थबाङका युवक नौ वर्षदेखि साउदी जेलमा

थबाङका युवक नौ वर्षदेखि साउदी जेलमा

लिबाङ (रोल्पा): कमाउनका लागि साउदी अरब पुगेका रोल्पा थबाङका एक युवा नौ वर्षदेखि जेल जीवन बिताइरहेका छन् । थबाङ ४ जुरबाङका पञ्चबहादुर रोकामगर हत्या आरोपमा जेल परेका हुन् । नौ वर्षसम्म पनि उनीमाथि लागेको आरोपको फैसला नभएपछि उनी पुर्पक्षका लागि जेलमा छन् । उनले फेसबुक म्यासेन्जरमार्फत नेपालका प्रधानमन्त्री पुष्पकमल दाहालका नाममा खुलापत्र लेखेपछि उनको अवस्था सार्वजनिक भएको हो ।

पञ्चका परिवारले भने जेल परेको चार महिनापछि २०६४ सालमा खबर पाएका थिए । 'जेल परेको थाहा पाएपछि निकै रोएँ', पत्नी फुला रोकामगरले भनिन्, 'कमाउन गएका पति हत्या आरोपमा पक्राउ परेको सुन्दा होस हरायो । परिवारलाई छिमेकी धनबहादुर झाँक्रीले जेल परेको खबर सुनाएका थिए । उनी साउदी अरबमा भेडाबाख्रा पालन (मझरा) मा काम गर्दै आएका थिए । पञ्चका अनुसार मझरामै काम गर्ने भारतीय नागरिकको मृत्यु भएपछि उनलाई हत्या आरोपमा पक्राउ गरिएको थियो ।

भारतीय दूतावासको पहलमा मृतक भारतीय नागरिकका आफन्तले साउदी अरबको अदालतमा मुद्दा दायर गरेका थिए । मुद्दा दायर गरेपछि सुनुवाइका बेला मृतकका आफन्त र भारतीय दूतावासका प्रतिनिधि उपस्थित नभएको भन्दै अदालतले मुद्दाको सुनुवाइ समय सार्दै आएको छ । पाँच वर्षमा फैसला हुने भनिए पनि नौ वर्ष बितिसक्दा पनि कुनै सुनुवाइ नभएको पञ्चले प्रधानमन्त्रीलाई लेखेको पत्रमा उल्लेख छ ।

साउदीमा रहेको नेपाली दूतावासमार्फत नेपाल सरकारले पहल गरेमा सुनुवाइ हुन सक्ने साउदी अदालतले जनाए पनि साउदीमा रहेको दूतावासले पहल नगरेको पञ्चले गुनासो गरेका छन् । 'म गरिबको न त घर न त घडेरी नै भयो । पैसा कमाए भविष्य सुधार्ने आशाले साउदी आएको थिएँ', नेपालका प्रधानमन्त्रीलाई लेखिएको पत्रमा पञ्चले उल्लेख गरेका छन्, 'भेडा चराउने काम भए पनि इमानदार भई काम गरेर ९ वर्ष बिताएको थिएँ ।' पत्नी फुलाका अनुसार उनी दुई पटक घर बिदामा पनि आएका थिए ।

विदामा आएकै बेला आमाको समेत मृत्यु भयो । आमाको काजकिरिय सकेर उनी साउदी उडेका थिए । त्यतिबेलासम्म उनको पहिलो सन्तानका रूपमा अदिक रोकामगरको जन्म भइसकेको थियो । २ वर्षका अदिक काखमा भए पनि विदेश जानुपर्ने भएपछि पत्नीको गर्भमा अर्को भ्रुण छाडेर गएका थिए उनी । 'एक महिनाको गर्भ छाडेर जानु भएको हो', पत्नी फुला भन्छिन्, 'छोरी जन्मिएर आठ वर्षकी भई । बुाबु नै देख्न पाएकी छैन । अहिले घरमा तीनजनाको परिवार छ । देबर र देउरानी उता पति जेल परेपछि अलग्गिए । अंशबन्डा नभए पनि अलगअलग बस्दै आएका छौं ।'

कमाउन गएका पति जेल परेपछि परिवारको गुजारा चलाउन उनलाई मुस्किल परेको छ । ऋण लिएर भए पनि छोरा छोरी पढाउँदै आएको फुला बताउँछिन् । 'एक हल गोरु पालेर खेतीपाती गर्दै आएकी छु', फुला निराश हुँदै भन्छिन्, 'माइती रुकुमको लुकुम ९ मा पर्छ । थबाङबाट जान एक दिन लाग्छ । नजिक भए माइतीले पनि सहयोग गर्थे होलान् ।'

सामान्य लेखपढ गरेकी उनले पतिलाई जेलमुक्त गर्न सरकारी कुनै पनि निकायमा पहल नगरेको बताउँछिन् । 'सोझो मान्छे । कहाँ, कसलाई, के भन्ने ? यस्तो पीडामा सरकारले आफैं पहल गरेर पतिको रिहाइ गर्नुपर्ने हो', फुलाले भनिन् । उनकै छिमेकी एवं तत्कालीन नेकपा एमाओवादीका तर्फबाट पहिलो संविधानसभामा निर्वाचित सभासद् सन्तोषकुमार बुढामगरसँग भने पहलका लागि अनुरोध गरेको उनी बताउँछिन् ।

पञ्चले जेलबाट छिमेकी एवं नेपाल पत्रकार महासंघका निवर्तमान अध्यक्ष मौसम रोकामगरलाई फोन गरी दूतावासमार्फत नेपाल सरकारले पहल गरेमा आफू चाँडै नेपाल फर्कन सक्ने बताएका छन् । गाउँपालिकाको केन्द्र थबाङ राख्नुपर्ने माग गर्न काठमाडौं जाने तयारी गरेको पूर्वसांसद बरमण बुढामगरको नेतृत्वको टोलीले पञ्चको रिहाइका लागि पहल गर्न प्रधानमन्त्रीसमक्ष आग्रह गर्ने पत्रकार मौसमले बताए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.