राजा त्रिभुवनले जब जहाज चढे

राजा त्रिभुवनले जब जहाज चढे

भारत सरकारको पहिलो राजदूत भई सुरजित सिंह मजेठिया काठमाडौं आउनुभएको थियो । उहाँबाट पनि नेपालका राजनीतिक दलहरूलाई केही समर्थन थियो । केही समयमा नै सुरजित सिंहको बदलामा चन्द्रेश्वरप्रसाद नारायण सिंह राजदूत भई आउनुभयो । उहाँलाई पनि प्रधानमन्त्री पण्डित नेहरूले नेपालमा केही गर्नका लागि नै पठाउनुभएको थियो ।

चन्द्रेश्वरप्रसाद पटना विश्वविद्यालयका उपकुलपति भइसक्नुभएकाले राणा शासन एवं नेपालको राजनीतिक अवस्थाबारे जानकार हुनुहन्थ्यो ।श्री ५ त्रिभुवनबाट पछिल्ला राजदूतलाई भेट गर्ने ठूलो इच्छा राखिबक्सेको थियो । उहाँबाट राणाशासनको विरोधमा केही अवश्य हुनेछ भन्ने आशा मौसुफबाट राखिबक्सेको थियो ।श्री ५ बडामहारानीका बहिनीहरू काशिपुर विरापुरबाट दिदीलाई भेट्न नेपाल आउनुभएको थियो ।

उहाँहरूलाई त्रिपुरेश्वर गेस्ट हाउसमा राखिएको थियो । उहाँहरू दिनहुँ श्री ५ बडामहारानीहरूसँग भेट गर्न दरबार आउनुहुन्थ्यो । त्यस्तै भारतीय राजदूतावासमा पनि बरोबर जाने गर्नुहुन्थ्यो । उहाँहरूमार्फत राजदूत सिंहसँग श्री ५ महाराजाधिराजको सम्पर्क हुने वातावरण बन्यो । त्यस्तै डा. देवव्रतमार्फत पनि राजदूत रश्री ५ त्रिभुवनका कुराहरू ओहोरदोहोर हुन्थ्यो ।

त्यसै समय अर्थात् २००५ साल फागुनको अन्त्यतिर श्री ५ बडामहारानीको उपचारका लागि भारतबाट काठमाडौं आउनुभएकी नर्स एरिका लुस्टागमार्फत पनि राजदूत सिंहसँग सम्पर्क हुन थाल्यो । डा. देवव्रतले श्री ५ महाराजाधिराजसँग एक्लै भने दर्शन पाउनुहुन्नथ्यो, दरबारमा कर्नेल अथवा प्रधानमन्त्रीको विश्वासिलो मानिसका साथमा मात्र दर्शन पाउनुहुन्थ्यो ।

डा. देवव्रत श्री ५ अधिराजकुमारहरूकहाँ पनि बरोबर जाने गर्नहुन्थ्यो । नर्स लुस्टाग दरबार तथा भारतीय दूतावासमा जानेआउने गर्नुहुन्थ्यो । त्यस्तो अवस्थामा श्री ५ महाराजाधिराजबाट राजदूतलाई एक्लै भेट्ने कुरा सम्भव थिएन । कसरी उत्सव अर्थात् शिवरात्रि, फूलपाती आदिमा टुँडिखेल खरीको बोटमा मात्र भेट हुन्थ्यो तर त्यहाँ कुनै कुरा भने हुन सक्दैनथ्यो ।

मोहनशमशेरको समयमा हप्ताको दुईपटक काठमाडौं र पटनाको हवाई सेवा सुरु भएको थियो ।श्री ५ त्रिभुवनले हवाईजहाज देखिबक्सेको थिएन । त्यसैले हवाईजहाज हेर्ने योजना बनाएर बडामहारानी र शाहजादी सरकारहरूका साथै मौसुफ गौचर सवारी होइबक्सियो । आफ्ना सचिवका साथ भारतीय राजदूत चन्द्रेश्वरप्रसाद नारायण पनि हवाईजहाज नजर गराउन गौचर विमानस्थलमा आउनुभएको थियो ।श्री ५ महाराजाधिराजको सवारीसाथ राणा जर्नेल योगविक्रम राणा (प्रधानमन्त्रीका मानिस) पनि हुनुहुन्थ्यो ।

मोहनशमशेरको समयमा हप्ताको दुईपटक काठमाडौं र पटनाको हवाई सेवा सुरु भएको थियो ।श्री ५ त्रिभुवनबाट हवाईजहाज कहिल्यै देखिबक्सेको थिएन । त्यसैले हवाईजहाज हेर्ने योजना बनाएर बडामहारानी र शाहजादी सरकारहरूका साथ मौसुफ गौचर सवारी होइबक्सियो । आफ्ना सचिवका साथ भारतीय राजदूत चन्द्रेश्वरप्रसाद नारायण पनि हवाईजहाज नजर गराउन गौचर विमानस्थलमा आउनुभएको थियो ।श्री ५ महाराजाधिराजको सवारीसाथ राणा जर्नेल योगविक्रम राणा (प्रधानमन्त्रीको मानिस) पनि हुनुहुन्थ्यो ।

श्री ५ को सवारी गौचरमा पुगेपछि राजदूत सिंह आफैंले मोटरको ढोका खोजी सरकारको दर्शन गर्नुभयो । राजदूत सिंहले श्री ५ त्रिभुवनलाई हवाईजहाज नजर गर्न बिन्ती चढाएर विमानभित्र सवारी चलाउनुभयो । सैनिक जनरल योगविक्रमका साथ बडामहारानीहरू सबै गौचरमा नै होइबक्सिन्थ्यो ।

श्री ५ महाराजाधिराज एक्लैलाई लिएर राजदूत सिंह विमानभित्र पस्नुभयो । एकछिनपछि विमान उडाएर काठमाडौंको आकाशमा दुईतीनपटक घुमाइयो । त्यही मौका मिलाएर श्री ५ त्रिभुवन र भारतीय राजदूत सिंहबीच पहिलोपटक ४५ मिनेटजति आकाशमै कुराकानी भएको थियो ।

त्यसपछि जर्नेलले श्री ५ बडामहारानी र शाहजादीहरूलाई विमानमा सवारी चलाउनुभयो । राजदूत पनि साथमा नै हुनुहुन्थ्यो । त्यस बखत श्री ५ त्रिभुवन भने पालतमा राज होइबक्सिएको थियो । त्यो योजना पहिले नै गुप्त रूपमा तय भएकाले कसैलाई पनि थाहा भएन । राजदूत सिंहसँगको त्यो गुप्त भेटबाट भारत सरकार नेपालमा प्रजातन्त्र स्थापना गर्ने पक्षमा रहेको कुरा श्री ५ लाई बोध भएको थियो । त्यसै कारण श्री ५ मा आत्मबल निकै बढ्यो ।

मोहनशमशेर तथा उहाँका भाइहरूलाई राजदूत सिंहले श्री ५ महाराजाधिराजलाई एक्लै विमानमा सवारी चलाएको मन परेको थिएन । यद्यपि त्यस विषयमा उहाँहरूले राजदूतसँग बोल्न भने सक्नुभएन ।

जनतामा पनि मोहनशमशेरप्रति आस्था घट्दै गएको थियो । त्यस बखत मोहनशमशेरको परिवारमा त्यति राम्रो मेल नभएको सुनिन्थ्यो । शंकरशमशेर हजुरिया जर्नेल पद छाडी राजदूत भएर बेलायत जानुभएको थियो । शारदाशमशेरलाई परराष्ट्रको महानिर्देशक पदमा नियुक्ति गरिएको थियो । परराष्ट्रको हाकिममा सरदार नरेन्द्रमान सिंह र सरदार नरेन्द्रमणि दीक्षितको नियुक्ति गरिएको थियो ।

श्री ३ महाराजसँग राय नमिलेकाले सरदार नरेन्द्रमाथ सिंहले आफ्नो जागिरबाट राजीनामा दिनुभएको थियो । त्यस बेला प्रधानमन्त्रीको हुकुमलाई काटी राजीनामा दिनु सानो कुरा थिएन । त्यसबाट पनि उच्चपदस्थ भारदारमा मोहनशमशेरको शासनमाथि विश्वास घटेर गएको देखिन्थ्यो ।

श्री ३ महाराजको प्रशासनमा विशेष त्रुटि बढ्दै गएका थिए । शासनसत्तामा रहेका राणाहरूबीच आपसी कलह हुनु, भारत सरकारद्वारा श्री ५ सँग निकट हुने प्रयास हुनु, नागरिक अधिकारको माग राख्दै नेपाली जनताले सत्याग्रह गर्नु, नेपाली कांग्रेसले प्रजातन्त्रका लागि संगठन विस्तार गर्दै लैजानु र पर्चा तथा भारतीय अखबारमा राणा शासनका विरोधमा खबरहरू छापिनुजस्ता घटनाबाट मोहनशमशेरको शासन लामो समयसम्म नटिक्ने संकेत देखिएको थियो । त्यस्तै श्री ५ त्रिभुवनसँग पनि महाराजको सम्बन्ध नराम्रो हुँदै गएको थियो ।

त्यसैबीच युवराज्ञी इन्द्रराज्यलक्ष्मीको गाथमा आराम भएन । त्यसै समयतिर अर्थात् २००७ साल साउन महिनातिर गणेशमान सिंह, सुन्दराज चालिसेहरू हातहतियारका साथ गोप्य रूपमा काठमाडौं आइपुग्नुभएको खबर मैले पाएँ । उहाँहरूले मसँग भेट गर्न खोज्नुभएकाले मैले उहाँहरूलाई बेलुका ताहाचल घरमा भेट गर्ने खबर पठाएको थिएँ ।

श्री ५ त्रिभुवनलाई पनि उहाँहरू आउनुभएको खबर जाहेर गरेँ ।श्री ५ महाराजाधिराजबाट हुकुम भयो, 'भेटेर कुरा गर्नू, उहाँहरूको प्रोग्राम के छ, राम्ररी बुझ्नू ।'

'गणेशमानजी यहाँ आउन नहुने, अरू नै कोही आए हुने थियो । गणेशमानजी जेलबाट भागेर भारत गएको, उहाँको नाममा वारेन्ट पनि छ । गणेशमानजीलाई जिउँदो अथवा मृत पक्रेर ल्याएमा ठूलो इनाम दिने घोषणा भएको छ । गोप्य रूपमा उहाँहरूको बासको व्यवस्था गर्नू । होसियारीसाथ उहाँहरूलाई भेट्नू" मौसुफबाट हुकुम भयो ।

उता युवराज्ञी सरकारलाई आराम नभएकाले उपचार गरिए पनि केही सुधार हुन नसकेकाले श्री ५ त्रिभुवन र युवराजहरूमा ठूलो चिन्ता परेको थियो ।

गणेशमानजी र चालिसेजीसँग दिनहुँ ताहाचल घरमा गोप्य रूपमा बेलुका मेरो भेट हुने गथ्र्यो । ताहाचल घर खाली नै भएकाले कसैको ध्यानमा परेको थिएन । गणेशमानजी र सुन्दरराजजीले दिनहुँ नयाँनयाँ योजनाबारे कुरा गर्नुहुन्थ्यो । कहिले श्री ५ त्रिभुवनलाई काठमाडौंबाट भगाएर बाहिर लैजाने भन्नुहुन्थ्यो त कहिले टुँडिखेलमा सवारी चलाउने र जनरल महावीरशमशेरको हिमालयन एअरवेज विमान अवतरण गराई त्यसैबाट बाहिर लैजाने सोच बनाउनुहुन्थ्यो ।

त्यसैगरी श्री ५ युवराज्ञी इन्द्रराज्यलक्ष्मीलाई सारै आराम नभएको खबर गरी राणा प्रधानमन्त्रीलगायत सत्र भाइलाई एकै स्थानमा जम्मा गरेर हाते बमले उडाउने प्रस्ताव पनि गरिएको थियो । यस्तै अनेकौं प्रस्ताव राखिन्थे । ती प्रस्ताव श्री ५ त्रिभुवनमा बिन्ती चढाउन उपयुक्त लागेन ।

श्री ५ त्रिभुवनबाट बक्सेको खर्च बरोबर उहाँहरूलाई दिने गरेको थिएँ । गणेशमानजी र सुन्दरराजजी काठमाडौंमा गोप्य रूपमा मानिसहरू भेटी राणाविरोधी संगठन बनाउन सफल हुनुभएको थियो ।

इन्द्रजात्रामा कुमारीको रथ सँगसँगै प्रधानमन्त्रीलगायत उच्चपदस्थ राणाहरू सहर घुम्ने गर्नुहुन्थ्यो । त्यस बखत कोही हात्तीमा, कोही बग्गीमा र कोही घोडामा जंगी पोसाकमा सवार हुनुहुन्थ्यो । त्यसै बखत उहाँहरूमाथि बम हान्ने योजना पनि बनेको थियो । उहाँहरूले सोच्नुभएको त्यो योजना पनि त्यति सजिलो थिएन ।

विभिन्न भेटमा विभिन्न योजनाबारे जानकारी पाएपछि मैले गणेशमानजी र सुन्दरराजजीलाई भनेँ, 'तपाईंहरूले बनाउनुभएको योजनाबाट काम सफल हुन सक्दैन, बरु यसबाट राणाहरूको आँखा खोल्ने काम मात्र हुनेछ । त्यसबाट हामीलाई राणा शासनविरुद्ध क्रान्ति गर्न झन् मुस्किल पर्नेछ ।'

उहाँहरूले पनि मेरो कुरा स्वीकार्नुभयो । उहाँहरूसँग भेटमा भएका कुराहरू म श्री ५ त्रिभुवनमा जाहेर गर्थें ।
श्री ५ त्रिभुवनको कार्यदक्षता बुझ्न राणाहरूलाई मुस्किलै थियो । श्री ३ जुद्धशमशेरको समयमा मौसुफको हजुरिया जर्नेल बहादुरशमशेर र नरशमशेरहरूसँग गरिहो मित्रता थियो ।श्री ३ पद्मशमशेरको समयमा मौसुफबाट जर्नेले नरेन्द्रशमशेर (पुन्टे) र वसन्तशमशेरसँग गहिरो मित्रता गरिबक्सियो ।

श्री ३ मोहनशमशेरको समयमा मौसुफको जर्नेल शारदा र विजय शमशेरसँग एकदम मित्रता थियो । यो सबै श्री ५ त्रिभुवनको कूटनीतिज्ञतको परिचय थियो । मौसुफ कसैलाई पनि सजिलैसँग हातमा लिन सकिबक्सिन्थ्यो, सबैसँग सरल र मीठो भाषामा कुरा गरिबक्सिन्थ्यो । श्री ५ त्रिभुवनबाट हुकुम होइबक्सेको कुरालाई सबैले मन पराउँथे र मान्दथे पनि ।

श्री ५ अधिराजकुमारहरू पनि भारततिर कहिले सवारी होइबक्सेको थिएन । मौसुफहरू कलकत्ता नजर गर्न इच्छा गरिबक्सिन्थ्यो ।श्री ३ महाराज पद्मशमशेरले श्री ५ अधिराजकुमारहरूलाई भारतको कलकत्ता सवारी होइबक्सिन मञ्जुरी दिइबक्सेको थियो ।

त्यो भ्रमणको मुख्य उद्देश्य जनरल सुवर्णशमशेर र महावीरशमशेरसँग भेट गरी नेपाल राजनीति र राणाशासनको विरोधबारे कुरा गर्नु थियो । राणाहरूले भने अधिराजकुमारहरू जवान होइबक्सेकाले देशविदेश नजर गर्ने इच्छा राखिबक्सेको ठानेका थिए । श्री ५ अधिराजकुमारहरूको सवारी चलाउन सरदार पशुपतिभक्त र राणा कर्नेल खटिनुभएको थियो ।

सरदार पशुपतिभक्त महाराज पद्मशमशेरको ठूलो विश्वासिलो हुनुहुन्थ्यो । महाराज पद्मशमशेरको समयमा पशुपतिभक्त निकै प्रभावशाली हुनुहुन्थ्यो । उहाँलाई महाराजको खोपीसम्म जानआउन रोकतोक थिएन ।

गणेशमानजी र सुन्दरराजजी काठमाडौंमा हुनुभएको जानकारी श्री ३ महाराज मोहनशमशेरलाई गुप्तचरहरूबाट भयो । महाराजबाट चारजना कमान्डिङ जनरल र अरू पत्यारका राणा जनरलहरूलाई बोलाइ सिंहदरबाट बैठक गर्नुभयो । खासगरी गणेशमानहरूलाई पक्रने विषयमा उक्त बैठक बोलाइएको थियो ।

यो खबर मैले मेरा साथीबाट पाएको थिएँ । त्यसबारे दरबारमा श्री ५ महाराजाधिराजमा जाहेर गर्नु जरुरी थियो । दरबारबाट निस्केपछि बेलुका दरबारभित्र पस्न कर्नेल साहेबको आदेश चाहिन्थ्यो । तत्काल श्री ५ लाई भेट्न मसँग केही उपाय थिएन । त्यसैले युवराज्ञी सरकारलाई औषधि लिन पठाइबक्सेकाले औषधि लिएर आएको बहानामा दरबारभित्र पस्ने योजनाका साथ दरबारतिर लागेँ । दरबारको ढोकामा गारतका हाकिम कप्तान भण्डारी हुनुहुन्थ्यो ।कप्तान साहेबको सोध्नुभयो, 'डिठ्ठा साहेब ! यस बेला कहाँबाट आउनुभयो ? '

मैले तुरुन्त 'युवराज्ञी सरकारका लागि औषधि लिन पठाइबक्सेको थियो, बल्ल पाएर लिएर आएको' भन्दै औषधिको पोको देखाएँ । त्यसपछि 'जानुहोस्, भित्र औषधि जरुरी छ होला' भन्दै जान दिनुभयो । सरकारहरू सबै युवराज्ञी राज होइबक्सेको स्थान महेन्द्र मञ्जिलमा होइबक्सिन्थ्यो । महेन्द्र मञ्जिलको ढोकामा गई 'औषधि लिएर हाजिर भएको छु' भनी श्री ५ महाराजाधिराजमा बिन्ती चढाइदिन भनेँ । ढोकेले हाजिर पुर्‌याउनासाथ कर्नेल नारायणनरसिं राणा बाहिर ढोकामा आउनुभयो ।

'किन दयाराम यसबलो ? ', उहाँले सोध्नुभयो ।कर्नेल साहेबलाई पनि औषधिको पोको देखाई औषधि लिएर आएको बिन्ती गरेँ । उहाँले मलाई भित्र लिएर जानुभयो । सबै सरकार युवराज्ञी आराम भएको खोपीमा राज होइबक्सेको थियो । कर्नेल साहेबले मैले औषधि लिएर आएको छ भनी श्री ५ महाराजाधिराजमा हाजिर पुर्‌याएपछि श्री ५ महाराजाधिराज खोपीबाट बाहिर सवारी होइबक्सियो र सोधनी गरिबक्सियो, 'औषधि सबै पायौ ? ' मैले पनि बिन्ती चढाएँ, 'पाएको जति ल्याएको छु, सरकार !'

श्री ५ बाट अर्को खोपीमा लगिबक्सियो । हजुरिया कर्नेललाई अर्कै काममा बाहिर पठाई मलाई सोधिबक्सियो, 'यस बेला एक्कासि किन आएको ? '

'गणेशमानजीहरू आउनुभएको थाहा पाएर श्री ३ महाराजले अहिले बेलुका दाजुभाइहरूलाई बोलाई बैठक गर्नुभएको खबर पाएको छु, सोही कुरा सरकारमा जाहेर गर्न हाजिर भएको बेलुका कर्नेल साहेबको आदेश नभई दरबारभित्र आउन पाइँदैन । सरकारबाट औषधि लिन पठाइबक्सेकाले औषधि लिएर आएको भनेपछि मात्र ढोकाको कप्तानले भित्र आउन दियो ।'

श्री ५ त्रिभुवनबाट हुकुम भयो, 'गणेशमानहरूलाई अरू मानिस भेट्न बन्द गर्नु र भूमिगत बस्नु भन्नू ।' कर्नेलको अगाडि सरकारबाट हुकुम भयो, 'भोलि अर्को औषधि पनि लिएर आउनू ।'

त्यहाँबाट फर्केर मेरा आफ्ना मानिसहरूलाई गणेशमान र सुन्दरराज चालिसेकहाँ श्री ५ का सबै खबर पुर्‌याउन तथा भोलि ताहाचलमा मलाई भेट्नका लागि खबर गर्न पठाएँ ।

भोलिपल्ट साबिकबमोजिम दरबार गएँ । माथिको खबरले गर्दा धेरै होसियार हुनुपर्‌यो । अहिले के हुन्छ, भरे के हुन्छ भन्ने त्रासमा थिएँ । डर त हुने नै भयो । केही भएर गणेशमान र चालिसेलाई पक्रियो भने मलाई पनि बाँकी राख्ने सम्भावना थिएन । त्यसका साथै श्री ५ त्रिभुवन एवं युवराजहरूलाई पनि राणाले केही गर्न सक्छन् भने कुरा मनमा खेल्न थाल्यो । यस्तै कुरा मनमा खेलाएर श्री ५ त्रिभुवनको दर्शनका लागि पर्खी बसेँ ।

श्री ५ त्रिभुवन एक्लै राज होइबक्सेको मौका पारी बिन्ती गरेँ, 'आज बेलुका गणेशमान र सुन्दरराज चालिसेलाई भेट्ने कार्यक्रम छ । उहाँहरूसँग भावी प्रोग्रामबारे छलफल गर्नेछु ।'

इन्द्रराज्यलक्ष्मीको स्वर्गारोहण

श्री ५ युवराज्ञी इन्द्रराज्यलक्ष्मीको स्वर्गारोहण २००७ साल भदौ महिनामा भयो । पशुपति आर्यघाटमा लैजान सेनाको टुकडी, बाजा इत्यादि दरबारमा व्यवस्था हुँदै थियो । शवयात्राका लागि जंगी तथा निजामती कर्मचारी सामेल गरिएको थियो । स्वर्गीय युवराज्ञीको शवयात्राका लागि जंगी तथा निजामती कर्मचारी सामेल गरिएको थियो । स्वर्गीय युवराज्ञीको शव पालकीमा राखी राजकीय ढंगबाट पशुपति आर्यघाटतर्फ शवयात्रा अगाडि बढाइयो ।

श्री ५ त्रिभुवन, युवराजाधिराज, अधिराजकुमार महेन्द्र मञ्जिलमा शोकसन्तप्त होइबक्सिन्थ्यो । त्यस्तो अवस्थामा पनि श्री ५ त्रिभुवनबाट छोराहरू र मलाई राखी हुकुम भयो, 'गणेशमान र चालिसेलाई सकेसम्म छिटो नेपालबाट भगाउने अथवा भूमिगत रूपमा राख्ने व्यवस्था मिलाउनु अति आवश्यक छ ।'

त्यसका लागि के कसो गर्ने भन्नेबारे छलफल भयो । सबैजना शोकले विह्वल भइरहेको, त्यसमा युवराज्ञी स्वर्गे भएको बेलामा पनि धैर्य गरी सरकार छलफलमा राज होइबक्सेको देखेर मलाई आश्चर्य लाग्यो । त्यस्तो दुःखको समयमा पनि आइपर्न लागेको आपत्बारे छलफलमा भाग लिनु युवराज महेन्द्रको धैर्यको प्रतीक थियो । साधारण मानिसले त्यस्तो दुःखलाई त्यसरी सहन सक्दैन ।

निर्धारित योजनाअनुसार बेलुका ताहाचलमा गणेशमान र सुन्दरराज चालिसेसँग भेट भयो । आफूहरू राजधानी आएको राणाहरूले थाहा पाएको खबर पाउँदा उहाँहरूलाई ग्लानि भएको पाएँ ।

उहाँहरूले भन्नुभयो, 'अब के गर्ने ? भाग्न त सकिँदैन होला । भूमितल कति दिन बस्ने ? एउटा उपाय छ, दयाराम भाइ । तपाईं कलकत्ता गई प्रधान कार्यालयमा भनी छिट्टै एक्सनमा आएमात्र हामी बाँच्नेछौं । नत्र अरू उपाय छैन । हामी भूमितल भएर बस्नेछौं तर सकेसम्म छिटो तपाईं कलकत्ता जानुपर्‌यो । तत्काल यो कदम नचालेमा हाम्रो कार्य सबै व्यर्थ हुनेछ र हामीलाई पनि समातेर झुन्ड्याइनेछ । तपाईं जसरी भए पनि गएमात्रै हाम्रो कार्य सफल हुनेछ । तपाईं जाँदा हामीलाई खर्चको बन्दोबस्त पनि गरेर जानुहोस् ।'

कुरा सिद्धिएपछि उहाँहरूलाई बिदा गरी आफू पनि घरतिर लागेँ ।भोलिपल्ट त्यसै विषयमा विचार गरी बसेँ । केही सोच्न पनि सकिनँ । मेरा मानिसहरूलाई पनि गणेशमानजीहरू आउनुभएको खबर राणाहरूले थाहा पाइसकेकाले भूमिगत रूपमा सूचना दिएँ । पक्कै पनि गणेशमान, सुन्दरराजहरूसँग सम्बन्ध भएकाहरूबाटै उहाँहरूबारे राणालाई खबर दिएको हुनुपर्ने अनुमान गरेँ ।

सबै नेपालीले कपाल खौरी श्री ५ युवराज्ञी इन्द्रराज्यलक्ष्मीको स्वर्गारोहणको आसौच बार्नु भन्ने आदेश भयो । कपाल नखौरिने युवकहरूलाई समाती प्रहरीले खुकुरीले कपाल काट्न थाल्यो । त्यसरी प्रहरीले जबरजस्ती गरेको सर्वसाधारणलाई मन परेन । त्यसले गर्दा मानिसहरू राणा शासनविरुद्ध झन् कुरा गर्न थाले ।

काठमाडौंमा राणा सरकारको विरोधमा अनेक किसिमका हल्ला चल्न थालेका थिए । बेलुका सबै गइसकेपछि श्री ५ त्रिभुवनले बिलियार्ड बैठकमा तीन भाइ छोरा र मलाई राखी छलफल गरिबक्स्यो । त्यस अवसमरा मैले गणेशमानजीले मलाई तुरुन्त कलकत्तास्थित प्रधान कार्यालयमा गई आन्दोलन सुरु गराउन आग्रह गर्नुभएको कुरा पनि जाहेर गरेँ ।

गणेशमानजीले 'तत्काल यो कदम नचालेमा हाम्रो कार्य सबै व्यर्थ हुनेछ र हामीलाई पनि समातेर झुन्ड्याइनेछ, तपाईं गएमात्रै हाम्रो कार्य सफल हुनेछ' भन्नुभएको पनि सुनाएँ । मेरो कुरा सुनेर सरकारहरू चुप लागिबक्सियो । एकछिन त्यहाँ सन्नाटा छायो ।

सरकारले मसँग सोधिबक्सियो, 'तिम्रो विचारमा के गर्नुपर्ला ? वारेन्ट भएको मानिस गणेशमानजी आउन नहुने ।'
'सरकारबाट जसो हुकुम होइबक्सिन्छ, म गर्न तयार छु', मैले बिन्ती चढाएँ ।

त्यस बखत अनेक किसिमका छलफल भए तर निष्कर्षमा आउन सकिएन । दुई घन्टा बित्यो, के गर्ने भन्ने कुरामै छलफल अल्झिरह्यो । श्री ५ युवराजाधिराजबाट बिन्ती चढाइबक्सियो, 'दयारामलाई कलकत्ता पठाइबक्सिनु पर्ला ।'

श्री ५ महाराजाधिराज एकैछिन गम्भीर होइबक्सियो । मौसुफबाट हुकुम भयो, 'दायारामलाई पठाएर यहाँको काम कसले गर्ने ? उनी एकजना भएकाले सबै खबर थाहा पाइरहेका छौं, सम्बन्ध भइरहेको छ ।'

फेरि सन्नाटा छायो । धेरै बेरसम्म अरू उपाय खोजियो तर कुनै राम्रो उपाय पहिल्याउन सकिएन । आखिरमा श्री ५ महाराजाधिराजबाट मलाई कलकत्ता पठाउनु नै बेस हुने हुकुम भयो ।

सरकारबाट हुकुम भयो, 'तिमी जाने सबै मिलाउनू र गणेशमानहरूलाई कसैलाई नभेट्नु, गोप्य स्थानमा आफ्नो सुरक्षा गर्नू भन्नू ।”

करिब दुई घन्टाको छलफलपछि छोराहरूलाई बिदा बक्सियो ।

'कप्तान अम्बरबहादुरलाई दसैंका लागि माल लिन कलकत्ता पठाउनुपर्ला, तिमी पनि उनीसँगै जाने मिलाउनुपर्ला' हुकुम भएर मलाई पनि बिदा बक्सियो ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.