स्मृतिमा मंगलादेवी सिंह

स्मृतिमा मंगलादेवी सिंह

नेपाली महिला अवसर पाउँदा आफ्नो प्रतिभा, क्षमता, कीर्तिमान र योगदान पुर्‌याउन पुरुषभन्दा पछाडि देखिन्नन् । नेपालको लोकतान्त्रिक आन्दोलनले धेरै वीरांगनाहरू जन्माएको छ । नवयुगको प्रादुर्भावको लागि धेरै महिलाले बलिदानी भावका साथ योगदान पुर्‌याएर इतिहास निर्माण गरेका छन् ।

तर नेपाली समाजले यस्ता वीरांगनाहरूको इतिहास र अभिलेख राख्न सकेको छैन । इतिहास जीवित राख्ने हो भने अब महिला समुदायको गौरवगाथा छर्लंग पार्ने ऐतिहासिक संग्रहालय र महिला प्रतिभाको कदर गर्ने राष्ट्रिय नारी प्रतिष्ठानको आवश्यकता खट्किरहेको छ । महिला सहभागिता, समावेशिता र सार्थक लोकतन्त्रको लागि पनि सरकारले आवश्यक कदम चाल्न जरुरी छ ।

नारी प्रतिभा, योगदान र कीर्तिमानलाई देशको हितमा परिचालन गर्न पनि यस्तो 'पावर हाउस' को आवश्यकता छ । कति उपयोगी हुन्थ्यो, यदि राष्ट्र एकीकरण गर्न पृथ्वीनारायण शाहलाई प्रोत्साहित गर्ने उनकी आमाको कथा र गाथा झल्काउने सामग्री तयार गर्न सके । राणाशासन र पुरुषप्रधान समाजको दबदबाविरुद्ध दबाब दिन नारी जागरणको शंघघोष गर्दै आफ्ना ६७ जना अनुयायीका साथ भोजपुरको अरुण नदीमा जलसमाधिद्वारा जीवन बलिदान चढाउने योगमायाका बारेमा चलचित्रलगायतका सामग्री प्रस्तुत गर्न सके उत्तम हुने थियो ।

नेपालमा महिलाको छुट्टै संगठन स्थापना गरी नारी शिक्षामा जोड दिने बीपी कोइरालाकी माता दिव्या कोइरालाका बारेमा जीवन इतिहास उतार्न सके सुनमा सुगन्ध हुने थियो । त्यसैगरी मंगलादेवी सिंह, साधना अधिकारी, सहाना प्रधान, शान्ता श्रेष्ठ, नेपालकी प्रथम महिलामन्त्री द्वारिकादेवी ठकुरानी, नोना कोइराला, शैलजा आचार्यजस्ता पुरानो पुस्ताका ऐतिहासिक नारीहरूका बारेमा वृत्तान्त (हु इज हु ) तयार पार्न सकिन्थ्यो ।

आधुनिक पुस्ताका नारी प्रतिभाहरूको खोजी गर्नुका साथै त्यस्ता प्रतिभाहरूको अनुसन्धान तथा संकलन गर्न राष्ट्रिय नारी प्रतिष्ठान स्थापना गर्नुपर्ने थियो, तर बन्यो मात्र राष्ट्रिय महिला आयोग । आयोग बन्नै हुँदैनथ्यो भन्ने होइन । महिला आयोग संवैधानिक अंग भए पनि अर्धन्यायिक संस्था भएन । तर अब आयोगले उपर्युक्त राष्ट्रिय आवश्यकता पूरा गर्ने बाटो लिनु जरुरी छ ।

हालसम्मका महिला संगठन प्रकारान्तरले गृहिणी संघ वा आमा समूह वा श्रीमती क्लब जस्ता मात्र भइरहेका छन् । अथवा पुरुषप्रधान सामाजिक जगमा उभिएका, पितृसत्तालाई अक्षुण्ण राख्ने हत्कण्डा वा राजनीतिक स्वार्थमा महिला वर्गलाई परिचालित गर्ने वा भोटबैंक वा संयन्त्र मात्र हुन पुगेका छन् । यिनलाई महिला वर्गको व्यक्तित्व तथा नेतृत्व विकासको थलो बनाउने कसरी, यस सवालमा सबैको ध्यान केन्द्रित हुनुपर्ने हो ।

नेपालको लोकतान्त्रिक आन्दोलनकी इतिहास निर्माता एक वीरंगना मंगलादेवी सिंहसँग पंक्तिकारले एउटा अवधिमा सँगै काम गर्ने अवसर पाएको थियो । खासगरी उहाँको आत्मसंस्मरण 'नारी संघर्षका पाइलाहरू' को पाण्डुलिपि लेखन र पुस्तक प्रकाशनको सिलसिलामा उहाँसँग दिनहुँ भेटघाट हुने गथ्र्यो । उहाँ नेपाल महिला संघको निर्विरोध सभापति हुनुहुन्थ्यो, तथापि त्यसको संरचनासँग भन्दा पनि कार्यसम्पादनप्रति सन्तुष्ट हुनु हुन्नथ्यो । महिला संघलाई उपर्युक्त आवश्यकता परिपूर्ति गर्ने ताकतको रूपमा विकास गर्नुपर्ने उहाँको ठहर थियो ।

आफ्नो संस्मरण नेपाली महिलाको लागि प्रेरणा र उत्साहको सामग्री बनोस् भन्ने उहाँको चाहना थियो । आफ्ना भोगाइ र अनुभव केवल स्वान्तसुखाय होइन, लोकतान्त्रिक आन्दोलनमा नेपाली महिला पुरुषभन्दा कुनै पनि मानेमा पछाडि छैनन्, खालि उनीहरूलाई अवसरको खाँचो हो भन्ने प्रमाणित गर्नु उहाँको इच्छा थियो । आत्मसंस्मरणलाई समकालीन नेपाली प्रजातान्त्रिक आन्दोलनको गोरेटोमा विषयकेन्द्रित भएर तयार गर्ने उहाँको चाहना थियो ।

जेजे भनिएको हो, सबै गरियो । उहाँको इच्छाअनुरूपको पुस्तक बनाउन धेरै मेहनत परेको छ । पुस्तक तयार भएको दिन खुसी हुँदै प्रतिक्रिया दिनुभयो, 'यो चाक्सीबारी (गणेशमान निवास) को पहिलो पुस्तक प्रकाशन हो, मलाई छोराछोरीजत्ति नै यो पुस्तक पनि प्यारो छ ।'

पुस्तकको भूमिका लेखनको लागि एक बिहान मैले केही प्रतिष्ठित व्यक्तित्वको नाम बताएँ, जसमा कांग्रेसका विद्वान् नेता सीके प्रसाई पनि हुनुहुन्थ्यो । उहाँले प्रसाईलाई रोज्नुभयो र तुरुन्तै ललितपुरस्थित उहाँको निवासमा गएर अनुरोध गर्नुभयो । प्रसाई उपचारको लागि पर्सिपल्ट नै नयाँदिल्ली जान लागेको र हातको कमजोरीका कारण आफूले कलम चलाउन बन्द गरेको भए पनि 'भाउजूको आग्रहलाई म यसै टार्न चाहन्न, सम्भवतः यो नै मेरो अन्तिम लेखनको रूपमा रहला' भनी भूमिका लेखेर पठाइदिनुभयो । दिल्लीबाट फर्केर झापा पुगेको केही दिनमै उहाँको निधन भयो ।

मंगलादेवी सिंह जुझारुपन र एकनासले लागिपरेकी विरलै मानिने नेपाली नारी हुनुहुन्थ्यो । त्यस्तो गौरवमय इतिहास निर्माण गर्ने नेपाली नारीहरूमा उहाँ सबैभन्दा माथि हुनुहुन्थ्यो ।

सँगै काम गर्दा उहाँमा निहित केही मौलिकता पनि देखेँ । पहिलो मौलिकता उहाँ आफ्नो नाममा ' श्रीमती' लेख्नु हुन्नथ्यो । श्रीमानका नाममा मात्र चिनिन उहाँलाई इच्छा थिएन । उहाँ यो उदाहरणले नारीहरूलाई आफ्नै पौरख र पहिचानमा चिनिन उत्प्रेरित गरिरहनुहुन्थ्यो ।

उहाँको जीवनको दोस्रो मौलिकपन, विवाह भएको चार महिना पनि बित्न नपाउँदै पति (गणेशमानजी) लाई 'गाथगादी ताकेको र सल्तनत भाँड्ने अपराधमा संलग्न भएको' अभियोगमा राणाशासकले पक्राउ गरी मरणासन्न हुने गरी यातना दिएको र मृत्युदण्ड दिने प्रायः निश्चित भएको परिस्थिति भोग्नुपर्दाको पीडा हो । यस्ता मानसिक यातना र पीडा नेपालका विरलै नारीहरूले भोग्नुपरेको होला । ती कुरा उहाँको संस्मरण 'नारी संघर्षका पाइलाहरू' मा उल्लेख छ । गणेशमानजीको विद्रोहलाई निरन्तरता दिनकै लागि उहाँ राजनीतिमा लाग्नुभयो ।

उहाँको तेस्रो मौलिकपन, आफूले ठहर गरेको कुरा सम्पन्न गर्न अन्तिम दमसम्म लागिपर्ने र सम्पन्न गरेपछि मात्र वि श्राम लिने स्वभाव थियो । जुनसुकै कुरालाई पनि आत्मविश्वास तथा दृढताका साथ प्रस्तुत गर्ने र मनमा लघुताभास कहिल्यै नपाल्ने उच्च मनोबलको विशेषता थियो । देखेको कुरा कहीँ पनि बोल्न नडराउने निर्भीक स्वभाव उहाँको जीवनका अन्तिम घडीसम्म पनि देख्न सकिन्थ्यो ।

उहाँमा नेपालका महिलाहरू कस्तो हुनुपर्छ अथवा महिला वर्गको प्रगति, मुक्ति र आत्मनिर्भरताको लागि के गर्नुपर्छ भन्ने स्पष्ट दृष्टिकोण थियो । पुरुषको आडमा चिनिने महिलाले आफ्नो मौलिक व्यक्तित्वको विकास गर्न सक्दैनन् । महिलाले पुरुषसँग एकता र सहकार्य गर्नैपर्छ, एकले अर्कोको पूरक हुनैपर्छ, आपसी विश्वास र प्रेम हुनुपर्छ तर व्यक्तित्व विकास र आत्मनिर्भरताका आधारमा मात्र यो सम्भव छ र यसका लागि हीनभावना मनबाट फालेर स्वाभिमानको विकास गर्नुपर्छ भन्ने उहाँको मान्यता थियो ।

उहाँ नारी अधिकारवादीहरूका एकोहोरो र जडसूत्रवादी मान्यताप्रति पनि सन्तुष्ट देखिनु हुन्नथ्यो । उहाँ भन्ने गर्नुहुन्थ्यो, 'महिलाले अधिकार र स्वतन्त्रता पाउनुपर्छ भन्ने आवाज उठाउनुको अर्थ गृहस्थि भाँड्ने अवस्था निम्त्याउनु होइन । कर्तव्यसँगको अधिकारमात्र फलदायी हुन्छ । कर्तव्यविनाको अधिकार अराजकतावादी हुन्छ...।' अधिकारले शक्तिशाली बनाउँछ तर कर्तव्यले नै मानिसलाई महान बनाउँछ भन्ने मान्यता थियो ।

जीवनको अन्तिम घडीसम्म नेपाली महिला वर्गको चौतर्फी विकासको लागि उहाँ समर्पित रहनुभयो । वीर अस्पतालको शड्ढयामा रहँदा पनि उहाँ महिला गतिविधिबारे ठूलो चासोका साथ सोधखोज गर्नुहुन्थ्यो । उहाँलाई मधुमेह र उच्च रक्तचापको बिरामी थियो । दुईपटक हृदयाघात पनि भइसकेको थियो । तैपनि उहाँ असाधारण इच्छाशक्तिका साथ देश भ्रमण गर्नुहुन्थ्यो । नारीमाथि अन्याय अत्याचार भएका घटनालाई आफ्नै मुद्दाका रूपमा बोकेर त्यसको निराकरणको लागि उहाँ अवि श्रान्त लागिपर्नु हुन्थ्यो ।

१९९७ सालमा गणेशमानजी पक्राउ परेर जीवनदान कि मृत्युदण्ड भन्ने प्रश्नार्थक अवस्थामा रहेको बेलादेखि राजनीतिमा क्रमशः तानिनुभएकी नवविवाहिता मंगलादेवी सिंह २००४ सालमा नेपाल महिला संघको स्थापना गरेपछि आजीवन त्यही संघमा आबद्ध भएर त्यसलाई ऊर्जा र गति दिइरहनुभयो । साथसाथै नेपालको लोकतान्त्रिक आन्दोलनका हर अभियान वा कार्यक्रममा उहाँको सहभागिता स्वाभाविक हुने गथ्र्यो । जुझारुपन र एकनासले लागिपरेको यस्ता नेपाली नारीको उदाहरण विरलै होलान् । त्यस्तो गौरवमय इतिहास निर्माण गर्ने नेपाली नारीहरूमा मंगलादेवी सिंह सबैभन्दा माथि हुनुहुन्थ्यो । भदौ १० गते २०५३ सालमा उहाँको निधन भयो । ती महान् नारीलाई हार्दिक श्रद्धासुमन !


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.