अस्पतालमा प्रसूति गराउने बढे

अस्पतालमा प्रसूति गराउने बढे

धादिङः  जिल्ला अस्पताल धादिङलगायत जिल्लाभरका स्वास्थ्य संस्थामा विगतका वर्षहरूमाभन्दा गएको आर्थिक वर्षमा प्रसूति गराउनेको संख्यामा वृद्धि भएको छ ।

सुरक्षित रूपमा बच्चा जन्माउने उद्देश्यले आमा सुरक्षा कार्यक्रम लागू भएपछि जिल्ला अस्पताल र स्वास्थ्य चौकीहरूमा बच्चा जन्माउने आमा बढेका हुन् ।
आर्थिक वर्ष ०७२/०७३ मा ८ सय ३९ जना गर्भवतीले जिल्ला अस्पतालमा आएर सुरक्षित रूपमा बच्चा जन्माएका छन् । यो संख्या आर्थिक वर्ष ०७१/०७२ को तुलनामा २ सय २२ जनाले बढी हो ।

जिल्ला अस्पताल धादिङका मेडिकल रेकर्डर सुपरभाइजर विनोद दाहालका अनुसार आर्थिक वर्ष २०६७/०६८ मा ४ सय ८५ जना, ०६८/६९ मा ४ सय ७३ जना, ०६९/७० मा ५ सय २९ जना, ०७०/७१ मा ६ सय जना, ०७१/७२ मा ६ सय १८ जना र ०७२/०७३ मा ८ सय ३९ जनाले सुरक्षित प्रसूति सेवा लिएका छन् ।

तथ्यांकगत रूपमा हेर्दा स्वास्थ्य संस्थामा सुत्केरी गराउने आमाहरूको संख्यामा वार्षिक रूपमा वृद्धि हुँदै गएको देखिन्छ । निःशुल्क सुरक्षित प्रसूति सेवा, न्यानो कपडा र यातयात खर्चसमेत पाइने भएपछि महिलाहरू सुत्केरी हुन अस्पताल आउन उत्साहित हुन थालेका छन् ।

स्वास्थ्य संस्थामा आएर प्रसूति गराउने महिलाहरूलाई प्रोत्साहन स्वरूप एक हजार रुपैयाँ बाटो खर्च, निःशुल्क प्रसूतिको सेवा, नियमित गर्भजाँच, आइरन चक्की खाने र टीटी सुई लगाउने, सुत्केरी सेवा उत्प्ररेणा भत्ता थप ४ सय दिने व्यवस्था रहेको जिल्ला अस्पताल धादिङका मेडिकल सुपरिटेन्डेन्ट रसिला अमात्यले जानकारी दिइन् ।

आर्थिक वर्ष ०७२/०७३ मा अस्पतालमा सुत्केरी हुन आएका ८ सय ८६ जना मध्ये ४८ जनालाई अन्यन्त्र रिफर गरिएको छ भने अन्यन्त्रबाट रिफर भएर ७ जनाको जिल्ला अस्पताल धादिङमा सुरक्षित रूपमा सुत्केरी गराउन सफल भएको जिल्ला अस्पताल धादिङले जनाएको छ । स्वास्थ्यकर्मीको निगरानीमा सुत्केरी गराउने क्रम बढेपछि बाल मृत्युदरमा पनि कमी आएको छ ।

आर्थिक वर्ष ०७२/०७३ मा जिल्ला अस्पताल धादिङमा सुत्केरी गराउन आउनेमध्ये मातृ मृत्युदर शून्य देखिएको छ भने बाल मृत्युदर शून्य दशमलब २४ प्रतिशत रहेको छ ।

सरकारी सूचीकृत स्वास्थ्य संस्थामा प्रसूति हुन आउनेलाई आमा र नवजात शिशुको स्याहार सुसारमा सहयोग पुर्‍याउने उद्देश्यले सरकारले न्यानो झोला उपहार दिने कार्यक्रमसमेत राखेको छ ।

उपहार स्वरूप दिइने न्यानो झोलामा आमालाई एक जोर लुगा, बच्चालाई टोपी, मोजा, र्‍यापर र नेम्फिन दुई/दुई जोरको व्यवस्था गरिएको हुन्छ । सरकारी प्रोत्साहनका कारण र सुरक्षित प्रसूतिको सेवा लिन अस्पतालममा सुत्केरी गराउनेको संखया वृद्धि हँदै गएको जिल्ला स्वास्थ्य कार्यलय धादिङका प्रमुख जीवनकुमार मल्लले बताए ।

जिल्लामा अहिले जिल्ला अस्पताल, ६७ वटा बर्थिङ सेन्टर, ४९ वटा स्वास्थ्य चौकी र २ वटा प्राथमिक स्वास्थ्य केन्द्रमा सुरक्षित प्रसूति सेवा सञ्चालित छन् । सबै केन्द्रमा दक्ष र तालिमप्राप्त स्वास्थ्यकर्मीबाट प्रसूति सेवा प्रदान गरिएको जिल्ला स्वास्थ्य कार्यालय धादिङले जनाएको छ ।

महिला स्वास्थ्य स्वंयसेविकाहरूको निरन्तर प्रचारप्रसार र आमा समूहहरूको सक्रियताका कारण पनि ग्रामीण क्षेत्रका महिलाहरूमा आमा र बच्चाको स्वास्थमा हेरचार पुर्‍याउन गर्भवती अवस्थादेखि नै स्वास्थ्य जाँच गराउनुपर्छ भन्ने चेतनाको विकास हँदै गएको मुरलीभन्ज्याङ स्वास्थ्य चौकीका प्रमुख बद्री पौडेलले बताए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.