यस्तो हुनुपर्छ अबको नेविसंघ
चार दसकभन्दा लामो इतिहास बोकेको नेपालको सबैभन्दा पुरानो विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ आफैँमा एउटा इतिहास हो । यसको स्थापना यस्तो समयमा भएको थियो, जतिबेला जनताका वाक् स्वतन्त्रता खोसिएको थियो र शान्तिपूर्ण आन्दोलन गर्न र संगठित हुन प्रतिबन्ध लगाइएको थियो ।
प्रतिकूल अवस्थामा मुलुकको भविष्यका कर्णधारलाई लोकतन्त्र र नागरिक अधिकारको लडाइँमा गोलबद्ध गराउने उद्देश्यले नेविसंघको स्थापना भएको हो । तत्कालीन कांग्रेस सभापति बीपी कोइराला र नेता कृष्णप्रसाद भट्टराईको पहलमा वैचारिक हिसाबले बहस र पैरवी गरी लोकतन्त्रको वास्तविक व्याख्या गर्ने र त्यसलाई सबै जनताका दिमागमा घुसाउने उद्देश्यले यो संगठनको स्थापना गरिएको थियो ।
तत्कालीन पञ्चायती शासकले राजनीतिक गतिविधि बन्द गरेको अवस्थामा आन्दोलनलाई जरैदेखि मजबुत गराउनु पनि नेविसंघ स्थापनाको उद्देश्य थियो । संघको पहिलो नेतृत्वकर्ताको जिम्मेवारी विपिन कोइरालाले पाएका हुन् । वाक् कला भएका विपिनको नेतृत्वमा देशभरका स्कुल र क्याम्पसहरूमा नेविसंघमार्फत लोकतन्त्रको बीउ रोप्ने योजना बीपीको थियो, जुन उद्देश्यमा बीपी सफल भए ।
२०३३ सालको बीपीको भारत प्रवास छोडेर नेपाल फर्कने अभियानदेखि २०३६ सालको जनमतसंग्रहमा विद्यार्थीको भूमिका महत्त्वपूर्ण देखियो । २०३६ सालको जनमतसंग्रहको मुख्य प्रचार-प्रसारको जिम्मा नेविसंघकै काँधमा थियो । त्यसपछिका पनि सबैजसो आन्दोलनको अग्रपंक्तिमा नेविसंघ देखिँदै आएको छ । २०४२ सालको सत्याग्र होस् वा २०४६ सालको जनआन्दोलन ।
संघको स्थापना मूलतः दुई उद्देश्यले भएको थियो । पहिलो लोकतान्त्रिक आन्दोलन चर्काउने र दोस्रो लोकतन्त्रको वैचारिक बहस गरेर देशभर त्यसको बीउ रोप्ने । तर संघको चार दसकको इतिहास हेर्ने हो भने यो संगठन पहिलो उद्देश्यमा केही सफल देखिए पनि लोकतान्त्रिक पद्धति स्विकारेर वैचारिक बहसको थलो बन्नबाट भने चुकेको छ ।
अबको नेविसंघले पुतलीसडक, रत्नपार्क र प्रदर्शनी मार्गको सडक तताउने होइन, देशभरका स्कुल र कलेजका विद्यार्थीको दिमाग भर्ने गरी वैचारिक अभियान थाल्नुपर्छ । नत्र केही वर्षपछि संघ र अन्य विद्यार्थी संगठनको औचित्य र सान्दर्भिकता समाप्त हुनेछ ।
विद्यार्थी संगठनमा लाग्नेहरू मुलुकको राजनीतिक, सामाजिक, आर्थिकलगायतका विविध आयममा स्पष्ट र ज्ञानगत हिसाबले भरिपूर्ण हुनुपर्ने हो । बीपीले विद्यार्थी संघठन बनाउने यसलाई पनि मुख्य उद्देश्य राखेका थिए । तर अहिले अधिकांशले नेविसंघ वा अन्य राजनीतिक दलका विद्यार्थी संगठन भनेको नपढ्ने वा पढ्न कमजोर विद्यार्थीको क्लबका रूपमा हेर्ने गरिएको छ । कुनै पनि मेधावी विद्यार्थी संघ वा अन्य विद्यार्थी संगठनको छाताभित्र किन अटाउन सकेको छैन ? अबको बहस यस विषयमा केन्द्रित हुन जरुरी छ । संघले आफ्नो महाधिवेशनबाट यो प्रश्नको जवाफ खोज्नुपर्छ ।
विश्वका प्रसिद्ध विश्वविद्यलयहरूको विद्यार्थी युनियनका नेता विश्वमा कुनै न कुनै भूमिका अग्रणी स्थानमा छ । बेलायतको क्याम्ब्रिज विश्वविद्यालयको विद्यार्थी युनियनकी अध्यक्ष एरिना हफिङ्टन अहिले विश्वकै प्रभावशाली महिलाको सूचीमा छिन् । हफिङ्टन पोस्ट्की कोफाउन्डर एवं प्रधान–सम्पादक एरिना क्याम्ब्रिज विश्वविद्यालयको 'द क्याम्ब्रिज युनियन' की अध्यक्ष थिइन् । उनले आफू उक्त युनियनको अध्यक्ष हुँदा विभिन्न विषयमा बहस चलाएर चर्चा कमाएकी थिइन् । उनले चलाएका बहसले विश्वभर प्रभाव जमाएको थियो ।
तर नेपालमा के विद्यार्थी संगठनले जल्दाबल्दा मुद्दामा बहस चलाउन सक्दैन ? वैचारिक रूपमा विद्यार्थीलाई तिखार्ने विद्यार्थी संगठनको मुख्य दायित्व हो । तर संघलगायतका यस्ता विद्यार्थी संगठन अहिले यो महत्त्वपूर्ण दायित्वबाट चुकेका छन् । नेविसंघ मात्रै होइन, कुनै पनि राजनीतिक दलका विद्यार्थी संगठनको व्यवस्थापन उदेकलाग्दो देखिन्छ । उनीहरूको कार्यालय ८० को दसकमा हिन्दी चलचित्रमा देखाइने मजदुरको होस्टेलजस्तो छ ।
विद्यार्थी संगठनको कार्यालयमा त विश्वका चर्चित शिक्षाविद्को फोटो, उनीहरूका मुख्य भनाइ भित्तामा लेखिएका हुनुपर्ने हो । त्यसका साथै नेपाल र विश्वमा भइरहेको पछिल्लो वैचारिक बहसका विषयमा दिनदिनै छलफल भइरहेको हुनुपर्ने हो । तर कतिपय विद्यार्थी नेताहरू आफ्नै दलको वैचारिक लाइनमा समेत स्पष्ट देखिँदैनन् । नेविसंघकै प्रसंगमा कुरा गर्दा के यसका नेता तथा कार्यकर्ताले लोकतान्त्रिक संस्कार र चरित्रलाई आफूमा लागू गरेका छन् त ?
बीपी कोइरालाले भनेजस्तै प्रजातान्त्रिक समाजवाद उनीहरूको मनमस्तिष्कमा गढेको छ त ? के उनीहरू आफ्नो जीवनशैलीलाई समाजवादको आँखाबाट हेरेर परिवर्तन गरेका छन् त ? अबको बहस यस्तो विषयमा केन्द्रित हुनुपर्छ । नेविसंघ एउटा लडाकु र आन्दोलनकारी शक्तिको रूपमा मात्रै होइन, वैचारिक र अन्वेषक शक्तिका रूपमा उदाउन सक्नुपर्छ ।
कुनै जल्दाबल्दा विषयमा स्पष्ट हुन नेविसंघका नेताहरूसँग विचार-विमर्श गर्नुपर्ने बाध्यता संघले ल्याउनुपर्छ । विद्यार्थी नेता भोलिका राजनीतिक दलका नेता मात्रै होइनन्, उनीहरू नै भोलिका कर्मचारीतन्त्रका सदस्य, सेनाका कमान्डर हुन् र प्रहरी सेवाका हस्ती पनि । त्यसैले पनि समग्रम मुलुकको विसंगतिलाई शुद्धीकरण गर्न पनि विद्यार्थी संगठनमा पहिला शुद्धीकरण गरेर उनीहरूलाई समाजमा नमुना व्यक्तिको रूपमा विकास गर्नुपर्छ । कुनै विद्यार्थी संगठनको नेताको भाषण सुनेर प्राथमिक स्कुलमा पढ्ने विद्यार्थीले आफ्नै भविष्यको कल्पना गर्न सक्नुपर्छ ।
त्यसको लागि दिनरात संगठन विस्तारको नाममा ठेकेदारी, कर्मचारी सरुवा–बढुवा र नेताको प्यारो हुन ढोका धाउने होइन, आफूलाई वैचारिक, राजनीतिक र सांगठनिक रूपमा तिखारेर केही फरक क्षमता विकास गर्नैपर्छ, अबको नेतृत्वले । संघको समग्रमा पुनर्संरचना भयो भने मात्रै विद्यार्थी संगठनको सार्थकता रहिरहन्छ ।
सडक आन्दोलन भनेको एउटा समयमा हुने विषय हो । मुलुकको राजनीतिक प्रणाली एउटा विन्दुमा पुगेपछि भौतिक आन्दोलन साघुँरिदै जान्छ र यस्तो बेलामा नै सुरु गर्ने हो, वैचारिक आन्दोलन । हाम्रो मुलुकमा अब भौतिक आन्दोलन एउटा चरणमा पुगेको छ । अब वैचारिक आन्दोलनको खाँचो छ । त्यस आन्दोलनको पनि नेतृत्व गर्ने दायित्व संघको हो । नेविसंघले नेता बन्ने होइन, समाजमा नेता बनाउने उद्देश्य राखेर आफ्नो कार्य अघि बढाउनुपर्छ । त्यसले मात्रै मुलुकमा राजनीतिक शुद्धीकरणको अभियानमा नेविसंघ एउटा हिस्सा बन्न सक्छ ।
अहिले मुलुक नयाँ संविधान कार्यान्वयनको चरणमा छ । नयाँ संविधानअनुसार मुलुकको सबै क्षेत्र पुनर्संरचना हुने प्रक्रियामा छ । यस्ता महत्त्वपूर्ण र दीर्घकालीन महत्त्वका विषयमा नेविसंघको भूमिका कहाँ छ त ? जनताको व्यक्तिगत जीवनसँग जोडिएका विषयलाई बौद्धिक बहसको छातामुनि ल्याउने दायित्व संघको होइन र ? स्कुल, क्याम्पस हुँदै जिल्ला–जिल्लामा फैलिएको उसको संगठनले यस्तो बहसलाई अभियानको रूपमा अघि बढाउने हो भने अहिले देखिएको कतिपय विषयको अलमल र अस्पष्टता धेरै हदसम्म अन्त्य हुन्छ ।
त्यसैले पनि अबको संघले पुतलीसडक, रत्नपार्क र प्रदर्शनीमार्गको सडक तताउने होइन, देशभरका स्कुल र कलेजका विद्यार्थीको दिमाग भर्ने गरी वैचारिक अभियान थाल्नुपर्छ । नत्र केही वर्षपछि नेविसंघ र अन्य विद्यार्थी संगठनको औचित्य र सान्दर्भिकता समाप्त हुनेछ । विद्यार्थी संगठनको नेतृत्व भनेको प्राज्ञिक क्षेत्रको पनि नेतृत्व हो ।
त्यसले पनि उसमा समसामयिक विषयमा आफ्नो भिजन दिन सक्ने क्षमता हुनुपर्छ । नेतृत्व चयन प्रक्रियामा रहेको नेविसंघले पनि आफ्ना नेता चयन गर्दा कसको मान्छे भन्ने होइन, कस्तो मान्छे भनेर सोच्न आवश्यक छ । नेताको नजिक टाढा भएकोलाई नेतृत्व चयनको आधार मान्ने हो भने नेविसंघ विस्तारै असान्दर्भिक संगठनको रूपमा हराउँदै जान सक्छ ।