नेविसंघ विवाद मिल्यो, बन्दसत्र आजै हुने

नेविसंघ विवाद मिल्यो, बन्दसत्र आजै हुने

काठमाडौँः नेपाल कांग्रेसको भ्रातृ सङ्गठन नेपाल विद्यार्थी सङ्घमा देखिएको महाधिवेशन प्रतिनिधिको विवाद मिलेपछि स्थगित हुँदै आएको ११औँ महाधिवेशनको बन्दसत्र बुधबा। हुने भएको छ ।

संघको महाधिवेशन सम्पन्न गर्न पार्टीले गठन गरेको निर्देशन समितिले विवादित ११ जिल्लाको महाधिवेशन प्रतिनिधिको विवाद लामो छलफल गरी मङ्गलबार राति टुङ्गो लगाएको हो ।

विभिन्न माग राखी आमरण अनशन बसेका विद्यार्थीको माग समेत सम्बोधन हुने गरी विवादित जिल्लामा अध्यक्ष पद थाती राखेर प्रतिनिधिको टुंगो लगाएको समिति सदस्य प्रदीप पौडेलले जानकारी दिए ।

विवादित जिल्लामा पार्टीका सबै गुटको भागबन्डा हुने गरी प्रतिनिधिको सङ्ख्या थपेर विवाद समाधान गरिएको बताइएको छ । विवाद मिलेसँगै विधिवत् महाधिवेशनको माग गर्दै आमरण अनशनमा बसेका विद्यार्थी नेताद्वय गणेश सापकोटा र रत्नहरि ढुङ्गेलले आजै अनशन तोड्ने भएका छन् ।

एघार जिल्लाको महाधिवेशन प्रतिनिधि विवादका कारण यही साउन २३ गते महाधिवेशनको उद्घाटन भए पनि बन्दसत्र स्थगित हुँदै आएको थियो ।

नेविसङ्घमा ६४ जिल्लामा विधिवत् अधिवेशन भए पनि सुर्खेत, रौतहट, भक्तपुर, सिराहा, धनुषा, रुपन्देही, पर्सा, कञ्चनपुर, मुस्ताङ, सोलुखुम्बु र कास्कीमा महाधिवेशन प्रतिनिधि छनोटमा विवाद देखिएको थियो ।

बन्दसत्र बुधबार दिउँसो १२ बजे तोकिएको भए पनि प्रतिनिधिको सूची तयार गर्न र कार्ड वितरण गर्न समय लाग्ने भएको छ । सङ्घको कार्यालयका मुख्य सचिव शिव रिमालका अनुसार बुधबार साँझसम्म बन्दसत्र सुरु हुनेछ ।

प्रतिनिधिको विवाद टुङ्गिएपछि नेविसङ्घमा महाधिवेशन प्रक्रिया अघि बढ्ने र निर्वाचन हुने निश्चित भएको नेविसङ्घ नेता क्षितिज भण्डारीले बताए ।

सुरुमा तीन दिनसम्म चल्ने नेविसंघ महाधिवेशनको जम्मा खर्च एक करोड ७८ लाख ८० हजार खर्च लाग्ने अनुमान गरिए पनि महाधिवशेन लम्बिँदा खर्च बढ्ने भएको छ ।

महाधिवेशन लम्बिँदा दैनिक ४० लाख खर्चको भार थपिएको प्रवक्ता युपी लामिछानेले जानकारी दिए । प्रतिनिधिको विवाद मिलेसँगै सङ्घमा प्रतिनिधिको सङ्ख्या तीन हजार ४०० पुगेको छ ।

सङ्घमा प्रादेशिक संरचनाअनुसार १५१ सदस्यीय केन्द्रीय समिति रहने गरी विधानको टुङ्गो लागेको छ । नेविसङ्घको महाधिवेशन नौ वर्षपछि हुन लागेकाले हरेक पदमा आकांक्षी धेरै देखिएका छन् ।

अध्यक्षमा हालसम्म जीतजङ्ग बस्नेत, मनोजमणि आचार्य, नैनसिंह महर, क्षितिज भण्डारी, दीपक भट्टराई, विनिता अधिकारी, नीलकण्ठ रिजाल, आनन्दराज त्रिपाठी, कुन्दनराज काफ्ले, शुभराम बस्नेत, पद्मराज पन्त, रत्न कार्की, सरोज थापा, लक्ष्मण आचार्य, रामप्रसाद अधिकारीलगायतले उम्मेदवारी घोषणा गरेका छन् । अन्य केही नेता उम्मेदवारी घोषणा गर्ने क्रममा छन् ।

पार्टीले नेता डा प्रकाशशरण महतको संयोजकत्वमा गोविन्द भट्टराई, गुरुराज घिमिरे, किशोरसिंह राठौर र प्रदीप पौडेल सदस्य रहेको निर्देशन समिति गठन गरेको थियो । ‘समृद्ध राष्ट्र निर्माणका लागि संविधान कार्यान्वयन, गुणस्तरीय र सर्वसुलभ शिक्षाका लागि ११औँ महाधिवेशन’ भन्ने नाराका साथ नेविसङ्घको महाधिवेशन उद्घाटन यही साउन २३ गते भएको थियो ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.