आज श्रीकृष्ण जन्माष्टमी पर्व मनाइँदै

आज श्रीकृष्ण जन्माष्टमी पर्व मनाइँदै

काठमाडौँ: प्रत्येक वर्ष भाद्र कृष्ण अष्टमीका दिनमा मनाइने श्रीकृष्ण जन्माष्टमी पर्व बिहीबार भगवान् श्रीकृष्णको पूजा आराधना गरी मनाइँदैछ ।

ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगको अन्त्यतिर भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएको सम्झनामा आजको दिनमा श्रीकृष्ण जन्माष्टमी पर्व मनाउने गरिएको हो ।

दुर्जनको विनाश गरी सज्जनको रक्षाका लागि भगवान् विष्णुको आठौँ गर्भका रुपमा श्रीकृष्णको जन्म भएको शास्त्रमा वर्णन गरिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिए ।

कंसको अत्याचारबाट मानव जातिलाई मुक्ति दिन वासुदेव र देवकीको आठौँ गर्भबाट भगवान् विष्णुको आठौँ अवतारका रुपमा आजैका दिन भगवान् श्रीकृष्णको जन्म भएको धार्मिक विश्वास छ । कंसले जेलनेलसहित बन्दी बनाएको अवस्थामा देवकीको कोखबाट श्रीकृष्णको जन्म भएको थियो ।

चारैतिर सेनाको कडा सुरक्षा हुँदा पनि भगवान् विष्णुको मोहित पार्ने शक्तिका कारण श्रीकृष्ण जन्मिएका बेलामा सबै सैनिक गहिरो निद्रामा परेका थिए । त्यसैबेला आकाशवाणीमार्फत् वासुदेवलाई 'नवजात शिशु कृष्णलाई वृन्दावनस्थित मित्र नन्दका घरमा पुर्‌याऊ' भन्ने आकाशवाणी भएको थियो । यही मोहित पार्ने शक्ति भएका कारण आजको रात्रिलाई मोहरात्रि पनि भनिन्छ ।

वासुदेव नन्दको घरमा गई कृष्णलाई त्यहीँ छोडी त्यही दिन नन्द पत्नी यशोदाको गर्भबाट जन्मिएकी बालिकालाई लिएर आएपछि मात्र सैनिकहरु ब्युँझिएको प्रसङ्ग महाभारत ग्रन्थमा उल्लेख गरिएको छ । श्रीकृष्णले नै पापका पर्याय बनेका मामा कंसको बध गरी हजुरबा उग्रसेन, माता पिता देवकी एवम् वासुदेवलाई जेलमुक्त गरेका थिए ।

अन्याय, अत्याचार र दानवी प्रवृत्तिबाट मानव जातिलाई सुरक्षित बनाउने उद्देश्यले भगवान् विष्णुले मानिसको अवतारका रुपमा श्रीकृष्ण भई धर्तीमा जन्म लिएको स्मृतिस्वरुप आजको दिन यो पर्व मनाउने गरिएको हो । श्रीकृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गरे ।

कौरव र पाण्डवका बीचमा कुरुक्षेत्रमा भएको धर्मयुद्धमा सत्यको पक्षमा रहेका पाँच पाण्डवमध्येका अर्जुनको सारथीका रुपमा श्रीकृष्णले युद्धको शिक्षा दिनुभएको थियो । युद्धका क्रममा श्रीकृष्णले अर्जुनलाई प्रेरणा दिँदै सत्यको पक्षमा हौसला प्रदान गरे । यही युद्धका क्रममा श्रीकृष्णले अर्जुनलाई दिएको उपदेश नै श्रीमद्भगवत गीता हो । यसैकारण श्रीमद्भगवत गीतालाई हिन्दूको पवित्र ग्रन्थ मानिन्छ ।

बाल्यकालदेखि नै विचित्र लीला देखाउँदै आएका श्रीकृष्णले गोपिनी र राधासँग गरेको प्रेम प्रसङ्गका कारण यो महिनाभर प्रेम उत्सव अर्थात् झुला उत्सवका रुपमा समेत मनाउने गरिन्छ । 'यो नै पूर्वीय जगत्को प्रेम दिवस हो र 'भ्यालेन्टाइन डे' का नाममा नेपाल, भारतलगायत पूर्वीय दर्शनलाई अँगाल्दै आएका देशमा गरिने तामझाम पश्चिमी संस्कृतिको अन्धानुकरण हो'- अवकाशप्राप्त जीवनपछि साहित्य सिर्जना र आध्यात्मिक खोज अनुसन्धानमा लागेका गोविन्दप्रसाद घिमिरे 'वेदमणि'ले भने ।

मानव जातिलाई सुरक्षित पारी धर्मको रक्षाका लागि धर्तीमा अवतरित हुनुभएका श्रीकृष्णले नै पुतना, कंस, जरासन्ध र शिशुपाल आदि दानवी प्रवृत्तिलाई अन्त गराई मानव मात्रलाई भयमुक्त बनाउनुभएको थियो । यसै प्रसङ्गमा भगवान् श्रीकृष्णले श्रीमद्भागवत गीतामा भनेका छन् ।
यदा यदा हि धर्मस्य ग्लानिर्भवति भारत ।
अभ्युत्थानमधर्मस्य तदात्मानं सृजाम्यहम् ।।

अर्थात् जबजब भारत वर्षमा धर्मको लोप हुन्छ र पाप बढ्दछ त्यस बेलामा धर्मको रक्षाका लागि मैले मानव रुप धारण गरेर धर्तीमा जन्म लिनेछु । भगवान् श्रीकृष्णको यही कर्मको सम्झनामा अहिले पनि श्रीकृष्ण जन्माष्टमी पर्व भव्यताका साथ मनाउने गरिएको छ ।

आजको दिन पाटनको मङ्गलबजारस्थित प्रसिद्ध श्रीकृष्ण मन्दिर, काठमाडौँको पूर्वी भेगस्थित गोठाटारमा रहेको नवतनधाम, उत्तरी भेग बूढानीलकण्ठस्थित श्रीकृष्ण भावनामृत सङ्घको मन्दिरमा र देशभरका अन्य कृष्ण मन्दिरमा भव्यरुपमा पूजा, आराधना एवम् रथयात्रा र शोभायात्रा गरी श्रीकृष्ण जन्माष्टमी पर्व मनाउने गरिन्छ ।

आजको दिनमा विशेष गरी महिलाहरु ब्रत बसी राति १२ बजे श्रीकृष्ण जन्मिएको सम्झनामा पूजा लगाउने र रातभर जाग्राम बसेर श्रीकृष्णको भक्ति सङ्गीत गाउने गर्दछन् । यसो गरेमा श्रीकृष्ण प्रशन्न भई मनोवाञ्छित फल प्राप्त हुने धार्मिक विश्वास रहेको प्रा डा ऋषिराम पोखे्रल बताउँछन् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.