गोसाइँकुण्डमा घर बनाए स्वर्गमा बास पाइन्छ रे !

 गोसाइँकुण्डमा घर बनाए स्वर्गमा बास पाइन्छ रे !

रसुवा जिल्लामा पर्ने गोसाइँकुण्ड नेपालकै महत्वपूर्ण तीर्थस्थल हो । हिन्दु, बौद्घ तथा तान्त्रिक (वोन्पो) धर्म अनुयायी सबैका लागि अत्यन्तै महत्वपूर्ण गोसाइँकुण्ड क्षेत्रमा ज्येष्ठ-पूर्णिमा, श्रावण-पूर्णिमा तथा दसैंमा विशेष पर्व लाग्छ । विशेषतः श्रावण-पूर्णिमासँगै दसैंसम्म गोसाइँकुण्ड तीर्थयात्राको क्रम सुरु हुन्छ ।

गजेन्द्र आङदेम्बेको संयोजनमा मलगायत उपप्राध्यापक सरोज घिमिरे, रुकमांगद काफ्ले, बाबुराम तिमिल्सिना आदि गरी एघारजनाको टोली पोहोर साल गोसाइँकुण्ड पुगेका थियो । काठमाडौंको बालाजुबाट बस चढेर नौ घन्टामा रसुवाको सदरमुकाम धुन्चे पुग्यौं । भोलि बिहानै धुन्चेबाट गोसाइँकुण्डका लागि पैदल यात्रा सुरु भयो ।

बाटोभरि गोसाइँकुण्ड जाने तीर्थालुहरू प्रशस्तै भेटिए । उनीहरूमध्ये कोही तलबाट माथि गइरहेका थिए कोहीचाहिँ माथि गोसाइँकुण्डको तीर्थ अथवा कुण्डमा स्नान गरेर तल फर्किरहेका थिए ।

तीर्थालुहरू बालक, युवा तथा वृद्धवृद्धा सबै किसिमका थिए । ‘हिमालय स्प्रिङ वाटर’को बोर्डनेरैबाट घट्टेखोला पुग्यौं । अघिः केही पानीघट्टहरू राखिएको हुनाले त्यस जग्गालाई घट्टेखोला भनिएको रहेछ । उक्त (घट्टेखोला) जग्गामा पाल, चित्र र काठको तक्ताबाट बनाइएका केही अस्थायी होटलहरू पनि थापिएको थियो । स्थानीयवासी त्यस्ता अस्थायी होटलहरूलाई ‘थर्पु’ भन्दा रहेछन् ।

 खासगरी गोसाइँकुण्ड जाने तीर्थयात्रीको सेवाका लागि साउन महिनाको एकादशी तिथिदेखि पूर्णिमा तिथिसम्म घट्टेखोलादेखि माथि गोसाइँकुण्डसम्म नै केही दूरीको अन्तर गरी प्रत्येक ठाउँठाउँमा स्थानीयवासीले त्यस्ता थर्पुहरू थापेका हँदा रहेछन् ।

अन्दाजी दुई घन्टाको उकालो हिँडाइपछि ‘टङचेन डाँडा’ पुग्यौं । स्थानीय तामाङ भाषामा राखिएको ‘टङचेन डाँडा’लाई आजभोलि ‘देउराली डाँडा’ भनिँदो रहेछ । ‘टङचेन डाँडा’ (देउराली डाँडा) मा एउटा स्थायी किसिमको होटेल थियो । गोसाइँकुण्ड तीर्थ जाने तथा मेला भर्नेहरूको बाक्लो आगमनले हुनसक्छ ‘टङचेन डाँडा’ (देउराली डाँडा) का होटल तथा थर्पुहरूमा मानिसहरू खचाखच थिए ।

मन्दिरको पूर्वतिर पाँचजना तामाङ झाँक्री (बोन्पो) र चारजना झाँक्री (बोन्पो) प्रति आस्था राख्ने विदेशी मानिसहरू ढ्यांग्रो बजाउँदै मन्त्र उचारण गर्दै बसिरहेका थिए ।

थोरैमाथि पुगेपछि बाटोमा भार्खुगाउँका एकजना तामाङ युवक घोडा लिएर ग्राहकको प्रतीक्षामा उभिरहेको भेटिए । उनले प्रतिव्यक्ति ६ हजार रुपैयाँका दरले चन्दनबारीदेखि माथि गोसाइँकुण्डसम्म घोडामा लैजाने रैछन् ।

हामीले भने हिँड्ने नै निर्णय गर्‍यौं । आकाशबाट साउने झरी पनि बर्सिन थाल्यो । बाटो असारे रोपाइँ हिल्याएझैं हुन थाल्यो । ज्यान ढाकेको पातला प्लास्टिकबाट पानी छिरेर शरीर निथ्रुक्क भिज्न थाल्यो । कठिनाइका ‘चोलाङपाटी’ पुग्यौं । चोलाङपाटीमा एकदुईवटा स्थायी होटलहरू थिए । होटल आसपासका खाली जग्गाहरूमा स्याफ्रु-गाउँका तामाङहरूले थर्पुहरू थापेका थिए । गोसाइँकुण्ड जाने/आउनेहरूको भीडभाड त्यहाँ अत्यन्तै थियो । ठूलो स्याफ्रुका निमादोर्जे लामा (तामाङ) ले थापेको थर्पुमा सामान्य दालभात खाएर त्यो रात त्यहीँ बितायौँ ।

अर्को दिन बिहान सबेरै चोलाङपाटीबाट हामी बाटो लाग्यौं । बिहानीको झिसमिसेमा झरी र हुस्सुका कारण बाटो चिन्न हम्मेहम्मे भएको थियो । छामछुम गर्दै उकालोको बाटोलाई पछ्याएर अघि बढ्यौं । थोरै माथि उक्लेपछि लौरीविनायक (लौरीबिना) पुग्यौं । बल्ल पूर्वतिर झुल्के घाम देखिन थाल्यो ।

घामको किरणले उत्तरपश्चिमतिर अजंग रूपले बसेको गणेश हिमाल, दोर्जे लाक्पा हिमाल र लाङटाङ हिमाल पनि टलक्क टल्किन थाले । पारि हाक्कु, गात्लाङ, थङविन आदि गाउँमा छिटफुट घरहरू देखिन थाले । बल्ल पो सुरु हुँदै थियो हिँड्नुको मज्जा । लौरीविनायक (लौरीबिना) देखि माथि बाटोको प्रत्येक मोडमा तीर्थयात्रीहरूले पितृहरूको सम्झनास्वरूप दुईचारवटा ढुंगा ठाडो पारेर माथिबाट चेप्टो ढुंगा तेस्र्याई बनाएका ससाना ढुंगाका घरहरू प्रशस्तै भेटिन्थे ।

जनविश्वासअनुसार गोसाइँकुण्ड तीर्थ जाँदा बाटोमा यसरी ढुंगाका घरहरू बनाइए मरेपछि स्वर्ग बास पाइन्छ रे । साथै विवाहितहरूले बनाए आफ्नो घरपरिवार पनि दरिलो बन्छ रे, अविवाहितहरूले बनाएचाहिँ चाँडै उनीहरूको घरजम हुन्छ रे । अन्दाजी आधा घन्टाको उकालो हिँडाइपछि हामी बुद्घ गुम्बा डाँडामा पुग्यौं । त्यस (बुद्ध गुम्बा) डाँडामा पनि लहरै थर्पुहरू थापिएको थियो । बुद्ध गुम्बा डाँडाको पूर्वउत्तरतिर अटल रूपले बसेका नौ कुण्ड पहाडहरू देखिन थाले ।

गुम्बाको प्रांगणमा स्याफ्रु गाउँका तामाङ युवकयुवतीहरू ‘सेसे बोन्पो’ गीत गाउँदै ‘स्याफ्रु नाच’ नाचिरहेका पनि थिए । ती युवकयुवती यसरी नाच्दैगाउँदै माथि गोसाइँकुण्डसम्म पुग्ने रे ।

प्रत्येक वर्ष श्रावण पूर्णिमाको दिन तल स्याफ्रु, भार्खु, यार्सा तथा धुन्चे आसपासका तामाङ युवकयुवती आआफ्नो गाउँबाट यसरी स्याफ्रु नाच्दै गाउँदै माथि गोसाइँकुण्डसम्म पुग्दा रहेछन् । उनीहरूको मान्यताअनुसार श्रावण पूर्णिमाका अवसरमा यसरी आफ्नो गाउँबाट नाच्दै गाउँदै माथि गोसाइँकुण्डसम्म पुगिए आफनो मनोकामना पूरा हुन्छ रे ।

बुद्ध गुम्बा डाँडाबाट हामी फेरि उकालो लाग्यौं । माथि अर्को एउटा थर्पुमा केही समय विश्राम गर्‍यौं र चिसो तथा लेक लाग्नबाट बच्न अदुवा र कागती मिसाएको रातो चिया खायौं । त्यो थर्पु तल स्याफ्रु गाउँका कान्छा शेर्पाको रहेछ । कान्छा शेर्पाको थर्पुदेखि चाहिँ बाटो तेर्सोतिर मोडियो ।

पूर्वतर्फ पारि तलतिर एउटा नीलो ताल देखिन थाल्यो । त्यस ताललाई ‘सरस्वती कुण्ड’ भनिँदो रहेछ । सरस्वती कुण्ड आसपासमा फाट्टफुट्ट भेडीगोठहरू देखिन थाले । खासगरी पूर्व र उत्तर दुई क्षेत्रबाट आएको पानीको निकास त्यस सरस्वती कुण्डमा जम्मा भएको छर्लंगै देखिन्थ्यो ।

हिँड्दाहिँड्दै चट्टानैचट्टानले ढाकेको उकालो बाटो सुरु भयो, साँघुरो र जोखिमपूर्ण । बाटोभरि गोसाइँकुण्ड जाने र फर्किने तीर्थालुहरू खचाखच थिए । त्यहीँ भेट भए दक्षिणतिरबाट आइरहेका शिरमा टसक् लगाएका एक हूल तामाङ झाँक्री (बोन्पो)हरू । ढ्यांग्रो बजाउँदै आइरहेका । उनीहरू काभ्रे (पाँचखाल)बाट आएका रे ।

ती तामाङ झाँक्री (बोन्पो) हरूको विश्वासअनुसार श्रावण पूर्णिमाको दिन यसरी झाँक्री पहिरनमा नाच्दै मन्त्र उचारण गर्दै गोसाइँकुण्ड गई महादेवको भक्ति गरे आशीर्वाद पाउन सक्छन् रे । अथवा श्रावण पूर्णिमाको दिन महादेवको आशीर्वाद पाएपछि मात्र झाँक्री (बोन्पो) हरू विद्या र सिद्घिमा पारंगत हुन सक्छन् रे ।
थोरै माथि उक्लेपछि ‘घप्टे डाँडा’मा पुगियो । त्यस डाँडाको बायाँतिर भित्तामा गणेशको एउटा प्रतिमा राखिएको थियो ।

दायाँतिर दुईचारवटा ढुंगाका ढिस्काहरू थिए । गोसाइँकुण्ड जाने केही तीर्थयात्रीहरूले त्यस ढुंगामा काँचो अन्डा चढाउने गर्दा रहेछन् । घोप्टे डाँडादेखि हामी थोरै ओरालो झरेर फेरि तेर्सो लाग्यौं । तल पूर्वदक्षिणतर्फ अर्को एउटा ठूलो ताल देखिन थाल्यो । त्यस ताललाई ‘भैरव कुण्ड’ भनिँदो रहेछ । कुण्डभित्रको पानी कालो डरलाग्दो थियो । त्यस भैरव कुण्डमा तीर्थयात्रीहरूले पूजा गरेको तथा नुहाएको कुनै पनि संकेत देखिएन । किंवदन्तीअनुसार भैरवकुण्डमा पूजा गरे वा नुहाए पानीले भित्र तानेर लान्छ रे ।

भैरवकुण्डको दृश्यावलोकन गरेपछि उत्तरतिर गोसाइँकुण्डतर्फ लाग्यौं । थोरै माथि एउटा ओडारमा तल यार्सा गाउँका तामाङहरू खाना पकाएर खाइरहेका भेटिए । उनीहरू गोसाइँकुण्डको पर्व भरेर आफ्नो घरतिर फर्किंदै रहेछन् । त्यहाँदेखि माथि अर्को एउटा सानो पहाड पनि काटियो । अब बल्ल लम्पसार परेर फैलिएको गोसाइँकुण्ड (ताल) देखिन थाल्यो । तालको वरिपरि हजारौं तीर्थालु भक्तजन पूजापाठ गरिरहेका थिए । कोही पोखरीभित्र नुहाइरहेका थिए ।

कोहीचाहिँ ब्राह्ण (पण्डित) को हातबाट टीका र प्रसाद ग्रहण गरिरहेका थिए । जनविश्वासअनुसार श्रावण पूर्णिमाको दिन गोसाइँकुण्डमा स्नान गरिए जन्मभरिको पाप पखालिन्छ रे ।

स्नान गरिसकेपछि केही समय गोसाइँकुण्ड (ताल) र त्यस क्षेत्र आसपासको दृश्यावलोकन गर्ने सोच बनायौं । तालवरिपरि पूजापाठ गर्ने र नुहाउने मानिसको ओइरो थियो । तालको छेउछाउमा चढाइको भेटी, नरिवल, सिन्दूर-सुपारी, अक्षता तथा धुपबत्तीहरू प्रशस्तै देखिन्थे ।

धेरैजसो तीर्थालुले श्रावण पूर्णिमाको दिन गोसाइँकुण्ड महादेवलाई डल्लो नरिवल चढाउँदा रहेछन् । केही ठिटाहरूले चाहिँ लामो् लौरोले यसरी चढाएको भेटी र नरिवलका डल्लाहरू तलबाट बाहिर निकाल्ने प्रयास पनि गरिरहेका थिए ।

साथी रुकमांगदले आफ्नो क्यामेरामा वरिपरिका दृश्यहरू कैद गर्न थाल्नुभयो । त्यसैताक चारजना तामाङ झाँक्री (बोन्पो) हरू ढ्यांग्रो बजाउँदै तालवरिपरि परिक्रमा गरेर हाम्रोसामु आइपुगे र क्रमशः तालभित्र हाम्फाल्न थाले । त्यसपछि लामो समय उनीहरू तालभित्रको पानीमा डुबुल्की मारेर बसिरहे । उनीहरूमध्ये अन्दाजी २०/२१ वर्षकी एउटी झाँक्री (वोन्पो) युवती सबैभन्दा लामो समय पानीमा बसिरही । थोरै समय ती तामाङ झाँक्री (बोन्पो) हरूको दृश्यावलोकन गर्‍यौं ।

त्यसपछि पोखरीको उत्तरतर्फ रहेको शिवलिंग मन्दिरतिर हामी लाग्यौं । शिवलिंग मन्दिरमा दर्शनार्थीको घुइँचो थियो । मन्दिरको पूर्वतिर पाँचजना तामाङ झाँक्री (बोन्पो) र चारजना झाँक्री (बोन्पो)प्रति आस्था राख्ने विदेशी मानिस ढ्यांग्रो बजाउँदै मन्त्र उच्चारण गर्दै बसिरहेका थिए ।

उनीहरूको नजिकै दक्षिणतिर छेउमा एकजना ब्राह्मण (पण्डित) ले दर्शनार्थीलाई टीका ग्रहण पनि गरिरहेको थियो । यो सब हेर्दा लाग्यो, गोसाइँकुण्ड सनातन हिन्दु-धर्म अनुयायीलगायत बौद्घ धर्मावलम्बी तथा तान्त्रिक धामीझाँक्री (बोन्पो)प्रति आस्था राख्ने सबैका लागि महत्वपूर्ण तीर्थस्थल हो ।

शिव मन्दिर क्षेत्रको दृश्यावलोकनपछि गोसाइँकुण्डको मुहानतिर लाग्यौं । त्यस मुहानमा ठूल्ठूला ढुंगामुनिबाट पानी कलकल आवाज दिँदै तल दक्षिणतिर बगिरहेको देखियो । किंवदन्तीअनुसार अघि भगवान् शिवजीले आफ्नो तिर्खा मेटाउन त्रिशूलले भेदन गरेर त्यो पानी निकालेको रे ।

शिवको त्रिशूलबाट भेदन गरी निकालिएको हुनाले नै त्यहाँबाट बगेको पानी-धारालाई ‘त्रिशूल धारा’ भनिएको रे । त्यही त्रिशूल धाराबाट बगेको पानी तल जम्मा भएर गोसाइँकुण्ड ताल बन्दो रहेछ र गोसाइँकुण्ड तालबाट निकास भएको पानीले तल अर्को भैरवकुण्ड ताल बन्दो रहेछ ।

त्यसपछि भैरवकुण्ड तालबाट निस्किएको पानीले चाहिँ तल अर्को सरस्वती कुण्ड ताल पनि बन्दो रहेछ । त्यही सरस्वती कुण्डबाट निकास भएको पानीले नै तल पुगेर त्रिशूली नदीको रूप लिँदो रहेछ । खासगरी ‘त्रिशूल धारा’ मूल भई बगेको पानीले तल पुगेर नदीको रूप लिएको हुनाले नै उक्त नदीलाई ‘त्रिशूली नदी’ भनिएको रे ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.