भत्ता पाउने भएपछि नागरिकता
गोरखाः काशीगाउँ १ यार्साका नर्साङ गुरुङका २४ वर्षका छोरा खार्पा गुरुङ अपांग छन् । २९ वर्षीया छोरी सुकमाया पनि अपांग छिन् । सानैदेखि लेकको खर्कमा बस्दै आएका ८५ वर्षका नर्साङलाई छोराछोरीलाई गोठमा राख्न नागरिकता कहिल्यै आवश्यकता परेन । तर जब अपांग नागरिकलाई सरकारले सामाजिक सुरक्षा भत्ता दिन्छ भन्ने थाहा पाए बल्ल नागरिकताको खाँचो भयो ।
काशीगाउँ गाविस ४ की लाटीमाया गुरुङ, ३ की मनमाया घलेलाई पनि सरकारले एकल महिलालाई भत्ता दिन्छ भन्ने कुरा थाहा पाउन ६२, ६३ वर्ष पर्खनु पर्यो । नेपाली नागरिक हुनुको प्रमाणका रूपमा भन्दा पनि अहिले उनीहरू सामाजिक सुरक्षा भत्ताका लागि नागरिकता बनाउँदै छन् ।
अपांग, एकल महिला, ज्येष्ठ नागरिक मात्र होइन, सदरमुकाम जाने खर्च नभएर नागरिकता बनाउन नपाएका पनि काशीगाउँमा छन् । सरकारले गाउँनजिक घुम्ती शिविर सञ्चालन नगरेको, गाउँगाउँमा टोली गएका बेला पनि लेकको गोठमा बसेका उनीहरू वर्षौंदेखि नागरिकता पाउनबाट वञ्चित थिए ।
भत्ताका लागि नागरिकताको महत्व बुझेका गाउँका १२ जनाको डफ्फा दुई दिन लगाएर सोमबार सदरमुकाम पुगे । गाविस सचिव लालप्रसाद भट्टराई सदरमुकाममै थिए । उनले सबैको सिफारिस बनाइदिए । सोमबार र मंगलबार दुई दिन लगाएर उनीहरूले नागरिकताको प्रमाणपत्र हात पारेका छन् ।
उनीहरूलाई घरघरमा, गोठगोठमा पुगेर नागरिकताको महŒवबारे एक सामाजिक संस्थाका सामाजिक परिचालकले जानकारी गराएका थिए । उनीहरूलाई आरुघाटदेखि गोरखासम्म आउने जाने यातायात खर्च, खाजाखर्च, होटेल खर्चको व्यवस्था पनि सोही संस्थाले गरेको थियो । खर्चको बिल पेस गरेपछि रकम दिने संस्थाकी गीता देवकोटाले बताइन् ।
काशीगाउँ गाविस ४ की लाटीमाया गुरुङ र ३ की मनमाया घलेलाई सरकारले एकल महिलालाई भत्ता दिन्छ भन्ने कुरा थाहा पाउन ६२, ६३ वर्ष पर्खनु पर्याे । नेपाली नागरिक हुनुको प्रमाणका रूपमा भन्दा पनि अहिले उनीहरू सामाजिक सुरक्षा भत्ताका लागि नागरिकता बनाउँदै छन् ।
बाटो देखाउने, काम सिकाउने काम भने स्थानीय मञ्जु श्री माविका शिक्षक धनकुमार गुरुङले गरेका थिए । नागरिकता पाएपछि अब यही वर्षदेखि भत्ता पाउने भइयो भन्दै उनीहरू खुसी छन् । ‘अब सरकारले भत्ता दिन्छ’, काशीगाउँ १ यार्साका नर्साङ गुरुङ भन्छन्, ‘नुनतेल खाने खर्च हुने भयो ।’
उनीहरूलाई सदरमुकामसम्म आइपुग्न भने साह्रै सास्ती भयो । सदरमुकाम आएपछि पनि सास्ती भयो । नागरिकता बनाउन पनि सास्ती भयो । ‘बसले धन्नै मारेको’, पहिलो पटक बस चढेकी कुमारी गुरुङले भनिन्, ‘यता ढल्क्यो, उता ढल्क्यो । बसभित्र मान्छे नै मान्छे कोचाकोच ।
झरेपछि बल्ल सास राम्ररी फेर्न पाएको ।’ बजार आइपुगेपछि भने ठूल्ठूला घर, भीडभाड देखेर रमाइलो जात्रा जस्तो लागेको उनको भनाइ छ । उनीसँगै आएकी मनमाया घलेलाई भने बजार त्यति मन परेन । ठाउँ कतै पनि नचिनेर र भाषा नबुझेर कष्ट खेप्नु परेको उनको भनाइ छ । काशीगाउँको लेकमा बसेका उनलाई गोरखा बजारमा तेल गनायो । ‘यहाँ त जता पनि तेल गनाउँदो रहेछ’, उनले भनिन्, ‘तेल गनाएपछि त बान्ता हुन्छ । गाडीमा पनि चढेदेखि झर्ने बेलासम्म बान्ता गरेको ।’
नागरिकता बनाउँदा स्थानीय शिक्षक धनकुमार गुरुङले गरेको सहयोग उनीहरूले बिर्सिँदैनन् । ‘गोठबाट गाउँसम्म त नआएका मान्छे छन् । गाउँबाट बाहिर ननिस्केकालाई गाडी चढ्ने कहाँ हो, कसरी हो, झर्ने कहाँ हो, बस्ने कहाँ, सचिव खोज्ने कहाँ, नागरिकता बनाउने कहाँ, के थाहा ? ’ शिक्षक गुरुङले भने, ‘तर सरकारी कर्मचारी यसो भएन, उसो भएन भनेर दुःख दिन खोज्छन् । यस्ता गाउँलेले मतदाता नामावलीमा नाम छ कि छैन, निर्वाचन कार्यालयमा गएर कसरी हेरेर आउने ? ’ उमेर मिलेन भनेर कर्मचारीले गाउँलेलाई विभिन्न प्रश्न गरेर हैरान पार्ने गरेको पनि उनले बताए ।