क्वेटा अस्पताल आक्रमणको सर्वत्र निन्दा
वासिङटनः दक्षिणपश्चिमी पाकिस्तानको क्वेटा सहरमा अवस्थित एक अस्पतालमा गत सोमबार भएको भीषण आत्मघाती आक्रमणको संयुक्त राज्य अमेरिकाले निन्दा गरेको छ । ह्वाइट हाउसले विज्ञप्तिमार्फत यस्तो जानकारी दिएको छ ।
विज्ञप्तिमा आतंकवादविरुद्धको लडाइँमा अमेरिका सधैं पाकिस्तानी सरकार र जनताको साथैमा रहेको बताइएको छ । त्यसैगरी इरानको विदेश मन्त्रालयले पनि उक्त आक्रमणको कडा निन्दा गरेको तास्नीम समाचार समितिले जनाएको छ । यस दुःखद घडीमा पाकिस्तानी सरकार र जनतालाई गहिरो शोक प्रकट गरिएको इरान विदेश मन्त्रालयमा प्रवक्ता बहरम कसेमीले बताएका छन् ।
यसैबीच चीनको विदेश मन्त्रालयले यस भीषण आतंककारी आक्रमणको भत्र्सना गरेको छ । चीनको विदेश मन्त्रालयद्वारा प्रकाशित विज्ञप्तिमा यस हृदयविदारक घटनाप्रति गहिरो समवेदना प्रकट गरिएको छ । आक्रमणबाट मारिएका व्यक्तिका परिवारजन र घाइते व्यक्तिलगायत समस्त पाकिस्तानलाई गहिरो समवेदना प्रकट गरिएको चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले जानकारी दिएका छन् ।
क्वेटास्थित एक नगरिक अस्पतालको आकस्मिक कक्षमा भएको त्यस विस्फोटमा परी ७२ व्यक्तिको मृत्यु हुनुका साथै १ सय १२ जना घाइते भएका थिए । पाकिस्तानका वकिलहरूले मंगलबार देशभरका अदालत बहिष्कार गरेका थिए ।
बलुचिस्तान प्रान्तका बार एसोसियसनमा अध्यक्ष तथा वरिष्ठ वकिलको निधनप्रति शोक व्यक्त गर्न उपस्थित भएका व्यक्तिमाझ आत्मघाती आक्रमण भएको थियो । आफ्ना सहकर्मी वरिष्ठ वकिलको मृत्युको समवेदना प्रकट गर्नका लागि करिब दुई सय वकिल, दर्जनौं पत्रकार र सर्वसाधारण अस्पतालको आकस्मिक कक्षमा जम्मा भएका थिए ।
बार एसोसियसनका ती अध्यक्ष पनि सोमबार बिहान सबेरै भएको आक्रमणमा मारिएका थिए । वरिष्ठ वकिल बिलाल अन्वार कासी आफ्नो घरबाट कार्यालयतर्फ जाने क्रममा अज्ञात बन्दुकधारीको आक्रमणमा सोमबार बिहान मारिए थिए ।
प्रान्तीय सरकारले बलुचिस्तान राज्यभर तीन दिन शोक घोषणा गरेको छ । सुरक्षामा भएको कमजोरीका कारण यस्तो भएको सम्बद्ध अधिकारीले बताएका छन् । विगत १५ वर्षयता यस क्षेत्रमा १ हजार ४ सय यस्ता आक्रमण भएका छन् । अल्प संख्यक सिया र हजारा समुदायलाई लक्षित गरी यस्ता आक्रमण हुने गरेका छन् । बलुचिस्तान पाकिस्तानको सबैभन्दा ठूलो राज्य हो । यहाँ पाकिस्तानी सेनाको विरोधमा विशाल प्रदर्शन हुँदै आएका छन् । यो प्रान्त इरान र अफगानिस्तानसँग जोडिएको छ ।