प्रचण्ड सरकारसँग अपेक्षा

प्रचण्ड सरकारसँग अपेक्षा

प्रचण्डको नेतृत्वमा नयाँ सरकार निर्माण भएसँगै राजनीतिक परिस्थिति पनि फेरिएको छ । खासगरी मधेस आन्दोलनको शृंखला अर्को पाटोमा पुगेको छ । प्रचण्डको नेतृत्वको वर्तमान सरकारसँग मधेसी मोर्चाले उठाएका मुद्दा सम्बोधन हुनेछन् र देशमा नयाँ राजनीतिक आयाम सुरुमा हुनेमा मोर्चाको अपेक्षा छ । यो अपेक्षा स्वाभाविक पनि हो ।

कांग्रेस-माओवादी गठबन्धनसँग मधेसी मोर्चाले तीनबुँदे सहमति गरेको छ । तीनबुँदे सहमतिको एक बुँदालाई मधेसी मोर्चाले कार्यान्वयन गरिसकेको छ । माओवादी केन्द्रको नेतृत्वको सरकारलाई भोट दिन सहमति मधेसी मोर्चाले इमानदारपूर्वक पालना गरेको छ । अब पालना गर्ने पालो कांग्रेस-माओवादी गठबन्धनको हो । मोर्चा त्यसैको प्रतीक्षामा छ ।

मोर्चाले उठाएका मुद्दा सम्बोधन गर्नेमा प्रधानमन्त्रीले चासो देखाएका छन् । यसबाट पनि मोर्चा आशावादी भएका हो । सरकार निर्माण हुनुअघि र सरकार निर्माणपछि पनि प्रधानमन्त्रीसँग पटकपटक छलफल भएको पनि हो । तीनबुँदे सहमतिमध्ये एउटा बुँदा सरकारले लागू गर्न सक्छ । घाइतेको उपचार गर्ने, सहिद घोषणा गर्ने, राजबन्दीको रिहालगायतका विषय सरकारले निर्णय गरी लागू गर्न सक्छ तर संविधान संशोधन गर्ने विषय भने सरकारले एक्लै केही गर्न सक्दैन ।

यसको लागि दुईतिहाइ चाहिन्छ । दुईतिहाइ पुग्न एमालेको पनि सहयोग चाहिन्छ, तर एमालेविना पनि दुईतिहाइ पुग्छ । यति हुँदाहुँदै पनि एमालेको सहयोग संविधान संशोधन गर्न नभई हुँदैन । एमालेले सजिलैसँग संविधान संशोधन गर्न सहयोग गर्छ कि गर्दैन ? भन्न सकिने स्थिति छैन । एमालेको विगतको व्यवहार हेर्दा उसमा शंका गर्ने ठाउँ रहन्छ । एमालेलाई केही साना दलहरूले पछ्याइरहेका छन् । उनीहरूको निर्णय के हुन्छ अझै भन्न सकिँदैन । त्यसैले एमालेको व्यवहारले पनि समस्या समाधान हुने या नहुनेमा भूमिका निभाउन सक्छ । संविधान संशोधन नभई मधेसी मोर्चाले उठाएका मुद्दाहरू सम्बोधन हुने स्थिति छैन ।

तर संधिवान संशोधनको लागि सुरुमा संविधान संशोधन विधेयक संसद्मा दर्ता हुनुपर्छ । यो सरकारले गर्ने काम हो । संविधान संशोधन प्रस्ताव संसद्मा दर्ता भएर मात्र त्यसको केही अर्थ हुँदैन । जबसम्म संविधान संशोधन प्रस्ताव पास हुँदैन त्यसबेलासम्म संविधान संशोधन प्रस्तावले मात्र केही गर्न सक्दैन । त्यसबाट मधेसी जनताले केही पाउँदैनन् । संशोधन प्रस्ताव पास गराउन सरकारले इमानदारपूर्वक पहल गर्नुपर्छ । दुईतिहाइ पुर्‌याउनको लागि पहल गर्ने काम सरकारकै हो ।

मधेसी मोर्चाले त्यसमा सहयोग र समर्थन गर्ने न हो । यसको लागि पनि मधेसी मोर्चाले वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहालसँग अपेक्षा राखेको छ । संविधान संशोधन प्रक्रिया चाँडै सुरु हुनुपर्छ भन्ने मोर्चाको माग हो । जति ढिलो हुन्छ, त्यति नै मुलुकलाई घाटा हुन्छ । मुलुकलाई घाटा बनाउने काम यो सरकारबाट हुनु हुँदैन भन्ने मोर्चाको सुझाव हो ।

मधेसमा आन्दोलरत गठबन्धनले एउटा ‘स्पेस' खोजेकै थियो । त्यो स्पेस दिन विगतको ओली सरकारले कुनै चासो देखाएन । ओली सरकारको चासो र व्यवहार मधेस आन्दोलनलाई कमजोर बनाउने मात्र थियो । मधेसी आन्दोलनलाई कमजोर देखाएर आफूलाई बलियो भएको भान पार्ने ओली सरकारको नियत प्रस्टसँग देखिन्थ्यो ।

त्यसैले पनि ओली सरकार हट्नु जरुरी थियो र हट्यो पनि । त्यसको ठाउँमा माओवादी केन्द्रको नेतृत्वको वर्तमान सरकार आएको थियो । ओली सरकारभन्दा वर्तमान सरकार मधेसको मुद्दामा सकारात्मक छ भन्ने मोर्चाको ठहर हो । आफ्नो कार्यकालमा मधेसको मुद्दा सम्बोधन गर्ने प्रधानमन्त्रीको नियत देखिन्छ, बोली र भनाइ फरक छैन भने, वर्तमान सत्तारुढ दलहरूसँग ।

तीनबुँदे सहमति गर्नु मधेसी मोर्चालाई ओली सरकारले एक किसिमले बाध्यता नै बनाइदिएको हो ।यो साँचो पनि हो, किनभने अघिल्लो सरकारले आन्दोलन दबाउने नाममा ज्यादती नै गरेको थियो । दुई वर्षको बालकको टाउकोमा पनि गोली हानिएको थियो । यस्तो परिस्थिति निर्माण हुँदै गयो कि मधेसी मोर्चा बाध्य भएर कांग्रेस-माओवादी गठबन्धनसँग नजिकिनु पर्‌यो । कांग्रेस-माओवादी गठबन्धनलाई पनि मधेसी मोर्चाको समर्थन लिनु आवश्यक थियो ।

नयाँ सरकारको पहिलो काम मधेसको समस्या सामधान गर्नु थियो । नयाँ सरकारको औचित्य पनि त्यही थियो । आफ्नो औचित्य सावित गर्न पनि कांग्रेस-माओवादी गठबन्धनलाई मधेसी मोर्चाको सहयोग लिनु आवश्यक थियो । यसरी दुइटै पक्ष यसरी नजिकिए । यो नजिक त्यतिबोलासम्म रहन्छ, जतिबेला कांग्रेस-माओवादी गठबन्धन मधेसको मुद्दा समाधान गर्न इमानदारपूर्वक पहल गर्छन् ।

जब उनीहरूले व्यवहार अर्को देखाउँछन्, त्यतिखेर कांग्रेस-माओवादी गठबन्धन मधेसी मोर्चाको लागि ओली सरकारभन्दा भिन्न हुने छैन । यो आशा मधेसी मोर्चाले कांग्रेस-माओवादी गठबन्धनसँग राखेको छैन ।

मधेसी मोर्चा सरकारमा जान्छ कि जाँदैन, अहिले सर्वत्र चासाको विषय बनेको छ । सरकारमा जाने सवालमा पनि मधेसी मोर्चाभित्रै र बुद्धिजीवी समुदायबाट पनि फरक–फरक धारणा आइरहेका छन् । मधेसका मुद्दा सम्बोधन गर्न सडकमा मात्र होइन, सत्तामा पनि जानुपर्छ । सत्ताबाट पनि संघर्ष गर्नुपर्छ भन्ने धारणा खासगरी बुद्धिजीवी क्षेत्रबाट आएको छ ।

खासगरी तल्लो तहको क्षेत्रबाट मधेसको मुद्दा सम्बोधन नभएसम्म सरकारमा जानु हुँदैन । सडकबाटै मधेसको मुद्दा सम्बोधन गर्न दबाब दिनुपर्छ । सडकको दबाब सत्ताको दबाबभन्दा प्रभावकारी हुन्छ भन्ने सुझाव पनि आएको छ । मधेसी मोर्चा सरकारमा गयो भने मधेसको मुद्दालाई बिर्सन्छ र मन्त्री सुविधामै बढी केन्द्रित हुन्छन् भन्ने आरोप मधेसबाट उठ्ने गरेको छ । यस्ता भिन्न–भिन्न विचार आइरहेका छन् । तर एउटा राजनीतिक दल सरकारमा जानै हुँदैन भन्ने पनि होइन ।

राजनीतिक दलको मिसन नै सरकारमा जाने र सरकारमा गएर आफ्ना एजेन्डा लागू गर्ने हुन्छ । राजनीति गर्ने हरेक व्यक्तिको महत्त्वाकांक्षा मन्त्री, प्रधानमन्त्री बन्नु नै हुन्छ । यो स्वाभाविक पनि हो । मधेसी मोर्चा पनि राजनीतिक दलहरूको एउटा मोर्चा हो । त्यसैले मधेसी मोर्चा सरकारमा जानुपर्छ र सरकारमा गएर आफ्ना एजेन्डा सम्बोधन गर्न संघर्ष गर्नुपर्छ भन्ने सुझाव मोर्चाभित्रैबाट आउने गरेका छन् । मोर्चाभित्रै यस्ता बहस भइरहेका छन् ।

त्यसैले सरकारमा जाने या नजाने विषयमा मधेसी मोर्चा आफैँ दोधारमै छ । कांग्रेस-माओवादी गठबन्धन मधेसी मोर्चालाई सरकारमा ल्याउन आतुर देखिएको छ । मधेसी मोर्चालाई सरकारमा ल्याएर मधेसको समस्या समाधान गरी आफ्नो लोकप्रियता बढाउने महत्त्वाकांक्षा प्रधानमन्त्रीलाई भएको देखिन्छ । प्रधानमन्त्रीको बोलीले यही संकेत गरिरहेको छ । यो सकारात्मक हो ।

तर मधेसी मोर्चाले अहिले पनि आन्दोलन बिसाएको छैन । उसले आन्दोलनको स्वरूप फेरेर सरकारको काम हेरिरहेको छ । मोर्चा अहिले पर्ख र हेरको स्थितिमा छ । सरकारले मधेसको मुद्दा सम्बोधन गर्न आलटाल गरेमा मोर्चाको आन्दोलन फेरि अघि बढ्ने निश्चित छ ।

मधेसी मोर्चाको मुद्दा सम्बोधन गर्न मुख्यतः दुइटा विषय प्रमुख छन् । सहिद घोषणा गर्ने, क्षतिपूर्ति दिने, राजबन्दी रिहा गर्नेलगायतका विषय सरकारले निर्णय गरेर लागू गर्ने विषय हुन्, यसमा सरकार प्रतिबद्ध भएको बताइएको छ । सीमांकन समस्या र राज्यका सबै तहमा समानुपातिक सहभागिता र पहिचान अर्को प्रमुख मुद्दा हो ।

जुन मुद्दा सम्बोधन गर्न संविधान संशोधन नगरी हुँदैन । सीमांकनको मुद्दा सम्बोधन गर्न एउटा कार्यदल गठन गर्ने भनिएको छ ।

झापा, मोरङ, सुनसरी, कैलाली र कन्चनपुरको विवाद अहिले पनि सुल्झिएको छैन । यसको टुंगो लगाउन दलहरूबीच पटक–पटक छलफल र बहस भइरहेका छन् । ती सबै बहस र छलफल विनानिष्कर्ष टुंगिएका छन् । यसैगरी, समानुपातिक सहभागिता र पहिचानको मुद्दा सम्बोधन गर्न प्रमुख दलहरूबीचको सहकार्य अनिवार्य चाहिन्छ ।

मधेसी मोर्चाले प्रमुख दलको सकारात्मक सोचको अपेक्षा राखेको छ । किनभने देशको समस्या सामधान गर्ने जिम्मेवारी सबै दलको हो । यो काम सत्तारुढ दलहरूको मात्रै काम होइन । यसको लागि सबै दल एक ठाउँमा उभिन आवश्यक छ । यसको लागि मधेसी मोर्चाले माओवादी केन्द्रको नेतृत्वको वर्तमान सरकारसँग ठूलो अपेक्षा राखेको छ ।


-महतो संघीय समाजवादी फोरम नेपालका सांसद् हुन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.