साउदीको जेलबाट प्रधानमन्त्रीलार्इ चिठी
सम्माननीय प्रधानमन्त्री ज्यू,
साउदी अरेबिया जेलको कालकोठरीबाट नमस्कार ।
कालकोठरी साउदीको हायल जेलबाट विशेष लेख्नु त केही पनि थिएन तर अन्तिम आशामा आँसुले सानो पत्र कोर्दै छु । हुन त हजुरसामु यो दुःखीको पत्र नपुग्न सक्छ तर म यही जेलमा सडेर गए पनि जिउनेहरूले पक्कै पनि पढ्ने छन् । म गरिबको पीडा न त घर न त घडेरी नै, त्यस्तै महान सपना बोकेर पैसा कमाएर आफ्नो भविश्य सुधार्ने सपना बोकेर करिब १८ वर्ष पहिले म खाडी मुलुकको साउदी अरब आएको थिएँ ।
न हातमा कुनै सीप, कुनै घर न घडेरीको मान्छे, त्यसैले म साउदी पुगेसँगै एउटा साउदी नागरिकको मझरा (भेडा हेर्ने काम) पाएको थिएँ र मैले इमान्दार भएर गरिरहेको थिएँ । मालिकको विश्वासकै कारण ९ वर्षसम्म एउटै मालिकसँग काम पनि गरेँ । मेरा साना सपना पनि पूरा भएका थिए ।
वर्षामा चुहिने सानो झुपडी थियो । खान पुग्दैन्थ्यो । जग्गा किनेर अन्न आफैं उत्पादन गरेर खानसम्म आत्मनिर्भर भएकै थिएँ । ९ वर्षसम्म एउटै मालिकसँग काम गर्दा मालिकको ममाथिको विश्वाससँगै म २ पटकसम्म छुट्टी लिएर घर पुगेर घर व्यवस्था मिलाएर पुनः धन कमाउन पुगेको थिएँ ।
त्यतिबेलासम्म म गरिबको घर जेनतेन आत्मनिर्भर बनाइसकेको थिएँ । पुनः साउदी पुगेर साहुको काम गर्न सुरु गरें । मेरो साहुको ग्यारेजमा काम गर्ने ३ जना भारतीय (केरलाका) पनि थिए । एउटै साहुसँग काम गर्ने भए पनि म भेडा चराउँथे । तिनीहरू ग्यारेजमा काम गर्थे । कहिलेकहीं म बस्ने मझरामा पनि आउँथे, सँगै काम गथ्र्यौं, सँगसँगै बस्थ्यौं ।
म मेरो साहुसँग धेरै नजिकको भइसकेको थिएँ । ९ वर्ष भइसकेको थियो । मलाई साहुले विश्वास गथ्र्यो । ती भारतीय नागरिकसँग पनि कहिलेकहीँ सँगसँगै काम गथ्र्यौं । कामका बारेमा अलिअलि विवाद पनि हुने गथ्र्यो । म पनि कमाउन आएको, उनीहरू पनि कमाउन आएका । एकजनालाई साहुले आफ्नै ग्यारेजमा राख्थ्यो भने दुईजनालाई मसँगै काम दिन्थ्यो । उनीहरू काम गर्ने भनेर गए पनि दिनभर सुतिरहन्थे ।
म केही भन्दैन्थें, अनि साहु गएर तिमीहरू तीनजना किन काम गर्दैनौं भनेर मलाई कराउँथ्यो । म अझैं शान्त भएर बस्थें । त्यस्तै गर्दागर्दै साहुले काम नगरेको भनेर मेरो दुई महिनाको तलबसमेत काटिदियो । म गरिबको पसिना बगाएको रकम मैले पाएनँ, उनीहरूका कारणले । त्यस्तै गर्दागर्दै त्यही विषयमा झगडा भयो र मलाई कुटे तर मैले केही गर्न सकिनँ । यहाँको कानुन उल्टो छ, म कमाउन आएको घरमा फूलजस्ता छोराछोरी र स्वास्नी छन् भन्ने सोचें ।
मलाई अति नै कुटे र खुट्टामा हानेर ठूलो घाउसमेत भइसकेको थियो । अनि मैले सहन सकिनँ । मन मुटु एकै भयो । रीस थाम्न सकिनँ । धेरै सोचेँ तर भएन । अन्तिममा एक भारतीयको मृत्यु भएछ । त्यो समय आउला भन्ने सोचेको पनि थिइनँ । त्यही केसमा मलाई जेल हालियो । तर मलाई जेल हालिसकेपछि मृतकका आफन्त आएर मुद्दा दर्ता गरेनन् । अनि म गरिबका सपना जेलमा सडिरहे ।
अहिले ९ वर्ष पुग्दासमेत मृतकका आफन्तको अनुपस्थिति भएपछि म एउटा नेपाली कुनै टुंगोबिनाको जेल जीवन बिताइरहेको छु । न त कुनै संघसंस्था सोधपुछ गर्न आउँछ न दूतावास नै । हुन त म एउटा गाउँको कुनाको मान्छे भएर होला कसैले चिन्दैन तर सम्माननीय प्रमज्यूले चिन्नुहुन्छ थबाङ । मलाई आशा पलाएर आएको छ ।
म ससाना कोपिला छोरीछोरी, घर परिवार छोडेर विदेशी भूमिमा अल्पायुमै फाँसी चढ्नुपर्ने कुन कर्म लिएछु होला । अन्ततः हजुरले पक्कै पनि पुनःजीवन दिनुहुनेछ ।
उही अभागी
पञ्चबहादुर रोकामगर/थबाङ, रोल्पा
हालः सेन्टर जेल, साउदी अरब