जग्गा एउटाको, लालपुर्जा अर्कैको नाममा

जग्गा एउटाको, लालपुर्जा अर्कैको नाममा

पोखराः जग्गा एउटाको र लालपुर्जा अर्कैको ? सुन्दा असम्भव झै लाग्छ । कानुनले जानेको के हो भने लालपुर्जा जसको नाममा छ जग्गा उसैको हुन्छ । लेखनाथ नगरपालिकामा पाल्पा तानसेनकी प्रेमकुमारी शाहीले किनेको जग्गाको भने लालपुर्जा अर्कैको नाममा बनेपछि उनले न्यायको याचना गरेकी छन् । उनले जग्गा किनेकी थिइन् ग्रामीण आवास कम्पनीबाट ।

कम्पनीकै पदाधिकारीको समेत संलग्नतामा शाहीको धनीपुर्जा अर्कैको नाममा बनेको छ । चल्तीको मूल्यअनुसार १ करोड रुपैयाँ पर्ने साढे ४ आना जग्गा अर्कैको नाममा पुगेपछि शाहीले न्यायका लागि गुहारेकी हुन् ।

कम्पनीले लेखनाथ नगरपालिका-२ मा जग्गा आवास विकास गरेको थियो । त्यहा पाल्पाका केशवमान बज्राचार्यले जग्गा किनेका थिए । बज्राचार्यकै जग्गा उनकी छिमेकी शाहीले किनेकी थिइन् । ‘तर कम्पनीले तुरुन्तै लालपुर्जा बनाएर दिँदो रहेनछ’, प्रेमकुमारीका छोरा राजले बिहीबार पोखरामा भने, ‘अस्थायी निस्सा दिँदो रहेछ, कम्पनीको सिफारिसका आधारमा पछि लालपुर्जा बनाउन सकिने रहेछ ।’

अस्थायी निस्सा पनि धनीपुर्जा बराबर बलियो हुने कम्पनीकै भनाइ बमोजिम लालपुर्जा नबनाएको राजले सुनाए । ‘लालपुर्जा चाहियो भनेर जाँदा कम्पनीका कर्मचारीले जहिले बनाए पनि हुन्छ, अस्थायी निस्सा पनि लालपुर्जा बराबर हुन्छ भन्ने’, राजले भने, ‘त्यसैले ढुक्क थियौं ।’

यसपालिको वैशाखमा जग्गा बेच्न खोज्दा भने कास्की मालपोतको रेकर्डमा आफूहरूको भनेको जग्गा अर्कैको नाममा देखेपछि शाही परिवार भरंग भएको थियो । शाहीका आफन्त वसन्त कुँवरका अनुसार उनीहरूको जग्गा २०६७ सालमा लेखनाथ नगरपालिका—३ का नेपालहरि रानाभाटकी पत्नी हिमादेवी रानाभाटको नाममा दर्ता भएको रहेछ ।

रानाभाटले पनि लगत्तै मानकाजी थापालाई बिक्री गरेको र उनैले उक्त जग्गामा घर बनाएर बसेको शाहीले बताइन् । ‘मानकाजीले त बकाइदा लालपुर्जा देखेपछि जग्गा किन्नुभयो’, उनले भने, ‘फट्याइँ भने रानाभाट, आवास कम्पनीका महाप्रवन्धक र मालपोतका कर्मचारीको देखियो ।’ शाहीले तीनैथरीविरुद्ध जिल्ला प्रहरी कार्यालय कास्कीमा किर्ते ठगीको जाहेरी दिइसकेकी छन् ।

शाहीले मालपोत रेकर्डबाट झिकाएका कागजातअनुसार आवास कम्पनीका महाप्रवन्धक कृष्ण चौधरीले लेटर प्याडमा गरेको सिफारिसका आधारमा मालपोतले लेखनाथ-२ को कित्ता नम्बर २२६१ को साढे ४ आना जग्गा रानाभाटको नाममा दर्ता गरिदिएको छ ।

शाहीका अनुसार मालपोतले रानाभाटको नागरिकता र फोटोसमेत नलिई जग्गा दर्ता गरिदएको छ । चौधरीले बोर्डको निर्णयअनुसार आफू कम्पनीको प्रतिनिधि तोकिएको भनी आफ्नै नाममा बनाएको सिफारिसका आधारमा मालपोत कास्कीका कर्मचारीमार्फत जग्गा रानाभाटलाई दिलाइदिएको शाहीले बताइन् ।

उनले आफ्नो जग्गा फिर्ता माग्दै मालपोतमा निवेदन दर्ता गर्न खोज्दा दर्ता नभएको गुनासो गरिन् । ‘चौधरीले गल्ती भएको स्वीकारेका छन्, रानाभाटले भने के सक्छस् गर भनेर पो धम्क्याए’, उनले भनिन् ।

उतिबेला आफूहरूले २ लाख ७० हजार रुपैयाँमा किनेको जग्गा रानाभाटले भने २०६७ मा १२ लाख रुपैयाँमा कम्पनीबाट किनेको दाबी कास्की प्रहरीसामु गरेको पनि शाहीले सुनाइन् । ‘तर मालपोतको रेकर्ड अनुसार ३ लाख रुपैयाँमा बेचिएको भनिएको छ, त्यो ९ लाखको राजस्व ठगी भएको छ र ग्रामीण आवास कम्पनीकहाँ न ३ लाख पुगेको छ न १२ लाख’, शाहीले भनिन् ।

आवास कम्पनीका अहिलेका महाप्रवन्धक दूधबहादुर गुरुङले भने जग्गाको अस्थायी निस्सा जसको हो उसैको नाममा लालपुर्जा दिन मालपोतलाई सिफारिस गरेको बताए । ‘तर पहिल्यै जग्गा बिक्री भइसकेको रहेछ’, उनले भने, ‘यसबारे प्रहरीले छानबिन गरिरहेको छ ।’ उनले जग्गाधनी शाही भएकाले उनकै नाममा सिफारिस गरेको पनि बताए ।

तर उनको सिफारिसबमोजिम हालै मालपोत पुगेकी शाहीले लालपुर्जा पाइनन् । मालपोतको रेकर्डमा जग्गा २०६७ सालमै अर्कैको नाममा पुगेको देखायो । कास्कीमा यसअघि पनि एउटाको जग्गा अर्कैले बेचिदिएका ३ घटना सार्वजनिक भएका थिए ।
हाइलाइट
यसपालिको वैशाखमा जग्गा बेच्न खोज्दा भने कास्की मालपोतको रेकर्डमा आफूहरूको भनेको जग्गा अर्कैको नाममा देखेपछि शाही परिवार भरंग भएको थियो ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.