इस्लामी आतंक र अमेरिकी राज्य
सेवानिवृत्त डिफेन्स सर्भिस इन्टेलिजेन्सका प्रमुख तथा अमेरिकी सेनाका लेफ्टिनेन्ट जनरल माइकेल फ्लिनलाई उद्धृत गर्दै वासिंटन फ्री बेकनले यही अगस्त ९ मा दिएको जानकारीअनुसार अमेरिकाका विभिन्न ठाउँमा इस्लामिक स्टेट अफ इराक एन्ड सिरियाका हजारभन्दा बढी आतंककारी गतिविधिमा संलग्न व्यक्तिहरूलाई गिरफ्तार गरिएको तर जनतामा त्रास फैलिने आशंकामा ओबामा प्रशासनले सोसम्बन्धी जानकारी सार्वजनिक नगरेको बताएका छन् ।
इस्लामिक स्टेटले आफ्नो स्थापनाको दुई वर्षभित्रै फ्रान्स, बेल्जियम, जर्मनीलगायतका युरोप, अफ्रिका र एसियाको कुरै छोडौँ, अमेरिकाका सबै ५० राज्यहरूमा उसको सांगठनिक सञ्जाल स्थापना भइसकेको बारे गत वर्ष नै संघीय जाँच ब्युरोका निर्देशक जेम्स कोमीलाई उद्धरण गर्दै रोयटर्सलगायतका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले लेखेका थिए ।
दिगो र वातावरणीय अर्थशास्त्रका विख्यात अमेरिकी विज्ञ ज्याफ्री डी स्याक्सले अघिल्लो महिना प्रोजेक्ट सिन्डिकेटमा लेखेका छन्- इस्लामिक स्टेटको सिरिया र इराकमा गरेर २० देखि २५ हजार लडाकु छन् । तर अमेरिका-नाटो तथा अन्य सम्बन्धित राष्ट्रहरूको समेत जोड्दा सिरियामा सक्रिय सेनाको संख्या एक लाख २५ हजार छ । इराकमा दुई लाख ७१ हजार, टर्कीमा पाँच लाख १० हजार, साउदी अरबमा दुई लाख ३३ हजार र इरानमा पाँच लाख २३ हजार बढी सेना छन् ।
उपरोक्त संख्या हेर्दा इस्लामिक स्टेटको २०-२५ हजार सेना केही पनि होइन । तर त्यही सैनिकको बलमा क्षेत्रका मुलुकहरूका साथै पेरिस र ब्रसेल्सदेखि बंगलादेशसम्म र नाइजेरियादेखि लिबियासम्म इस्लामिक स्टेटले आतंकका गतिविधि सञ्चालन गरिरहेको छ ।
त्यसमाथि इस्लामिक स्टेटको सूचना विभागले आफ्नो नियन्त्रणमा रहेको र अमेरिकी हतियार, गोली-गट्ठा र मानिसको काँधमा राखेर प्रहार गरिने क्षेप्यास्त्रले भरिएका झोलाहरूको प्रदर्शन गरेको समाचारलाई अगस्त ८ मा सीएनएनले प्रसारण गरेको थियो ।
पेन्टागनले इस्लामिक स्टेटको नियन्त्रणमा रहेका ती हातहतियार आफ्ना सैनिकहरूका हुन् कि होइनन् भनेर अध्ययन गरिरहेको बताएको भए पनि अमेरिकी सेनाका एक अधिकारीले फोटोमा देखिएका हातहतियार हालैका सैनिक अभियानका क्रममा हराएका र लुटिएका जस्तै भएको बताएको पनि सीएनएनले उल्लेख गरेको थियो ।
सर्व श्रेष्ठ हातहतियारले सुसज्जित र संसारको सबैभन्दा कठोर प्रशिक्षण र अनुभवबाट खारिएका अमेरिकी सेनाका हतियार खोसिन-लुटिन वा हराउन सक्छ भन्ने कुराले आतंकवादविरुद्धको युद्ध कति खतरनाक हुँदै गइरहेको छ, प्रस्ट छ ।
गत वर्ष जुन १२ मा वासिंटन पोस्टले दिएको जानकारीअनुसार सिरियाका राष्ट्रपति बसर अल असदको सरकारविरुद्ध सीआईएले १० हजार संख्याको सेनाको गठन गरेर अत्याधुनिक हातहतियारले सुसज्जित गरेको थियो । उक्त दैनिकअनुसार सीआईएले आफूलाई सरकारबाट प्राप्त हरेक १५ डलरमा एक डलर सिरियाली विद्रोही सेनाका लागि खर्च गर्ने गर्छ र असद सरकारविरोधी हरेक विद्रोहीको लागि अमेरिकी सरकारले एक लाख डलर खर्च गर्छ ।
तर अमेरिकाले यत्रो लगानी गरेर खडा गरेको असदविरोधी सेनाका अधिकांश सदस्यहरू इस्लामिक स्टेटको सेनामा समाहित भएको बारे गत नोभेम्बरमा ब्रह्म चेल्लानीले प्रोजेक्ट सिन्डिकेटमा लेखेका थिए ।
इस्लामिक स्टेटको सेनामा ट्युनिसिया, मोरक्को, लिबिया, जोर्डन, टर्की, फ्रान्स, बेल्जियम, ब्रिटेनबाट गएका उच्च प्रशिक्षित व्यक्तिहरू छन् । त्यस्ता कुल लडाकुहरूमध्ये चार हजार त युरोपेली नागरिक नै छन्, जसमा एक हजार दुई सय फ्रेन्च नागरिक र एक सय अमेरिकी छन् । अधिकांश मध्यपूर्वका र मूलतः इराक र सिरियाका छन् ।
इस्लामिक स्टेटको शक्ति विस्तारको रहस्य
इस्लामिक स्टेटको बढ्दो आतंकको कारण मूलतः अमेरिका र युरोपेली राष्ट्रहरूले मध्यपूर्वका अधिकांश भूभागका साथै उत्तर तथा पूर्व अफ्रिका र मध्य एसियाका राष्ट्रहरूका साविकका सरकारहरूलाई विस्थापन गरी आफ्ना हितअनुरूपका सरकार स्थापना गर्ने क्रममा निमन्त्रित अस्थिरता हो भनेर स्याक्सले गत वर्ष नोभेम्बरमा लेखेका थिए ।
प्रोजेक्ट सिन्डिकेटमा ब्रह्म चेल्लानीले लेखेअनुसार फ्रान्स वा ओल्यान्ड फ्रेन्च राष्ट्रपति निर्वाचित भएपछि फ्रान्स सबैभन्दा बढी अन्तर्राष्ट्रिय हस्तक्षेपकारी राष्ट्र बनेको छ । यो क्रममा फ्रान्सले साहेल क्षेत्रका अफ्रिकी गणतन्त्र, आइभोरी कोस्ट, माली, सोमालियालगायतका मुलुकमा सैनिक हस्तक्षेप गरेको छ । यता अमेरिकासँगै सिरियामा पनि उसको हस्तक्षेप रहेकै छ ।
अमेरिका, साउदी अरब र फ्रान्सजस्ता मुलुकहरूको हस्तक्षेपकै कारण सिरिया, इराक, लिबिया र यमनको गृहयुद्ध जटिलतर हुँदै गइरहेकाले ती मुलुकहरूसहित सिंगो मध्यपूर्व अशान्त र अस्थिर छ । एसिया, युरोप र अमेरिकासमेत असुरक्षित बन्दै आएको छ ।
तर इस्लामिक स्टेटको आतंकको लक्ष बनेका अमेरिकालगायत क्षेत्रका अमेरिकाका मित्रराष्ट्रहरू पनि एउटै साझा उद्देश्यले परिचालित छैनन् । जस्तो— इजरायल इस्लामिक स्टेटको प्रमुख विरोधी हो, तर इजरायलले इरान र इरानको समर्थनको सिरियाको असद सरकारलाई आफ्नो मुख्य शत्रु मान्दछ । इरान र सिरिया दुवैले इजरायलविरुद्ध हमास र हेजबुल्ला जस्ता इजरायलका प्रमुख दुस्मन संगठनलाई उनीहरूका आतंककारी गतिविधिमा सघाइरहेकाले ऊ इस्लामिक स्टेटको पराजयभन्दा असदको पतनको लागि प्रयास गरिरहेको छ ।
अमेरिकाले विश्वको लागि धेरै वरदान दिएको छ, तर अमेरिकाकै कतिपय भूमिकाका कारण विश्व अस्थिर र अशान्त पनि छ । अमेरिका विश्वमा शक्तिशाली त छ, तर सम्मानित र प्रिय हुन सकेको छैन ।
सिरियाको गृहयुद्ध मूलतः सिया इरानविरुद्ध सुन्नी साउदी अरबको परोक्ष युद्ध हो भन्ने स्याक्सको भनाइ छ । त्यसैले साउदी अरबको रणनीतिक लक्ष भनेको सिरियाका राष्ट्रपति असदलाई हटाएर इरानलाई रणनीतिक रूपमा पराजित गर्नु हो । यस्तै युद्ध यमन र बहराइनमा पनि लडिँदै छ । उता, टर्की सिरियाबाट असदलाई हटाउन चाहन्छ, तर टर्कीको दक्षिणी भाग तथा सिरिया तथा इराकको उत्तरी भाग र इरानको उत्तर पश्चिमी भागका कुर्द क्षेत्रलाई मिलाएर एउटा स्वतन्त्र कुर्दिस्तान राज्य निर्माणका शक्तिशाली प्रयासहरूले टर्कीलाई आतंकित बनाइरहेको छ ।
अर्कोतिर, इस्लामिक स्टेटको निरन्तर आक्रमण बेहोरिरहेको अवस्थामा असदको विस्थापन टर्कीको लागि कम प्राथमिकताको सवाल बनिरहेको छ । रूस र इरान इस्लामिक स्टेटविरुद्ध अमेरिका र युरोपका राष्ट्रहरूसँग सहकार्य गर्न इच्छुक छन्, तर दुवै मुलुक सिरियाबाट असदको विस्थापन चाहँदैनन् ।
रूसले सिरियाका राष्ट्रपति असदलाई संरक्षण पुर्याइरहेकोमा अमेरिकी प्रशासन रूसप्रति असन्तुष्ट छ, तर खुलेआम कुनै मुलुकको वैधानिक शासकविरुद्ध विद्रोहीहरूलाई आर्थिक र सैनिक सहयोग उपलब्ध गराएर कुनै मुलुकको प्रभुसत्ताविरुद्ध गरिएको अमेरिकी प्रहारको नैतिक पक्ष त्यति पुष्ट नभएकाले पनि विश्वले त्यसलाई राम्रो मानिरहेको छैन ।
अमेरिकी विदेश नीतिका रणनीतिक अभावहरूका कारण इस्लामिक स्टेटको शक्तिमा निरन्तर विस्तार भइरहेको स्याक्सको भनाइ छ । उनको भनाइमा कुनै मुलुकको सत्ता परिवर्तनको अमेरिकी उद्देश्य युद्ध उन्माद र हठवाद मात्रै हो । अमेरिका यो नीतिमा कहीं पनि सफल भएको छैन । सिरिया र लिबिया हालका उदाहरण हुन् ।
साउदी अरबको लगानीमा सीआईएले लामो समयदेखिको सुन्नी विद्रोहीहरूलाई गरेको सहयोगका कारण सिरियामा विद्रोह भइरहेको छ र असद सरकार आफ्नो भएभरको सैनिक र कूटनीतिक बल लगाएर आफ्नो अस्तित्व रक्षाको युद्ध लडिरहेको उनी बताउँछन् ।
इस्लामिक स्टेट र असदविरुद्धको दोहोरो युद्धमा अमेरिका रणनीतिक अन्योलमा देखिन्छ । अमेरिका, रूस, इरान र साउदी अरबको संयुक्त रणनीतिक प्रयासबेगर इस्लामिक स्टेट पराजित हुने लक्षण देखिँदैन । अमेरिका असदलाई स्विकार्न र क्षेत्रमा रूस र इरानको प्रभाव स्विकार्न तयार नहुन्जेल पनि यो सम्भव छैन ।
रूस र अमेरिका आपसमा विकास हुँदै गएको शीतयुद्धको स्थिति अन्त्य गरी इस्लामिक स्टेटविरुद्धको शक्तिशाली मोर्चा बनाएमा मात्रै इस्लामिक स्टेटविरुद्ध प्रभावकारी शक्ति निर्माण हुन सक्छ । इरान र साउदी अरबबीच मित्रता र सहयोगको वातावरण मध्यपूर्वमा शान्ति, स्थिरता र इजरायलको सुरक्षाको लागि पनि आवश्यक छ । माथि उल्लेख गरिएजस्तो हुन सकेन भने इस्लामिक स्टेटको स्वरूप बदलिएला, तर आतंकको चरित्र यथावत् रहने नै देखिन्छ ।
अमेरिकाको रणनीतिक अदूरदर्शिता र इस्लामिक आतंक
नोभेम्बर २०१० मा अमेरिकी विदेशमन्त्री हिलारी क्लिन्टन र रक्षामन्त्री रोबर्ट गेट्स अस्ट्रेलियाको मेलबर्न जाँदै थिए । सोही समयमा एबीसी टेलिभिजनको लागि सिन्थिया म्याकफ्याडनले यी दुवै हस्तीसँग एकैसाथ अन्तर्वार्ताको लागि असामान्य अवसर जुटाइन् ।
अमेरिकाका आठ-आठ राष्ट्रपतिको कार्यकालमा अमेरिकाको रक्षा र विदेश नीति निर्माण र कार्यान्वयनको महत्वपूर्ण जिम्मेवारीमा रहेका गेट्ससमेतको उपस्थितिमा क्लिन्टनले भनिन्-‘हो, संयुक्त राज्य अमेरिका अर्थात् हामीले सोभियत संघविरुद्ध लड्नको लागि मुजाहिद्दिन गठन गर्यौँ, उनीहरूलाई प्रशिक्षण, हतियार र पैसा दियौँ । उनीहरूमध्येका एक ओसामा बिन लादेन पनि हुन् । जब सोभियत सैनिकहरू अफगानिस्तानबाट फर्किए, हामीले सन्तोषको सास फेर्यौँ । तर अफगानिस्तानबाट सोभियत संघ जसरी सजिलै फर्कियो, हामी त्यसरी नै फर्कन सकिरहेका छैनौँ ।'
अक्टोबर २००७ मा अमेरिकी सेनाका जनरल तथा युरोपको लागि नाटोका सर्वोच्च सेनापति वेसले क्लार्क ले कमनवेल्थ क्लब- सन् फ्रान्सिस्कोमा दिएको एउटा भाषणमा अलकायदाले ट्विन टावरमाथिको आक्रमणपछि अमेरिकी प्रशासनमा प्रभावशाली रहेको नवअनुदारवादी समूहले अमेरिकी परराष्ट्र र रक्षा नीतिमा एउटा विद्रोह गरेको बताएका थिए । उक्त विद्रोहका योजनाकार तत्कालीन उपराष्ट्रपति डिक चेनी, रक्षामन्त्री डोनाल्ड रम्सफिल्ड र उपरक्षामन्त्री पल उल्फोविट्सलगायत उच्च पदस्थ अमेरिकीहरूले तत्कालै इराकमाथि आक्रमणको गोप्य योजना बनाएको बारे सोसम्बन्धी जानकार एक सैनिक अधिकारीले आफूलाई बताएको क्लार्कले उल्लेख गरेका थिए ।
डेढ महिनापछि उक्त अधिकारीसँगको भेटमा क्लार्कले सोधे, ‘खोइ त हामीले इराकमाथि आक्रमण त गरेनौँ ? '
उक्त अधिकारीले आफ्नो घर्राबाट एउटा कागज झिकेर टेबुलमा फिँजाए । स्थिति त अझ खराब र जटिल बन्दै गएको बताउँदै उनले स्पष्ट पारे कि आगामी पाँच वर्षभित्र अमेरिका सातवटा मुलुकमा आक्रमण गरेर त्यहाँका सरकारहरूलाई ध्वस्त पार्दैछ र त्यसको थालनी इराकबाट हुनेछ । त्यसपछि सिरिया, लेबनान, लिबिया, सोमालिया, सुडान र इरानमाथि आक्रमण गरिनेछ ।
क्लार्कका अनुसार यस्तो आक्रमणको उद्देश्य मध्यपूर्वलाई अस्थिर बनाएर त्यहाँ आमूल परिवर्तनको स्थिति निर्माण गर्नु र समस्त क्षेत्रलाई अमेरिकी नियन्त्रणमा राख्नु हो । सन् १९९१ मा खाडी युद्धको अवधिमा तत्कालीन रक्षामन्त्री डिक चेनीका सहायक अर्थात् पेन्टागनमा चेनीपछिका तेस्रो वरियताका पल उल्फोविट्सले तत्कालै इराकमाथि आक्रमण नगरेकोमा राष्ट्रपति जर्ज होवार्ड बुसको आलोचना गरेका थिए । क्लार्कले उल्फोविट्सलाई उद्धृत गर्दै के पनि भनेका थिए भने त्यस्तो युद्धबाट अमेरिका सिंगो मध्यपूर्वलाई आफ्नो नियन्त्रणमा राख्न सक्छ ।
सोभियत संघ तथा रूस अमेरिकालाई प्रतिरोध गर्न सक्ने अवस्थामा नभएकाले आगामी पाँच देखि १० वर्षभित्रमा पुरानो सोभियत सत्ताका मध्यपूर्वका अवशेषहरू- सिरिया, इराक र इरानलाई नियन्त्रणमा लिने ऐतिहासिक अवसर अमेरिकालाई प्राप्त हुनेछ । क्लार्कका अनुसार उल्फोविट्सको सैन्य रणनीति द्वन्द्व निरोध वा समाप्ति नभएर युद्धद्वारा सरकार बदल्नु थियो ।
संयोग त्यस्तै जुट्यो । राष्ट्रपति जर्ज हावर्ड बुसको राष्ट्रपतित्वको आठ वर्षपछि उनैका छोरा जर्ज डब्लू बुसको कार्यकालमा चेनी उपराष्ट्रपति भए र उनले अमेरिकी प्रभुत्व विस्तारको लागि एउटा नयाँ कार्ययोजना ल्याए । चेनी र रक्षा उपमन्त्री पल उल्फोविट्सको रणनीतिक योजनामा सन् २००३ मा इराकमाथि अमेरिकी आक्रमण भयो ।
स्याक्स स्विकार गर्छन्- अफगानिस्तानमा सोभियत संघको आधिपत्यविरुद्धको युद्धको लागि सीआईएले युरोपदेखि मध्यपूर्वका सबैजसो मुलुकबाट सुन्नी समुदायका हजारौँ युवाहरूलाई व्यापक रूपमा भर्ना गर्यो, प्रशिक्षण दियो र एउटा शक्तिशाली बहुराष्ट्रिय सुन्नी लडाकु सेना गठन गरेर युद्ध सञ्चालन गर्यो ।
सीआईएले नै एउटा समृद्ध साउदी परिवारको ओसामा विन लादेनलाई उक्त युद्धमा सीआईएसँगै लगानी गर्न र सोभियत संघविरुद्धको युद्धको नेतृत्व लिन प्रेरणा र सहयोग उपलब्ध गरायो । थप स्रोत विकासको लागि तस्करी र लागू पदार्थको व्यापार प्रोत्साहन गर्यो । आफू विघटनको पूर्वसन्ध्यामा पुगेपछि सोभियत संघ अफगानिस्तानबाट पछि हट्यो । त्यसपछि सीआईए प्रशिक्षित लडाकुहरूको प्रयोजन अमेरिकाको लागि रहेन र तिनै सीआईए प्रशिक्षित मुस्लिम सेना अलकायदामा समावेश भएर ट्विन टावरमाथिको आक्रमणमा जोडिन आइपुगे ।
निसन्देह, अमेरिकाले विश्वको लागि धेरै वरदान दिएको छ, तर अमेरिकाकै कतिपय भूमिकाका कारण विश्व अस्थिर र अशान्त पनि छ । अमेरिका विश्वमा शक्तिशाली त छ, तर सम्मानित र प्रिय हुन सकेको छैन ।
अनेकौँ अभावहरूको उपस्थितिमा पनि राष्ट्रसंघ सुरक्षा परिषद् अन्तर्राष्ट्रिय शक्ति सन्तुलनको एउटा भरपर्दो संरचना हो । इस्लामिक स्टेटलगायतका सबै अन्तर्राष्ट्रिय समस्याहरूलाई सुरक्षा परिषद्को कार्यक्षेत्रमा ल्याउनेबित्तिकै त्यसले समस्या सामाधानका मार्ग विस्तार गर्ने मात्रै होइन, त्यसबाट प्रमुख शक्ति राष्ट्रहरूमाझ विकास हुने विश्वास, सहयोग र समझदारीहरूले विश्वमा एउटा नयाँ सकारात्मक प्रभाव र शक्ति निर्माण गर्नेछ । यसले आतंकवादलाई सैनिक र मनोवैज्ञानिक रूपमा पनि कमजोर बनाउनेछ ।
अमेरिकालाई आफ्नो योगदानअनुरूपको विश्वव्यापीरूपमा सम्मान र प्रतिष्ठा निर्माणमा पनि यसले प्रभावकारी भूमिका निर्माण गर्नेमा ढुक्क हुन सकिन्छ । -भट्टराई नेपाल इन्स्टिच्युट फर स्ट्राटिजिक स्टडिजसँग आबद्ध छन् ।