सयाै वर्ष पुरानो सम्पदामा कंक्रिटको भवन

सयाै वर्ष पुरानो सम्पदामा कंक्रिटको भवन

काठमाडौंः सरकारले पुरातात्तिव महत्व बोकेको काठमाडौं उपत्यकाको सांस्कृतिक सम्पदाहरूमा मौलिक चिनारी मेटिने गरी सिमेन्ट, बालुवा, रडजस्ता आधुनिक सामग्री प्रयोग गरेर पुनर्निर्माण सुरु गरेको छ ।

पुरातत्वविद् तथा यस क्षेत्रका जानकारहरूले सरकारको यस्ता क्रियाकलापले उपत्यकाको मौलिक पहिचान नाश हुने चिन्ता व्यक्त गर्दै सम्पदाहरूको पुनर्निर्माण गर्दा परम्परागत सामग्रीको मात्र प्रयोग गर्न आग्रह गरेका छन् । गत वर्षको भूकम्पबाट भत्किएका रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिर पुनर्निर्माण गर्ने क्रममा काठमाडौं महानगरपालिकाले अहिले रड, बालुवा र सिमेन्ट प्रयोग गरिरहेको छ ।

मन्दिर निर्माण गर्दा इँटा, काठ, माटोलगायतका परम्परागत सामग्रीमात्र प्रयोग गर्न तीन महिनाअघि उपत्यकावासी तथा पुरातŒवविद्हरूले गरेको आग्रह बेवास्ता गर्दै महानगरपालिकाले एकतर्फी रूपमा मन्दिर बनाउन थालेपछि भएको छ ।

आधुनिक सामग्रीको प्रयोग बन्द गरेर पुराना सामग्रीमात्र प्रयोग गरेर सम्पदाको संरक्षण गर्न आग्रह गर्दै बुधबार राजधानीमा आयोजित विरोध सभामा उपस्थितहरूले सरकारले रानीपोखरी मन्दिरको निर्माण कार्य तत्काल रोकेर परम्परागत सामग्री प्रयोग नगरे कानुनी लडाइँका लागि अदालत जाने चेतावनी दिए ।

पुराततत्व विभागका पूर्वमहानिर्देशक विष्णुराज कार्कीले पुरातात्तिव महत्व बोकेका सम्पदाको रूप बिगार्ने गरी अन्य सामग्री प्रयोग गरेर पुनर्निर्माण गरेमा त्यस्ता व्यक्तिलाई एक वर्षदेखि पाँच वर्षसम्म कैद र एक लाख रुपैयाँसम्म जरिबाना हुनसक्ने प्राचीन स्मारक ऐनमा उल्लेख गरिएको बताए ।

‘सांस्कृतिक सम्पदा भनेको हाम्रो चिनारी हो । यस्ता सम्पदा अर्को पुस्तालाई हस्तान्तरण गर्नुपर्दछ । हस्तान्तरण गर्दा यस्ता नासोलाई बिगार्ने अधिकार कसैलाई पनि छैन’, कार्कीले भने । पुरातत्वविद् प्राध्यापक सुदर्शन तिवारीले सम्पदाकै कारण काठमाडौं उपत्यकाको मौलिकता जोगिएकाले यसलाई नाश गर्न नहुने बताए ।

भवन तथा सम्पदा निर्माणमा प्रयोग गरिने पराम्परागत सामग्री आधुनिक सामग्रीको तुलनामा बलियो, भरपर्दो तथा चाहेका बेलामा परिवर्तनसमेत गर्न सकिने हुनाले हटाउन नमिल्ने उनको भनाइ छ ।

‘सिमेन्ट र रडले बनाएको भवन भत्कियो भने त्यसलाई पूर्ण रूपमा विस्थापन गरेर अर्को बनाउनुपर्दछ । तर परम्परागत सामग्रीले बनाएको संरचना भत्कियो भने पनि जुन सामग्री भत्किएको हो त्यसको सट्टामा अर्को राखेर संरचनालाई पुरानै लयमा राख्न सकिन्छ’, तिवारीले भने, ‘पश्चिमी सभ्यताको नक्कल गरेर भवन बनाउन थालियो भने विदेशी पर्यटक नेपालमा के हेर्न आउने ? ’

समपदा संरक्षण अभियानकर्मी शैलेश शाक्यले रानीपोखरी मन्दिरमात्र नभएर भूकम्पले क्षति पुर्‍याएका अन्य संरचनालाई समेत परमपरागत सामग्रीबाट पुनर्निर्माण गरिएन भने आन्दोलनमा उत्रने बताए ।

काठमाडौं महानगरपालिकाका प्रवक्ता ज्ञानेन्द्र कार्कीले मन्दिर भूकम्पबाट भत्किनुअघि प्रयोग गरिएकाजस्तै सामग्रीको अहिले पनि प्रयोग गरिएको बताए । ‘यहाँ हरेक नयाँ काम गर्न खोज्दा विरोध हुन्छ । यो विरोध पनि यसकै एउटा रूप हो’, कार्कीले भने ।

पोखरीभित्र रहेको मन्दिर २०३५ सालमा पनि भत्किएको थियो । त्यतिखेर पुनर्निर्माण गर्ने क्रममा रड र बालुवा प्रयोग गरिएकाले अहिले पनि त्यस्तै सामग्रीले बनाउन लागेको महानगरको दाबी छ ।

मल्लकालीन राजा प्रताप मल्लले बनाएको रानीपोखरी उपत्यकाको पुरानो सांस्कृतिक सम्पदा हो । प्रताप मल्लले कान्छा छोरा चक्रवर्तेन्द्र मल्लको निधनबाट शोक विह्वल भएकी रानीको चित्त बुझाउन रानीपोखरी र पोखरीको बीचमा मन्दिर बनाउन लगाएका थिए । मन्दिरमा दिदीबहिनी नभएका दाजुभाइले भाइटीकाको दिन गएर टीका लगाउने हुनाले पनि यसको विशेष महत्व छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.