रियो ओलम्पिकमा नेपालको नयाँ राष्ट्रिय कीर्तिमान
काठमाडौँः ब्राजिलमा जारी ‘रियो ओलम्पिक -२०१६’ अन्तर्गत एक हजार ५०० मि दौडमा नेपालकी सरस्वती भट्टराईले नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेकी छिन् ।
रियो द जेनेरियोमा शनिबार बिहान भएको स्पर्धामा उनले दौडमा नेपालको २६ वर्ष पुरानो राष्ट्रिय कीर्तिमानलाई भङ्ग गर्दे नयाँ कीर्तिमान बनाएकी हुन् ।
दौडको पहिलो हिट्समा १३ औँ स्थानमा रहँदै उनले निर्धारित दूरी पार गर्न ४ मिनेट ३३.९४ सेकेन्ड लगाइन् । यो नेपालका लागि नयाँ राष्ट्रिय कीर्तिमान हो ।
यसै दूरीको स्पर्धाअन्तर्गत सन् १९९० को एसियाली खेलकुदमा राजकुमारी पाण्डेले ४ मिनेट ३४.४५ सेकेन्डको राष्ट्रिय कीर्तिमान बनाएकी थिइन् । यसअघि सरस्वती आफैँले भने यो स्पर्धामा समय ४ मिनेट ४०।१५ सेकेन्डको प्रदर्शन गरेकी थिइन् ।
नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेपनि सरस्वती प्रतियोगिताबाट बाहिरिएकी छिन् । यो स्पर्धामा ४ मिनेट १०.६१ सेकेन्डमा दूरी पार गरेकी इथोपियाकी गेन्जेबा डिबाबा पहिलो हुँदै दोस्रो चरणमा प्रवेश गरिन् ।
यस्तै आयरल्यान्ड, अमेरिका, अस्ट्रेलिया, पोल्यान्ड, जर्मनीका धाविका पनि दोस्रो चरणमा प्रवेश गर्न सफल भए ।