पत्रकारको गीत ‘फेसबुक र ट्वीटरमा हिट’ (भिडियो)
काठमाडौँः पत्रकार सोविता रिसाल र राजन रुचालको तीज गीतले पछिल्ला दुई दिनमा सामाजिक सञ्जालमा चर्चा पाएको छ ।
सामुदायिक सूचना नेटवर्क सिआइएनमा कार्यरत पत्रकारद्वय रिसाल र रुचालले सामाजिक सञ्जालमा दैनिक हुने गतिविधिलाई तीज गीत मार्फत् प्रस्तुत गरेका छन् ।
रिसाल र रुचालको शब्द र स्वरमा सजिएको गीतको लय समेत पत्रकार रुचालकै हो । गीतको एरेञ्ज विनोद बाजुरालीले गरेका छन् भने म्युजिक भिडियोको छायांकन सुरेस क्षेत्रीले गरेका हुन् । रुचालकै निर्देशनमा बनेको भिडियोमा मोडलिङ संगीता रसाइली र अशोक दवाडीले गरेका छन् । रसाइली समेत सिआइएनकै पत्रकार हुन् ।
तीज गीतको भिडियाोमा केही दृश्य टोखाका देख्न सकिन्छ भने अन्य दृश्य पार्टी प्यालेस र घरभित्रका छन् । ‘सामाजिक सञ्जाल प्रयोग गर्दा गर्दै गीत लेखियो,’ पत्रकार रिसालले गीत कसरी लेखियो भन्ने प्रश्नमा भनिन्,‘पहिलो पटक गीत रेकर्ड गरेर सार्वजनिक हुँदा प्राप्त प्रतिक्रियाले खुशी मिलेको छ ।’
पत्रकार रुचालले गीत सिर्जनाबारे भने, ‘आधुनिक गजल लेख्छु यो गीत दुवै जनाको अवधारणामा लेखिएको हो ।’ म्युजिक भिडियोमा लगानी समेत गायक गायिकाले नै गरेका छन् ।