पहिरोले गाउँभरी बिचल्ली

पहिरोले गाउँभरी बिचल्ली

प्युठानः पहिरो गएको दस दिनपछि खैसरा गुरुङ आफ्नो घर खोज्दै थिइन् । पहिरोले प्युठानको फोप्ली गाविस–६ स्थित गाउँको पूरै पाखो बगाएको छ । उनको घर पनि पहिरोमै मिसियो । ‘यहींनेर घर थियो, ऐले त केही पनि छैन,' पहिरोले चिरा परेको जमिन देखाउँदै उनले भनिन्, ‘घर सबै पुरियो, हामी सबै भागेर बाँचिम् ।'
साउन ८ गते सुरु भएको वर्षा १० गतेसम्म निकै बाक्लिएको थियो । घरका छानासमेत पानीका थोपाले चुहिन थालेका थिए । कतिपय फुसका छानामा त प्वाल नै परेको थियो । अहिलेसम्म यो ठाउँमा यति ठूलो पानी परेकै थिएन । स्थानीय बासिन्दाका अनुसार आकाशबाट बर्सिएको पानी धाराबाट आउने पानीभन्दा पनि ठूलो थियो । छाताको समेत कुनै काम थिएन । मानिसलाई ओत लाग्ने ठाउँ थिएन । त्यही दिन गाउँको बीचमा यही वर्ष खनिएको बाटो भत्किन थालेको थियो । मानिसको भागाभाग सुरु भयो ।

११ गते पानी अझै बाक्लियो । मानिसहरूले धमाधम घर छोडिरहेका थिए । यही दिन ठूलो पहिरो गयो । वडा नम्बर ६ मा धेरै मानिसले घर छोडिसकेका थिए । गाउँका धेरैजसो घर बगे तर यहाँ मानवीय क्षति भएन । वडा नम्बर ५ मा भने राति पहिरो गयो । मानिसहरू भाग्न पाएनन्, ठूलो मानवीय क्षति भयो । एउटै ठाउँमा १२ वटासम्म शव भेटिए ।

फोप्ली गाविसभरि १० र ११ गतेको पहिरोले २७ जनाको ज्यान लियो । अझै एक महिला बेपत्ता छिन् । यहाँ बस्ती बसेको सबैजसो जमिन फाटेको छ । पहाड र पाखा सबै चिराचिरा भएका छन् । त्यहाँबाट अहिले पानीको मूल निस्किएर बगिरहेको छ । त्यो पानीले माटो पनि बगाइरहेको छ । मानिसहरू अझै पनि बस्ने ठाउँको जोहोमा लागिरहेका छन् । घरबारी बगेकाले पहिरो थुप्रिएको माटो खोस्रिइरहेका छन् ।

केहीले बचेका सामान जमिन खोस्रेर निकालिरहेका छन् । फेरि पहिरोको डरले मानिस घरका सामान बोकेर यताउता बास खोजेर हिँडिरहेका छन् । पहिले घर भएको ठाउँमा फेरि घर बनाउने ठाउँ छैन । जताततै जमिन फाटेको छ । ‘अब कसैले त्रिपाल दिए पनि गाउँमा टाँगेर बस्ने ठाउँ छैन,' पहिरोमा घर गुमाएका विष्णु गुरुङ भन्छन्, ‘जमिनका टुक्रा नै बचेनन्, जताततै चिरा भएका छन्, माटो थुप्रिएको छ ।'

सुनसान गाउँ

पहिरोले बगाएका घरहरूको कुनै नामनिसाना छैन । सबै माटो नै माटोको थुप्रो । फोप्लीको वडा नम्बर ५ मा अहिले सबैजसो मानिसले घर छोडिसकेका छन् । पहिरोले बचेका घरमा अहिले ताला लागेको छ । कतिपय मानिस त्यत्तिकै घर छोडेर हिँडेका छन् । उनीहरू कोही आफन्तको शरणमा छन्, कोही गाउँको विद्यालयमा बस्छन् ।

सबै जमिन फाटेपछि गाउँमा अहिले टेन्ट राख्ने ठाउँसमेत छैन । सबै प्रभावित गाउँमा जिल्ला प्रशासन कार्यालयको समन्वयमा एक हजारभन्दा बढी टेन्ट वितरण गरिएको छ । ती टेन्ट राख्न कतै पनि जमिन छैन । भएको समथल जमिन पहिरोले बगाएर चिरा बनाएको छ भने केही जमिनमा मकैलगायत अन्नबाली छन् । प्युठानमा सबैभन्दा धेरै अन्न फल्ने गाविस फोप्ली पनि हो ।

 

‘टेन्ट दिएका छन्, त्यसलाई कहाँ लगाउने हो र ? ' घर बगाएपछि गाउँको स्कुलमा शरणार्थी भएकी कमला गुरुङले भनिन्, ‘सबै जमिन बगाइसक्यो, अर्काको जमिनमा बस्न दिन्नन् ।' विपत्तिपछिको सबैभन्दा ठूलो समस्या अहिले विस्थापितको पुनस्र्थापना हो । उनीहरुलाई कहाँ पुनस्र्थापना गर्ने भन्नेबारे अहिले जिल्लास्तरमा छलफल भइरहेको छ । जताततै भिरालो जमिन छ, त्यसमा पनि अझ पहिरोपछि नफाटेको जमिन गाउँमा कतै छैन । डाँडा, पाखा र बाटोसमेत चर्किएर फाटेको छ ।

गाउँलेले पहिरो थुप्रिएको माटोमाथि हिँड्ने गोरेटो बनाएका छन् । नत्र एउटा घरबाट अर्काे घरमा जाने बाटोसम्म फोप्लीमा छैन । विस्थापितको व्यवस्थापनका लागि कतै खाली जमिनको खोजी भइरहेको प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले बताए । तर त्यत्ति धेरै मानिस अट्ने जमिन गाउँमा कतै पनि छैन । वडा नम्बर ५ मा सबैजसो जमिन फाटेको छ । त्यहाँ रहेका एक सय ९५ घरमध्ये आधाभन्दा बढी बगेका छन् भने बाँकी सबैजसो घर जमिनसँगै चर्किएका छन् । ती घर कोही पनि बस्न योग्य छैनन् ।

त्यत्ति नै घरधुरी रहेको वडा नम्बर ३ चारिबाङमा पनि धेरैजसो घर जोखिममा छन् । यो वडामा मात्रै २५ जनाको ज्यान गएको थियो । तीमध्ये १७ जना एउटै घरबाट छुट्टिएका हुन् । १० जनाको शव एउटै पहिरोमुनि भेटिएको थियो । ठाउँठाउँमा गुजुमुज्ज घर भएर बस्ती बसेको यो गाविसको वडा नम्बर ६ को केही जमिनबाहेक अरू कुनै पनि जमिन सुरक्षित नभएको स्थानीय कांग्रेस नेता देवीराम पुनमगरले बताए ।

प्रमुख जिल्ला अधिकारी पन्तले भने विस्थापितलाई बसाउन केन्द्रबाटै भूगर्भविद्को विज्ञ टोली झिकाउन पहल भइरहेको बताए । ‘त्यो टोली आयो भने पूरै जमिनको परीक्षण गरेर विस्थापित र जोखिममा परेकालाई सुरक्षित स्थानमा व्यवस्थित बस्ती बनाउने योजनामा छलफल भइरहेको छ,' उनले भने ।

राहतमा दलहरूको मनपरी


फोप्लीबासीले अहिलेसम्म यस्तो विपत्ति सुनेका मात्रै थिए भोगेका थिएनन् । त्यही गाउँमा ७३ वर्ष बिताइसकेकी नुमाकुमारी जीसीको अनुभवमा यसरी कहिल्यै पनि त्यहाँ पानी परेको थिएन । ‘यो सब दैवकै खेल होला, यहीं बूढी भएर मर्ने बेला भइसक्यो, अहिलेसम्म यस्तो पानी परेको थाहा थिएन,' उनले भनिन्, ‘यत्तिका मान्छे मरेका छन्, सबै जमिन बगिसक्यो, सरकार कहाँ छ ? '

विपत्तिपछि पीडितलाई राहत दिन स्थानीय राजनीतिक दलले भागबन्डा गरिरहेका छन् । उनीहरूले पीडितका नाममा केही पनि क्षति नभएकालाई समेत दलीय भागबन्डा गरेर पीडितको लिस्टमा राखेका छन् । पीडितका नाममा आएको त्रिपालसमेत नभत्किएका घरमा पुगेका छन् । ‘गाउँमा यत्रो विपत्ति भएको छ, हाम्रा घर बगेका छन्, जमिन सबै माटोमा मिसिएको छ तर दलहरूले आफ्ना मान्छे भन्दै कार्यकर्ताका नाम राहत पाउनेमा राखेका छन्,' पीडित सेसे पुनले भने, ‘यहाँ राजनीति गर्न आउँछन्, भाषण गर्छन् र जान्छन्, हामी त उस्तै हौं ।'

कांग्रेस नेता देवीराम पुन भने दलीय संयन्त्रमार्फत राहत बाँडिरहेको बताउँछन् । ‘त्यस्तो त केही छैन, कोही पीडित दलका कार्यकर्ता छन् भने उनीहरूलाई सिफारिस नगर्ने त ? ' उनले भने, ‘त्यस्तै परेर मानिसले भनेका होलान् तर हामीले वास्तविक र पीडित छुटाएका छैनौं ।'

पहिरो गएको दुई दिनपछि प्रमुख जिल्ला अधिकारी जनकराज पन्त फोप्ली पुगेका थिए । उनी पुगेको एक दिनअघि सेनाको उद्धार टोली त्यहाँ पुगेको थियो । बढुवा भएर यही जेठमा पन्त प्रमुख जिल्ला अधिकारी भएर प्युठान आएका हुन् । राहत पुर्‍याउनका लागि कुनै सरकारी संयन्त्र परिचालन भएका छैनन् । ठाउँठाउँबाट विभिन्न संघसंस्थाले संकलन गरेको राहत पनि थन्किएको छ । बाटो सबै भत्किएका कारण फोप्लीको प्रभावित गाउँसम्म राहत पुर्‍याउन सकिएको छैन ।

पहिरोको चार दिनपछि सेनाको हेलिकोप्टरले पुर्‍याएको एक बोरा चामल र केही चिउराबाहेक अहिलेसम्म पीडितले केही पाएका छैनन् । ‘त्यै एक बोरा चामल पनि सकिन लाग्यो, घरमा भएको सबै माटोमा मिस्सियो अब के खाने हो, काँ बस्ने हो ? ' विस्थापित खैसरा गुरुङले भनिन्, ‘सेनाले दिएको डब्बाभित्र अलिकति चिउरा, औषधि र केटाकेटीका खेलौना थिए, एक बोरा चामल पनि दिए ।'

प्रमुख जिल्ला अधिकारी पन्तले भने राहत वितरण व्यवस्थित गरिरहेको बताए । तर धेरैजसो संघसंस्थाले प्रभावित ठाउँमा नभई सुगम ठाउँसम्म मात्रै राहत पुर्‍याएका छन् । त्यसलाई व्यवस्थित गरेर पीडितसम्म पुर्‍याउन प्रशासनले संयन्त्र बनाएको छैन । राहतका लागि कुनै पनि राजनीतिक दलहरूले प्रमुख जिल्ला अधिकारीसँग समन्वय गरेका छैनन् । ‘उहाँहरूले समन्वय गर्नुभएको छैन,' प्रमुख जिल्ला अधिकारी पन्तले भने, ‘कताकता कुनकुन दलले राहत बाँडे भन्ने कुरा सुनिन्छ तर मलाई भने खबर छैन ।' प्युठानको विकट खबाङ गाविसका पीडितले भने अहिलेसम्म राहत पाएका छैनन् । यहाँ पनि करिब सय घरपरिवार विस्थापित भएका छन् ।

कमजोर माटो, जताततै बाटो

वडा नम्बर ५ र ६ मा सबैभन्दा धेरै बाटो खनिएको छ । भिरालो जमिनमा खनिएका सबै बाटा भत्किएका छन् । गाउँको सबैजसो जमिन भिरालो छ । त्यसमा पनि तलमाथि दुवैतिर घरहरू छन् भने बीचमा बाटो खनिएको छ । कतिपय घर त दुईवटा बाटोको बीचैमा छन् । तलमाथि दुवैतिर बाटोको बीचमा रहेका ती घर कोही त्यही बाटोको माटो थुप्रिएर पुरिएका छन् भने कोही आधामात्रै बाँकी छन् ।

यो बाटो यही वर्षमात्रै सञ्चालनमा आएको थियो । तर अहिले सबै बाटो भत्किएको छ । वडा नम्बर ५ मा सबैजसो ठूला पहिरा बाटो भत्किएरै बनेका छन् । मुख्य मोटर बाटोमा अहिले ठाउँठाउँमा पानीको मूल निस्किरहेको छ र त्यो वस्ती भएको ठाउँ बगिरहेको छ । ती बाटोको कुनै पनि वातावरणीय मूल्यांकन गरिएको छैन । प्राविधिकसमेत अनुगमनका लागि गएका थिएनन् । बाटो बन्यो र, बिना अनुगमन गाडी पनि सञ्चालन भयो । बाटो बनाउँदा धेरै डोजर र एस्काभेटर चलेका थिए । ‘यो पहाड फोडेर बाटो खन्दा डोजरले पूरै गाउँ थर्काएको थियो, हाम्रा घरहरू पनि हल्लिरहेका थिए,' स्थानीय दामोदर घर्तीले भने, ‘पहिला पनि बाटोमुनिको माटो भस्किइरहेको थियो ।'

गाउँभरि दुर्गन्ध

विपत्तिपछि अहिले गाउँमा दुर्गन्ध फैलिएको छ । वडा नम्बर ५, ६ र ३ मा सबैभन्दा धेरै पहिरो गएको छ । वडा नम्बर ४ का केही ठाउँमा पनि पहिरोले घर बगाएको छ । यो पहिरोमा धेरै पशुपक्षी मरेका थिए । भेटिएका केहीलाई उद्धारकर्मी र गाउँलेले गाडेका थिए भने धेरैजसो पहिरोमै छन् । ती मरेका पशुपक्षी कुहिएर अहिले पूरै गाउँभरि दुर्गन्ध फैलिएको हो । जिल्ला प्रशासन कार्यालयका अनुसार फोप्लीमा मात्रै करिब हजार पशुपक्षी पहिरोमा परेर मरेका छन् । दुर्गन्धका कारण गाउँमा महामारीको खतरा रहेको स्थानीय स्वास्थ्यकर्मी नारायण पोख्रेलले बताए । उनका अनुसार गाउँमा अहिले ज्वरो र वाक्वाकी लाग्ने बिरामी बढिरहेका छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.