पाकिस्तानी अस्पतालमा विस्फोट

पाकिस्तानी अस्पतालमा विस्फोट

क्वेटाः दक्षिणपश्चिमी पाकिस्तानी सहर क्वेटामा अवस्थित एक अस्पतालमा भएको भीषण बम विस्फोटमा परी ९३ व्यक्तिको मृत्यु भएको छ । यस विस्फोटमा परी दर्जनौं व्यक्ति घाइते भएका छन् ।

शक्तिशाली विस्फोट भएको हुनाले यस विस्फोटमा परी मारिने व्यक्तिहरूको संख्या बढ्नेसमेत सम्बन्धित अधिकारीले आशंका व्यक्त गरेका छन् ।उक्त विस्फोट बलुचिस्तान प्रान्तका बार एसोसियसनमा अध्यक्ष अर्थात् वरिष्ठ वकिलको निधनप्रति शोक व्यक्त गर्न उपस्थित भएका व्यक्तिबीच गराइएको थियो ।

बार एसोसियसनका ती अध्यक्ष पनि सोमबार बिहान सबेरै भएको एक आक्रमणमा मारिएका थिए । वरिष्ठ वकिल बिलाल अन्वार कसी आफ्नो घरबाट कार्यालयतर्फ जाने क्रममा अज्ञात बन्दुकधारीको आक्रमणमा सोमबार बिहान मारिएका हुन् । अस्पतालस्थित शोक प्रकटका क्रममा जम्मा भएका वकिल, पत्रकार, क्यामेराम्यान र अन्य सर्वसाधारणको भीडलाई लक्ष्य गरी उक्त बम फ्याँकिएको जनाइएको छ । शोक प्रकट गर्न जम्मा भएका वकिल तथा समाचार संकलनका लागि पुगेका कैयौं पत्रकार घाइते भएका छन् ।

पाकिस्तानको बलुचिस्तान राज्यका प्रान्तीय स्वास्थ्यमन्त्री रेहमत बालोकले ठूलो संख्यामा नागरिकको मृत्यु भएको समाचारलाई पुष्टि गर्दै भने, ‘घटनामा ९३ जनाको मृत्यु भएको छ भने ५० जनाभन्दा बढी घाइते भएका छन् ।' घटनापछि घाइते सबैलाई प्रभावकारी उपचार सेवा पुर्‍याउन भनी उक्त क्षेत्रका सम्पूर्ण अस्पतालमा संकटकाल घोषणा गरिएको छ ।

कयौं घाइतेलाई विभिन्न अस्पतालमा स्थानान्तरण गरिएको छ । सुरक्षामा भएको कमजोरीका कारण यस्तो भएको सम्बद्ध अधिकारीले बताएका छन् । हालसम्म उक्त अस्पतालमा आतंकवादीले आक्रमण गरेका थिएनन् । विगत १५ वर्षयता यस क्षेत्रमा १ हजार ४ सय यस्ता आक्रमण भएका छन् । अल्प संख्यक सिया र हजारा समुदायलाई लक्षित गरी यस्ता आक्रमण हुने गरेका छन् ।

बलुचिस्तान पाकिस्तानको सबैभन्दा ठूलो राज्य हो । यहाँ पाकिस्तानी सेनाको विरोधमा विशाल प्रदर्शन हुँदै आएका छन् । यो प्रान्त इरान र अफगानिस्तानसँग जोडिएको छ ।सुरक्षाकर्मीको समूहले घटनामा करिब १० किलोग्राम विस्फोटक पदार्थ पड्काइएको हुनसक्ने बताएका छन् ।

पाकिस्तानका प्रधानमन्त्री नवाज सरिफले विस्फोटप्रति दुःख व्यक्त गर्दै घटनाको निन्दा गरेका छन् । उनले पाकिस्तानबाट आतंकवादलाई परास्त गर्ने प्रतिबद्धतासमेत व्यक्त गरेका छन् । उनले घटनाका दोषीलाई तत्काल पक्राउ गर्न आदेश दिएका छन् । उनले शान्ति भंग गर्ने अधिकार कसैको नभएको र त्यस्तालाई कुनै पनि मूल्यमा नछाडिने प्रतिबद्धता व्यक्त गरेका छन् ।

प्रान्तीय सरकारले बलुचिस्तान राज्यभर तीन दिन शोक मनाउने घोषणा गरेको छ । पाकिस्तानको तालिवान समूहको एक गुटले उक्त अस्पतालमा भएको आक्रमणको जिम्मेवारी लिएको छ । तालिवान समूहको तेहरिक ए तालिवान पाकिस्तान समुहअन्तर्गतको जमातुल अहारा नामधारी एउटा गुटका प्रवक्ताले इमेलमार्फत विस्फोट आफ्नो समूहले गराएको जानकारी दिएका छन् । उक्त समूहले आफ्नो संगठनले त्यस क्षेत्रमा थप आक्रमण गर्ने चेतावनी पनि दिएको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.