चिनियाँ राष्ट्रपति ल्याउन सघन सम्पर्क

चिनियाँ राष्ट्रपति ल्याउन  सघन सम्पर्क

काठमाडौं: चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमण सफलता सुनिश्चितताका लागि नेपालले चीनसँग सघन सम्पर्कमा रही काम गर्नुपर्ने एक प्रभावशाली चिनियाँ विज्ञले बताएका छन् । नेपालमा राजनीतिक स्थायित्व कायम गर्नु र पर्याप्त गृहकार्य गर्नुसमेत चिनियाँ राष्ट्रपतिको भ्रमण सफलताका लागि आवश्यक रहेको उनले बताए ।

नेपाल भ्रमणमा रहेका चाइना इन्स्टिच्युट अफ कन्टेम्पोररी इन्टरनेसनल रिलेसन्स (सीआईसीआईआर) का अध्यक्ष डा. जी चेईले राजधानीमा बुधबार पत्रकारसँग भने, 'हामी आशा गर्छौं, राष्ट्रपतिको भ्रमणका बेलामा नेपालमा राजनीतिक स्थायित्व हुनेछ । नेपालले राष्ट्रपतिको भ्रमणको सफलता सुनिश्चित गर्न पर्याप्त गृहकार्य गर्नुपर्छ । त्यस अलावा नेपालले चीनका सम्बन्धित मन्त्रालयसँग सघन सम्पर्कमा रही काम गर्नुपर्नेछ ।'

राष्ट्रपति सीको नेपाल भ्रमणका लागि आवश्यक तयारी अघि बढाउन सरकारले ध्यान केन्द्रित गरेकै बेला चिनियाँ विज्ञको यस्तो भनाइ आएको हो । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको वर्तमान सरकारका पालामा चिनियाँ राष्ट्रपतिको भ्रमण होला या नहोला भन्ने द्विविधाका बीचमा चिनियाँ विज्ञले राष्ट्रपतिको भ्रमण हुने गत सोमबार जानकारी गराएका थिए ।

अध्यक्ष जीले राष्ट्रपति सीको भ्रमण असोजमा हुने प्रधानमन्त्री दाहाल, कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओलीलाई जानकारी दिएका थिए । उनले आफू राष्ट्रपति सीकै भ्रमणको तयारीका क्रममा नेपाल आएको पनि बताएका थिए ।

 

सीआईसीआईआरका अध्यक्ष जीले अन्य मुलुकको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने चीन सरकारको आधारभूत सिद्धान्त रहेको बताए । नेपालमा हालै भएको सरकार परिवर्तनका कारण चीनको नीति बदलिन्छ कि भनी पत्रकारले सोधेको प्रश्नमा उनले भने, 'नेपालको राजनीतिक संक्रमण यहाँको आन्तरिक विषय हो । हामी यहाँको कुनै राजनीतिक पार्टीसँग होइन देशसँग सम्बन्ध राख्छौं ।'

जीले नेपालले राजनीतिक स्थायित्व प्राप्त गर्ने आशा चीनको रहेको बताए । 'कुनै पनि मुलुकको आर्थिक विकासका लागि राजनीतिक स्थायित्व महत्त्वपूर्ण सर्त हो । नेपालमा राजनीतिक स्थायित्व कायम गर्ने कुरा नेपालको आन्तरिक विषय हो', उनले भने ।

नेपालका सबै दलसँग चीनको राम्रो सम्बन्ध रहेको बताउँदै उनले नेपालका कुनै राजनीतिक दललाई नभई देशलाई हेरेर चीनले सहयोग गर्दै आएको स्पष्ट पारे । 'चीनलाई यो फाइदा छ कि यहाँका सबै दल र नेताहरू चीनका लागि मित्रवत् छन्,' उनले भने । पूर्वप्रधानमन्त्री केपी ओलीको चीन भ्रमणमा भएका पारवहन यातायातलगायतका सम्झौता पूर्ण रूपमा कार्यान्वयन हुने उनले बताए ।


चीन-नेपाल-भारत आर्थिक करिडोरमा जोड

चीन अध्ययन केन्द्रले बुधबार काठमाडौंमा आयोजना गरेको 'चीन-नेपाल-भारत त्रिपक्षीय सहकार्यका सम्भावना र दृष्टिकोण' विषयक कार्यक्रममा सीआईसीआईआरका अध्यक्ष जीले चीन, नेपाल र भारतबीचको आर्थिक करिडोर निर्माणको काम कार्यान्वयनमा जाने अपेक्षा गरे । उनले त्रिदेशीय करिडोर चीनको रणनीति या यो चीन केन्द्रित परियोजना नभएको बताए ।

'यसले चीन, नेपाल र भारत तीन मुलुककै हित गर्छ', उनले भने । चिनियाँ राष्ट्रपतिले अघि सारेको 'वान बेल्ट वान रोड' अवधारणाअनुसार चीन, नेपाल र भारतबीच रेल, सडक र पूर्वाधार विकासमा सहकार्य हुनुपर्ने उनले बताए ।

तिब्बत र युनान प्रान्त चीनसँगको सम्बन्धमा नेपालका महत्त्वपूर्ण सहकार्य साझेदार रहेको बताउँदै ती क्षेत्रमा अहिले भइरहेको द्रूत विकासबाट त्रिदेशीय आर्थिक करिडोर निर्माणमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने उनले बताए । 'चीन विश्वको सबैभन्दा ठूलो लगानीकर्ताका रूपमा विश्वमा परिचित भएको छ । नेपाल र भारतको विकासका लागि चीन विश्वको ठूलो लगानीकर्ता हुनु फाइदाजनक छ,' उनले भने ।

कार्यक्रममा पूर्वमुख्य सचिव लीलामणि पौड्यालले विश्वका दुई उदाउँदा आर्थिक शक्ति राष्ट्र चीन र भारतको बीचमा रहेको नेपालले गतिशील पुलका रूपमा आफूलाई विकास गर्नुपर्ने बताए । उनले चीन, नेपाल र भारतबीच आर्थिक करिडोर निर्माण गर्न सके त्यसले भारतलाई समेत उत्तिकै लाभ हुने बताए ।

पूर्वपरराष्ट्रमन्त्री एवं नेपाल–भारत प्रबुद्ध समूहका नेपाल संयोजक डा. भेषबहादुर थापाले चीन, नेपाल र भारतबीच आर्थिक करिडोर निर्माण भए त्यसबाट जनस्तरको सम्बन्ध र सरकारी निकायको सम्पर्क अझै प्रवद्र्धन हुने बताए । उनले चीन र भारतले विश्वजगत्मा निर्वाह गरिरहेको भूमिका महत्त्वपूर्ण रहेको बताए ।

पूर्वाधारविज्ञ डा. सूर्यराज आचार्यले चिनियाँ राष्ट्रपतिले अघि सारेको 'वान बेल्ट वान रोड' अवधारणाअनुसार नेपालसम्म रेल विस्तारलगायत 'कनेक्टिभिटी' प्रवद्र्धनका क्षेत्रमा काम गर्नुपर्ने खाँचो औंल्याए । उनले चिनियाँ रेल नेपाल हुँदै भारतसम्म विस्तार हुनसके भारतीय उत्तरी राज्यहरुले समेत लाभ लिने र यस क्षेत्रको विकासमा कायापलट हुने बताए ।

चाइना इन्स्टिच्युट अफ कन्टेम्पोररी इन्टरनेसनल रिलेसन्सका निर्देशक हु सिसेङ्ले भारतले नेपाललाई परम्परागत प्रभावको क्षेत्र मानिरहेका कारण त्रिदेशीय सहकार्यका क्षेत्रमा आशातित सफलता प्राप्त नभएको बताए । उनले चिनियाँ राष्ट्रपतिले अघि सारेको 'वान बेल्ट वान रोड' अवधारणालाई मूल सिद्धान्त मानेर त्रिदेशीय सहकार्र्य हुनुपर्ने बताए ।

भारतीय राजदूत गएनन्

चीन अध्ययन केन्द्रले बुधबार काठमाडौंमा आयोजना गरेको 'चीन-नेपाल-भारत त्रिपक्षीय सहकार्यका सम्भावना र दृष्टिकोणहरू' विषयक कार्यक्रममा नेपालका लागि भारतीय राजदूत रन्जित रेलाई निमन्त्रणा गरिए पनि उनी अनुपस्थित रहे । कार्यक्रममा भारतीय दूतावासबाट कुनै पनि प्रतिनिधि उपस्थित थिएनन् ।

चाइना इन्स्टिच्युट अफ कन्टेम्पोररी इन्टरनेसनल रिलेसन्सका अध्यक्ष जी चेईले नेपालस्थित भारतीय राजदूत कार्यक्रममा सहभागी नभएकोमा खिन्नता व्यक्त गरे । भारतले हालसम्म चीन, नेपाल र भारतबीचको त्रिदेशीय सहकार्यका विषयमा सकारात्मक धारणा दिएको छैन ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.