भ्रम, आडम्बर र देखावटीपन
गत हप्ता एकजना व्यक्तिको गाडी रत्नपार्कस्थित जाममा फस्यो । प्राइभेट नम्बर प्लेट भएको उक्त गाडी हेर्दा महँगो नै देखिन्थ्यो । केही समयपछि सडकमा पैसा माग्दै हिँड्ने एक बालिका आइन् र गाडीको बन्द कालो सिसामा टकटक पार्दै पैसा मागिन् । तिनले केही बेरसम्म झ्यालको सिसामा टकटक हानिरहिन् । तर झ्यालको सिसा खुलेन । न त त्यो जाम नै खुल्यो । ती बालिकाले पनि पैसाको बटुको एक हातले समातेर अर्को हातले टकटक पारिरहिन् ।
यसपछि त्यो सिसा खुल्यो । त्यहाँभित्र भएका व्यक्तिले अंग्रेजीमा अपशब्द बोल्दै ती बालिकालाई जोडले धकेलिदिए । ती बालिका भुइँमा जोडले पछारिइन्, सायद चोट पनि लाग्यो होला । त्यत्तिकैमा जाम पनि खुल्यो र ती व्यक्तिले गाडीको सिसा लगाउँदै गाडी कुदाए । सडकमा माग्न बसेकाहरूलाई पैसा दिने वा नदिनेबारे ती व्यक्तिको आफ्नै तर्क होला, तर जुन व्यवहार उनले देखाए, त्यो अवश्य नै निन्दनीय थियो । उनले राम्रो बोली, व्यवहार पनि गर्न सक्थे र जाबो ५–१० रुपैयाँ त खान नपाएकाहरूलाई दिन नसक्नेले त्यत्रो महँगो गाडी चढेर तडकभडक गर्नुको के अर्थ हुन्छ र ?
आजभोलि मानिसहरूमा भौतिक वस्तुहरूलाई बढी महत्त्व दिने, देखावटी गर्ने प्रवृत्ति बडो गज्जबको छ । यिनै भौतिक चिजहरूलाई सफलतासँग जोड्छन् र घमन्ड गर्छन् । उनीहरू अरूको अस्तित्वको इज्जत नै गर्दैनन् । आफैँ ठूलो बन्छन् ।
वास्तवमा गाडी भनेको मानिसको जीवन सजिलो होस् भनेर बनाइएका वस्तु हुन्, तर यहाँका मानिस यसलाई सफलताको सूचक ठान्छन् । गाडी, बंगला, ब्यांक ब्लालेन्स भएका मानिसहरू आफूलाई धनी र सुखी भन्ठान्छन् । अधिकांश मानिसको सपना पनि त्यही हुन्छ– मेहनत गर्ने, पैसा कमाउने अनि गाडी, घर किन्ने ।
गाडी किन्नु, चढ्नु गलत होइन, तर यसलाई नै सफलता मान्नु र अरूको अस्तित्व स्वीकार नगरेर आफूलाई नै ठूलो ठान्नु गलत हो । हाम्रो समाजमा अधिकांश मानिसको सोच, व्यवहार पनि यस्ता भौतिक वस्तुका आधारमा हुने गर्छन् । कुनै व्यक्ति पार्टी, समारोहमा चिल्ला गाडी, महँगा सुन लगाएर आयो भने त्यसप्रति गरिने व्यवहार र उसलाई दिइने इज्जत नै फरक हुन्छ ।
आजभोलि मानिसमा देखावटीपन, खोक्रे आडम्बर हाबी हुँदै गएको छ । आधुनिकता र फेसनको नाममा यो झन् मौलाएको छ । केही दिनअघि साँझको समय साथी र म दरबार मार्गको बाटो हिँडिरहेका थियौँ । हुन त मेरो साथी धनी लाहुरेको छोरो हो । उसको व्यवहार नै फरक हुने भयो ।
एडिडासको सोरुम अगाडि एकछिन उभिएर भन्यो, 'यो जुत्ता हेर्न अस्ति मैले १५ हजारमा यहीँ किनेको हुँ ।' अलिपर पुगेपछि घडी हेर्दै भन्यो, ‘यो घडी मैले विदेशबाट मगाएको हुँ । अति महँगो छ । यो आइफोन मोबाइल पनि विदेशबाट ल्याएको रहेछ । फोन आए पनि नआए पनि उसलाई त्यो बोक्नुपर्ने रहेछ । उसले प्रयोग गरेका लगाएका हरेक लुगा जुत्ता, मोबाइलबारे बताउँदै गयो ।
यसैगरी, हरेकसँग ब्रान्ड जोडिएकै हुन्थ्यो– कुनै नाइक, कुनै टीसर्ट भने कुनै जोह्न प्लेर । उनले अन्त्यमा मेरो सर्ट हेर्दै सोध्यो, ‘तैँले यो कहाँ किनेको ? सुन्धरामा । त्यति मात्र के भनेको थिएँ, उसले जवाफ फर्काइहाल्यो, 'तँ फेसनेबल नै छैनस् । त्यहाँको क्वालिटी खत्तम हुन्छ् ।' त्यस्तै उसले त्यहीँ नजिकैको केएफसीमा लग्यो र भन्न लाग्यो, 'म त सधैँ बाहिर निक्लेँ कि यहीँ हो खाने । अरू ठाउँको त स्वास्थ्यको लागि फाइदाजनक र मीठो पनि हुँदैन ।' ऊ आफूले लगाएको हरेक ब्रान्डका लुगा र महँगा खानेकुरासँग आफ्नो सफलता दाँज्थ्यो र अरूलाई तुच्छ देखाउन खोज्थ्यो । उसमा ती वस्तुहरूले जन्माएको खोक्रो आडम्बर थियो ।
हैन, महँगा र चिल्ला गाडी चढ्नु, ब्रान्डेड र महँगा लुगा लगाउनु र महँगा ठाउँमा खानु मात्र सफल, फेसनेबल हुनुको सूचक हो त ? अवश्य होइन । यो सब हाम्रो सोच र देखावटीपनको प्रभाव हो । यहाँ कोही व्यक्ति यस्ता पनि छन्, जो अरूलाई देखाउन तरकारी किन्न पनि नजिक र सजिलै हिँडेर पुग्ने ठाउँमा पनि गाडी लिएर जान्छन् । जसरी हुन्छ, देखाउनै पर्छ र उनीहरूलाई फेरि कसैले छुनै सक्दैन । गाडीको अनावश्यक प्रयोग भइरहेको छ ।
करोडौँ पर्ने गाडीमा हिँड या लाखौँ पर्ने ब्रान्डेड लुगा लगाऊ, त्यो आफ्नो इच्छा हो, तर आफूलाई ठूलो ठान्नु र अरूलाई नीच र सानो ठानेर त्यस्तै व्यवहार गरिन्छ भने त्यसको कुनै अर्थ हुँदैन । देखावटीपनले मानिस ठूलो र सफल हुँदैन ।
कोही त रुखो र घमण्डीपन देखाउँछन् । कोही पाँच हजारको ब्याग बोक्छन् र त्यसभित्र पाँच सय पनि हुँदैन । आखिर त्यसको के अर्थ ? साथीले भने झैँ के ब्रान्डेड र महँगा लुगा लगाए मात्र फेसनेबल भइन्छ र ? फेसन भनेको त आफूलाई अरूसामु प्रस्तुत गर्ने एक कला हो । आफूले जे लगाउँदा सजिलो हुन्छ, त्यही लगाउनु नै फेसन हो । फेसन आफैँले सिर्जना गर्ने हो ।
खालि ब्रान्डेड लुगा लगाएर वा ठूला–ठूला सपिङ मलमा गएर मात्र फेसनेबल भइन्छ र ? सानो-सानो पसल वा बिना ब्रान्डका कपडा पनि हामीलाई सुहाउँछ । खालि महँगा ब्रान्डेड कपडा मात्र गुणस्तरीय हुन्छन् भन्ने छैन । विनाब्रान्डका र सस्ता कपडा पनि राम्रा हुन सक्छन् । महँगो पैसा तिरेर किनेको ब्रान्डेड कपडा राम्रो क्वालिटीको हुन्छ भन्ने के ग्यारेन्टी छ र ? महँगो पैसा तिरेर ठूलाठूला होटेलमा गएर खाँदैमा त्यो हाइजनिक हुन्छ भन्ने कुनै ग्यारेन्टी छैन । सस्तो पैसा तिरेर मीठो र पेटभरि खानुको मज्जा छुट्टै छ ।
मानिसमा आधुनिकतावाद, देखावटीपन, वस्तुसँग तुलना गरेर नापिने सफलताका कारण खोक्रो आडम्बर हाबी हुँदै गएको छ । महँगो र ब्रान्डेड लुगा किन्नु, महँगो फोन बोक्नु, महँगो ठाउँमा गएर खानु गलत होइन, तर यसलाई नै सफलता र फेसनको सूचक सोच्नु गलत हो । खोक्रो आडम्बरको भरमा अरूलाई हेप्नु, अरूको अस्तित्व स्विकार्न नसक्नु गलत हो । आफ्नो धाक र घमन्ड देखाउनु गलत हो । यहाँ त मानिसको प्रवृत्ति के छ भने आफूसँग होस् या नहोस्, अरूसँग रिन मागेर भए पनि देखाउनैपर्छ । समाज पनि त्यस्तै छ, नदेखाई पत्याउँदै पत्याउँदैन । के गाडी किन्दैमा त्यो मानिसको जीवन सुखी र सफल हुने हो र ?
उसको जीवन सरलचाहिँ अवश्य हुन्छ । सबैले आआफ्नो गच्छेअनुसार किन्छन् । दुई हजार पर्ने मोबाइल बोक्ने व्यक्ति सानो र लाखौँ पर्ने मोबाइल बोक्ने व्यक्तिको हैसियत ठूलो हुन्छ भन्ने होइन । सबैको आआफ्नो इज्जत, मान, सम्मान हुन्छ । मानिस ठूलो उसको काम, सोचले हुने हो न कि उसले लगाउने लुगा, बोक्ने मोबाइल, चढ्ने गाडीको मूल्यले ।
हाम्रा नेताहरूमा पनि विलासी जीवन बिताउने, देखावटीपन, खोक्रो आडम्बर देखाउने प्रवृत्ति बढ्दै गएको छ । उनीहरू पैसा, कुर्चीको पछाडि लागिपर्छन् । यही कारण देशमा भ्रष्टाचार मौलाएको छ ।
सादा जीवन बिताउन चाहने नेता यहाँ विरलै भेटिन्छन् । अधिकांशमा आडम्बर भेटिन्छ । मन्त्री, प्रधानमन्त्रीदेखि लिएर दलका नेता, पूर्वकर्मचारी, मन्त्री आफूलाई विशिष्ट देखाउन अघिपछि लस्करका लस्कर गाडी र सुरक्षाकर्मी लिएर हिँड्छन् । केहीलाई सुरक्षा संवेदनशीलता होला तर प्रायः आफू वरिष्ठ देखाउन यसो गर्छन् अनि उनीहरू हिँड्दा सर्वसाधारण जनताले अनावश्यक जामले गर्दा दुःख व्यहोर्नुपर्छ । यहाँ एक राजा गए, अनेक राजा जन्मिए । चुनावमा भोट माग्न घरघरमा जाँदा डर नलाग्ने नेतालाई पद पाएपछि र पद गएपछि त्यही जनताबाट त्यत्रो डर, त्रास उत्पन्न भयो कि अघिपछि गाडी र सुरक्षाकर्मी लिएर हिँड्नुपर्ने र उनीहरू यात्रा गर्दा सबैले बाटो छोड्नुपर्ने ।
सादा जीवन उच्च विचार अधिकांश मानिसमा लागू भएको पाइन्न । सादा जीवन भन्नाले खालि सस्तो लुगा लगाउने, सस्ता जुत्ता लगाउने सस्ता फोन बोक्ने वा कपाल छोटो काटेर हुने होइन । यो त उसले अरूप्रति कस्तो व्यवहार गर्छ, त्यसमा भर पर्छ । करोडौँ पर्ने गाडीमा हिँड या लाखौँ पर्ने ब्रान्डेड लुगा लगाऊ, त्यो आफ्नो इच्छा हो, तर आफूलाई ठूलो ठान्नु र अरूलाई नीच र सानो ठानेर त्यस्तै व्यवहार गरिन्छ भने त्यसको कुनै अर्थ हुँदैन ।
अरूलाई देखाउन अरूसँग मागेर चलाउनु गलत हो । आफूसँग जे छ जस्तो छ, त्यसरी नै प्रस्तुत हुनुपर्छ । यहाँ त हरेक क्षेत्रमा खोक्रो आडम्बर र देखावटीपन हाबी भएका मानिस प्रशस्तै भेटिन्छन् । उनीहरू आफूबाहेक अरूको अस्तित्व नै स्विकार्न सक्दैनन् । समाज पनि जसले देखाउन सक्छ, उसलाई पत्याउँछ । हाम्रो सोचमा परिवर्तनको खाँचो छ । मानिस फेसनेबल ब्रान्ड र महँगा कपडाले होइन, यो त उसले आफूलाई अरूसामु कसरी प्रस्तुत गर्छ, त्यसमा भर पर्छ । मानिस ठूलो र सफल धन, देखावटीपनले हुँदैन, उसको सोच र व्यवहारले हुने हो ।