काठमाडौंमा तन्दुरी कथा

काठमाडौंमा तन्दुरी कथा

गाउँका मान्छे मजदूरी गर्न भारत भासिन्थे, अर्घाखाँचीको पणेना गाविसका पोखरेल दाजुभाई शेषकान्त र रामप्रसाद पनि गए । उनीहरुले फर्केपछि सुरु गरेको व्यवसाय फैलियो । सयौंले व्यवसाय सुरु गरे, हजारौंले रोजगारी पाए । त्यतिमात्र हैन भाते बानी परेका कतिपयलाई रोटी खाने बानी बसायो ।

२०४६ सालतिर पोखरेल दाजुभाई गुजरात हान्निएका थिए । लुम्बिनी अञ्चलको पहाडी भेगका मान्छे त्यतिबेला दिल्ली, पञ्जाब, हरियाणा र लुधियाना जान्थे । उनीहरु भने फरक ठाउँ पुगेका थिए । तिनवर्ष गुजरातमा बस्दा मजदूरी गरेपनि दाजुभाई ढाबामा नान÷रोटी पकाएको हेरेर बस्थे । पकाउन सिके देश फर्केर यस्तै व्यापार गर्न सकिने आँट आउँदै थियो ।

पहाडियाले रोटी/नान खाँदैनन् भन्ने थाहा थियो । यसैले मधेशी/भारतीय बसोवास गर्ने एरिया खोज्न थाले । उनीहरुले टंकेश्वरमा तन्दुरी पसल खोले, लुम्बिनी तन्दूरी भोजनालय । नजिकै कालिमाटीमा तरकारी बजार, बल्खुमा फलफूल बजार भएकाले उक्त ठाउँमा मधेशी/ भारतीयको बसोवास बाक्लो थियो ।

वास्तवमा देखेकै भर थियो । उनीहरुले रोटी/नान पकाएकै थिएनन । भक्तपुरमा अर्डर गरेर घ्याम्पो बनाएका थिए । पिठो हातले पड्काउँदै रोटी पकाउँथे । रामप्रसादले टंकेश्वरपछि बल्खु, ग्वार्का, चावेलमा भोजनालय खोल्दै भाईहरुलाई जिम्मा लाउदै गए । नयाँ बानेश्वरमा १४ वर्षअघि भोजनालय खोलेपछि उनले थप भोजनालय खोलेनन् । तर अहिले लुम्बिनी तन्दुरी भोजनालयकै नाममा एक सय ५० जति रेष्टुरेष्ट काठमाडौंमा खुलिसकेका छन् । रेष्टुरेण्ट खुल्दै गएपछि उनहरुले लुम्बिनी तन्दूरी व्यवसायी संघ दर्ता गरेका छन ।

यसरी विस्तारित भयो

२०४८ सालमा एसएलसी पास गरेपछि पाल्पा, छहरेका खिमानन्द बस्यालसँग दुई विकल्प थिए- इण्डिया काम गर्न जाने, बुटवल वा काठमाडौं आएर पढ्न संघर्ष गर्ने । गाउँका एकजनामात्र काठमाडौं छिरेका थिए । काठमाडौं आउने आधार एउटै थियो- क्षेत्रपाटीमा भिनाजुको भोजनालय थियो ।

श्रमिक लक्षित भिनाजुको भोजनालयमा एउटा टेबुल थियो । अट्ने त्यसमा बसेर खान्थे, अरु थाल लिएर बाहिरै उभिएर खान्थे । नजिकै पाटीमा लस्करै बसेर खाइरहेका हुन्थे । ५ रुपैयाँ प्लेटमा भात पाइन्थ्यो । उनले देखासिकीमा नयाँ बजारमा चियापसल खोले । खिमानन्द एकचोटी आइसकेको ग्राहक पसल तिर लम्केको देख्नासाथै उसको रुचीअनुसारको चिया बसालिसक्थे ।

यसैले चिया पसल चल्यो । अब, समोसा, सेल, मालपुवापनि पाक्न थाल्यो । नजिकै भ्याली कोल्ड स्टोरमा काम गर्नेले उनको पसलको चिया/खाजा अर्डर गर्न थालेपछि व्यापार चकाचक चल्यो । पछि कालिकास्थानमा उनले जेरी, पुरीसमेत पकाएर बेचे । पोखरेल दाजुभाईको देखासिकीमा उनीपनि तन्दूरीमा रोटी/नान पकाएर बेच्न थाले । गाउँमै निजी स्कुल चलाई बसेका अर्घाखाँची वाङ्लाका दुर्गाप्रसाद भूषाल द्वन्दकालमा माओवादीले उक्त भेगमा निजी स्कुल चलाउन रोक लगाएपछि काठमाडौं आइपुगे । भाञ्जाले तन्दूरी भोजनालय खोलेका थिए, त्यो भेगका अरु थुप्रै यसैमा थिए, उनले पनि खोले ।

नयाँ बानेश्वरमा १४ वर्षअघि भोजनालय खोलेपछि उनले थप भोजनालय खोलेनन् । तर अहिले लुम्बिनी तन्दुरी भोजनालयकै नाममा एक सय ५० जति रेष्टुरेष्ट काठमाडौंमा खुलिसकेका छन ।

१५ वर्षअघिसुरु गर्दा २ रुपैयाँमा रोटी बेच्न थालेका थिए । काठमाडौंमा त्यतिबेला केही पञ्जाबी ढाबा थिए । रोटीको १० र नानको २० रुपैया थियो । लुम्बिनी तन्दूरीले सस्तोमा रोटी/नान बेच्न थालेपछि ति विस्थापित हुन थाले । खिमानन्द सोल्टीमोडको ओरालोमा एउटा ढाबा देख्छन, अन्त देखेका छैनन । लुम्बिनी तन्दूरी लोकप्रिय हुनुअघि सहरमा दर्जनौं ढाबा थिए ।

अब खिमानन्दजसरी नै उनीहरुको भेगका, त्यहाँसग नातासम्बन्ध गाँसिएका, त्यो भेगबाट बसाई सरेका यो व्यवसायमा थपिदै गए । दुई तिहाई जति भोजनालय साहू त छहरे र सीमामा पर्ने अर्घाखाँचीको पगेना गाविसका छन । जो आएपनि लुम्बिनी राख्ने चलन सुरु भयो । ‘एउटा नपढेको श्रमिक, जसले लुम्बिनी थाहा नहुनसक्छ’ उनी थप्छन, ‘तर लुम्बिनी तन्दूरीचाहिँ थाहा पाउछ ।’ सबै वर्गका ग्राहकलाई तानेको छ । उच्चपदस्थ कर्मचारी आउछन ।

मन्त्री, सभासदपनि आउछन- खासगरी मधेशी मूलका । नाम्लोले सामान बोक्नेपनि । ‘रोटी चिजै त्यस्तो हो,’ उनी थप्छन, ‘सस्तो, सबैको पहुचमा छ, जति धनी भएपनि स्वास्थ्यका लागि भएपनि खानपर्ने ।’ रामप्रसादले २३ वर्ष अघि भोजनालय खोल्दा रोटीको दाम गोटाको ५० पैसा थियो । अहिले दुई रोटी र दाल/तरकारीको ६० रुपैयाँ पर्छ, दाल/भात/तरकारीको दोब्बर पर्छ ।

पहाडियाले रोटीलाई खानाको रुपमा स्वीकारेकै थिएनन । भाते बानी लागेका पहाडिया नेपाली रोटी खाएपछि खोई भात भन्थे÷अहिले भन्ने पनि छन । रोटी खाएर सुते निदाउन नसक्ने हुन । अहिले रोटी लोकप्रिय हुदैछ । खिमानन्द रोटी भातको विकल्प हो भन्ने स्थापित गर्न लुम्बिनी तन्दूरीले पनि जस पाउन पर्छ भन्छन । गहूँलाई गनिदै गनिन्नथ्यो । रोटीको स्वीकार्यताले गहूँको भाउ बढायो ।

सञ्चालक फरक फरक भएपनि मेनु, स्वाद उस्तै उस्तै छ । देखासिकीमा खुल्दै गएकोले मेनु/स्वादमा खासै फरक नपरेको हो । खोल्छु भन्नेले पहिला केही दिन अरुको हेर्छ । संघ बनाएर संगठित भएपछि उनीहरुले तालीम दिएका छन । वाणिज्य, गुणस्तर विभागलाई पनि सहभागी गराएर भोजनालय चलाउन चाहिने मापदण्डको बारे जानकारी गराइएको छ ।

खिमानन्दका अनुसार जापानमापनि ६ वटा लुम्बिनी तन्दूरी खुलेका छन । जापानमा रोटी चल्दैन, नान चल्छ । हल्का स्वाद फरक । जस्तो तरकारी मसालेदारको सट्टा हल्का स्विट बनाउनु पर्छ । टार्गेट इण्डियन, सातामा एकचोटी जापानिज ग्राहक आउछन रे । युरोपमा पनि फाट्टफुट्ट खुलेका छन । त्यहीका ग्राहकले रुचाउने स्वादअनुसार थोरै फरक त हुन्छ, तर यहाँको सँग एकदम मिल्दोजुल्दो छ ।

लुम्बिनी तन्दूरी अहिले स्वरोजगारको अभियान भएको छ । अब लुम्बिनी तन्दूरीमा पानी आपूर्ती गरेर कोही स्वरोजगार भए । कसैले कोइला, कसैले तरकारी आपूर्ती गर्छन । तीनवटा सहकारी छन । लुम्बिनी तन्दूरीले बचत गर्दिदापनि चल्ने सहकारी चल्ने अवस्था भयो । ‘अरुले पनि यो मोडालिटी अपनाउदा अन्यत्रका पनि समृद्ध हुन्छन्, ’ खिमानन्दको सुझाव छ ।

जागिर खाए एउटा तहमा पुग्ने न हो । व्यापारमा त माथि जाने कुनै सिमा छैन । हरेक देशको ढोका खुला छ । लगानी गर्न जुनसुकै देशले रातो कार्पेट ओछ्याउछन । त्यही भएर सडकमा चिया बेच, व्यापारै गर । होटल भनेको फलामको चिउरा चपाउनु हो । धेरै मेहनत गर्नपर्छ । सबैभन्दा प्रचुर सम्भावना भएको व्यापारहो । पुजी छैन कितलीमा चिया बेच्नुस, छ सात तारे होटल खोल्नुस- उनको सुझाव छ ।

भोजनालय खोल्ने पुस्ताले संघर्ष गरेको हो -पकाउन, सरसफाई गर्न आफै अघि सर्ने खालका थिए । उनीहरु पछिको पुस्ता काठमाडौंमै निजी स्कुलमा पढेका/पढ्दैछन । उनीहरुले बाउआमाले जस्तो संघर्ष गर्न परेको छैन । आफूजस्तै मेहनत गर्न सक्ने कुरामा शंका छ । यसैले उनीहरु कमाएको पैसाले गतिलो रेष्टुरेण्ट खोल्ने सोचपनि बनाउदै छन । रामप्रसाद काठमाडौं र लुम्बिनीमा बस्ने होटलसहित आधुनिक रेष्टुरेण्ट बनाउने योजनामा छन । अरुपनि रेष्टुरेण्टको स्तरोन्नती गर्ने सोचमा छन । खिमानन्द धादिङतिर पोल्ट्री व्यवसाय चलाउन छलफल गर्दैछन ।

खिमानन्द गाउँ खेतीमा निर्भर थियो । खेतको उब्जनीले वर्षभरि पुग्ने कमै थिए । एसएलसीभन्दा पर पढेका एकाध थिए । घरपिच्छे कम्तिमा एक जवान मजदूरी गर्न इण्डिया जान्थे । उब्जनीले पुग्ने घरका पनि कपडा, नुनतेलका लागि भारत नगै सुख्खै थिएन । गाउका सबैजसो घर खरले छाएका हुन्थे ।

अहिले इण्डिया जाने निकै कम छन । मगरहरु खाडी, मलेशिया जान थालेका छन । बाउन, क्षेत्री विदेश नगएका बुटवल कि काठमाडौं छिरेका छन । छोराछोरीलाई निजी स्कुलमा पढाएकाले शिक्षितको संख्या बढेको छ । गाउँमै पनि अदुवा, सुन्तला खेती गरी आम्दानी बढाउने मेसो सुरु भएको छ ।


कल्चरल लिंकेज

लुम्बिनीको पहाडी भेगका मान्छे देश विदेशमा खाना व्यवसायमा सफल हुनुमा ‘कल्चरल लिंकेज’ ले काम गरेको छ । त्यो भेगका मान्छेको रोजगारीमा जाने परम्परागत ठाउँ इण्डिया हो । बनारस नजिक भयो । गुरुङ मगर आर्मीमा गए । बाउन र जैशी आर्मीमा गएपनि भान्छे भए । उत्तर प्रदेशमा भान्छेलाई महाराज भन्छन, त्यहाँ गढवाली बाउन महाराज हुन्छन । यहाँका पहाडिया बाहुनलाई पनि भान्छाकै काम पाउन गाह्रो भएन ।

तिनले रेष्टुरेण्ट/धनाढ्यको घरमा पनि भान्छामै काम पाए । इण्डियन फुड छिमेक नेपालका साथै विश्वभरि लोकप्रिय हुँदै गएपछि इण्डियामा भान्छामा काम गर्ने बाउनका लागि अवसरको ढोका खुल्यो । इलम गर्न मन भए त्यहाँ सिकेको सिपमा रेष्टुरेण्ट खोल्न सक्ने भए ।

यसैले नेपालकै सहरका साथै विदेशमा समेत तिनले रेष्टुरेण्ट सञ्चालन गरे । इण्डियामै पनि जहाँको फुड लोकप्रिय छ, त्यहाँको भान्छामा काम गर्नेको सिप बढी काम लाग्यो । उडिसामा काम गर्नेले त्यस्तो अवसर पाएनन, किनकी त्यहाँको फुड लोकप्रिय छैन । खासगरी पञ्जाबी फुड बनाउन जानेकाले तरक्की गरे । जो इण्डियामा दरबान बने, तिनका लागि यस्तो अवसर बनेन । हरी शर्मा, अनुसन्धाता


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.