'सानाहरु'को ठूलो त्याग
भारतीय समाजवादी नेताहरू जयप्रकाश नारायण (जेपी) र डा. राममनोहर लोहिया बीपी र कृष्णप्रसाद भट्टराई जस्ता नेताहरूका लागि प्रेरणास्रोत थिए । यो डायरीमा पर्दा पछाडिबाट नेपालको राजनीतिक रंगमञ्चमा जेपी र डा. लोहियाको भूमिका राम्रोसँग बाहिर ल्याइएको छ ।
समाजवादी आन्दोलनसँग जोडिएको यो समीक्षकलाई समेत के थाहा थिएन भने बर्मा (अहिले म्यानमार) को समाजवादी सरकारले डा. लोहियाको आग्रहमा नेपाली कांग्रेसका स्वयंसेवीहरूका लागि हतियार पठाएको थियो, विमानमार्फत । त्यस्तै जयप्रकाश नारायणको अनुरोधमा आजाद हिन्द फौजका अत्यन्तै सम्मानित सुबेदारजीले नेपाली कांग्रेसका लडाकुहरूलाई वर्षौं तालिम दिएका थिए ।
उनीहरूले 'मुक्तिगामी रेडियो' (लिबरेसन रेडियो अफ नेपाल) खोले । संघर्षबारे सम्पूर्ण समाचार दिने काम गथ्र्यो त्यसले । राणा शासनविरुद्ध जनचेतना बढाउन महत्त्वपूर्ण भूमिका खेल्यो, यो रेडियोले । सरकारको नियन्त्रणमा रहेको रेडियोको मुक्तिगामी रेडियोको प्रभाव, दक्षता र समग्र कभरेजसमक्ष केही लागेन ।
यो रेडियो अथवा स्टेसनलाई प्रख्यात हिन्दी लेखक फणिश्वरनाथ रेणुले आफैँ बोकेर उपयुक्त ठाउँमा लैजान्थे । त्यसको रोचक विवरण छ पुस्तकमा । रेणु भारतमा अति समर्पित समाजवादी व्यक्तित्व थिए र त्योसँगै बीपी कोइरालाका घनिष्ट सहयोगी पनि । नेपाल उर्फ लट्ठापरकी डायरी 'रवीन्द्र भारतीद्वारा लिखित एउटा ऐतिहासिक पुस्तक हो, राणा शासनविरुद्धको आन्दोलनबारे । त्यो प्रजातन्त्र स्थापनाको आन्दोलन पनि थियो । भारती सुप्रसिद्ध कवि, लेखक र विहारका समाजवादी राजनीतिकर्मीसँगै जयप्रकाश नारायणको नेतृत्वमा भएको प्रजातान्त्रिक आन्दोलनका योद्धा पनि हुन् ।
नेपालको प्रजातान्त्रिक आन्दोलनमा बीपी कोइाराला, गणेशमान सिंह र अरू धेरैको संलग्नता अनि मुलुकमा प्रजातन्त्रको खाका कोर्नमा उनीहरूको भूमिकाबारे धेरै पुस्तक लेखिएका छन् । तर नेपालको लागि ज्यान दिने 'सामान्य' कार्यकर्ताहरूबारे कमै चर्र्चा भएको छ । फरक ढंगको यो डायरी त्यस्तै साना, अज्ञात र चर्चामा नआएका कार्यकर्ताहरूको 'ठूलो' बलिदानसँग सरोकार राख्छ ।
त्यस अर्थमा नेपाली आत्माको केन्द्रमा रहेको त्यो संघर्षसम्बन्धी नाटकका पात्रहरूलाई न्याय गरेका छन् भारतीले । रामहरख, कुश्वेश्वर झा, शिवानन्द साहू, चन्दर, दिव्यादेवी र अरू त्यस्तै सिपाहीबारे विस्तृत विवरण पेस गरेका छन् । मधेसका यी व्यक्तिहरूले आफ्नो मुलुकमा प्रजातन्त्रको लागि ज्यानको बाजी लगाएका थिए ।
रेडियोको उद्घाटन एउटा मुक्तिगानबाट सुरु भएको थियो । त्यसपछि हरेक साँझ र बिहान 'जय नेपाल' को उद्घोषसँगै समाचार प्रस्तुत हुन थाले । 'भैरहवा हाम्रो नियन्त्रणमा आएको छ, वीरगन्जमाथि मुक्ति सेनाले विजय हासिल गरेका छन्, राणाशासनको समाप्तिपछि अन्तरिम सरकार गठन भएका छन्, वीरगन्ज र बुटवलमा यस्तै–यस्तै हुन्थे समाचार ।
वरिष्ठ समाजवादी कमान्डर डा. कुलदीप झाले शहादत प्राप्त गरेको समाचार सुनेपछि विहारको पूर्णियाबाट काठमाडौँ चल्ने बसचालकले प्रतिक्रिया दिए, त्यो हुनै सक्तैन । 'डाक्टर झाले मलाई वचन दिएका थिए कि काठमाडौँमा प्रजातन्त्रको झन्डा फहराएर आउनेछन् र मलाई भेट्नेछन् यहाँ', अश्रुधारा बगाउँदै ती बसचालकले भनेको टिप्पणीमा जीवन्तता पाउन सकिन्छ पुस्तकमा । त्यही बसमा सवार विहारका समाजवादी नेता कर्पुरी ठाकुर चालकको ढाड सुमसुम्याउँदै उनलाई सान्त्वना दिन्छन् ।
प्रजातन्त्रको आन्दोलनमा विहारबाट समाजवादीहरूद्वारा प्रकाशित 'साप्ताहिक जनता' को योगदानबारे पनि पुस्तकले चर्चा गरेको छ । चर्चित समाजवादी तथा हिन्दी लेखक रामवृक्ष वेनीपुरीको सम्पादनमा प्रकाशित हुने गथ्र्यो, उक्त साप्ताहिक । अनि त्यो साप्ताहिकलाई कसरी दुलारी मास्टर र गनौरी महतोले नेपालका कुना–कुनामा पुर्याउँथे ज्यान खतरामा पारेर, त्यसको वर्णन पनि छ पुस्तकमा ।
नेपाली कांग्रेसभित्र हल गोरुका रूपमा चिनिन्थे, ती दुई बहादुर । त्यो नाम प्रख्यात लेखक मुन्सी प्रेमचन्दको 'दो वयलो की जोडी' बाट राखिएको थियो । पुस्तकमा राणाशासन अन्त्य भएको २८ वर्षपछि नेपाली कांग्रेसका युवा नेता दुर्गा सुवेदी र र उनका टिमका साहसिक कार्यहरूको पनि वर्णन छ ।
नेपाली कांग्रेस स्रोतको अभावमा थियो । सरकारी पैसा बोकेको बेला विमान अपहरण गर्ने आफ्नो मनसाय उनले सुनाए, र त्यसको नेपाली कांग्रेसमा प्रभावशाली गिरिजाप्रसाद कोइरालालाई आफूले त्यो कार्य गर्न सक्ने आश्वासन दिए । अन्त्यमा त्यो बेला निकै ठूलो रकम मानिने ३० लाख भारु बोकेको विमान अपहरण गरे । रकम गिरिजाबाबुलाई बुझाए । सुवेदी भारतमा भूमिगत भए ।
यद्यपि ०४७ सालमा गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा नेपाली कांग्रेस सत्तामा आएपछि दुर्गा सुवेदीप्रति न्याय गरेनन् उनीहरूले । रवीन्द्र भारतीले आन्दोलनको सफलतापछिका यस्ता विचलनहरूको विवेचना गरेका छन् ।
नेपाली कांग्रेस अभावमा थियो । सरकारी पैसा बोकेको बेला विमान अपहरण गर्ने आफ्नो मनसाय दुर्गा सुवेदीले सुनाए, र त्यसको नेपाली कांग्रेसमा प्रभावशाली गिरिजाप्रसाद कोइरालालाई आफूले त्यो कार्य गर्न सक्ने आश्वासन पनि दिए ।
रवीन्द्र भारती बोल्सेभिक क्रान्तिबारे जोन रिडद्वारा लिखित विश्वप्रसिद्ध पुस्तक 'टेन डेज द्याट सुक द वल्र्ड' बाट निकै प्रभावित देखिन्छन् । त्यस्तै शैलीमा लेखिएको छ, यो पुस्तक । तथ्यबारे त्यत्तिकै सावधानी अपनाइएको छ अनि ससाना विवरणले केन्द्रीय महत्त्व पाएका छन् । भारतीका गद्यात्मक प्रस्तुति 'पद्यात्मक' लाग्छन् कतिपय ठाउँमा, यद्यपि ठाउँ–ठाउँमा 'भाषासम्पादन' मा गल्तीहरू सच्याउनु आवश्यक छ, आगामी संस्करणमा ।
समग्रमा 'नेपाल उर्फ लट्ठापारको डायरी ('रामहरखको नेपाल डायरी' को नाममा नेपालीमा अनुवादित) अत्यन्त पठनीय छ, खासगरी नेपालको प्रजातान्त्रिक आन्दोलनबारे जानकारी चाहनेहरूका लागि ।
-हिन्द भारतीय समाजवादी आन्दोलनसँग जोडिएका प्रसिद्ध पत्रकार हुन् ।