प्रचण्डले गर्नुपर्ने काम के-के हो ?

प्रचण्डले गर्नुपर्ने काम के-के हो ?

पुष्पकमल दाहाल जे र जसरी भए पनि नेपालका प्रधानमन्त्री भइ नै हाले । हुन त उनलाई पनि केपी शर्मा ओलीलाई हटाएर आफैँ प्रधानमन्त्री हुने त्यतिसारो मन थिएन । न ओलीलाई हटाउनुपर्र्ने ठोस कारण नै थियो । आखिर उनकै संयोजन र योजनाअनुसार आफ्नो दलको समर्थनमा ओलीलाई प्रधानमन्त्री बनाएका थिए ।

सुशील कोइरालाले नयाँ संविधान घोषणालगत्तै प्रधानमन्त्रीबाट राजीनामा दिने नेपाली कांग्रेस र एमालेबीच भएको अलिखित भद्र सहमतिको पालना गरेको भए विद्या भण्डारीको ठाउँमा कोइराला नै दोस्रो राष्ट्रपति हुने थिए । कोइरालाले गरेको गल्तीको पर्दाफास उनकै दलका नेता र कार्यकर्ताले गरेका हुन् । उनको आफ्नै समयमा देहवासान भएको भए पनि कांग्रेसकै कुनै नेता सो पदमा आसीन हुने थिए । आजसम्म कांग्रेस र एमालेको संयुक्त सरकार रहने थियो ।

माओवादी जति कराए पनि विरोध गरे पनि विपक्षमै रहन्थ्यो । कांग्रेस र एमालेबीचको फाटोको फाइदा पुष्पकमल दाहालले राम्ररी लिएकै हुन् । सधैँ हानथाप हुने गृह मन्त्रालय ओलीले माओवादीलाई सुम्पिएकै हुन् । ओलीलाई जसरी भए पनि एकपटक प्रधानमन्त्री त हुनु नै थियो । त्यो बेला प्रचण्डले जे मागे पनि जे सर्त राखे पनि ओलीले मान्नुपर्ने अवस्था थियो ।

नयाँ संविधान घोषणा भएको, मधेसमा त्यही संविधानविरुद्ध आन्दोलन चलिरहेको, त्यही संविधानबाट रुस्ट भएको भारतले नाकाबन्दी लगाएको बेला ओली प्रधानमन्त्री हुन पुगेका थिए । त्यो संकटको सामना गर्न एमाले र माओवादी मिलेकै हुन् र प्रचण्डले सघाएकै हुन् । भारतको कठिन दबाब पर्दा पनि ओली आफ्नो ठाउँमा अडिएकै हुन् ।

भारतको आदेश र निर्देशनको अवहेलना गरेकै हुन् । त्यो सब प्रचण्डको सहयोगबाटै सम्भव भएको थियो । यस अडानमा ओली र प्रचण्डले बराबरी श्रेय पाउनुपर्ने हो । तर यसको सारा श्रेय ओलीले बटुले, प्रचण्डको हात खाली रह्यो । त्यसलगत्तै ओली र प्रचण्डबीचको भद्र सहमतिको खिचलो निस्क्यो । सरकारी नीति र बजेट पेस गरेपछि ओलीले प्रधानमन्त्रीको कुर्सी प्रचण्डको लागि छोडिदिने कुरा निस्क्यो । तर खिचलो यथावत् रह्यो ।

ओलीप्रति बढ्दै गएको जनसमर्थनले प्रचण्ड अरू हतारिएको देखियो । हुन त ओली सरकारले गरेको कामको भागीदारी माओवादी पनि रहेको हो, तर राजनीतिक असहिष्ण्ताको कारण सो हुन सकेन । गणितीय खेलमा ओलीले सत्ता छोडिदिए, तर जाँदाजाँदै उनले राष्ट्रिय स्वाभिमान जोगाएको पगरी पाएर गए । त्यसको बदलामा प्रचण्डमाथि सत्ताको लालसा र त्योभन्दा पनि ठूलो दोषारोपण भारतको योजना र चाहनामा प्रधानमन्त्री हुन पुगेको भारी बोकेर आए ।

के त्यो सत्य हो ? यदि हो भने त्यसको निराकरण कसरी गर्ने भन्ने प्रश्नले उनलाई घोचिरहेकै छ । उनको दृष्टिमा उनी ओलीभन्दा कम राष्ट्रवादी छैनन् । संविधान बनाउँदा भारतको दबाबलाई उनले पनि झेलेकै हुन् र पन्छाएकै हुन् । तैपनि त्यसपछिको समयमा ओलीले जति जनताको मन जित्न सकेको देखिएन ।

आखिर उनको पनि इच्छा ओलीको भन्दा ठूलो राष्ट्रवादी भएको, राष्ट्रिय स्वाभिमान उठाएको र राष्ट्रिय हितमा काम गरेको देखाउने र देखिने आकांक्षा अवश्य विद्यमान छ । त्यो कसरी पूरा गर्ने भन्न चुनौती उनको अगाडि छ । त्यसको उत्तर खोज्न धेरै टाढा जानुपर्दैन । नेपाल र नेपालीलाई हेरे र देखे पुग्छ ।

यस दिशातिर उनले पहिलो कदम उठाइसकेका छन् । भारतको योजनाअनुसार प्रचण्ड प्रधानमन्त्री भएका हुन् भन्ने समाचार नेपाल र भारतका सञ्चारमाध्यममा व्यापक रूपले प्रसारित भएपछि उनलाई आफ्नो इज्जत बचाउन नै मुस्किल पर्‌यो । यसकारण उनले भारतीय राजदूतसित भारतमा यस्तो प्रचार–प्रसार रोकिदिन गोप्यरूपमा अनुरोध गरेको थाहा लाग्यो ।

यसलाई असत्य साबित गर्न उनले भारतलाई फास्ट ट्र्याक सडक बनाउन नदिने घोषणा पनि गरे । ओली सरकारले घोषणा गरेका सबै विकासका कामलाई अगाडि लिएर जाने वचन पनि दिए । त्यसमा चीनले नेपालमा बनाउने रेलको सञ्जाल पनि समावेश छ । यसबाट कम से कम उनले म भारतको निर्देशनमा आएको होइन, उसले भनेका कुरा मान्न होइन भन्ने सन्देश दिए । यसबाट नेपाली जनतासामु उनको इज्जत टिक्न सकेको छ । विकासका कार्यक्रम घोषणा गरेर र अलिकति भए पनि बजेट छुट्ट्याएर ओलीले जनताको मन जित्न सकेको अनुभव प्रचण्डले पनि गरिसकेको छ ।

दोस्रो कदम- प्रचण्डले ओलीले उठाएका विकासका कदमलाई इमानदारीपूर्वक अगाडि बढाउनुपर्छ । काम कसले सुरु गरेको कसले सम्पन्न गरेको भनेर जनता चिन्तित छैनन् । उनीहरू चिन्तित छन् काम समयमा सम्पन्न हुन्छ कि हुँदैन भनेर । त्यसको श्रेय कसले पाउने भनेर विवाद गर्न प्रशस्त समय पाइन्छ । काम उठाउने तर बीचैमा अलपत्र पर्ने देखेर जनता निराश हुने गरेको छ । त्यसैले जनतालाई कसरी विकास र सेवा पुर्‌याउने भन्ने प्रचण्डको मूल उद्देश्य हुन्छ ।

नेपालमा भारतप्रति साँच्चैको सद्भावना र मित्रता बढाउने हो भने म आएको बेलामा एकदुइटा काम गरिदिनुस् । सबभन्दा पहिले अपर कर्णाली योजनाबाट तपाईंको मानिसलाई हटाइदिनुस् । अरुण ३ को योजनाबाट पनि भारतीय ठेकेदारलाई हट्न भन्नुस् । दुईचारवटा जलविद्युत्को योजना हामी आफैँलाई बनाउन दिनुस् र हामी आफैँलाई व्यवस्था मिलाउन दिनुस् ।

हुन पनि उनले आफू पुरानो गल्तीबाट सिकेको र अनुभवी भएको दाबी गरेका छन् । त्यसो हो भने जनताले ठूला–ठूला कुरा गरेको सुन्न चाहँदैनन् । उनीहरू मुख्यतया गरिखान चाहन्छन् र दैनिक जीवन सहजरूपले चलोस् भन्ने चाहन्छन् । उनीहरू नेताहरूजस्तो धनी हुने, रवाफ गर्ने, आफन्तको मात्र हित गर्ने, आफ्नो लागि देशलाई नै बन्धकी राख्ने इन्छा राख्दैनन् । त्यसकारण ओेली मात्र होइन, त्योभन्दा पनि पहिलेका प्रधानमन्त्रीहरूले जे जस्तो काम थालनी गरेका थिए र जनताले चाहेका थिए तिनीहरूलाई अगाडि बढाउनु नै बुद्धिमानी हुनेछ ।

तेस्रो काम-नेपालको भारत र चीनसितको सम्बन्ध कति संवेदनशील छ भन्ने सत्य प्रचण्डले बुझिसकेका छन् । त्यसमा सन्तुलन कायम गर्न उनले दुई उपप्रधानमन्त्रीहरूलाई दुई मुलुकमा पठाए । यो सही दिशाको कदम हो । यसै सिलसिलामा भारत र चीनका राष्ट्रप्रमुख नेपालको भ्रमणमा आउने कार्यक्रम पनि छ । त्यसको साथै प्रधानमन्त्री आफैँ ती देशको भ्रमणमा जाने पनि छन् । तर भ्रमण गरेर मात्र सम्बन्ध सुध्रिने होइन ।

प्रधानमन्त्री ओलीको भ्रमण दिल्लीमा भयो र सबै असमझदारी समाप्त भयो भनेर भनियो, तर त्यो सत्य निस्केन । औपचारिकरूपले सम्बन्ध सुधारिएको दाबी गर्न त मिल्यो । तर भित्री मनमा दुवै असन्तुष्ट देखिए । हामीले खोजेको देखावटी समझदारी र मित्रता होइन । हामीले खोजेको वास्तविक सद्भावना र समझदारी हो । सो हासिल यसरी गर्नुपर्छ ।

चौथो काम- भारतको भ्रमणमा जाँदा प्रचण्डले त्यहाँको नेतृत्वसित खुलेर कुरा गर्नुपर्छ । उनले भन्नुपर्छ, 'तपाईंहरूको इच्छा र सहयोगअनुसार म प्रधानमन्त्री बनेँ । मलाई नेपालका जनताले अब यिनले केके चीज भारतलाई सुम्पने हुन् भनेर सशंकित भएका छन् । यस्तो बेलामा तपाईंले हामीबाट केही लिनुको साटो हामीले चाहेको दिनुभयो भने नेपाली जनताले भारतको सराहना गर्नेछन् ।

भारतको सञ्चारमाध्यमले मलाई भारतले सत्तामा पुर्‌याइदिएको, त्यसैले अब नेपालमा भारतको बोलवाला हुन्छ भनेर प्रचार गरिदिए । एकजना तपाईंको पूर्व राजदूतले खुलेरै नेपालको फास्ट ट्र्याक सडक बनाउने ठेक्का भारतीयलाई दिन्छु भनेर भने । त्यही कारणले मैले सो योजना नेपालले नै बनाउने हो भनेर भन्नुपर्‌यो । मैले सो योजना तपाईंको मानिसलाई दिएँ भने मैले नेपालीका अगाडि कसरी मुख देखाउने ?

के तपाईंहरू चाहनुहुन्छ नेपालमा मेरो साख गिरोस् र मेरो राजनीतिक जीवन अन्त्य होस् ? तपाईंहरूले के बुझ्नुपर्छ भने नेपालका जनता धेरै जागृत भइसके । यसमा तपाईंहरूले गर्व गर्नुपर्छ किनभने आखिर नेपालमा आएको प्रजातन्त्र, शिक्षा र जागृतिमा तपाईंहरूको पनि ठूलो देन छ ।

यस्तो अवस्थामा ५०÷६० वर्षअगाडिको जस्तो सोचाइ राखेर नेपालसित व्यवहार गर्न खोजे भने सम्बन्ध सधैँ बिग्रिराख्छ । त्यसकारण नेपालमा भारतप्रति साँच्चैको सद्भावना र मित्रता बढाउने हो भने म आएको बेलामा एकदुइटा काम गरिदिनुस् । सबभन्दा पहिले अपर कर्णाली योजनाबाट तपाईंको मानिसलाई हटाइदिनुस् ।

अरुण ३ को योजनाबाट पनि भारतीय ठेकेदारलाई हट्न भन्नुस् । दुईचारवटा जलविद्युत्को योजना हामी आफैँलाई बनाउन दिनुस् र हामी आफैँलाई व्यवस्था मिलाउन दिनुस् । यसबाट तपाईंहरूलाई केही फरक हुने होइन । तर यी कदमले भारतप्रति नेपालीको मन फनक्क फर्किनेछ । नाकाबन्दीबाट दुःख पाएका नेपालीलाई तपाईंहरूको मीठो कुराले मात्र चित्त बुझाउन सकिन्न । नेपाल चीनसित मिल्न गयो भनेर भारतमा धेरै हल्ला हुन्छ तर भारतको कारणले नै नेपाललाई उतातिर ढल्किएको कुरा किन गर्दैनन् ?

आखिर चीनसित भारतको सम्बन्ध पनि नजिकिएको छ भने नेपालले चीनसित राम्रो सम्बन्ध राख्न लाग्यो भनेर किन चित्त दुःखाउनुपर्‌यो ? चीन भारतमा आउनलाई नेपालको मात्र बाटो भएको होइन । भारत र चीनको युद्ध नेपालको भूमिबाट भएको होइन । भारत र चीनको सिमाना नेपालभन्दा लामो छ । मैले तपाईंहरूको हितविपरीत काम गर्ने छैन । तपाईंहरूले पनि मलाई अप्ठेरो पर्ने काम गरिदिनुभएन ।'

के प्रचण्ड भारतीय नेताहरूसित यति खुलेर बोल्न सक्छन् ? त्यो उनै जानून् । नेपाली जनताको मन जित्ने हो भने उनीहरूको चित्त बुझाउन सक्नुपर्छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.