‘राजनीतिबाट ५० प्रतिशत अपराधको संरक्षण’

‘राजनीतिबाट ५० प्रतिशत अपराधको संरक्षण’

भक्तपुरः नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले राजनीतिले आधा अपराधलाई संरक्षण दिँदै खुलासा गरेका छन् ।

भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप उच्च माध्यमिक विद्यालयले महानगरीय प्रहरी परिसर भक्तपुरसँगको सहकार्यमा मंगलबार गरेको ‘विद्यार्थीसँग प्रहरी’ विषयक कार्यक्रममा अध्यक्ष बिजुक्छेले भने, ‘देशको आधा अपराधलाई राजनीतिले संरक्षण दिँदै आएको छ ।’

उनले प्रहरीले इमानदारी र जिम्मेवारीपूर्वक काम गर्ने तथा सरकारले प्रहरीको अनुसन्धान कार्यान्वयन गर्ने हो भने धेरै मन्त्री, पूर्वमन्त्रीहरु जेलमा पर्ने दावी गरे ।

मन्त्री, पूर्वमन्त्री तथा राजनीतिक दलका नेताहरुले अपराधीहरु जोगाउँदै आएकोतर्फ संकेत गर्दै उनले भने, ‘नेपाल प्रहरीले इमानदारी र जिम्मेदारीपूर्वक काम गर्ने तथा सरकारले प्रहरी अनुसन्धान कार्यान्वयन गरे हाम्रा धेरै मन्त्री र पूर्वमन्त्रीहरु जेल पर्छन् ।’

अध्यक्ष बिजुक्छेले प्रहरी, अपराध र त्यसका सजाय, कानुनलगायतबारेको जानकारी विद्यालयको पाठ्यपुस्तकमै समावेश गर्नुपर्ने धारणा राखे ।

केपी ओली प्रधानमन्त्रीकालका कानुनमन्त्री अग्नि खरेललाई समेत यसबारे ध्यानाकर्षण गराएको उनले जानकारी दिए ।

कार्यक्रममा नेमकिपाका सांसद प्रेम सुवालले प्रहरी सेवा प्रवेश गर्नेहरुमा पैसा कमाउने उद्देश्य हुने भएकाले उनीहरुबाट नेपाल प्रहरीको उद्देश्य पूरा नहुने बताए ।

‘एकपटक प्रहरी निरीक्षक बनेर कार्य क्षेत्रमा खटिनेहरुसँग अब तपाईहरुले के गर्नुहुन्छ भनी सोध्दा उनीहरुले प्रहरीमा धेरै समय जागिर खानु हुँदैन । त्यसैले जहाँ बढी मुद्धा मामिला हुन्छ त्यहाँ गएर दुवै पक्षलाई मिलाएर पैसा कमाउँछु भने’, सांसद सुवालले भने, ‘यस्ता प्रहरी अधिकृतहरुबाट नेपाल प्रहरीको उद्देश्य पूरा हुँदैन । जनतामा पनि प्रहरीले पैसा नखाई काम गर्दैन र कुनै घटना भयो भने ढिला आइपुग्छ भन्ने भावना व्याप्त छ ।’

महानगरीय प्रहरी आयुक्तको कार्यालयका प्रमुख अतिरिक्त प्रहरी महानिरीक्षक प्रतापसिंह थापाले कुनै घटना भएको जानकारी आएको पाँच मिनेटभित्र प्रहरी घटनास्थल पुग्ने गरी काठमाडौं उपत्यकामा व्यवस्था गरिएको जानकारी दिए।

उनले अपराधको छुट्टै परिवार, समाज, गाउँ, क्षेत्र र दुनियाँ नहुने भएकाले सुरक्षित हुन नसक्ने जोकोही आपराधिक मार्गमा जान सक्नेतर्फ सचेत गरे ।
कार्यक्रममा सहभागी ख्वप उच्च माविका विद्यार्थीहरुले प्रहरीबाटै समाजमा धेरै अपराध भइरहेको अवस्थामा सच्चा प्रहरी कसरी चिन्ने भन्ने प्रश्न गरेका थिए ।

उनीहरुले मादक पदार्थ, लागूपदार्थ जस्ता सेवन गर्ने युवा विद्यार्थीलाई समाउने प्रहरीले कानुनले बन्देज गरेअनुसार शैक्षिक संस्थाको एकसय मिटर वरपर मादक पदार्थ तथा सूर्तीजन्य पदार्थ बिक्री वितरण गर्नेहरु किन कारबाहीमा पर्दैनन् भनी जिज्ञासा राखेका थिए ।

त्यस्तै, उनीहरुले प्रहरीलाई कुनै घटना वा अपराधबारे सूचना दिँदा सूचना दिने व्यक्तिको गोप्यता वा सुरक्षामा के कति ख्याल गरिन्छलगायतका प्रश्नसमेत गरेका थिए ।

विद्यार्थीहरुको प्रश्नको जवाफ दिँदै प्रहरी अतिरिक्त महानिरीक्षक थापाले प्रहरीभित्र पनि आपराधिक प्रवृत्तिका व्यक्ति हुनसक्ने र त्यस्ता प्रहरीबारे समयमै जानकारी दिन आग्रह गरे ।

उनले प्रहरीलाई सूचना तथा जानकारी दिने व्यक्तिको गोप्यता र सुरक्षा दिने जानकारी दिँदै विद्यार्थीहरुलाई आफूले चाहेजस्तो प्रहरी संगठन र शान्ति सुरक्षाको प्रत्याभूतिको लागि प्रहरी सेवामा प्रवेश गरी काम गर्न आह्वान गरे।

कार्यक्रममा महानगरीय प्रहरी परिसर भक्तपुरकी प्रमुख प्रहरी उपरीक्षक किरण बज्राचार्य, ख्वप उच्च माविका प्राचार्य प्रकाशकुमार श्रेष्ठ, सहायक प्राचार्य डा राजेशकुमार श्रेष्ठ र प्रारम्भ संस्थाका सचिव सञ्चारकर्मी केदार कोइरालाले विद्यार्थीहरुलाई सामाजिक उत्तरदायी तथा अपराध र सुरक्षाबारे सचेत गराउन यस्ता कार्यक्रम अत्यावश्यक भएको धारणा राखे ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.