यसो उसो जसो तसो
एन केन, जेन तेन, यसो उसो जसो तसोको उपाय र विधि प्रयोगले मात्र ठोस उपलब्धि हासिल हुन सक्दैन र रूपान्तरणका मुद्दा जस्ताको त्यस्तै रहन्छन् । मूल मुद्दा थाती राख्ने, सहायक विषयमा मात्र अल्मलिरहने र सत्ता, पद प्राप्ति मात्र ध्याउन्नमा रहने सोचका कारण हामीले उपलब्धिलाई कर्मठतापूर्वक निष्कर्षमा पुर्याउन सकेनौँ ।
परिवर्तनको लागि काम गर्ने हो भने नेतृत्वले यथेष्टको रणनीतिअनुरूप निर्ममतापूर्वक काम र व्यवहार प्रदर्शन गर्न आवश्यक छ । यथेष्टको रणनीति भन्नाले पुरक ढंगले नछुटाई समग्रतामा काम गर्ने रणनीति हो । यसका लागि वाञ्छित, अवाञ्छितबीचको अन्तरसम्बन्धलाई वस्तगुत रूपमा पहिचान गरी तदनुरूपका स्पष्ट सीमारेखा कोर्ने प्रणालीको विकास गर्नुपर्ने हुन्छ । यसो गर्न सकेमा मात्र मुलुकमा सहजै नयाँ संस्कृति र मान्यता स्थापना गर्न सकिन्छ ।
खोट लगाउने, सत्तोसराप गर्ने, विरोध अवरोधमै सम्पूर्ण क्रियाशील ऊर्जाको दुरुपयोग गर्ने प्रवृत्तिको अन्त्य नभएसम्म यसो उसो जसो तसो गरी समयावधि त कटाउन सकिएला, तर समाधि अर्थात् अन्तिम लक्ष भने हासिल गर्न सकिन्न । गर्नुपर्ने कामको फेहरिस्त लामै बनाएर सार्वजनिक गर्ने तर परिणाम भने हात लाग्यो शून्य हुने निरन्तरतामा कहिल्यै पूर्णविराम लगाउन सकिएन ।
घोषित कार्यक्रम, योजना निरन्तर बनि नै रहेका छन् । सरकार वा नेतृत्व परिवर्तनसँगै यो गर्ने, यसो गर्ने भन्ने विषयले केही समयचर्चा पनि खुबै पाउने गर्छ तर उपलब्धिका दृष्टिले ती योजना कार्यक्रम कालान्तरमा अलपत्र पर्ने गरेको तथ्य हाम्रासामु यत्र तत्र सर्वत्र देखापरेका उदाहरणबाट पाठ नसिक्ने हो भने पुनः यसो तसो जसो तसोकै भूमरिमा परिन्छ । समयावधि र समाधिको मर्म र भावलाई आत्मसात गरी प्रणालीगत रूपमा योजना कार्यक्रमलाई लागू गर्न सकेमा मात्र सार्थक परिणाम हासिल गर्न सकिन्छ ।
आवश्यकता र उपलब्धताबीचको खाडलमा परी 'गर्नैपर्ने' परम्परागत तथा संरचनागत बाध्यताबीच जसोतसो गरेर भए पनि कामकारबाही चलाउनैपर्ने सोच हामीमा विकसित भएको छ । अवस्था, उपलब्धता र परिवेशअनुसार होइन, तत्कालको आवश्यताअनुसार जे आइलाग्यो त्यही गरिहाल्ने, दीर्घकालीन सोच नै नभएका कारण पनि हामीले पद्धतिलाई कमजोर बनाउँदै लग्यौँ । यसले ठाडो निर्देशनको शैलीलाई प्रशासनिक प्रणालीका रूपमा विस्तार गर्दै लगेकाले मुलुक जहिले पनि संक्रमणकै अवस्थामा रहिरह्यो ।
उपयुक्त कारणसहित 'हुँदैन', 'सकिँदैन' वा 'यसको लागि यो चाहिन्छ' भन्ने वातावरण सिर्जना गर्न नसकेको यथार्थले यथास्थितिमै सक्ने नसक्ने काम सम्पादन भइराखेका छन् । यसको फलस्वरूप गुणस्तरीय सेवामा जोखिम बढ्दो छ । अहिलेको आवश्यकता र उपलब्ध मौकाबीच राजनीतिक, सामाजिक र प्रशासनिक तादात्म्य पटक्कै मिलेको देखिँदैन । यसको लागि योजनाबद्ध विकास र सुधारको आवश्यकता छ ।
यसो उसो जसो त्यसो प्रवृत्ति र सोचले समस्या हल हुन सक्दैन, बरु यसले भावी पुस्ताको लागि पनि समस्याको आकारमा वृद्धि र स्वरूपमा जटिलता थपिदिने काम मात्र गर्छ ।
विकास आफैँ आउँदैन यो त हासिल र कायम गर्नुपर्ने जटिल विषय हो, यसको लागि सकारात्मक सोचको आवश्यकता पर्छ । त्यो सोच र सुधारात्मक प्रणालीको विकास हामी आफैँबाट आउनुपर्छ, जुन जसो तसो काम चलाउने परम्पराको अन्त्यबाट मात्र सिर्जना हुन सक्छ ।
यसो गर्ने त्यसो गर्ने भनेर वाचाबन्धन गर्नुभन्दा गर्नुनपर्ने काममा मात्र ध्यान दिने हो भने नयाँ संस्कारयुक्त प्रणालीको जन्म आफैँ हुनेछ । अवलम्बन गर्ने विषयको अवमूल्यन हुने, मूल्यवान् विषय र वस्तु अन्योलमा पर्ने रोगबाट हाम्रो राजनीतिक, प्रशासनिक क्षेत्र आक्रान्त छ । राजनीतिक र प्रशासन क्षेत्रमा व्याप्त अकर्मण्यता मात्र हटाउने हो भने समयावधिमै सफलता हासिल गर्न सकिन्छ ।
अवस्थाको अनुकुलताअनरूप या त ढोग्ने, या त ठोक्ने र बोक्ने शैली राजनीतिक र प्रशासनिक क्षेत्रमा व्याप्त छ । यी दुवै क्षेत्रका विकृत संस्कृतिलाई मसानघाटमा नपुर्याएसम्म यथेष्ट उपलब्धि हासिल हुन सक्दैन । हामीले स्वरूप र शैलीमा बदलाबको अपेक्षा गरेकै हौँ भने यसको लागि ढोग्ने र बोक्ने संस्कार दुत्कार्ने र व्यावसायिक क्षमता सत्कार्ने शैली अवलम्बन गर्न आवश्यक छ ।
हामी आमूल परिवर्तनको सँघारमा छौँ । परिवर्तन आवश्यक छ भन्ने विषय सबैलाइ अनुभूति भइसकेको छ, परिवर्तन हुन नसकेको र पिछडिएको कारणको सूची लामै छ । यसको लागि उपयुक्त तत्त्वको पहिचानमाथिको तत्परता कसले र कहिले देखाउने हो भन्ने यक्षप्रश्न बनेको छ, यो प्रश्नको समाधानसँगै प्रगतिको यात्रा आरम्भ हुन सक्छ । हामी सम्भावनायुक्त परिवेशमा रहेर पनि असम्भावनाको दुष्चक्रमा फसेका छौँ ।
गर्न खोजेका, आँटेका विषय पनि अनावश्यक झेल, झमेलामा पर्ने गरेका छन् । प्रणालीको प्रयोग गर्दा प्रवृत्ति वाधक हुने प्रवृत्तिको समाधान गर्दा प्रचलन बाधक बन्ने गरेको देखिन्छ । सेरोफेरोमा आकांक्षीको भीडले निकास दिन बाधा पुर्याइरहेको हुन्छ, जे गर्यो त्यही उल्टिने पल्टिने भएकाले राजनीतिक र प्रशासनिक मूल्य मान्यता प्रणालीगत रूपमा स्थापित हुन सकिरहेका छैनन् ।
जो जति हौसिए पनि प्राण, ऊर्जा सँगाल्न सक्दैन र जुनसुकै नेतृत्व पनि एउटा असफल अध्यायमा टुगिंने गर्छ । जबसम्म हल गर्नुपर्ने विषयमा नयाँ मान्यता र दृष्टिकोणका नियमको प्रयोग गर्न सकिन्न, तबसम्म हामीले नयाँ उचाइको मार्ग पहिल्यान सक्दैनौँ । जति जोगी आए कानै चिरेका भन्ने उक्तिको फटके किनाराको साक्षी बनेर कुनै कालखण्डको एक निरीह पात्रको परिचयबाहेक फरक पहिचान बोक्न नसक्नुको प्रमुख कारण पनि यही हुनुपर्छ ।
फरक र भिन्नताका लागि काम गर्ने दुस्साहस नै नदेखाएपछि यसो उसोमै दिन बित्ने भो । यसो उसो जसो त्यसो खालको प्रवृत्ति र सोचले समस्या हल हुन सक्दैन, बरु यसले भावी पुस्ताको लागि पनि समस्याको आकारमा वृद्धि र स्वरूपमा जटिलता थपिदिने काम मात्र गर्छ । तसर्थ हामी, ऊ, त्यो, उनी, तिमी जोकोही पनि वर्तमानको कार्य अकर्मण्यताको कारण बनेर भविष्यलाई समेत जोखिममा पार्ने काम नगरौँ । सके सपारौँ, नसके नबिगारौँ बरु छोडिदिऔँ ।
अनावश्यक रूपमा लेस्सिनु र टाँसिइरहनुको अनर्थ खेलको वैकल्पिक खेलाडीको भूमिकामा रहेर महान् परिवर्तनका झ्याली पिटिरहनुमा दुनियाँको कुनै चासो र सरोकार रहन्न ।