ओलम्पिकमा स्वतन्त्र खेलाडीलाई स्वर्ण
रियो दी जेनेरियोः रियो ओलम्पिक खेलकुदमा ‘स्वतन्त्र' खेलाडीले स्वर्ण पदक जितेका छन् । सुटिङ खेलाडी फेहिद अल दिहानीले सुटिङको डबल ट्र्याप स्पर्धामा स्वर्ण पदक जितेका हुन् । अल दिहानीको यो छैटौं ओलम्पिक सहभागिता हो ।
यसअघि पाँचपटक उनी कुवेतको खेलाडीका रूपमा ओलम्पिकमा सहभागी थिए । तर, अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी)ले कुवेतलाई निलम्बन गरेपछि अल दिहानीले यसपटक स्वतन्त्र खेलाडीका रूपमा ओलम्पिकको झन्डामुनि खेलेका हुन् ।
स्वर्ण पदक जित्ने क्रममा अल दिहानीले इटालीका मार्को इनोसेन्टीलाई पछाडि पारे । अल दिहानीले आफ्नो पदक ओलम्पिकमा कुवेतको सहभागिता नहोसे भन्ने चाहना राख्नेका लागि चुनौती भएको बताए । ‘यो पदक मेरो देश र ती जनताका लागि हो, जो ओलम्पिकमा कुवेतको प्रतिनिधित्व नहोस् भन्ने चाहन्छन्', उनले भने, ‘म उनीहरूलाई हामी ओलम्पिकमा छौं र पदक पनि जित्न सफल भएका छौं भनेर देखाउन चाहन्छु ।'
अल दिहानी कुवेतका आर्मी अफिसर हुन् । उनले कुवेतमा निकै चर्चित र सफल खेलाडीको छवि बनाएका छन् । ओलम्पिकमा अल दिहानीले जितेको यो पहिलो स्वर्ण पदक हो । उनी ओलम्पिकमा स्वर्ण पदक जित्ने पहिलो कुवेती नागरिक हुन् । सन् २००० को सिड्नी ओलम्पिक र सन् २०१२ को लन्डन ओलम्पिक खेलकुदमा अल दिहानीले कांस्य पदक जितेका थिए ।
राष्ट्रिय ओलम्पिक कमिटीमा सरकारी हस्तक्षेप रहेको भन्दै आईओसीले गत अक्टोबरमा कुवेतलाई निलम्बन गरेको थियो । कुवेत सरकारले राष्ट्रिय ओलम्पिक कमिटीका १४ सदस्य र केही खेल संघविरुद्ध कुल १.३ बिलियन डलर बिगो दाबी गर्दै मुद्दा दर्ता गरेको छ ।
आईओसीविरुद्ध दायर त्यस्तै प्रकृतिको मुद्दा भने स्विस अदालतले रद्द गरेको थियो । आईओसीले आफ्नो झन्डामुनि खेलाए पनि मार्च पास्टमा अल दिहानीले आईओसीको झन्डा बोक्न अस्वीकार गरेका थिए । उनले कुवेतको झन्डामात्र आफूले बोक्ने बताएका थिए । निकै कठिन रूपमा सेमिफाइनल पुगेका अल दिहानीले अन्तिम चारमा भने उत्कृष्ट प्रदर्शन गरेका थिए ।
फाइनल जितेलगत्तै उनको खुसीको सीमा रहेन । ‘यसअघि कहिल्यै यस्तो अनुभव भएको थिएन', अल दिहानीले भने । पुरस्कार वितरण समारोहमा स्वर्ण पदक लिँदा आईओसीको धुन बज्नुका साथै आईओसीको झन्डोत्तोलन भइरहँदा भने अल दिहानी केही निराश देखिएका थिए ।
‘त्यति बेला मलाई निकै दुःख लाग्यो । मेरो पीडालाई बयान गर्न सक्दिनँ', उनको भनाइ थियो । प्रतियोगितामा स्वतन्त्र खेलाडीका रूपमा कुवेतबाट मात्र सहभागी छन् । यसबाहेक शरणार्थी टोलीका रूपमा १० जना खेलाडीले रियो ओलम्पिकमा भाग लिएका छन् ।
लेडेस्कीलाई तेस्रो स्वर्ण
अमेरिकी महिला पौडीबाज केटी लेडेस्कीले जारी ओलम्पिक खेलकुदमा तेस्रो स्वर्ण पदक जितेकी छन् । बुधबार राति लेडेस्कीले चार गुना दुई सय मिटर फ्रिस्टाइल रिलेमा स्वर्ण पदक हात पारेकी हुन् । लेडेस्कीले यसअघि दुई सय मिटर र चार सय मिटर फ्रिस्टाइल स्पर्धामा पनि स्वर्ण पदक जितेकी थिइन् । १९ वर्षीया लेडेस्कीले पछिल्लो स्वर्णमा पनि आफ्ना प्रतिद्वन्द्वीलाई जिल्याइन् ।
हरेक टोलीबाट चार खेलाडीले प्रतिस्पर्धा गर्ने यो स्पर्धामा अन्तिम दुई सय मिटर पूरा गर्ने जिम्मा लेडेस्कीले पाएकी थिइन् । उनी आउनुभन्दा अगाडि स्विडेन, अस्ट्रेलिया र चीनका खेलाडी अगाडि थिए । तर, लेडेस्कीले सबै प्रतिद्वन्द्वीलाई पछाडि पारिन् । लेडेस्कीले आफूले पाएको जिम्मेवारी पूरा गर्न केवल एक मिनेट ५३.७४ सेकेन्ड लगाइन् । उनी निकटतम प्रतिद्वन्द्वी खेलाडीभन्दा २.५ सेकेन्डले अगाडि रहिन् ।
जारी प्रतियोगितामा लेडेस्कीले चार गुना एक सय मिटर फ्रिस्टाइल रिलेमा पनि रजत पदक थिइन् । ‘म हरेक अवस्थाका लागि तयार थिएँ, चाहे मेरो टोली अगाडि होस् या पछाडि', तेस्रो स्वर्ण जितेपछि निकै प्रफुल्लित देखिएकी लेडेस्कीले भनिन् ।
यो स्पर्धामा अस्ट्रेलियाले रजत र क्यानडाले कांस्य पदक हात पार्यो । लेडेस्कीले अब आठ सय मिटर फ्रिस्टाइलमा प्रतिस्पर्धा गर्नेछिन् । यो स्पर्धामा उनी विश्वकीर्तिमानी र साविक विजेता पनि हुन् ।
यसैगरी पुरुष एक सय मिटर फ्रिस्टाइल स्पर्धामा अस्ट्रेलियन खेलाडी कायल चाल्मर्स पहिलो भए । साविक विजेता नाथन एड्रियनलाई समेत पछाडि पारेका चाल्मर्स यो स्पर्धामा स्वर्ण जित्ने ४८ वर्षयताकै पहिलो अस्ट्रेलियन पौडीबाज हुन् । अन्तिमपटक यो सफलता सन् १९६८ को ओलम्पिकमा अस्ट्रेलियाका माइकल वेन्डेनले हात पारेका थिए ।
यसैगरी कजाकस्तानले पनि पहिलोपटक पौडीमा स्वर्ण पदक जितेको छ । पुरुष दुई सय मिटर ब्रेस्टस्ट्रोक स्पर्धामा कजाख खेलाडी दिमित्री बलान्डिनले स्वर्ण पदक हात पारे । स्पेनकी खेलाडी मिरैया बेलमोन्टेले दुई सय मिटर बटरफ्लाई स्पर्धामा स्वर्ण पदक जितिन् । यसअघिका ओलम्पिक सहभागितामा बेलमोन्टेले दुई रजत र एक कांस्य पदक जितेकी थिइन् ।
यसैगरी चीनकी दिङ निङले टेबुलटेनिसअन्तर्गत महिला एकलतर्फको उपाधि जितेकी छन् । फाइनलमा आफ्नै देशकी ली जियाओजियालाई हराउँदै निङले स्वर्ण पदक हात पारेकी हुन् । चार वर्षअघि सम्पन्न लन्डन ओलम्पिकमा फाइनलमा निङलाई हराएर जियाओजियाले स्वर्ण जितेकी थिइन् । २६ वर्षीया निङले ओलम्पिकमा स्वर्ण पदक जितेको यो पहिलोपटक हो ।
उनी हाल विश्व च्याम्पियनसमेत रहेकी छन् । सन् १९८८ मा टेबुलटेनिस पहिलो पटक ओलम्पिक खेलकुदमा समावेश भएयता हरेक संस्करणमा एकल स्पर्धाको स्वर्ण चीनले नै जित्दै आएको छ ।
फेलप्स र केटी अगाडि
जारी ओलम्पिक खेलकुदमा सर्वाधिक पदक जित्ने खेलाडीको सूचीमा पुरुष र महिला दुवैतर्फ अमेरिकी खेलाडी अगाडि छन् । पुरुषतर्फ अमेरिकी पौडी खेलाडी माइकल फेलप्सले हालसम्म तीनवटा स्वर्ण पदक जितेका छन् । दोस्रो नम्बरमा आसीन जापानी जिम्न्यास्टिक खेलाडी कोहेई उचिमुराले दुई स्वर्ण हात पारेका छन् ।
भियतनामका सुटिङ खेलाडी हुवाँ भिन होवाङ एक स्वर्ण र एक रजत पदकसहित तेस्रो स्थानमा छन् । चौथो स्थानमा रहेका जर्मन इक्वेस्टेरियन खेलाडी माइकल जङले एक स्वर्ण र एक रजत, पाँचौं स्थानमा रहेका फ्रान्सेली इक्वेस्टेरियन खेलाडी एस्टियर निकोलसले एक स्वर्ण र एक रजत तथा छैटौं स्थानमा आसीन चिनियाँ पौडी खेलाडी याङ सुनले एक स्वर्ण र एक रजत पदक जितेका छन् ।
यसैगरी महिलातर्फ पहिलो स्थानमा रहेकी अमेरिकी पौडी खेलाडी केटी लेडेस्कीले तीन स्वर्ण र एक रजत पदक हात पारेकी छन् । दोस्रो स्थानमा रहेकी हंगेरीकी पौडी खेलाडी काटिन्का होस्जुले तीन स्वर्ण तथा तेस्रो स्थानमा रहेकी अमेरिकी पौडी खेलाडी मेडलिन डिराडोले एक स्वर्ण, एक रजत, एक कांस्य पदक हात पारेका छन् ।
अमेरिकाकै पौडी खेलाडी एम्मा म्याककियन एक स्वर्ण, एक रजत, एक कांस्यसहित चौथो, क्यानडाकी पौडी खेलाडी पेन्नी ओलेकसियाक एक रजत र दुई कांस्यसहित पाँचौं, अमेरिकाकी पौडी खेलाडी एलिसन स्मित एक स्वर्ण र एक रजतसहित छैटौं र स्विडेनकी पौडी खेलाडी सराह जस्र्टम एक स्वर्ण र एक रजतसहित सातौं स्थानमा छन् ।