वृद्ध आमाबुबा र सन्ततिको कर्तव्य
आजभोलि जन्म दिने बाबुआमालाई वृद्धा श्रममा लगेर छोड्ने क्रम बढ्दो छ । वृद्ध बाबुआमालाई आ श्रममा छोडेर आएको दिन आफ्ना सन्तानलाई काखी च्याप्दै भन्छन्, ‘तिमी त मेरो बुढेसकालको सहारा हौ । ठूलो भएपछि हामीलाई पाल है ।' भविष्यमा आफ्नो पनि पालो आउन सक्छ भन्ने कुरा उनीहरू बिर्सन्छन् ।
आफन्तद्वारा अपहेलित र तिरस्कृत वृद्धवृद्धाको संख्या पनि बढ्दै छ । विभिन्न कारण देखाई आफ्ना वृद्ध आमाबाबुलाई वृद्धा श्रममा राख्ने प्रवृत्ति पनि बढ्दैछ । घरमा सँगै भए पनि वृद्ध आमाबाबु एक्लै हुन्छन् र एक्लो हुनुपर्दाको महसुस गर्छन् । कामको व्यस्तता, आधुनिक जीवन शैली, प्रविधिप्रतिको लगावले वृद्ध आमाबाबुसँगे रहने कोही हुँदैनन् । बुढेसकालको ठूलो पीडा भनेको ढल्किँदै गएको उमेर होइन, एक्लोपन हो ।
केही शताब्दीको अन्तरालमा हाम्रो जीवनशैली, रीतिरिवाजमा थुप्रै परिवर्तन देखा परे । पछिल्लो समय हामीले पाश्चात्य जीवन शैलीतिर झुकाव राख्यौँ र धेरैले एकल (न्युक्लियर) परिवार रोज्यौँ । यसपछि घरमा भएका वृद्ध आमाबुबालाई वृद्धा श्रम वा अन्यत्र कतै लगेर छोड्न थाल्यौँ ।
उनीहरूप्रति गरिने सम्मान ह्वात्त घट्दै गयो । समाजबाट पनि उनीहरू अपहेलित भए । उनीहरूलाई दिइने आदरमा कमी आयो । दुःखको कुरा, जसले ख्याल राख्छन् भनेर उनीहरूले आशा गरे, तिनैबाट तिरस्कृत भए ।
हामीले विदेशी जीवन शैली त रोज्यौँ, तर हामी ती देश र हाम्रो देशको अवस्थाबारेमा सचेत हुन सकेनौँ । हामीले ठूलो परिवारबाट सानो परिवार त रोज्यौँ, तर त्यसक्रममा ओझेल र तिरस्कृत हुने वा हुनसक्ने पात्रको व्यवस्थापनबारे ख्याल गरेनौँ ।
विकसित देशमा वृद्धवृद्धाको जिम्मा सरकारले लिन्छ र उनीहरूको स्वास्थ्योपचारको पनि उचित प्रबन्ध गर्छ तर नेपालको अवस्था भने त्यस्तो छैन । यहाँ बल्ल सरकारले वृद्धभत्ताको रकम बढाएको छ, तर त्यो पनि पर्याप्त छैन । यहाँ भएका वृद्धा श्रमले उनीहरूलाई प्रदान गर्ने सेवा पनि त्यति सन्तोषजनक छैन ।
एक तथ्यांकअनुसार नेपालमा कुल जनसंख्याको ६.५ प्रतिशत वृद्धवृद्धाले ओगेट्छन्, जुन संख्या बढ्दो छ । समाज, परिवारबाट हेँला गरिएको संख्या पनि धेरै छ । नेपालमा वृद्धा श्रमको अवस्था पनि सन्तोषजनक छैन । त्यसमाथि आफ्नो मान्छेसँग बस्दाको माया, हेरचाह त अन्यत्र कहाँ पाइन्छ र ?
आखिर आफ्नो भनेको आफ्नै हुन्छ, तर आफ्ना भनेकाहरूले नै वास्ता नगरेपछि त्यो पीडाको सीमा रहन्न । अचम्म त के भने केही व्यक्ति यहाँ आफ्ना आमाबुबालाई वृद्धा श्रममा छोड्छन् र आफू महान् देखाउन अरू वृद्धा श्रममा दान गर्दै हिँड्छन् । आखिर त्यसको के औचित्य ? बरू बाँचुन्जेल सुख र आनन्दका साथ राखेको भए वृद्ध बाबुआमाहरूले सुखको अनुभव गर्न पाउँथे ।
एकजना वृद्धाको कथा छ । उनी लामो समय वृद्धा श्रममा बसिन् । विभिन्न घातक रोगको बिरामी थिइन् । उनको हालत नाजुक बन्दै गयो । डाक्टरले भने, ‘तपाईंको समय निकै थोरै छ, तपाईंको इच्छा केही भए भन्नुस् ।' उनले भनिन्, ‘मेरो छोरोलाई बोलाइदिनुस् ।'
छोरा आए र आमासँगै बसे । छोराको हात समाउँदै आमाले भनिन्, ‘बाबु, ऊ त्यो फ्यान देखिराछस्, सक्छस् भने बनाइदे अनि यो खाटमा सुत्न निकै गाह्रो हुन्छ, सक्छस् भने अर्को खाट ल्याइदे, यहाँ ओढ्ने कुरा खासै छैन, जाडो महिना या पानी पर्दा निकै गाह्रो हुन्छ, सक्छस् भने न्यानो लुगाको बन्दोबस्त गर्दे ।
कहिलेकाहीँ खाने कुरा नभएर भोकै सुत्नपर्छ । त्यसको लागि पनि केही बन्दोबस्त गर्दे । बीचैमा छोराले रोकेर सोधेछन, ‘आमा, डाक्टरले तपाईंसँग धेरै समय पनि छैन भनेका छन्, अब किन यतिविधि गर्नुपर्यो ? ' आमाले जवाफ दिइन्, ‘यो सब तेरो लागि भनेकी हुँ । तेरा पनि छोराछोरी छन्, तेरो पनि पालो आउला । मैले जति दुःख पाए पनि तैंले महसुस गर्नु नपरोस् ।'
एकजना लेखक भन्छन्- हामी आफ्ना वृद्ध आमाबुबालाई वास्ता गर्दैनौँ वा अनेक तरिकाले खिल्ली उडाउँछौँ, जब उनीहरूको मृत्यु हुन्छ, तब खोज्छौँ । उनले आफ्नो डायरीमा यसरी लेखेका छन्, ‘सधैँ म सोच्थेँ, मेरा बुबा कति लोभी होलान् ? सधैँ एउटै जुत्ता मात्र लगाएर हिँड्छन् । तर होइन रहेछ, कमाउनै पो गाह्रो रहेछ ।'
उनी डायरीमा थप्छन्, ‘एक दिन म आमाबुबासँग कति रिसाएँ भने म ठूलो मान्छे नबनेसम्म कहिल्यै घर फर्किन्न । जाबो एउटा बाइक त किन नसक्नेले डाक्टर कसरी पढाउने होला ? रिसको झोँकमा मैले के पनि ख्याल गरेनछु भने मैले बुबाको च्याचिएको जुत्ता लगाएर हिँडेछु । बुबाको च्यातिएको पर्स पनि चोरेको थिएँ । बस स्टेसनमा बसिरहेको बेला बस नआउन्जेल बुबाको पर्स हेरेँ ।
पर्समा केही कागजका टुक्रा थिए । ती कागज खोल्दै गएँ । त्यहाँ एउटा ४० हजारको रिसिप्ट र ल्यापटपको बिल रहेछ, जुन उहाँले मेरो लागि किन्दिनुभएको रहेछ । अर्को कागज भेटेँ, जसमा म्यानेजरले बुबालाई अफिसमा नयाँ र गतिलो जुत्ता लगाएर आउनू भनेर लेखेका रहेछन् । आमा पनि बुबालाई सधैँ नयाँ जुत्ता लगाउनू भन्नुहुन्थ्यो, तर उहाँ त्यो जुत्ता अझै ६ महिना टिक्छ भन्दै टार्नुहुन्थ्यो ।
अनि मैले अर्को कागज खोल्दा त्यसमा एक्सेन्ज लेटर रहेछ । उनले आफ्नो स्कुटर बेचेर मेरो लागि नयाँ बाइक किन्न लाग्नुभएको रहेछ । यो सब देखेपछि मेरा आँखाबाट आँसुका धारा बहे । मैले आँसु रोक्न सकिनँ । घर फर्कें र बुबालाई अँगालो हालेँ अनि कहिल्यै घर नछोड्ने कसम खाएँ ।'
आजभोलि मानिसहरू आफ्ना आमाबुबाले गरेको योगदान सजिलै बिर्सन्छन् । आमाबुबा कमजोर र बूढाबूढी भएपछि एक्लै छोडिदिन्छन् । अहिले पुस्तान्तर बढ्दो छ । यी दुई धारबीचको खाडल बढे छ । यो खाडल पुर्न युवाहरूको भूमिका महत्वपूर्ण हुन्छ ।
वृद्ध बाबुआमा घरका लागि बोझ होइनन्, उनीहरू श्रद्धा, आस्था र आशीर्वादका धरोहर हुन् । हामीले वृद्ध आमाबुबालाई अलिकति स्याहार, समय, माया, स्नेह दिए उनीहरूको जीवन आनन्दित र सुखी रहनेछ ।
नत्र भने यो असमानताको रेखा बढ्दै जान्छ र यो मेटाउन गाह्रो पर्छ । वृद्ध बाबुआमा घरका लागि बोझ होइनन्, उनीहरू श्रद्धा, आस्था र आशीर्वादका धरोहर हुन् । उनीहरूको सधैँ आज्ञा मान्नुपर्छ । उनीहरूलाई सम्मान गर्नुपर्छ ।
वृद्ध आमाबुबा आधुनिकता, टेक्नोलोजीमा पछाडि होलान्, तर व्यावहारिक अनुभवको खानी हुन्छन् । हामीले उनीहरूबाट ती अनुभव सुनेर धेरै सिक्न सक्छौँ । त्यसबाट हामी सही मार्ग हिँड्न सक्छौँ । हामीले वृद्ध आमाबुबालाई अलिकति स्याहार, समय, माया, स्नेह दिए उनीहरूको जीवन आनन्दित र सुखी रहनेछ । तसर्थ वृद्ध आमाबुबालाई आफ्नै घरमा राखौँ, सेवा गरौँ । यसैमा हरेक सन्ततिको कर्तव्य हो ।