दाताले दिएनन् कबुल रकम

दाताले दिएनन् कबुल रकम

सुर्खेतः सुर्खेतमा मध्यपश्चिमाञ्चल विश्वविद्यालय स्थापनाका लागि सञ्चालन भएको महायज्ञमा सहयोग कबुल गरेका दाताहरूले हालसम्म पनि उक्त रकम दिएका छैनन् । सात वर्ष पहिला वीरेन्द्रनगरमा सञ्चालन भएको महायज्ञमा हौसियर दाताहरूले विश्वविद्यालयलाई नगद तथा जिन्सी सहयोग गर्ने घोषणा गरेका थिए तर महायज्ञ सम्पन्न भएको सात वर्षभन्दा बढी समय बितिसक्दासमेत कबुल गरेको रकम संकलन हुन सकेको छैन ।

पण्डित दिनवन्धु पोखरेल प्रमुख वाचनकर्ता रहेको उक्त महायज्ञमा जिल्लाभित्र र बाहिरबाट आएका दाताहरूले सहयोग कबुल गरेका थिए । विश्वविद्यालय जिल्लामै स्थापना हुने भएपछि खुसी भएका जिल्लावासीले आफूले सक्ने जति सहयोग गर्ने कबुल गरेका थिए । त्यतिबेला सहयोग गर्नेको होडबाजीनै चलेको थियो । त्यसबेला दाताहरूबाट कबुल भएको मध्ये अहिले पनि करिब आठ करोड रुपैयाँ उठ्न बाँकी छ । महायज्ञमा कबुल भएको मध्ये हालसम्म पाँच करोड संकलन भएको र अझै आठ करोड रकम उठ्न बाँकी रहेको विश्वविद्यालय प्रशासनले जनाएको छ ।

वर्षौंसम्म पनि कबुल भएको रकम संकलन हुन नसकेपछि विश्वविद्यालयले दाताहरूबाट उक्त रकम संकलनका लागि अभियान थाल्ने भएको छ । त्यसका लागि महायज्ञ सञ्चालन गरेको मौदगल्य सेवा समाजका अध्यक्ष सीताराम कार्कीको संयोजकत्वमा दाताहरूबाट कबुल भएको रकम संकलन गर्न समिति गठन गरिएको छ । यो समितिले नै दाताहरूबाट रकम उठाउने छ ।

अबको ६ महिनाभित्रमा दाताले कबुल गरेको सबै रकम संकलन गर्ने लक्ष्य विश्वविद्यालयले लिएको छ । विश्वविद्यालयका रजिस्ट्रार डा. महेन्द्रकुमार मल्लले भने, ‘पहिलाका पदाधिकारीले चासो दिएनन्, त्यसमै तीन वर्ष बित्यो । अहिले पनि हामीले प्रभावकारी अभियान थाल्न सकेका छैनौं, अबको ६ महिनाभित्र सबै रकम संकलन हुन्छ ।’ दाताहरू आफैंले कबुल गरेको रकम हस्तान्तरण गर्न इच्छुक रहेको भन्दै मल्लले अब आफूहरूले दाताले कबुल गरेको रकम उठाउन अभियान सुरु गर्ने र त्यसलाई प्रभावकारी बनाउने जानकारी दिए ।

सात वर्ष बित्दा पनि कबुल रकम दिएनन् ।
दाताहरूबाट रकम संकलन गर्न अभियान चलाइने ।
सहयोग कबुल गर्ने केहीको मृत्यु, केही बाहिर ।

‘दाताहरूबाट उठ्न बाँकी रकम संकलनको काम प्रभावकारी बनाउने छौं’, मल्लले थपे, ‘समय धेरै बितेकाले सहयोग गर्ने कबुल गरेका केही दाताहरूको मृत्युसमेत भइसकेको छ, केही दाता जिल्लाबाहिर गइसकेका छन् । त्यसकारण पनि कबुल भएको सबै रकम नउठेको हो, अब हामी दाताहरूलाई आफूले कबुल गरेको रकम दिन आग्रह गर्छौ।’

विश्वविद्यालयले पछिल्लो समय गति लिएको र यो वर्षलाई आफूहरूले पूर्वाधार निर्माणको वर्षका रूपमा लिएकाले पनि कबुल रकम हस्तान्तरण गर्न मल्लले दातालाई आग्रह गरे । महायज्ञमा विभिन्न संघ संस्था, कार्यालय र व्यक्तिहरूले विश्वविद्यालयलाई सहयोग गर्ने कबुल गरेका थिए ।

आफूले कबुल गरेको सहयोग रकम प्रदान गर्न आग्रह गर्दै विश्वविद्यालयले उक्त रकमबाट भौत्तिक संरचना निर्माण गरिने जनाएको छ । आफूहरू अब दाताहरूबाट संकलन हुन बाँकी रहेको रकम संकलन गर्नेतर्फ सक्रिय भएर लाग्ने मल्लको भनाइ छ ।

दाताहरूलाई आफूले गरेको सहयोग सदुपयोग भएको छ भन्ने अनुभूति दिलाउन पनि चन्दा स्वरूप सकंलन भएको रकम भवनमा लगानी गर्ने तयारी विश्वविद्यालयले गरेको छ ।

यस्तै केन्द्रीय कार्यालय रहने कुइनेपानी र इन्जिनियरिङ संकायको भवन बन्दै गरेको स्थानमा एकएकवटा विश्वविद्यालय स्तम्भ निर्माण गर्न लागिएको छ । ती स्तम्भमा चन्दा दाताको अभिलेख राख्ने तयारी गरिएको छ । यसअघि विश्वविद्यालय स्थापना मूल समितिले दाताहरूबाट कबुल भएको रकम संकलन गर्दै आएको थियो ।

तर यसअघि नै मूल समितिले सबै दायित्व हस्तान्तरण गरेपछि अब यो काम विश्वविद्यालय प्रशासनले नै गर्ने भएको हो । विश्वविद्यालय प्रशासनले रकम संकलन गर्ने जिम्मेवारी लिएपछि केही दाताहरूले रकम हस्तान्तरण गर्न थालेका छन् । विश्वविद्यालय स्थापनाका लागि सञ्चालन भएको महायज्ञमा यहाँका विभिन्न संघ, संस्था र नागरिकले सक्दो सहयोग गरेका थिए । अधिकांशले अहिलेसम्म आफूले कबुल गरेको रकम दिएका छैनन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.