् । 'चिनियाँ सपना' नामक पुस्तक पढिरहेकी सैंजू आफू बाँचिरहेको समय र समाज बुझ्न किताब पढ्ने बताउँछिन् । उनका साथीहरू पनि केही न केही पढिरहेका हुन्छन् ।

बुटवलबाटै व्यवस्थापनमा स्नातकोत्तर गरिरहेका दिलीप ज्ञवाली पनि पुस्तक पढ्न रुचि राख्छन् । चर्चामा आएका प्रायः किताब हम्मेसी नछोड्ने उनी महिनामा ८/१० वटा किताब किन्छन् । पुस्तक पढ्नेहरूको छुट्टै समूह नभए पनि पुस्तक पसलमा हुने चर्चाले पनि पढ्न प्रेरित गर्ने उनको अनुभव छ ।

 

ब्याग बोकेर कलेज जाँदै गरेकोदेखि कलेज सकेर करिअर खोजिरहेको यो पुस्ताका केही प्रतिनिधिहरूसँग गफिँदा पनि पुस्तक पढ्नेहरूको संख्या बढिरहेको देखिन्छ । किताबको बढ्दो बिक्री, सामाजिक सञ्जालहरूमा हुने चर्चा र किताब बोकेर हिँडिरहेका तन्नेरीहरूको दृश्यले सहरबजारमा पढ्नेहरूको जमात बढिरहेको बताउँछ । तर, कस्तो पढिरहेका छन् त युवा पुस्ता ?

चितवनमा पुस्तक पसल सञ्चालन गरिरहेका लेखराम सापकोटाका अनुसार, प्रेममा आधारित आख्यानहरूमा युवा पुस्ताको बढी रुचि भएको बताउँछन् । शैक्षिक र जीवनदर्शनका पुस्तकहरू पनि युवा पुस्ताको रुचिमा पर्ने उनको अनुभव छ । 'पुस्तक पढ्ने जमात बढेको छ' सापकोटा भन्छन्, 'तर गम्भीर भइसकेको छैन' ।

यस्तै अनुभव छ सगुना शाहको पनि । स्नातकोत्तर तहलाई अंग्रेजी साहित्य पढाउने शाह काठमाडौंमा पुस्तकबारे छलफल हुने फेसबुक समूह 'बुकाहोलिक्स' पनि सञ्चालन गर्छिन् । उनको विचारमा त पढ्ने संस्कृति अझै बसिसकेको छैन । 'कलेज जानेहरूमध्ये बढीमा १० प्रतिशतले पढ्लान्' शाह अनुमान गर्छिन् ।

किताबको बढ्दो बिक्री, सामाजिक सञ्जालहरूमा हुने चर्चा र किताब बोकेर हिँडिरहेका तन्नेरीहरूको दृश्यले सहरबजारमा पढ्नेहरूको जमात बढिरहेको बताउँछ । तर, कस्तो पढिरहेका छन् त युवा पुस्ता ?

पढ्नेहरूमध्ये पनि धेरैले बजारमा हल्ला हुने पढ्ने धेरैजसो छन् । 'तर कोही कोही छक्कै पार्ने गरी सिरियस स्टडी पनि गरिरहेका छन्' उनको अनुभव छ । सानैदेखि पुस्तक पढ्ने बानी बसाल्न सके पठन संस्कृतिको विकास हुने उनको धारणा छ । 'राम्रो लाइब्रेरी भएका र रिडिङलाई महत्त्व दिने राम्रा विद्यालयहरूबाट आएका विद्यार्थीमा भने पढ्ने कल्चर देखिन्छ' उनी भन्छिन् ।

गम्भीर पठनको विकास नभएकोमा भने युवाहरूकै पनि गुनासो छ । 'लहलहैमा पढ्ने धेरै देखिरा'छु' विक्रम भन्छन्, 'बजारमा आएको प्रेम उपन्यास पढिस् भनेर सोध्ने धेरै छन् ।' त्यस्तै अनुभव छ काठमाडौंमा सामाजिक अनुसन्धान गरिरहेका रवीन्द्र ढकालको पनि । 'बजारको हल्लाको पछि लाग्ने धेरै छन्' ढकालको भनाइ छ ।

'सानो कक्षादेखि नै पढ्ने बानी बसाल्ने हो भने र पुस्तकालय पहुँच बढाउने हो भने गम्भीर पठनको विकास गर्न सकिन्छ' शाह बताउँछिन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.