निर्दोष मृत्युवरण !

निर्दोष मृत्युवरण !

एकजना मित्रले बस दुर्घटनाको कारण सम्बन्धमा व्यंग्य गर्दै भने, बिरालोले बाटो काटेर, भिरालोमा गाडी खसेको होला, यहलोकबाट परलोकमा पुग्ने निर्दोष यात्रुको संख्या दिनहुँ बढ्दो छ, जिम्मेवारी कसको भन्दा कसैले लिन नचाहने, कस्तो विडम्बना, व्यवसायीले भन्छ, ‘सरकारले सार्वजनिक यातायातको विकासको लागि के नै गरेको छ र, न सरकारसँग कुनै सोच छ न त कुनै कार्ययोजना नै, बाटोमा महिनांै दिनसम्म रहेको सानो खाल्डो त पुर्न नसक्ने सरकारसँग के अपेक्षा गर्नु, कर लिनेबाहेक सरकारले के नै गरेको छ !’

सरकार भन्छ, ‘व्यवसायीको मनोमानी लापरबाही, सेवाभावको चरम अभाव नै सडक दुर्घटनाको प्रमुख कारण हो, सेवाग्राहीको हितको लागि नियम बनाउँदा विरोध गर्ने, चक्काजाम गर्ने, यात्रुलाई चेपुवामा पार्ने र सिन्डिकेटको सञ्चालनलगायतका कारणबाट यातायात क्षेत्र व्यवस्थित हुन नसकेको हो । सबैसँग आआफ्नै तर्क छन्, गुनासोको फेहरिस्त सबैले बोकेकै छन् ।

बिरालोले बाटो काट्छ, हामी कुरा काट्दै छौं, तर्कको सिरानी बनाएर । विचरा निर्दोष यात्रु पैसा तिरेर मृत्युको जोखिम उठाइरहेका छन् । अरू सेवासुविधाको त के कुरा निजहरूसँग सेवाग्राहीको सामान्य मानवीय व्यवहार समेत गरिँदैन । गन्तव्यमा पुग्नुअघि झन्डै मरिएनको अनुभव प्रायः सबैले गरेका हुन्छन् ।
बिरालोले बाटो काट्दा हामीले टक्क गाडी रोक्ने वा पछाडिको गाडी उछिन्न दिनेमा विश्वास गर्छौं तर नियमको पालना गर्दा भने ठेलेर, पेलर हुइँकिदै अघि बढ्ने गर्छौं ।


हितकारी कामबाटै सुविधा विस्तार र व्यवसायको विकास हुनेमा विश्वास नगरेकै कारण हरेक क्षेत्रको व्यवसायमा अस्वस्थ प्रतिस्पर्धा छरपष्ट देखा पर्छ ।

आफ्नो गाडीमा कसैको आँखा नलागोस् भनेर थोत्रो जुत्ता झुन्ड्याउने गर्छौं । फाटेको थोत्रो जुत्ता झुन्ड्याउँदा अरूको आँखा लाग्दैन भन्ने विश्वास गर्ने तर थोत्रो गाडीको अवस्थामा सुधार गर्न भने आवश्यक नसम्झिने, हर्नबाहेक सबै बझ्ने अवस्थाको गाडी पनि गुडाइरहने, बरु अधिक थोत्रा गाडी, अधिक लाभ अर्थात् कम लगानी अधिक लाभ ! लाभमुखी व्यापार–व्यवसायमा अरूको हित र सेवाको प्रसंग नै अप्रासांगिक हुने नै भो, यद्यपि हामीले लाभसँगै शुभको संस्कृति पनि नबोकेका भने होइनौं, शुभलाभको चिन्हको प्रदर्शन भने घरको ढोका, दराज, गाडी सबै ठाउँमा गरिएकै हुन्छ ।

शुभकामबाट हुने लाभ नै पुण्य लाभ हो भन्ने संस्कारमा विचलन त आएकै हो ! अरूको अहितमा आफ्नो उपकार र व्यापार फस्टाउन खोज्ने प्रवृत्ति मौलाउँदो छ । हितकारी कामबाटै सुविधा विस्तार र व्यवसायको विकास हुनेमा विश्वास नगरेकै कारण हरेक क्षेत्रको व्यवसायमा अस्वस्थ प्रतिस्पर्धा छरपष्ट देखा पर्छ । गर्नु गर्‍यौं बलराम, भैंसी पालेर, खाँटी दूधमा पानी हालेर... ।

सबै क्षेत्रमा बलिया बलरामहरू सक्रिय र संगठित भएकै कारण सिन्डिकेटको कुरो पनि खुबै प्रचलनमा आएको सुनिन्छ अचेल !! पापकर्मले नै फलिफाप भएको उदाहरण हामीले सगौरव वर्णन गरेको मात्र नभई बरु यसलाई प्रेरणाकै रूपमा ग्रहण गर्न थालेको छौं । जो होचो उसैको मुखमा घोचो भने झैं निर्दोष यात्रु भने अनाहकको घोचाइमा पिल्सिएका छन् ।

अब के गर्ने ?

क्षति मात्र होइन, अति नै क्षति भएको अवस्थालाई असामान्य अवस्थाका रूपमा घोषणा गरी नियन्त्रणको लागि कठोर ढंगले सरोकारवाला सबै पक्षलाई सेवाप्रति उत्तरदायी बनाउने रणनीति लागू गर्नुपर्छ, जसको लागि तत्कालै ‘सार्वजनिक यातायात सेवाको सुरक्षा र विकास’ सम्बन्धी नीति जारी गरी सम्झौताविहीन तवरले निम्नबमोजिमका कार्यक्रम कार्यान्वयन गर्न आवश्यक छ-

. सिन्डिकेट प्रणाली ध्वस्त गर्ने, सोसँग आबद्ध सबै पक्षलाई कारबाहीको दायरामा ल्याउने र सो कार्यको लागि प्रशासन र प्रहरीले नेतृत्वदायी भूमिका निर्वाह गर्ने, केन्द्रमा कार्य प्रगति सुपरिवेक्षण गर्ने संयन्त्र निर्माण गर्ने । यो प्रणाली पूर्णरूपमा हतोत्साही र निरुत्साहित नभएसम्म निरन्तर रूपमा लागू गरिरहने ।
. दुर्घटनामा चालक मात्र होइन सोको सवारीधनीलाई पनि कारबाहीको दायरामा ल्याउने गरी कानुनी व्यवस्था मिलाउने ।
. सबै सवारीसाधन र चालक अनुमतिपत्रको पुनः परीक्षण गरी जाँच प्रणाली वैज्ञानिक बनाउने । पुराना सवारी साधन तत्कालै विस्थापन गर्ने ।
. सवारी परीक्षण केन्द्रलाई साधनयुक्त बनाउने र चालक अनुमति प्रणालीका सर्त र शारीरिक तथा मानसिक अवस्थाको जाँच गर्ने प्रणालीमा व्यापक सुधार गर्ने ।
. एक सिट एक यात्रुको नीति कडाइका साथ लागू गर्ने ।
. लामो दुरीका सवारी साधनमा अनिवार्य रूपमा दुईजना चालक हुनुपर्ने नियम कार्यान्वयन गर्ने ।
. भारमापक यन्त्रको प्रयोग गरी अधिक भार बोक्ने सवारीलाई कडा कारबाही गर्ने र छतमा सामान बोक्न नदिने नीति लागू गर्ने ।
. ट्राफिक गल्तीबापतको सजायको विद्यमान व्यवस्था परिमार्जन गरी गल्ती, हेलचेक्राइँ र लापरबाहीको श्रेणीमा वर्गीकरण गरी तदअनुरूप सजायको व्यवस्था गर्ने नियम लागू गर्ने ।
. सवारीलाई प्रविधिले अनुगमन गर्ने प्रणालीको विकास गर्ने ।
. यात्रु अलपत्र नरहने गरी वैकल्पिक व्यवस्थालाई पनि स्टेन्डबाइ सेवाका रूपमा व्यवस्था गर्ने ।
. ग्रामीण क्षेत्रको यातायात सेवाको लागि छुट्टै नीति तयार गरी साना सवारी साधनको सेवा विस्तार गर्ने ।
. सवारी किसिमको वर्गीकरण गरी कुन किसिमका सवारीका लागि कुन सडकयोग्य छ सोहीअनुरूप सवारी चलाउन इजाजत दिने नीति अवलम्बन गर्ने ।
. जनचेतना र यात्रु हकहितका विषयमा व्यापक रूपमा प्रशिक्षण दिने व्यवस्था मिलाउने र यात्रु मैत्री वातावरण बनाउन प्रेरित गर्ने ।
. चालक, सहचालकको परिचय खुल्ने गरी छुट्टै पोसाक लगाउने व्यवस्था मिलाउने ।
. लामो दूरीको हकमा टाइम कार्डको नियमलाई कडाइका साथ लागू गर्ने
. उद्धार कार्यलाई प्रभावकारी बनाउन स्रोतसाधनको व्यवस्था मिलाउने
. सार्वजनिक यातायात क्षेत्रको सुधारको लागि विगतमा तयार गरिएका विज्ञका सुझाव कार्यान्वयन गर्ने ।
अन्त्यमा, पापले फलिफाप हुँदैन, अरूको हितमै आफ्नो पनि हित लुकेको हुन्छ भन्ने भावना सामाजिक व्यवहार र संस्कारका रूपमा विकास गरी निर्दोष मृत्युवरणको शृंखलाको अन्त्य गरौं ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.