फेलप्सले जिते २१ आै‌ स्वर्ण

फेलप्सले जिते २१ आै‌ स्वर्ण

रियो दि जेनेरियोः अमेरिकी पौडीबाज माइकल फेलप्सले रियो ओलम्पिक खेलकुदमा जितेको स्वर्ण पदक संख्या तीन पुगेको छ । यो सफलतासँगै उनले ओलम्पिकमा जितेको कुल स्वर्ण पदक संख्या २१ पुगेको छ ।

फेलप्सले मंगलबार राति भएको पुरुष दुई सय मिटर बटरफ्लाई र चार गुना दुई सय मिटर रिले स्पर्धामा स्वर्ण पदक जिते । उनले जारी प्रतियोगितामा यसअघि चार गुना एक सय मिटर रिलेमा पनि स्वर्ण पदक जितेका थिए ।

फेलप्सले अब एक सय मिटर बटरफ्लाई, दुई सय मिटर इन्डिभिजुअल मेड्ली र चार गुना एक सय मिटर मेड्लीमा पनि प्रतिस्पर्धा गर्नेछन् । ३१ वर्षीय फेलप्स ओलम्पिक खेलकुदको इतिहासमै सर्वाधिक स्वर्ण पदक जित्ने खेलाडी हुन् ।

ओलम्पिक खेलकुदमा सर्वाधिक स्वर्ण पदक जित्ने खेलाडीको सूचीमा दोस्रो स्थानमा आसिन तात्कालिन सोभियत संघका लारिसा तात्निनाको केवल नौ स्वर्ण छ । उनी जिम्न्याष्टिक खेलाडी हुन् ।

फेलप्सले ओलम्पिक खेलकुदमा दुई रजत र दुई कांस्य पदक पनि जितेका छन् । उनले ओलम्पिकको व्यक्तिगत स्पर्धामा १२ र टिम स्पर्धामा नौ स्वर्ण पदक जितेका हुन् ।

ओलम्पिक खेलकुदको व्यक्तिगत स्पर्धामा सर्वाधिक स्वर्ण पदक जित्ने खेलाडीको सूचीमा पनि फेलप्स शीर्ष स्थानमा छन् । उनीभन्दा पछाडि रहेका अमेरिकाकै एथलेटिक्स खेलाडी रे एरी हुन् । उनले आठ स्वर्ण पदक जितेका थिएका थिए ।

 

फेलप्सले सन् २००४ को ओलम्पिकमा ६ स्वर्ण र दुई कांस्य, सन् २००८ को ओलम्पिकमा आठ स्वर्ण र सन् २०१२ को ओलम्पिकमा चार स्वर्ण र दुई रजत पदक जितेका थिए । लन्डन ओलम्पिकमा उनी दुई सय मिटर बटरफ्लाई र चार गुना एक सय मिटर फ्रिस्टाइल रिलेमा रजतमा सीमित भएका थिए । सोही ओलम्पिकपछि सन्न्यास लिएका फेलप्स त्यसको दुई वर्षपछि पुनः खेलमा फर्किए ।

फेलप्सले यस पटक साबिक विजेता चाड ले क्लोसलाई पछाडि पार्दै दुई सय मिटर बटरफ्लाई स्पर्धामा स्वर्ण पदक जितेका हुन् । फेलप्सले एक मिनेट ५३.३६ सेकेन्ड समय निकाले । साबिक विजेता दक्षिण अफ्रिकी खेलाडी क्लोस भने चौथो स्थानमा रहे ।

जापानका मासातो साकाईले रजत र हंगेरीमा टमास केन्देरेसीले कांस्य पदक प्राप्त गरे । यो स्पर्धाका लागि फेलप्सले निकै तयारी गरेका थिए । फेलप्सले सन् २००० देखि ओलम्पिक खेल्न थाले पनि पहिलो सहभागितामा स्वर्ण जित्न सकेका थिएनन् ।

लन्डन ओलम्पिकको यो स्पर्धा उनको अन्तिम थियो, जहाँ उनी नाटकीय रूपमा क्लोसलाई स्वर्ण सुम्पिन बाध्य बनेका थिए । ‘पत्याउनै सकेको छैन, यति धेरै पदक जितेको छु ।

साताका बाँकी खेललाई हेर्दा प्रतियोगितामा मेरो यात्रा आधा पनि पूरा भएको छैन', २१ औं स्वर्ण जितेपछि निकै प्रफुल्लित देखिएका फेलप्सले भने । दुई सय मिटर बटरफ्लाई आफूले खेल जीवन सुरु गर्दा प्रतिस्पर्धा गरेको स्पर्धा भएकाले यसमा स्वर्ण पदक जित्नु अर्थपूर्ण रहेको बताए ।

‘मैले आफू खेलमा फर्कंदा दुई सय मिटर बटरफ्लाई स्पर्धा जित्ने इच्छाबारे प्रशिक्षकलाई पनि पटकपटक भनेको थिएँ', उनले भने, ‘आफ्नो पाँचौं ओलम्पिक सहभागितामा भए पनि यो स्पर्धामा स्वर्ण पदक जित्न सकेकोमा निकै खुसी छु ।'

चार गुना दुई सय मिटर रिलेमा स्वर्ण जित्दा अमेरिकी टोलीमा फेलप्सबाहेक कोनोर डयर, फ्रान्चिस हास र रायन लोच्टे थिए । उक्त टोलीले बेलायतलाई पछाडि पार्‍यो ।

सन् २०१५ मा आयोजित विश्व च्याम्पियनसिपमा अमेरिकालाई पछाडि पार्दै बेलायतले शीर्ष स्थान हात पारेको थियो । यसैगरी हंगेरीकी पौडीबाज काटिन्का होस्जुले जारी प्रतियोगितामा तेस्रो स्वर्ण पदक जितेकी छन् । उनले मंगलबार राति दुई सय मिटर इन्डिभिजुयल मेड्लीमा पहिलो स्थान हात पारेकी हुन् । उनले यसअघि एक सय मिटर ब्याकस्ट्रोक र चार सय मिटर इन्डिभिजुअल मेड्लीमा पनि स्वर्ण पदक जितेकी थिइन् ।

होस्जु आफ्नै श्रीमान् सेन तुसुपबाट प्रशिक्षित छिन् । एउटै ओलम्पिक खेलकुदमा यसअघि एक महिला पौडीबाजले मात्र चार स्वर्ण पदक जितेको इतिहास छ । तत्कालीन पश्चिम जर्मनीकी क्रिस्टिन ओट्टोले सन् १९८८ मा उक्त सफलता हात पारेकी थिइन् । जारी ओलम्पिकमा २७ वर्षीया होस्जुको स्पर्धा अझै बाँकी छन् ।

यसैगरी १९ वर्षीया अमेरिकी पौडी खेलाडी केटी लेडेस्कीले दुई सय मिटर फ्रिस्टाइल र चार सय मिटर फ्रिस्टाइलमा पहिलो स्थान हात पारेकी छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.