पार्टीले हस्तक्षेप गर्दैनः देउवा

पार्टीले हस्तक्षेप गर्दैनः देउवा

काठमाडौंः कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीको भ्रातृसंस्था नेपाल विद्यार्थी संघको महाधिवेशनमा पार्टीको हस्तक्षेप नहुने बताएका छन् ।राजधानीको भृकुटीमण्डपमा आइतबार संघको ११ औं महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै सभापति देउवाले अब देश हाँक्ने युवापुस्ता भएकाले संघको महाधिवेशनमा देखिएका विवाद विद्यार्थी नेताले नै मिलाउनुपर्ने बताए ।

आफ्नो पुस्ताका नेताले पार्टीका मुलुकका विभिन्न जिम्मेवारी निर्वाह गरिसकेको बताउँदै देउवाले संघभित्र देखिएका विवादमा पार्टीलाई हस्तक्षेप गर्न ननिम्त्याउन पनि आग्रह गरे । ‘संघको झगडा आफैं मिलाउनुस्, विवादमा हामीलाई नतान्नुस्', देउवाले भने ।

देउवाले कांग्रेस बलियो नभएसम्म प्रजातन्त्र खतरामा रहिरहने बताउँदै त्यसको खबरदारी गर्न विद्यार्थीलाई आग्रह गरे । कार्यक्रममा नेता रामचन्द्र पौडेलले विद्यार्थी नेताहरूलाई संघमा हाबी हुँदै गएको पैसा र बाहुबलको प्रवृत्तिलाई अन्त्य गरेर राजनीतिलाई स्वच्छ र सम्मानित बनाउने अभियानमा लाग्न सुझाव दिएका थिए ।

उनले संविधानबमोजिम स्थानीय निकायको निर्वाचन हुनुपर्ने बताउँदै संघमा जिम्मेवारी नपाउने विद्यार्थी नेताहरूलाई स्थानीय निकायको निर्वाचनमा जुट्न आग्रह गरे । कोषाध्यक्ष सीतादेवी यादवले मुलुकमा भ्रष्टाचार मौलाएको बताउँदै त्यसको अन्त्यका लागि युवापुस्तालाई जुट्न आग्रह गरिन् ।

कांग्रेस नेता एवम् उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले भ्रातृ संस्थाहरूले वर्गीय र राष्ट्रिय हितमा लाग्नुपर्ने बताउँदै संविधानले हासिल गरेका महत्त्वपूर्ण उपलब्धि संस्थागत गर्न सबै एकजुट हुनुपर्ने विचार व्यक्त गरेका थिए । नेविसंघका पूर्वअध्यक्ष एवं केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले नयाँ परिस्थितिअनुसार नेविसंघले आफ्नो कार्यशैलीमा पनि परिवर्तन गरेर अघि बढ्नुपर्ने धारणा राखेका थिए ।

कार्यक्रममा कांग्रेसका पूर्वमहामन्त्रीद्वय प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौला, नेता गोपालमान श्रेष्ठ, नेविसंघका पूर्वअध्यक्षहरू बिपिन कोइराला, कार्की, बलबहादुर केसी, बालकृष्ण खाँण, एनपी साउद, धनराज गुरुङ, गोविन्द भट्टराई, विश्वप्रकाश शर्मा, किशोरसिंह राठौर, गुरुराज घिमिरे, केशव सिंह, महेन्द्र शर्मा, प्रदीप पौडेल, कल्याण गुरुङ र रञ्जित कर्णले मुलुकका ऐतिहासिक राजनीतिक परिवर्तनमा संघले निर्वाह गरेको भूमिकाको चर्चा गर्दै संघ पार्टीको हस्तक्षेपबाट मुक्त हुनुपर्ने धारणा राखेका थिए ।

‘समृद्ध राष्ट्र निर्माणका लागि संविधान कार्यान्वयन, गुणस्तरीय र सर्वसुलभ शिक्षाका लागि ११ औं महाधिवेशन' भन्ने नाराका साथ संघको महाधिवेशन तीन दिनसम्म चल्नेछ ।

प्रतिनिधि विवाद अझै मिलेन

नेविसंघको महाधिवेशन प्रतिनिधिमा देखिएको विवाद बन्दसत्र सुरु हुने अघिल्लो दिनसम्म पनि मिल्न सकेको छैन । सोमबारदेखि प्रतिनिधिहरू बन्दसत्रमा बस्नुपर्ने भए पनि अधिवेशन भएका ११ जिल्लाको हकमा देखिएको विवाद ज्युँकात्युँ छ । झन्डै ६ सय ४० प्रतिनिधिमा सभापति देउवा, नेता रामचन्द्र पौडेल र नेता कृष्णप्रसाद सिटौला पक्षले भागबन्डा गर्दा कतिकति लिने भन्ने विवादका कारण समस्या समाधान हुन सकेको छैन ।

आफूहरूलाई कम्तीमा ३३ प्रतिशत प्रतिनिधि चाहिने अनशन बसेका समूह अर्थात् कृष्ण सिटौला समूहले माग गरेपछि कुरा मिल्न सकेको छैन । यद्यपि सोमबार बिहानसम्ममा प्रतिनिधि विवाद मिलाउने नेताहरूले बताएका छन् । नेविसंघमा ६४ जिल्लामा दुई वर्षअघि नै अधिवेशन भएर प्रतिनिधि पठाए पनि ११ जिल्लामा अधिवेशन हुन नसकेका त्यसमा विवाद देखिएको छ ।

सभापति देउवाले आइतबार अधिवेशन उद्घाटन गर्नुअघि अनशन बसेर बिरामी परेकालाई मोडल अस्पतालमा पुगेर भेटेका थिए । उनले अनशन तोडेर महाधिवेशनमा सहभागी हुन उनीहरूलाई आग्रह गरेका थिए ।

सुरक्षा व्यवस्था कडाइ

सोमबार बिहान ११ बजे सुरु हुने नेविसंघको अधिवेशनको बन्दसत्रमा सुरक्षा व्यवस्थामा कडाइ गरिने भएको छ । भृकुटीमण्डपमा महाधिवेशन प्रतिनिधि र प्रेसबाहेक कसैलाई पनि प्रवेश गर्न नदिइने भएको छ । सातै प्रवेशद्वारमा मेटल डिटेक्टर राखेर सुरक्षा जाँच गर्ने प्रबन्ध पनि गरिएको छ । अधिवेशनमा हुन सक्ने सम्भावित झडपलाई ध्यान दिँदै सुरक्षा व्यवस्थामा कडाइ गरिएको हो ।

संघका प्रतिनिधिहरूको परिचयपत्रलगायतका दस्ताबेज भने सोमबार बिहान ८ बजेदेखि कांग्रेस केन्द्रीय कार्यालय सानेपाबाट वितरण गरिने भएको छ ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.