कथा: राधा-कृष्ण

कथा: राधा-कृष्ण

सनातन वैदिक धर्मका तीन अंग-ज्ञान, कर्म र भक्ति हुन्, जसलाई आत्मिक, भौतिक र दैविकको अर्थमा पनि लिन सकिन्छ । धार्मिक विश्वास र कृत्यले पनि तीनवटा मार्ग त्रिदेवका नामबाट शाक्त, शैव र वैष्णव छन् । तीनवटै सम्प्रदायले आफ्नो स्रोत र ऊर्जा वेदमै खोज्दछन् । ज्ञान,कर्म र भक्ति एकअर्काका सम्पूरक हुन् । वैष्णवकै यौटा उपशाखा श्रीकृष्ण सम्प्रदाय छ, जसलाई राधाकृष्ण सम्प्रदाय पनि भनिन्छ, जो भक्तिमार्गमा नै विश्वास गर्छ ।

नेपाललगायत उत्तरपूर्वी भारतको समाजमा यो सम्प्रदाय आ-आफ्नो सांस्कृतिक परिवेश र पद्धतिमा सर्वाधिक प्रचलित छ । विष्णु वैदिक देवता हुन् । श्रीकृष्ण विष्णुकै अवतार मानिन्छन् । तर अवतारवाद वैदिक परम्परा होइन । पुराण- साहित्यले अवतारवादको अवधारणा ल्याएको हो । तसर्थ श्रीकृष्णलगायत विभिन्न अवतार धारण गरेका धेरैजसो देवता वैदिक देवताहरूमा पर्दैनन् । ती देवी देवताहरू पुराण साहित्य र महाभारतादि ग्रन्थमा आएका हुनाले भारतवर्षीय भूमिकै उत्पत्ति हुन् भन्ने कुरामा विश्वस्त हुन सकिन्छ । पौराणिक तीन देवता ब्रह्मा, विष्णु र महेशमध्येका विष्णु वैष्णवहरूका आराध्यदेव हुन् । त्यस्तै, राधा-कृष्ण पनि पौराणिक देवता नै हुन् ।

महाभारत हिन्दु धर्म-संस्कृतिको महत्त्वपूर्ण ग्रन्थ हो । यसको रचना शताब्दीयौं वर्ष अघि भएको मानिन्छ । महाभारतमा कृष्णको जन्म-कथा र उनको बाललीलाको कुनै चर्चा छैन । यस महाग्रन्थमा श्रीकृष्ण वयस्क भएपछि नै देखापर्छन् प्रकाण्ड चतुर र कुशल राजनीतिज्ञको रूपमा । उनी ब्रह्म-ज्ञानी हुन् । गीता जस्तो गहन र उच्चकोटिको दार्शनिक ग्रन्थका प्रतिपादक पनि हुन् । गीताले भक्ति, ज्ञान र कर्मको गहन विवेचना गरेको छ ।

यस ग्रन्थको रचना ईपू ५००-२०० को बीचमा भएको मानिन्छ (महामहोपाध्याय पा.वा. काँणे, धर्मशास्त्रको इतिहास ) । तर वेबरजस्ता केही पश्चिमी विद्वान् कृष्णलाई कृष्ट अर्थात् क्राइष्टको रूपान्तरण हो भनेको पनि देखिन्छ, जुन इतिहासको तथ्यसँग मेल खाँदैन । इतिहासजन्य प्रमाणले के देखाउँछ भने जिसस् भारतको जगन्नाथ पुरी, कश्मीर र नेपाल भूमिमा दुई दशक जति बसेर आफ्नो पितृभूमि फर्केका थिए ।

उनले यहाँ उपनिषद् , गीता र बौद्ध दर्शनको अध्ययन गरेर स्वदेश फर्केका थिए । त्यसपछि नै उपनिषद् ज्ञान र बौद्ध दर्शनको आधारमा उनले आफ्ना शिष्यहरू समक्ष धर्मदेशना गर्न थालेका थिए (होल्गर कस्र्टनः जेसस् लिभ्ड इन् इन्डियाः पेंग्युन बुक्स इन्डिया, २००१) । तर यो आलेख त्यसतर्फ प्रवेश गर्दैन, राधा-कृष्णमा केन्द्रित रहनेछ ।

पुराणहरूले श्रीकृष्णको बाललीलाको विस्तारमा वर्णन गरेको छ । ईशाको ३०० देखि ९०० शताब्दीसम्म १८ पुराणहरूको लेखनकार्य भएको थियो (पा.वा.काँणेः धर्मशास्त्रका इतिहास)। विष्णु र भाग्वत् पुराण प्रारम्भिक कालका रचना मानिन्छन् । यी दुवै पुराणहरूमा कृष्ण-जन्म, उनको बाललीला र गोपीहरूका साथ गरिएको रासलीलाको अत्यन्त सरस र आलंकारिक वर्णन पढन पाइन्छ, तर त्यहाँ राधा छैनन् ।

हिन्दु समाजमा श्रीकृष्ण सम्प्रदाय बहुप्रचलित छ । तर यस सम्प्रदायमा एक्लो कृष्णको पूजा हुँदैन, राधा त्यहाँ जोडिन्छ र राधासँगै कृष्णको पूजा गरिन्छ । पुराणहरूमा केही पछिको रचना मानिएको पद्य पुराण, देवीभागवत् र ब्रह्मवैवर्त पुराण हुन् । राधाको उपस्थिति यिनै पुराणहरूमा पाइन्छ । ब्रह्मवैवर्त पुराणको श्रीकृष्ण जन्मखण्डमा गोलोकवासी राधाकृष्णको लामो आख्यान छ । हिन्दु समाजमा प्रचलित ब्रह्मस्वरूप राधाकृष्ण भाग्वत् र ब्रहमबैवर्त पुराणको एकत्रित रूप हो ।

गर्ग ऋषिले प्रवचन गरेको गर्गसंहिता उपर्युक्त दुई पुराणमा आश्रित छ । गर्ग संहिताअनुसार राधा कृष्णकी पटरानी हुन् । शिव-शक्ति सांख्यको प्रकृति-पुरुष अनुरूप युगल राधा-कृष्ण यहाँ एकमात्र परा-शक्तिको रूपमा उपस्थित छन् । उनीहरूको संयोग र विविध चेष्टाले विश्वको सृष्टि हुन्छ ।

बृहदारण्यक उपनिषद्नुसार अघि जगत शून्य अवस्थामा थियो, त्यहाँ कुनै कुराको अस्तित्व थिएन । एक्लो ब्रह्मले आफूलाई दुई फग्याटो-स्त्री र पुरुषमा विभाजित गरेर सृष्टिको प्रारम्भ भएको थियो । पुराणमा राधा-कृष्णका दुई अलगअलग आख्यान छन् । ब्रह्मबैव्रत पुराणअनुसार कल्पको आरम्भमा भगवान् श्रीकृष्ण गोलोकको सुरम्य रासमण्डलमा विराजमान हुँदा उनको वाम पाश्र्वबाट एक अतीव सुन्दरी १६ वर्षकी कन्याको आविर्भाव हुन्छ ।

उनै सुन्दरी कन्या राधा हुन् । 'रास' मण्डलमा प्रकट हुनासाथ फूल लिएर श्रीकृष्णचन्द्रको चरणमा अघ्र्य समर्पित गर्नका लागि 'धावित्' अर्थात दगुर्दै गइन् त्यसैले उनको नाम राधा रहन गयो । राधिकोपनिषद् अनुसार श्रीकृष्णले उनलाई नित्य आराधना गर्ने भएकोले उनको नाम राधा रहन गयो । त्यसैगरी श्रीकृष्णलाई सदा सम्यकरूपले आराधना गर्दछिन् र यिनको नाम राधिका रहन गयो ।

राधाको जन्मसम्बन्धी अर्को कथानक के छ भने नन्दरायको गाउँ गोकुलको छिमेकी बस्तीका गोप परिवारमा वृषभानु र कीर्तिदाकी छोरीको रूपमा श्रीकृष्णकै जन्म-लग्नमा रासेश्वरी राधाको पनि जन्म हुन्छ । विभिन्न ग्रन्थले राधालाई अचिन्त्य-शक्ति, परा-शक्ति, ह्रादिनी-शक्ति इत्यादि संज्ञा दिएका छन्, जस्को पुष्टि ब्रह्मबैव्रत पुराणले गर्छ । वैष्णव सम्प्रदायका प्रारम्भक्र्ता रामानुजाचार्य हुन् ।

उनले चलाएको सम्प्रदायलाई श्रीसम्प्रदाय भनिन्छ । वैष्णवकै अर्को पन्थ ब्रह्म सम्प्रदाय हो जस्का प्रवर्तक माध्वाचार्य हुन् । राधा-कृष्णलाई परम्तत्व मान्ने हंस सम्प्रदाय निम्बार्काचार्यद्वारा प्रवर्तित पन्थ हो । वैष्णव सम्प्रदाय तान्त्रिक रूपमा आउँदा त्यसमा मन्त्रको कामबीज 'क्लिीं' कृष्ण हुन्छ र बीजमन्त्र 'ह्रिं' राधा हुन्छ मन्त्रको रूपमा । राधा-कृष्णलाई मुख्य आराध्यदेव मानेर परम्तत्वको रूपमा अंगीकार गर्ने निम्बार्क सम्प्रदाय नै हो । वैष्णव सम्प्रदायमा शक्ति र शक्तिवान लक्ष्मी र विष्णु हुन्छन् । तर निम्बार्क सम्प्रदायमा राधा-कृष्णलाई उपाष्यको रूपमा प्रतिपादन गरिएको छ ।

श्रीस्वरूपा राधा र श्रीकृष्णको अलौकिक सम्बन्धको स्वरूप के कस्तो थियो ? यहाँ यौटा प्रसंग हेरौं । श्रीकृष्ण राधालाई सम्बोधन गर्दै भन्छन्ः 'प्राणाधिके ! मेरो जीवनको समस्त चाहना एकमात्र तिमी नै हौ, तर अहँ, यो भनाइ त्यति उपयुक्त भएन । किनभने, तिमी र म दुई हुँदै होइनौं । जे तिमी छ्यौ त्यही म हुँ, जे म हुँ त्यही तिमी हौ, यो ध्रुवसत्य हो । हामी दुईमा भेद छँदै छैन ।

जसरी दूधमा सेतोपन छ, अग्निमा दाह्य-शक्ति छ, पृथ्वीमा गन्ध छ, त्यसैगरी हामी दुईको अविञ्छिन्न सम्बन्ध छ । सृष्टिको अघि र सृष्टिकालमा पनि मेरो विश्व-रचनाको उपदान बनेर तिमी मेरै साथमा रहन्छौ । तिमी नरहेको अवस्थामा म सृष्टि-रचनामा समर्थ हुन्न । माटो नभए कुमालेले घटको रचना कसरी गर्न सक्छ र ? तिमी सृष्टिको आधारभूता हौ भने म त्यसको बीजरूप हुँ' (ब्रह्मवैवर्त पुराणः श्रीकृष्ण जन्मखण्ड) ।

उपर्युक्त कथनमा सांख्य दर्शनको प्रकृति-पुरुष नै राधा-कृष्णमा प्रतिविम्बित भएको हामी पाउँछौँ । हिमालेसियाली समाजमा त्यो दर्शन स्त्री-पुरुषको पतिपत्नीको आत्मिक र अविञ्छिन्न सम्बन्धमा अनुदित भएको छ । पश्चिमी समाजको पारिवारिक सम्बन्धको प्रकृतिसित पूर्वीय समाजको मूल भिन्नता यहीँ देखा पर्छ । प्राच्य संस्कृतिको समाजमा नारी-पुरुषबीचको जुन प्राकृतिक र उच्च आदर्शको सम्बन्ध छ त्यो भावना नभएको भोगवादी प्रतीच्य समाजमा कहाँ पाउनु ?

भागवत् पुराणको दसौं स्कन्धको २९ देखि ३४ अध्यायमा श्रीकृष्णको गोपिनीहरूका साथ रासलीला रचाएको प्रसंग अत्यन्त सुन्दर र भावपूर्ण रूपमा चित्रण गरिएको छ । यस प्रकरणमा प्रेम र भक्तिको अद्वितीय संगमले नेपाली समाजमा मात्रै सीमित नरहेर सम्पूर्ण हिमालेसियाली समाजका स्त्री-पुरुषको प्रेम, भक्ति र रतिभावलाई लौकिक र आध्यात्मिक दुवै किसिमले व्याख्या गर्दछ । यहाँ विश्वकै अमूल्य ग्रन्थ श्रीमत्भग्वत्गीताको सम्झना हुन्छ ।

यस ग्रन्थको सात सय श्लोकले हिन्दु जनमानसको चिन्तन पद्धतिलाई गम्भीर प्रभाव पारेको छ । गीता-दर्शनले यहाँको सामाजिक भेदभावविरुद्धमा लागेका समाज-सुधारक सन्तहरूलाई पनि बलियो शास्त्रीय र दार्शनिक आधार प्रदान गरेको छ ।
द्वापरको अन्त्यमा श्रीकृष्णसँग राधालगायतका गोपिनीहरूको रतिक्रीडालाई गर्गसंहिता र पुराणहरूले जसरी उन्मुक्त रूपमा चित्रण गर्‌यो त्यसलाई हाम्रो सामाजिक संस्कार र मर्यादाले हेर्दा व्यभिचार जस्तो देखिएला ।

केही पाश्चात्य विद्वान्ले त राधालाई परकीय स्त्री अर्थात् अर्काकी पत्नी हुन् र नातामा यशोदा मातातिरबाट कृष्णकी माइजू हुन्सम्म भनेका छन् । यसरी कृष्णले हाडनातामा व्यभिचार गरेको अति नीच कोटीको आरोप उनीमाथि थोपरेर हिन्दु धर्म-संस्कृतिलाई व्यभिचारी र निकृष्ट प्रमाणित गर्ने दुष्प्रयास केही कथित इसाई विद्वानबाट नभएको होइन, भएका छन् ।

भारतमा बाह्रौं शताब्दीदेखि मुसलमानहरूले पश्चिमको राजस्थान, गुजरातदेखि पूर्वमा बंगाल, उडिसासम्मको विशाल क्षेत्रमा शासन गरेका थिए । आफ्नो सल्तनतमा ती मुसलमान शासकले सनातन वैदिक धर्म र त्यसका अनुयायीहरू प्रति घृणा, हिंसा र त्रास फिँजारेर तलवारको बलले धर्मान्तरण गराएर मुसलमान बनाउने अभियान पाँच सय वर्षसम्म चलाएका थिए । त्यस अवधिमा उनीहरूले मध्य र उत्तरी-हिन्दुस्तानका हजारौं हजार जैन, हिन्दु, बौद्ध मन्दिरहरू ध्वस्त गरी निमिटान्न नै बनाएका थिए ।

धेरैजसो क्षतिग्रस्त देवस्थलको ठाउँमा मस्जिदहरू खडा गरिए । मुस्लिम शासकका निम्ति बौद्ध र जैन पनि हिन्दु नै थिए । नालन्दा र विक्रमशीलाजस्ता विश्वविख्यात विद्यापीठ र बिहारहरू ध्वस्त बनाएका थिए । विश्वको ज्ञान-सम्पदाको रूपमा रहेका हजारौं संस्कृत, पाली, प्राकृतका अनमोल बौद्ध, जैन, हिन्दु ग्रन्थहरू नष्ट गरिए । मुस्लिम आक्रमणकारीहरूले आफ्नै सल्तनतमा सीमित नरहेर नेपालका आराध्यदेव पशुपतिनाथको मन्दिरलगायत अरू थुप्रै देवस्थलहरू तोडफोड गरेका थिए, जस्को अवशेष आज पनि कतिपय देवमूर्तिहरूमा देख्न सकिन्छ ।

त्यति सबै गर्दागर्दै पनि मुसलमान र त्यसपछिका इसाई शासकले यहाँको धर्म-संस्कृतिलाई समाप्त पार्न सकेनन् । यो हाम्रो सामाजिक जीवनको अत्यन्त सबल पक्ष हो। नेपालमा मात्रै होइन उत्तर-पूर्वी हिन्दुस्तानका गाउँगाउँमा स्थानीय देवदेवीहरूको आ-आफ्नै पद्धतिले उपासना गर्ने गरेको पाइन्छ । षष्टिदेवी, मनसादेवी, शीतलादेवी, अषाडि देवीहरू वैदिक परम्परामा पर्दैनन् ।

तर सम्पूर्ण हिमोसियाका समाजमा रासेश्वरी राधा र यशोदानन्दन श्रीकृष्ण अत्यन्त पूजित देवतामा पर्छन् । नेपालका अधिकांश तराई र पहाडी समुदायमा राधा-कृष्णको गाथा, चरित्र अभिनय आदि गर्ने लोकप्रिय सांस्कृतिक धार्मिक प्रचलन रहेको पाइन्छ । सुदूरपश्चिमको गौरापर्व श्रीकृष्ण जन्माष्टमीको दिन मनाइने ठूलो धार्मिक चाड हो । घाँटु, सोरठी, बालन, चुड्का, कीर्तन र गाउँहरूमा खेलिने नाटकहरूमा कुनै न कुनै रूपको राधा-कृष्णको चरित् चित्रण गर्ने प्रचलन अहिले पनि पूर्ववत् देखिन्छ ।

नेपालमा आग्नेयदेशी, आर्यावर्तीय आर्य, द्रविड वंशज जातिहरूको प्रचीनकालदेखिको बसोवास रहँदै आएको छ । एक सय २५ भाषाभाषी हिमाल, पहाड र तराईमा बसोबास गरेकोले होला उनीहरूका आ-आफ्नै रीति-थिति, धार्मिक आस्था र सांस्कृतिक व्यवहारको सामाजिक सहजीवनमा नेपाली समाज जोरिएको छ । नेपाल यस अर्थमा विशेष पहिचानको राष्ट्र हो । यसरी सयौं सय वर्षदेखिको सहजीवनमा पनि स्थानीय र वैदिक दुवै प्रकृतिको धार्मिक र सांस्कृतिक सम्मि श्रणमा नेपाल राष्ट्रको पहिचान बनेको छ ।

ज्ञानदिल दास, विद्यापति, चैतन्य, रसखान, मीरा आदि नेपाल र हिन्दुस्तानका सन्त कविहरूले राधा-कृष्णको चरित्र उपर कालजयी काव्य रचना गरेका छन्, ती सन्तकविहरू अमर छन् । राधाकृष्णको जीवन-चरित्र हाम्रो समाजको धार्मिक र आध्यात्मिक जीवनको अभिन्न अंग बनेको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.