मन्त्रिपरिषद् विस्तारको गृहकार्य

मन्त्रिपरिषद् विस्तारको गृहकार्य

काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रिपरिषद् विस्तारका लागि आफूलाई समर्थन गर्ने राजनीतिक दलका नेतासँग परामर्श थालेका छन् । माओवादी केन्द्रका तीन र कांग्रेसका दुई मन्त्रीलाई आफूसँगै शपथ गराएका प्रधानमन्त्री दाहालले मन्त्रिपरिषद् विस्तारका लागि शनिबार कांग्रेस सभापति शेरबहादुर देउवासँग उनकै निवास बूढानीलकण्ठ पुगेर छलफल गरे ।

'देउवासँग मन्त्रिपरिषद् विस्तार, मधेसी मोर्चासँग भएको तीनबुँदे सहमति र कांग्रेस–माओवादी केन्द्रबीच भएको सातबुँदे सहमतिलाई कार्यतालिका बनाएर कार्यान्वयनमा लैजानेबारेमा छलफल भएको हो', प्रधानमन्त्रीको सचिवालयका एक सदस्यले अन्नपूर्णसँग भने ।

स्रोतका अनुसार नेपाल विद्यार्थी संघको महाधिवेशन र राष्ट्रिय प्रजातन्त्र पार्टीको एकताप्रक्रियापछि मात्रै मन्त्रिपरिषद् विस्तार हुनेछ । राप्रपाको एकता र नेविसंघको महाधिवेशन साउन २५ गते सकिँदैछ । देउवाले दाहाललाई नेविसंघको महाधिवेशनपछि मन्त्रिपरिषद् विस्तार गर्न सुझाव दिएको स्रोतले बतायो ।

दाहालका छोरा प्रकाशका अनुसार शनिबार नै राष्ट्रिय प्रजातन्त्र पार्टीलाई दुईजना मन्त्रीको नाम पठाइदिन पत्र पठाइएको छ । प्रधानमन्त्री दाहालको पार्टी माओवादी केन्द्रभित्र पनि मन्त्री बन्ने आकांक्षी धेरै भएका कारण व्यवस्थापन गर्न कठिनाइ भइरहेको स्रोतले बतायो ।

 

प्रधानमन्त्री निर्वाचनमा आफ्ना पक्षमा मतदान गर्ने मधेसी मोर्चाका नेताहरूले भने संविधान संशोधनपछि मात्र सरकारमा सहभागी हुने जनाउ दिएका छन् । तर मोर्चाभित्र आठ मन्त्रालय लिएर सरकारमा सहभागी हुनुपर्ने आवाज पनि उठिरहेको छ ।

प्रधानमन्त्री दाहालसँगै बिहीबार उपप्रधान तथा गृहमन्त्रीमा विमलेन्द्र निधि, उपप्रधान तथा अर्थमन्त्रीमा कृष्णबहादुर महरा, भौतिक पूर्वाधार तथा यातायातमन्त्रीमा रमेश लेखक, कृषिमन्त्रीमा गौरीशंकर चौधरी, युवा तथा खेलकुदमन्त्रीमा दलजित श्रीपाइलीले शपथ लिएका थिए ।

यसैबीच प्रधानमन्त्री दाहालले आफ्नो कार्यकाललाई प्रभावकारी बनाउन अपवादबाहेक उद्घाटन र रिबन काट्ने कार्यक्रममा नअल्झिने बताएका छन् । दाहालले शनिबार बिहान आफ्नो सचिवालयका सदस्यलाई उद्घाटनका कार्यक्रममा आफूलाई सहभागी नगराउन निर्देशन दिए ।

गोरखा–काठमाडौं जनसम्पर्क मञ्चको पाँचौं एकता भेलामा शनिबार दिउँसो सहभागी भएका दाहालले भने, 'परिणाममुखी काम हुनुपर्छ भन्नेमा छु । यो कार्यक्रम प्रधानमन्त्री हुनुभन्दा पहिले नै तय भएकाले म आएँ । अब अपवादबाहेक उद्घाटनका कार्यक्रम र रिबन काट्ने काममा अल्झनेछैन ।'

माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ, हितराज पाण्डे, देव गुरुङ, हरिराज अधिकारी, लेखनाथ न्यौपाने र अमृता थापामगर पनि सहभागी कार्यक्रममा दाहालले भने, 'संसद्मा हामी अहिले पनि तेस्रो दलकै रूपमा उपस्थित छौं तर १० माओवादीको एकतापछि हामी ठूलो दल बनेका छौं । एकतालाई जनतासम्म पुर्‌याएर जनआकांक्षा पूरा गर्नतिर लाग्नु अबको प्राथमिकता हो ।'

संविधानको परिमार्जनसहित कार्यान्वयन, भूकम्पपछिको पुनर्निर्माण र राहत, आर्थिक समृद्धि र जनआकांक्षाको परिपूर्ति सरकारको मुख्य कार्यभार रहेको पनि दाहालले बताए । आफ्ना अगाडि रहेका चुनौतीलाई होसियारीपूर्वक सामना गर्दै परिणाम निकाल्ने दाबी पनि दाहालले गरेका थिए ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.