सिक्किम सयर

सिक्किम सयर

'फोटोकपीसहित नागरिकता वा पासपोर्ट चाहिन्छ, नबिर्सी बोक्नुहोला । दक्षिण सिक्किमतिर अलि जाडो हुन्छ रे, एक जोर बाक्लो लुगा पनि ।'

अरू थोक गडबड भए पनि यी दुई ध्यानमै छन् । निनु सरको म्यासेज स्लोगनझैं सेट भएको छ । तयारीसाथ निस्केको छु ।

२२ जुलाई ।

बिहान साढे ८ बजेको गाडी छ । नारायणगढ-काँकडभिट्टाको छ यात्रा । साथमा छ लेखक मञ्जु श्री थापाको नयाँ किताब । काठमाण्डु या पोखराको डिलक्स बस पर्खन मन भएन । मुग्लिनको पहिरोको के भर ! छोटो-छोटो बस, छोटै सिट । दस बाह्र घन्टाको बाटो ! उतिसारो मजा लागिरहेको छैन । तर गन्तव्यको कल्पनाले रोमाञ्चित छु ।

'देवकोटा लुसुन प्रज्ञा प्रतिष्ठान'को निम्तो हो । सिक्किमको साहित्यिक परिभ्रमण, आदानप्रदान र विमर्श खास ध्येय । सिक्किम यसअघि नपुगेको ठाउँ त होइन । पुगेकी थिएँ आगो लिन गएजसरी बडो हतारमा ।

सबै सहभागी काठमाण्डुबाट हुनुहुन्छ । अरू सबै त सम्बद्ध संस्थाका अधिकारी, एक्लो म नै हुँ निम्तारु । हिँड्नु दुई दिनअघि कालिम्पोङदेखि कवि मनोज बोगटी भन्दैछन्, 'हेर साथी, यता नपसी उम्कन पाइँदैन है !' असल साथीहरूले असल नियतले बोलाएपछि यो ज्यान मध्यरातको मसानघाटमै त हाजिर हुन तयार छ । कालिम्पोङ त प्रिय कविहरूको ढुकढुकी बाँच्ने थलो ।

काठमाण्डुदेखि सिन्धुली हँदै आएको टोलीलाई काँकडभिट्टामा छ भेट्नु । हेटौंडा पुग्दानपुग्दै बसभित्र सुरु भएको छ मान्छेको वाष्पीकरण प्रक्रिया । पथलैया नाघेपछिको त नकुरा गरम् । अब गाडीमा बसेर किताब पढ्ने स्पेस कहाँ ! किताब बन्द ।

दमकसम्म पुग्दा झमक्कै साँझ परेकोे छ । खाली हुन लागेको गाडीमा दमकबाटै मसँग सिटमा बस्न आइपुगेको मनोरञ्जन दत्ता राजनीतिक अन्दाजमा गफ गर्न खुब रौसिएको छ । तर मोरो पश्चिम बंगालको नक्सलवाडीमै जन्मेहुर्केर पनि चारु मजुमदार चिन्छौ भनेर सोध्दा कोही चाइनिज हो ? भनेर ट्वाँ पर्छ । उमेर सानै छ 'टकिङ स्टामिना' चाहिँ चर्को !

रणेन्द्र बराली मेरा ससुराबाका पुराना साथी । त्यसैले अंकल भन्न सजिलो लाग्छ । उहाँ मलाई निम्त्याउने संस्थाका महासचिव । काँकडभिट्टामा उहाँकै भतिज नारायण बरालीको घर हाम्रो रातभरको मुकाम । १० जना पाहुनालाई त्यत्रो खातिर र आरामले राख्न ठूलै मन चाहिन्छ र पुगेस् पनि । बिहान कान्तिपुरकर्मी पर्वत पोर्तेलको क्यामेरामा दुईचार क्लिक फोटो सेसन गरिसक्दा सिक्किमका साथीहरूले पठाइदिएको सवारी आइसक्छ । र थालिन्छ हाम्रो खास यात्रा ।

२३ जुलाई ।

कार्यक्रमको पहिलो दिन । भरे ५ बजे गान्तोक सहरको प्रसिद्ध एमजी रोडको एक आर्ट ग्यालरीमा हुनेछ उद्घाटन । सिमसिम पानी पर्दैछ । मेची पुल तरेर पानी ट्यांकी कटेपछि अलि पल्तिरबाटै देखिन थाल्छ चियाबगान । सडकको देब्रे किनारामा देखिएको छ, झुन्ड झुन्डमा हिँडेका चिया कामदारहरूको लामो लस्कर ।

बाह्र÷पन्ध्र वा बीस÷तीस जनाको होइन सयौंको । छाता ओढेर कम्मरमुनिको भाग पानीकागजले बेरेर फटाफट हिँडिरहेका स्वास्नीमान्छेहरू र साइकलमा फाट्टफुट्ट देखिएका लोग्नेमान्छेहरू पनि । ओहो, यो के हो ? मान्छे हिँडेको कि मसिना खुट्टीमात्र चलिरहेका ? अनुमान गर्छु छातामुनि उमेरभरिको अभाव कचल्टिएका कृश आँखा ।

अनुमान गर्छु एक बेतन रोजगारको साङ्लीमा पुस्ता दरपुस्ता उनिएका मानव मेसिन । मानौं ती मान्छे कुनै काममा होइन दासमोचन पर्वको लामो न लामो यात्रामा हिँडिरहेका होऊन् । कहिले हो यो यात्रा टुंगिने ? कति पुस्तापछि ? सम्झँदै लाग्छ रिँगटा ! तैपनि कति छिटोछिटो चलेका तिनका खुट्टी ! सम्झिन्छु, हरेक बिहान आफूले व्यग्रतापूर्वक उमाल्ने भुल्काभरिको चियाको हरक ! र अनुभव गर्छु, त्यो हरकमा यस्तै मानिसको अनन्त पसिनाको महक । गाडी अगाडि बढिरहन्छ र छुट्दै जान्छ पछाडि सयौं खुट्टीहरूको लामो लस्कर ।

नक्सलबारी हो यो । बराली अंकल हामीलाई चारु मजुमदारको गाउँ देखाउन बकुल्लोजसरी तन्काएको तन्कायै हुनुहुन्छ घाँटी । मनोरञ्जन दत्ताको किस्सा सुनाए के लाग्दो हो उहाँलाई ? क्षोभले ढक्क हुन्छु आफैं । कम्तीमा यतिखेर त सुनाउन मन लाग्दैन । रेल र सडक दुवै मार्ग मिसिने सन्धिस्थल थियो, त्यहीँनेरबाट उपल्लो पट्टि इशारा गर्दै अंकलले मजुमदारको गाउँ देखाउँदा हुरुक्क लाग्छ । त्यही बेला पछिल्लो सिटबाट जिपको आयतनै नाघूँलाझैँ गुन्जिन्छ जनगायक जीवन शर्माको स्वर ः

वर्गीय मायाको रसरसैमा
गीत गाउँदै सिलगुडी मिनी बसैमा...

यी गीतहरूसँगै यो छातीमा अभिलिखित नोस्टाल्जिया पुर्ने अर्को कुनै गीत होला ? अहँ । हरिगोविन्द सर भने दायाँपट्टि बिछ्याउँदै गरेको नयाँ रेलमार्गको पटरी देखाउँदै हँसाइदिनुहुन्छ, 'खड्गप्रसादको सपनालाई दाहिना पारेर हिँडिएको छ । यात्रा निर्विघ्न हुने छ साथी हो ! हा हा...' उता खड्गप्रसादको कुर्सीमाथि सुरु भइसकेको विघ्न प्रकरणमाथि नेपालको संसद्मा के-के हुने हो कुन्नि ? गम खाँदै छु ।

प्यारी पारिजातको पूर्ण कदको सालिकलाई हृदयले 'हेलो !' मात्रै भन्छु । अरूले पनि पक्कै भनेको हुनुपर्छ । रोकिएर अवलोकन गर्ने त फुर्सतै छैन । हैत्, आई त हाल्यो सिलिगुडी ! विचार र प्रस्तुतिका धमाकेदार बुलेट कवि राजा पुनियानीको सहर पो त यो ! तर यति बेला उनीसँग सम्पर्क हुन नसकेको खेदले खिन्न लाग्छ ।

न वा उतै भेट हुने हो ? कल्पिन्छु मात्रै । गाडीभित्र रमाइला किस्सा, जोक्स र खोक्स सबै उपलब्ध छन् । अग्रज स्रष्टाहरूको 'माई डियर'त सिग्नेचर ट्युन नै हो कि जस्तो । सधैं औपचारिक र निरस मुद्रामा भेटका स्रष्टाहरूका अनौपचारिक टोन रमाइलै लाग्दा रहेछन् ।

वाफको भाप उडेर कुइरीमण्डल बनेको टिष्टा नदीलाई दाहिने पारेर साँघुरो सडकमा गुडिरहँदा नेपालकै त्रिशूली किनारतिर नै छु झैं लाग्दो रहेछ । उँभैउँभो लागेपछि यही टिष्टा देबे्रपट्टि पर्दो रहेछ । मास्तिर पुगेर किर्ने भन्ने ससानो स्टेसनमा खाना खाइवरी निस्कँदा बज्छ साढे १० ।

'लौ सबैले आआफ्ना नागरिकता, पासपार्ट जेजे ल्याउनु भा'छ, थुम्केलीजीलाई दिनुस् त । एकैछिनमा हामी पस्दैछौं ।' सिक्किम प्रवेशद्वार नपुग्दै निनु सरले यसो भनेपछि कलाकार देवेन्द्र थुम्केलीलाई कागजात बुझाउछांै ।

रङ्पु । सिलिगुडीतिरबाट सिक्किम भित्रिने मुख्य ढोका । कागजपत्रको जाँचपछि यहाँबाट 'इनर लाइन परमिट' लिएरमात्र सिक्किम पस्न पाइन्छ । नियम कडा छ । भारतकै सबै राज्यमा भित्रन भने यस्तो व्यवस्था छैन रे, केहीमा भने छँदैछ ।
गान्तोक सिटी स्टेसन पुग्दा 'चिया कविता समूह'का अमर गुरुङ लाछिकाठी र 'प्रेस क्लब अफ सिक्किम'का भीम रावत स्वागतमा तैनाथ छन् । त्यहाँबाट हामीलाई सोझै पुर्‌याइन्छ गेस्ट हाउस ।

डेभलपमेन्ट एरियामा अवस्थित यो भव्य गेस्ट हाउस सिक्किम युनिभर्सिटीले आफ्नै प्रयोजनका लागि सञ्चालन गरेको रहेछ । यहाँ सिक्किमकी जानेमाने पत्रकार पवित्रा भण्डारी छिन् स्वागतार्थ बसेकी । उनीसँगै छन् यतैका कवि तथा प्रतिष्ठानका कोषाध्यक्ष कृष्ण प्रसाईं, उताको व्यवस्थापन सघाउन दुई दिनअगावै पुगेका । खादा अर्पण र औपचारिक स्वागत कार्यक्रमपछि परिचयको आदानप्रदान र सामान थन्क्याउने मेलो सकियो ।

अब फ्रेस भएर एकछिन बजार निस्कने मुड छ । संयोग भनूँ, कथाकार बाबा बस्नेतलाई गज्जब कोठा परेछ । उनैको कोठाबाट देखिएको गान्तोक सहरको मोहक दृश्य हेर्दा मुखबाट आफैं निस्कन्छ 'वाह !' । भिरालो जमिनमा सलाईका बट्टाहरू एकएक गर्दै चिनेजस्ता बाक्ला घर । सहरको झन्डै बिचोबिच रैछ रंगशाला ।

रंगशालाको ठीक मास्तिर पर्दो रैछ यो गेस्ट हाउस । हरियो ग्राउन्डमाथि सुकिला खाइलाग्दा बच्चाहरू स्पोर्टस् ड्रेसमा सजिएर कति मस्तले खेलिरहेका ! यो दृश्य देख्दा चितवनजस्तो फराकिलो ठाउँमा एउटा स्टेडियमसम्म छैन भन्ने बोधले चिमोटिहाल्छ । रुममेट दिदी सीता शर्मासँग निस्कन्छु । सफा सडक र ओहोरदोहोर गर्ने मानिसहरूका चम्किला अनुहार । हिँड्दै जाँदा त्यहीँ देखिन्छ नेपाली साहित्य परिषद्को शानदार भवन ।

साँझको कार्यक्रम मुख्यतः कला प्रदर्शनी हो । नेपालबाट आएका कलाकार देवेन्द्र थुम्केलीले त्यसको संयोजन गरेका छन् । उनीसहित बीसजना नेपाली कलाकारका कलाकृति काठमाण्डुदेखि जतनपूर्वक ल्याइएको छ । एमजी रोडस्थित ओभिया आर्ट ग्यालरीमा छ प्रदर्शनी, तीन दिनसम्म ।

सिक्किम सरकारका पूर्वमन्त्री टी लाचुङ्पा र गान्तोक नगरपालिका प्रमुख आशिष राईबाट संयुक्त उद्घाटन भएपछि थालिएको कार्यक्रम चिया कविता समूहका प्रवीण खालिङको सञ्चालनमा सम्पन्न हुन्छ । मुख्यमन्त्री पवन चाम्लिङ आफैं एक सिर्जनशील व्यक्तित्व, यहाँ मलाई उनको अपेक्षा थियो । कवि राजेन्द्र भण्डारी जसको कवितासंग्रह 'प्वाँखहरू र आकाश' खुब रुचिले पढेको । मेरा आँखाले कवि भण्डारीलाई पनि खोजे । होलान् यहाँका पनि आफ्नै खाले दुःख, यस्तै लाग्यो । 'प्रेस क्लब अफ सिक्किम'का अध्यक्ष भीम रावतको छ स्वागत मन्तव्य ।

ब्यानरमा छ लेखिएको 'सिक्किम-नेपाल मैत्री साहित्यिक उत्सव २०१६' । अबका चार दिन यही ब्यानरमा हुनेछन् कार्यक्रम । मलाई चिन्ने त यहाँ को होला र ? लागेको थियो तर यहीँ भेटिए प्रसिद्ध कवि, समालोचक प्रवीण राई जुमेली र पत्रकार तथा समालोचक रूपेश शर्मा । संक्षिप्त कुराकानीमै निकट भइहाले रूपेश । पछि थाहा भयो, मेरो कविताका नियमित पाठक पनि रहेछन् । यहीँ भेटिएका अग्रज पुस्ताका केके क्षेत्री, माला राणापात्र, अमर बानियाँ र चुन्निलाल घिमिरेसँग बिल्कुलै नयाँ साक्षात्कार थियो ।

'हाम्रो प्रजाशक्ति' दैनिकका पत्रकार तथा राजनीतिकर्मी पवित्रा भण्डारी र 'हिमाली बेला'का पत्रकार कविता शर्मा सिक्किमको भूमिमा बसेर सशक्त दृष्टान्त बनेका महिला हुन् । उनीहरूसँग चाहिँ यो नवीकरण भेट हो । यी दुई त आयोजक संस्थाकै सदस्य पनि हुन् ।

लगत्तै गोल्डेन टिप्समा चिया कविताको छ मेलो । सबैका एक-एक गर्दा पनि अठार बीस कविता, केही अनौपचारिक वार्ता र जीवन शर्माका गीत । शर्माजीका गीत सुनिरहँदा अतीतको एक छाया जुरुक्क उठेर बौरिएझैं हुरुक्क हुन्छु । यी गीत सुन्दा हरेकपल्ट यस्तै हुन्छ ।

आखिर हौं त हामी छिमेकी देशबाट गएका पाहुना । तर त्यो कुनै परदेश लागिरहेकै थिएन । २८÷३० वटा नाटक निर्देशन गरिसकेका पाका लेखक, कलाकार चुन्निलाल घिमिरे पनि त्यस्तै भन्नुहुन्छ, 'भौगोलिक साँध सिमानाले छेके पनि सांस्कृतिक संवेदनाले हामी एकै हौं ।' यताबाट सहभागीमध्ये हरिगोविन्द लुइँटेलको अभिव्यक्तिमा विराट सृजन सामथ्र्यका नेपाली प्रतिभा देवकोटा र चिनियाँ सांस्कृतिक क्रान्तिका महारथी साहित्यिक र क्रान्तिकारी विचारक लु सुनसँगै भारतीय साहित्यको अभिमुखीकरणका उत्प्रेरक प्रेमचन्दलाई समेत जोडेर दुई छिमेकी देशसँग सांस्कृतिक आदानप्रदानका सेतु निर्माण गर्न सकिने धारणा प्रकट हुन्छ । बेलुकाको खानाको निम्तो रहेछ माला राणापात्रको । डिनरको आयोजन भव्य थियो भन्नै परेन ।

२४ जुलाई ।

नेपाली साहित्य परिषद्को भवनमा कार्यक्रम छ । आसन ग्रहण, स्वागत इत्यादि पछि फटाफट कवितावाचन । उद्घोषक नीलम न्यौपाने यता र उताका सहभागी पालैपालो बोलाउँदै छन् । यहीँ तीनवटा कृति विमोचन पनि राखिएको छ ः चिया कविता समूहकै प्रवीण खालिङका प्रेम कविताहरू 'झरी', रामबाबु सुवेदीको 'बगैंचाकी चरी', सबेन गुप्ताको बंगाली बालउपन्यासको उषा नन्दीले गरेको नेपाली अनुवाद ।

यसपछि कवि र समालोचक प्रवीण राई जुमेली समकालीन भारतीय नेपाली साहित्यमाथि वार्ता भन्ने विषयमा बोल्न उभिन्छन् । संक्षिप्त बोल्दा राम्रा वक्ता हुँदाहुँदै पनि उनले धेरै कुरा छुटाए । पूर्वीय शिक्षानीति विमर्शदेखि भाषा र सांस्कृतिक अस्तित्वको प्रसंग हुँदै भारतखण्डका नेपालीको अवस्थालाई 'हाइब्रिड' अर्थात् न मौलिक रूपले आफूजस्तो न अर्को जस्तो, बीचको स्थितिमा बनेको जोकर आइटमजस्तो बताइदिए । मैले खुब ध्यानसँग तिनका कुरा कापीमा टिपेको छु ।

थुप्रै सन्दर्भ ल्याउँछन् उनी अनेकका उद्धरण पनि । ओमि भाभा, रेमन्ड विलियम्स, गायत्री चक्रवर्ती, ग्राम्स्की, ज्याक डेरिडा । तर तिनले देखाइदिएनन् सिक्किमेली या समग्र भारतीय नेपाली साहित्यको खास इतिहास र चरित्र । एक, दुई वा तीन भनेर भनेनन् ठ्याक्कै त्यस्तो कालक्रमिक उहापोहको चित्र । यो शीर्षकमा हुने वार्तामा मेरो अपेक्षा फेल भए पनि जुमेलीको विद्वता र उनका केही सांस्कृतिक ठम्याइ भने स्मरणीय नै छन् । लाग्दैछ, अकारण नै त्यतिविधि छुटाएका त होइनन् ।

यसपछि 'देवकोटा लु सुन प्रज्ञा प्रतिष्ठान'का अध्यक्षको सम्बोधन छ । समकालीन नेपाली साहित्यको चर्चामै घुमेको छ विषय । नेपाली र भारतीय कविताका साम्य र वैषम्यको विमर्श अलिकति । आदानप्रदानमा पनि सिर्जनात्मक गुरुत्व हुनुपर्ने अपेक्षाको सार अलिकति । समकालीन नेपाली साहित्यका दुई प्रमुख पक्षको उल्लेख, सामाजिक सरोकारप्रतिको प्रतिबद्धता र विभिन्न साहित्यिक चिन्तनको पारस्परिक द्वन्द्व र अन्तरक्रियाको सप्रसंग चर्चा ।

त्यसको निचोडले भन्छ, आमूल परिवर्तनको चाहना र नयाँ नेपालको स्थापना आजको खास स्वर हो । तर पश्चगमन भर्सेस अग्रगमनको संघर्ष र तनाव पनि उत्तिकै छ । परिवर्तित राजनीतिक अवस्थामा साहित्यमा चलेका सांस्कृतिक बहसबारे ज्यादै संक्षेपमा बोल्दा पनि चापागाईंको कथनमा मूल कन्टेन्ट सबै आए । यो खँदिलो सुनियो । नेपालीबाहेक नेवारी, मैथिली, किराती लगायतका साहित्य पनि नेपाली साहित्य हुन् भन्ने सिक्किमेली साहित्यकारले कति बुझे कुन्नि !

यहाँ सुनिएकामध्ये सबैभन्दा उल्लेख्य कवि लागिन्, कलासाधक पनि रहेकी दीपा राई । सुन्न पाएकामध्ये अमर बानियाँ, सुधा एम राई, गोपाल ढकाल पनि स्मरणमा रहिरहने कवि लागे । जीविका खतिवडा एउटैमात्र गजलकार भेटिइन् ।

गायक बन्ने धोकोले गाउँबाट आएको ठिटो भीम रावत अब गायक कम पत्रकार हुन् तर कवितामा भने लेख्दा रहेछन् व्यंग्य । कवि मातृका शर्माले त वरशिक्षा नै सुनाए । भानुभक्तको वधूशिक्षाको हुबहु प्यारोडी । तिखो हास्यले हल गुञ्जायमान भए पनि मलाई चाहिँ यो कुनै निम्नकोटीको मजाकभन्दा बढी लागेन ।

हामी यताबाट जानेहरूले पनि सबैजसोले कविता सुनायौं । नेपाली साहित्य परिषद्का अध्यक्ष पाका स्रष्टा रुद्र पौड्यालले सभाध्यक्षको सम्बोधन गरेपछि कार्यक्रम समापन ।

त्यसपछि गान्तोक सहर छेउका भ्रमणीय स्थलहरू पुग्छौं । पानी पर्न अझै निख्रिएको छैन 'सीएम सा'बको' अफिस र अन्य सरकारी भवनहरू चिनाएकी जीविकाले सिक्किम सहरका दृश्यहरू कसरी बयान गर्दै देखाउँदी हुन् ! तर गनेश टावर र टासी टावर पुग्दा आकाश धुम्मिएर दोलाईं ओढिरहेको थियो । प्रकृति मानौं हामीसँग नै ठुस्किएर बसेको थियो । हामी खिस्रिक्क परेर फर्कियौं । त्यसको क्षतिपूर्ति भरे गज्जबले गराए साथीहरूले । गीत संगीत र नृत्यसहितको सिक्किम नेपाल सांस्कृतिक साँझ । बाफ रे ! रामबाबु सुवेदी बा त छमछम्तै नाचेपछि अरू हामी को बाँकी रह्यौं होला !

२५ जुलाई ।

आज ६ बजे नै बसपार्क पुग्नुपर्ने । ढिलो भयो । चिया कविताका साथीहरूले हिजो साँझ नै ल्याएर आफ्नो लोगो र कञ्चनजंघाको चित्र अंकित टिसर्ट लगाइदिने आग्रह गरेका छन् । आफूलाई चाहिँ एक्सएल साइज पनि टाइट भएर हत्ते छ । क्यार्नु क्यार्नु ! लौ जा भिर्छु ।

झोला कसेरै निस्कने हो । यसपालिलाई अब गान्तोक फर्किइन्न । पानी पर्न छोडेको भए पो ! थेत्, यस्तोमा पाहुना लाग्नेलाई भन्दा आतिथ्य दिनेलाई हँदो हो अप्ठेरो । बरा साथीहरू हाम्रा झोला र सामान बोक्दै हामीलाई नभिजाई सद्दे राख्न कोसिस गर्दैछन् । यहाँका बस सिक्किम सरकारकै मातहत चल्नेमात्र छन् । व्यवसायीहरूले बसको कारोबार गर्न पाउने नियम छैन । फोर ह्विलर जिप ट्याक्सीमात्रै पाउँछन् ।

धुम्मधुम्ममै हिँड्छ बस । धुम्मैमा कट्छ सिङ्ताम सहर । धुम्मैमा तर्छ टिष्टा । चिया नास्ता खान अडिएर फेरि बढ्छ बस । गाउँगाउँमा पिच सडक पुगेको देख्नु कस्तो रमाइलो । साँघुरो त छ तर छ नि सडक । लौ, हेर त भर्खरै खसेछ पहिरो ! पहिरोसितै लडेको छ एउटा सान्सानो रूख । तैनाथ छ मोबाइल सडक विभाग । हामीले खुर्पा, बन्चरो खोजेर पन्छाउन खोज्दा नखोज्दै आइपुगेको छ विभागको टोली । हेग्जावेटर छ हमेसै तयार ।

बाटो सफा भइहाल्छ । राबाङ्लाको मनमोहक बुद्ध पार्क घुम्ने बेला पनि प्रकृतिले बर्सिने र धुम्मिने गरेरै सतायो । यहाँको खुलेको उज्यालो तस्बिर खिच्न पाइएन । घुम्ने लिस्टमा सान्दु्रप्से पनि छ तर भ्याइएन । साथीहरूले भने खाना खाएर उँभो लाग्नु रे अब । यो उँभो भनेको हिमालयन सेन्टर फर एडभेन्चर एन्ड इको टुरिज्म, चेम्चेतर्फको यात्रा हो । यसको मार्ग हो भारतकै प्रसिद्ध इको-हाइवे ।

साँच्चै सपनाकै भूमिमा पाइला टेकेजस्तो गर्छु अनुभूति ! कोणधारी धुपीसल्लै धुपीसल्लाले झन्डै भरिएको ओसिलो र बाक्लो वन । सडकको छेवैबाट हेर्दा पनि जंगलको अद्भुत भर्जिनिटी महसुस गर्न सकिन्छ । यहाँ पैदल हिँड्न पाए साँच्चै मजा लाग्दो हो । सडकचाहिँ उत्पातै साँघुरो !

चेम्चे झर्नासाथै भेटिए कवि रवि रोदन, जोरथाङ्बाट आएका । फेसबुकले नजिक्याएको प्रिय कवि, कलाकार साथी । आफूले चितवनबाट सम्पादन गरेका दुइटा पत्रिकामा उनैको चित्र राखेको छु । अब यहाँ विशेष कार्यक्रम हुँदैछ ।
सिक्किम सरकारका पूर्वसचिव विद्वान शान्त प्रधानको प्रमुख आतिथ्य छ । पश्चिम र दिक्षिण सिक्किमका पाका साहित्यकारहरू केदार गुरुङ, इन्दिरा स्टेफेन, वसन्ती शर्माहरू अतिथि दीर्घामा हुनुहुन्छ ।

समालोचक कुमार नेपालीको अलि लामै वार्तामा सिक्किमको प्रगतिवादी र प्रगतिशील साहित्य लेखनबारे सिंहावलोकन छ । सिक्किमेली साहित्यबारे समालोचक दीपक तिवारीको मन्तव्य पनि छ । कविता भन्न आउने कविहरू एक से एक छन् । फुर्वा खाण्डू, मौसम क्षेत्री, सचिन क्षेत्री, छोङ्लामु तामाङ, नरबहादुर घिमिरे, सरमान सुब्बा, धीरज राई, रिंकी लामा लेप्चा हँदै आदर्श मिलन, हनोक थापा, राजन उपाध्याय, रवि रोदन र अमर गुरुङ लाछिकाठी र अमर बानियाँ 'लोहोरो'सम्म ।

यहाँ 'समावेशी अवधारणा'लाई लेखनदृष्टि मान्ने साथीहरूले जातीय मौलिक विम्बहरूको विशिष्टीकरणलाई जोड दिएर कविता लेखेका छन् । यता 'समावेशी' सुन्दा राजा पुनियानी, मनोज बोगटी, टीका भाइहरूको 'हस्तक्षेप' आन्दोलन पनि सम्झन्छु । सार्थक आन्दोलनहरू बहस र विश्लेषणका विषयमात्र होइनन्, कविताको गतिशील विकासक्रमका दृष्टान्त पनि हुन् । साथीहरूको गतिशीलता देखेर खुसी लाग्यो ।

आजको निद्रा मारेर भए पनि पवित्रा भण्डारीसँग गफिन्छु म । यी पत्रकार र कला-साहित्य प्रेमीमात्र होइनन् विपक्षी दलकी सक्रिय नेता पनि हुन् । र, हुन् राजनीतिको गुदी बुझेकी सामाजिक स्वरूप र निर्माणको व्याकरण जानेकी बुद्धिजीवी पनि । तिनको धपक्क बलेको आत्मविश्वासमा कल्पन्छु आगामी १० वर्षभरिमा बन्ने मुख्यमन्त्रीको आभा । कल्पँदै रमाइलो लाग्छ । यो मूर्त होस् ।

यही यात्रामा भेटिएकी गजलकार जीविका खतिवडासँग मेरो दोस्ती जमिसकेको छ । पर्सि २७ जुलाईमा कालिम्पोङमा हुन लागेको मेरो काव्य संवादमा समेत पुग्नेछिन् यिनी ।

२६ जुलाई ।

बिहानदेखि हामीलाई नाम्चीका प्रसिद्ध पर्यटकीय स्थल चारधाम र साई आ श्रम घुमाईवरि कार्यक्रमको समापन गरे साथीहरूले । नाम्चीस्थित होटल काफलको हलमा समापन समारोह हुँदा यो परिभ्रमणका उपलब्धिको सामान्य समीक्षा हुन्छ । साहित्यकार र सत्ता वा साहित्यकार र साहित्यकारबीचका अन्तर्विरोधहरूको चर्चा हुन्छ । उद्यमी शिरीष खरेलको प्रायोजनमा भएको समापनमा प्रसिद्ध 'टेमी टी'सहित मायाको चिनो लिएर खाना खाइवरि त्यहाँबाट निस्कँदा बजिसकेको छ एक ।

मेरो त यात्रा सकिएको छैन । पुग्नु छ कालिम्पोङ, बस्नु छ भक्ति राईको पाहुना भएर । सहिद दिवसको दिन अर्थात् २७ जुलाईमा सडक कविता समूहका साथीहरूको सौजन्यमा भेट्नु छ कालेबुङे स्रष्टाहरूसँग र गर्नु छ कविताको संवाद । त्यहीँ आउनेछिन् दार्जिलिङकी कवि पवित्रा लामा । फेसबुकले चिनाएका शक्तिशाली र शालीन कवि ।

कवि राजा पुनियानीले सुझाएका छन्, पहिरो खसिरहेको छ सिलिगुडी निस्कने बाटो एक्लै नआउनू । अब उनैसित हुनेछैन भेट ।

फर्कनु छ दार्जिलिङको बाटो । त्यहाँ भेट्ने छु कवि निमा शेर्पा र प्रिय बिन्दिया सुब्बा दिदीलाई । दम्पती पवित्रा लामा र कविर बस्नेतको सौजन्यमा एउटा कार्यक्रम छ तय भएको । त्यसपछि लाग्नु छ, पशुपतिनगरको बाटो र भोलि बिहानसम्म पुग्नु छ चितवन ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.