प्रतिक्रान्ति कसले रोक्छ ?

प्रतिक्रान्ति कसले रोक्छ ?

पौरस्त्य (पूर्वी गोलाद्र्धको) राज्यव्यवस्था पाश्चात्यभन्दा पृथक् थियो । 'प्रजाको रक्षा नगर्ने राजालाई सबै मिलेर बहुला कुकुरलाई झैँ मारे पनि हुन्छ' भन्ने शुक्राचार्यको घतलाग्दो कथन राष्ट्रनायक-जननायक दुवैका निम्ति हो । उनले भनेका छन्- 'रक्षिष्यामि व इत्युक्त्वा यो न रक्षति भूमिपः । स संहत्या निहन्तव्यः श्वेव सोन्माद आतुरः।।' 'नराणां न नराधिपः' भनेर योग्य शासक (राजा) विष्णु (भगवान्) जस्तै हुन् भन्ने धर्मग्रन्थले नै नालायक राजालाई मृत्युदण्ड दिनुपर्छसमेत भनेको पाइन्छ ।

सुन्दा अप्रिय तर सत्य यस्ता वचनको सार हो- 'कोही पनि सत्तामा बसेर कर्तव्यच्युत र निरंकुश हुन पाउँदैनन् ।' राष्ट्र सञ्चालकहरूले नै विधिको शासन (रुल अफ ल) उल्लंघन गर्ने र एकपटक पूर्णतः असफल भएका व्यक्तिले पुनः राज्यसत्ता सम्हाल्ने कुरा निर्मम ठट्टा हो । नेपालमा यस्तो ठट्टा बारम्बार दोहारिए पनि जनताले सहँदै आएका छन्, तर सधैँ कहाँ सहन्छन् र !

१८९७ साल असार १० गते नेपालमा पहिलोपटक सैनिक विद्रोह भयो । सेनाका जवानहरू हतियार बोकेर सडकमा आए । राष्ट्रका परम्परा, काइदा-कानुन र रीतिथिति बिगार्न खोजेको भन्दै घरघरमा गएर कैयन् ठूलाबडालाई लछारपछार गरे । त्यो अनुशासनहीन कारबाही थियो । तर सेनाका अधिकृत र जवानको तलबभत्ता घटाउने षड्यन्त्रकारी भारदारहरूलाई चेतावनी पनि थियो ।

सरकारले गलत नजिर स्थापना गर्न खोज्दा संगठित र सशक्त आवाज उठाउने त्यसबेलाका सैनिकहरूले बट्टाको धुलो दूध होइन, आमाको दूध नै खाएका थिए । त्यसैले सो घटनापछि धेरै वर्षसम्म शासकहरूले सेनाको मानमर्दन गर्ने हिम्मत गरेनन् । निष्कलंकहरूले शिर झुकाउनु पर्दैन भन्ने उदाहरण थियो, त्यो घटना । इतिहासमा यस्ता उदाहरण अरू पनि भेटिन्छन् ।

राजाका छोरा बोक्ने (ददा) गंगे दरबारमा कसरी गगनसिंह काजी भयो भन्ने कुरा डायमन शमशेरले वसन्ती उपन्यासमा मार्मिक र सुन्दर ढंगले वर्णन गरेका छन् । २०४६ सालको परिवर्तनपछि नेपालमा धरै गंगेहरू 'गगनसिंह' भए । ०६२÷६३ सालपछि विदेशीका एजेन्डा बोक्ने ददाहरू नै राजनीतिमा प्रबल हुन पुगे । त्यसैले नेपाल र नेपालीका एजेन्डा बोक्ने सुरवीरहरूको खोजी गर्दैछ, आजको युवापुस्ता ।

राजधानीका सडकहरूमा यदाकदा ठूलाठूला जुलुस प्रदर्शन हुन्छन् । हजारौँ युवकयुवती र विद्यार्थी हुन्छन्, जुलुसमा । ती कुनै दलका कार्यकर्ता होइनन् । राज्यसत्तासँग वाक्कदिक्क भएर सामाजिक सञ्जालहरूमार्फत ती बेलाबखत मुखर र एकाकार हुन्छन् । दस वर्षअघि ती युवा दस-बाह्र वा चौध-पन्ध्र वर्षका हुँदा हुन् । उनीहरूले राष्ट्र र जनताप्रति दलहरू इमानदार, समर्पित र वफादार छैनन् भन्ने राम्ररी बुझेका छन् । संसारलाई बुझेका छन् ।

यमन, सिरिया, टर्की, इजिप्ट र सुडानसम्मका प्रत्येक घटनाक्रम बुझेका छन् । त्यसैले, चीन, भारत, युरोप र अमेरिकी मामाहरूका कुरामा लागेर नेपाल आमालाई हेला गर्ने कथित नेताहरूलाई एक दिन सडकमा लगेर निमर्मतापूर्वक पछार्ने छन् युवापुस्ताले । त्यो दिन अब टाडा छैन ।

त्यस्तो अवस्था आयो भने त्यो परिस्थिति कसले कसरी रोक्न सक्छ ? प्रतिक्रान्ति वा जे नाम दिएपछि त्यो रोक्न सकिँदैन । लाखौँ युवक-युवती, किसान-मजदुर, गृहिणी, विद्यार्थी, व्यापारी, व्यवसायी र राष्ट्रलाई माया गर्ने सबैले भन्न थालेका छन्- पार्टीले हामीलाई खण्डखण्ड गरिरहेको छ । 'नेसन फस्ट' भन्नेलाई यो चित्त बुझेको छैन ।

देश ढल्ने अवस्थामा पुगेको छ । सिंहदरबारमा पटकपटक प्रधानमन्त्री फेर्ने कि राष्ट्रको भविष्य हेर्ने ? सचेत युवा वर्ग अचेल प्रश्न गर्न थालेका छन् । त्यसैले यहाँ कुनै पनि बेला 'नसोचेको कुरा' हुन सक्छ ।

एउटा कथन छ- 'योग्य र असल नेताले जिम्मेवारी स्विकार्छ तर खराब र अयोग्यले अरूलाई दोषारोपण गर्छ ।' नेपालमा यही देखिएको छ । जिम्मेवारी लिने र राष्ट्रलाई मार्गदर्शन गर्नेभन्दा सत्तामै रुमल्लिने प्रवृत्ति रहुन्जेल यस्तै रहन्छ ।
कीर्तिनिधि विष्टले एकपटक रोचक प्रसंग सुनाएका थिए ।

२०३० साल असार २४ गते मध्यरातमा सिंहदरबारमा भीषण आगो लाग्यो । एक हजारभन्दा धेरै कोठा भएको सो दरबार जलेर अग्रभाग मात्र बाँकी रह्यो । भोलिपल्टै प्रधानमन्त्री पदबाट बिष्टले राजीनामा दिए । राजा वीरेन्द्रले 'प्रधानमन्त्रीको गल्तीले आगो लागेको होइन, किन राजीनामा दिनुपर्‌यो' भनेर प्रश्न गर्दा बिष्टले भनेछन्- 'मैले मेरै कार्यालयको रक्षा गर्न सकिनँ, त्यसैले पदमा बसिरहन नैतिकताले दिँदैन सरकार ।'

दशरथ रंगशालामा फुटबल हेरिरहेका हजारौँ दर्शक हावाहुरीबाट बच्न भागाभाग गर्दा ७० जनाको ज्यान गयो । राष्ट्रिय खेलकुद परिषद् हेर्ने तालुकवाला शिक्षामन्त्री केशरबहादुर बिष्टले नैतिकताको कारण देखाउँदै राजीनामा दिएका थिए । अहिले त्यो संवेदनशीलताको मृत्यु भइसकेको छ ।

पहिलोपटक प्रधानमन्त्री भएपछि माओवादी नेता पुष्पकमल दाहालले भनेका थिए- 'संसद, सडक र सरकार तीनवटै मोर्चा कब्जा गर्न हामी सफल भएका छौँ ।' जगजाहेर छ- कांग्रेसको काँध चढेर अबिर जात्रा गर्दै दोस्रोपटक सरकार कब्जा गर्न सफल भएको माओवादीले राष्ट्रका सम्पूर्ण अंगलाई आफू अनुकूल बनाउन प्रयत्न गर्नेछ । माओवादीलाई राष्ट्रवादी, प्रजातन्त्रवादी र विकासवादी भन्नेहरूले पश्चात्ताप गर्नुपर्ने अवस्था आउँछ । किनभने सिंहदरबारलाई माओवादीले अर्को पेरिसडाँडा ठानेको पाइन्छ ।

एकजना दयालुले भरियालाई मागेजति ज्याला दिएर बजारबाट गाउँसम्म सरसामान पुर्‌याइदिन आग्रह गरेछन् । जाडोको महिना, ढुंगेलो बाटो, भरियाको खाली खुट्टा देखेपछि दयालु मानिसले आफ्ना जुत्ता खोलेर भरियालाई दिए । 'साह्रै जाडो भो हजुर' भनेपछि स्वेटर, कोट, मफलर सबै दिए । सबै लुगा पाए पनि भरिया प्रसन्न भएन ।

चौतारामा ढाकर बिसाएर मालिकसँग ऊ झगडा गर्न थाल्यो । बटुवा र गाउँलेहरूले सोध्दा भरियाले भन्यो- 'तल बजारबाट सामान घर पुर्‌याउने सर्तमा अग्रिम पैसा दिएर ल्याएको यो भरिया, यहाँ आएर बिब्ल्याँटो कुरा गर्छ । भारी बोक्दिनँ भन्छ ।' कट्टु र गन्जी मात्र लगाएर जाडोमा काँमिरहेको मालिकलाई भरिया ठानेर गाउँलेहरूले उल्टै हप्काए ।

एमालेसरह ८२ सिट बकस दिएर कुनै बेला जस्केलाबाट संसद्मा छिराइएका माओवादीले पहिलो संविधानसभा बुथ कब्जा, हतियार र पैसाको बलमा जितेपछि उनीहरू मालिक भए र एमालेलाई झन्डै भरियाजस्तो बनाए । कार्टर सेन्टरले मध्यान्हमै विज्ञप्ति निकालेर त्यसबेला चुनाव निष्पक्ष, धाँधलीरहित र शान्तिपूर्ण भयो भन्दै क्रिश्चियन फौजको विजयप्रति खुसी मनायो । दोस्रो संविधानसभामा नराम्रोसँग पराजित भएपछि माओवादी नेताहरू छाँगाबाट खसे ।

नेपालले सन्तुलित र असंलग्न परराष्ट्र नीति बिर्संदै गयो भने गम्भीर संकटमा पर्ने देखिन्छ । चीनतिर भाइरस फैलिने खतरा बढ्दा बेइजिङका मानिसहरू पनि जीवाणु र कीटाणु मार्न ओखती बोकेर काठमाडौँ आउन सक्छन् । त्यतिबेला हामी दर्शक बन्छौँ कि खेलाडी ?

बेलुन फुटेपछि केटाकेटीले रुन्चे मुख लगाए झैँ प्रेससामु उपस्थित छँदा आँसु झार्ने अवस्थामा थिए माओवादी । जनतामा माओवादीप्रति कति घृणा छ भन्ने बुझेपछि बाबुराम भट्टराईले अर्कै पसल खोलेका छन् । तर जनतालाई थाहा छ, धोबीको नीलो रंगमिश्रित पानीमा डुबुल्की मारेर जंगलको राजा बन्न गएको छट्टु स्यालको कथा ।

दर्के पानी परेपछि नक्कली रंग स्वतः खुइलिन्छ । हजारौँ निर्दोष नेपालीको हत्या गर्नेहरूले निसास्सिने गरी माला लगाउने र बाख्रा चोरले झ्यालखाना बस्नुपर्ने 'व्यवस्था' सधैँ रहँदैन । युवा वर्गले नै यो स्विकार्दैन ।

सोलुखुम्बुका साङ्गे लामा (छिरिङ तेन्जिङ लामाका बाजे) श्री ३ चन्द्र शमशेरका मित थिए । त्यस्तै कास्की घान्द्रुकका खड्गबहादुर गुरुङ जंगबहादुरका मित थिए । उनी पोखरा विन्ध्यवासिनीका कांग्रेसी नेता दीपक गुरुङका पूर्वज हुन् । कालु (बलवीर) थकाली (भूपीका पूर्वज) श्री ३ चन्द्रका प्रिय मित्र थिए । उत्तरी क्षेत्रका धर्म-संस्कृति, परम्परा, मौलिकता बचाउन उनीहरूलाई सद्भावना दूतका रूपमा सम्मान दिइएको थियो ।

तराई, पहाड र काठमाडौँ उपत्यकामा पनि कैयन् क्षमतावान्, इमानदार तथा कर्मठ व्यक्तिलाई विशेष आदर-सम्मान दिएर राखिएको थियो । श्री ३ चन्द्रदेखि केशर शमशेरहरूलाई समेत सैनिक तालिम गराउने कर्णेल चक्रपाणी सापकोटा (बागलुङ) यस्तै व्यक्तिहरूमा पर्छन् । उनको प्रसिद्धि र गाथा इतिहासमा पाइन्छ ।

तराईमा विद्रोह हुँदा तत्कालीन श्री ३ ले उनैलाई खटाएका थिए । जनताका यावत् समस्या तत्काल जाहेर गर्ने र राष्ट्रिय सुरक्षाको संवेदनशीलताअनुसार सम्पूर्ण सूचना केन्द्रसम्म पुर्‌याउने पद्धति भएकै कारण नेपाल त्यसबेला सामरिक दृष्टिले सुदृढ थियो । अमेरिकाले चीनविरुद्ध गराएको खम्पा विद्रोह नेपाल दरबारको अग्रसरतामा सुरक्षा संयन्त्रले असफल बनाएको पाइन्छ । यसमा नेपाली सेनाको ठूलो योगदान रहेको छ ।

आज नेपाली कांग्रेसमा कति जना 'नेपाली' नेता छन् र नेपाल कम्युनिस्ट पार्टीका साइनबोर्डमुनि नेपालको हित चाहने कति छन् भन्ने प्रश्न उब्जिएको छ । तराईकेन्द्रितलगायतका प्रायः सबै दल नांगिएका छन् । माओको बद्नाम गर्नेहरू 'मुन्नी बदनाम दुई डालिङ तेरे लिए' गीतमा नाचिरहेका छन् । भारतीय, युरोपेली र अमेरिकी स्वार्थको कारण चीन अत्यन्त सशंकित बनेर बेइजिङको बार्दलीबाट काठमाडौँ हेरिरहेको छ ।

नेपालले सन्तुलित र असंलग्न परराष्ट्र नीति बिर्संदै गयो भने गम्भीर संकटमा पर्ने देखिन्छ । चीनतिर भाइरस फैलिने खतरा बढ्दा बेइजिङका मानिसहरू पनि जीवाणु र कीटाणु मार्न ओखती बोकेर काठमाडौँ आउन सक्छन् । त्यतिबेला हामी दर्शक बन्छौँ कि खेलाडी ?

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.