सम्झनामा लोकगायक खेमराज गुरुङ

सम्झनामा लोकगायक खेमराज गुरुङ

काठमाडौँः पचासको दशकदेखि हालसम्म विवाह, पिकनिक या कुनै रमाइलो माहोलमा गुञ्जिन छुट्दैन, ‘वारि जमुना पारी जमुना, जमुनाको फेदैमा मनकामना’ बोलको गीत । पचासको दशकको मध्यदेखि नेपालीको ओठमा झुण्डिएको यो गीतसँगै चिनिएको नाम हो खेमराज गुरुङ । त्यही समयदेखि सुरु भयो, सबै पुस्तामा लोकगीत सुन्ने ट्रेन्ड ।

गाउँमा मात्र घन्किने लोकगीत शहरका ठूला महलमा पनि गुञ्जिन थाले । जब ‘वारि जमुना पारी जमुना’ बजारमा आयो, घाँस दाउरा, मेलापात गर्दा गाइने लोक गीत डिस्कोमा घन्किन थाल्यो । लोक गीत सुन्नेहरुको वर्ग भत्किएर सबैमाझ लोकप्रिय बन्यो यो गीत । लोकप्रिय भए गायक खेमराज । नेपाली मौलिक शब्दहरुलाई खोजी खोजी रेकर्ड गरे ।

संखुवासभाको खाँदबारीमा जन्मिएका खेम रत्नराज्य क्याम्पसमा विद्यार्थी राजनीति गर्दै संगीतमा प्रवेश गरे । ‘वारी जमुना पारी जमुना’ गाएरै संसार घुमे । यस गीतको क्यासेट नेपाली संगीतमा अत्यधिक बिक्री हुनेमध्ये प¥यो । गीतबाटै चर्चित भएर बीबीसीमा अन्तर्वार्ता दिने पहिलो गायक उनी नै बने । नेपाली लोक गीतलाई शिखरमा पुर्‍याएका खेम संगीत स्मृतिहरू वारी नै छोडेर बिहीबार साँझ संसारपारी पुगे । चाबहिल स्थित मेडिकेयर अस्पतालमा उनको निधन भयो ।

उनका निकट मित्र हाँस्यकलाकार मनोज गजुरेल गुरुङको निधनको समाचारले एकैछिन स्तब्ध भए । गाइजात्रा कार्यक्रममा व्यस्त मनोजलाई पहिलो समाचार अन्नपूर्णपोष्टबाटै पुग्यो । फोनमा अरू शब्द केही फुटेन, ‘हो र ? भेरी ब्याड ।’

केहि समय पछि पुनः फोनमा कुराकानी भयो । खेमको चर्चाको शिखरमा रहेको बेलाको एउटा स्मृति गजुरेलको मनमा गडेको रहेछ । पोखरामा पूर्वेली समाजले आयोजना गरेको साँस्कृतिक कार्यक्रममा खेम संयोजक थिए । कार्यक्रम सकेर करिब २० जना कलाकार काठमाडौंका लागि हिँडे । रातीको १० बजे तिर मुग्लिङ आइपुगेपछि त्यहि रमाइलो गरेर बस्ने कुरा भयो ।

रसिक र ठट्यौला स्वभावका खेमले त्यतिबेला कार्यक्रममा राम्रै पारि श्रमिक पाउँथे । रातभरी रमाइलो गरेर सबै पारि श्रमिक त्यहिँ सिध्याए । मनोजले सम्झाएका थिए, ‘हाम्रो पेशा यही हो, यसरी सबैको खर्च आफैँले व्यहोरेर सिध्याएर परिवार कसरी चलाउने ? ’ यसमा खेमको जवाफ यस्तो थियो, ‘मन सफा र शुद्ध हुनुपर्छ, पैसाको पछि लाग्यौँ भने कहिल्यै त्यसलाई भेट्दैनौँ, तर कर्म गर्‍यौँ भने पैसा आफैं हाम्रो पछि लाग्दै आउँछ ।’

खेमको वाणी मनोजले कहिल्यै भुल्न सकेनन् । भन्छन्, ‘खेमको जीवन बिताउने सैद्धान्तिक आधार हेर्दा यति चाँडो संसार छोड्नुहुन्छ जस्तो लागेको थिएन ।’
नेकपा एमालेका सचिव योगेश भट्टराइसँगै विद्यार्थी राजनीति गरेका खेम कार्यक्रमहरुमा गीत गाउँदै हिँड्थे । कला र राजनिति दुवैमा पोख्त खेमले धेरै राजनितिकर्मी र संगीतकर्मी जन्माएका छन् । विस वर्ष अगाडि रत्नराज्य क्याम्पसमा आइपुग्दा खेमले राजनितिमा डोर्‍याएका विद्यार्थी नेता हुन्, राजकुमार राई । अहिले रत्नराज्य क्याम्पसका स्वतन्त्र विद्यार्थी युनियनका सभापति राईले संगठनप्रति प्रतिबद्ध हुने कला खेमबाटै सिके । भन्छन्, ‘राजनिति गर्ने प्रेरणाको स्रोत नै खेम दाइ हो, उहाँले नै राजनिति बुझाउनुभयो ।’

पुर्वेली भएकाले यी दुईको निकटता बढेको हो । खेमले गाएका जनवादी गीत पनि राजकुमारलाई साह्रै मन पथ्र्यो । ‘धेरैले वारी जमुना पारी जमुना मन पराए’ राई भन्छन्, ‘मलाई चाहि ‘भारी बोक्ने भरियालाई कसले भन्छ कठै बरिलै, मंसिरैमा लाग्यो अनिकाल’ गीत एकदम मन पर्छ ।’

उनकै प्रेरणाले अघि बढेका गायक हुन्, भिम लिम्बु । १३ वर्ष अगाडि पहिलोपटक खेमको अगाडि गीत गाउँदा पाएको प्रेरणाले संगीतमा टिकिरहन सकेका छन् उनी । सम्झन्छन्, ‘उहाँको अगाडी गीत गाउन स्टेजमा जानै डर लागेको थियो, तर पछि उहाँको साथले धेरै हौसला पाएँ ।’ त्यतिबेला देखि गाँसिएको यी दाजुभाइको सम्बन्ध असाध्यै राम्रो भयो । खेम भिमका आदर्श व्यक्ति बने ।

खेमकै प्रेरणामा हुर्किएका अर्का कलाकार हुन्, कमलीकान्त भेटुवाल । पुर्वेली भाखालाई प्रवद्र्धन गर्ने विषयमा यी दुइको कुरा खुब मिल्थ्यो । खेमको तर्क दिएर कुरा गर्ने बानीबाट उनी निकै प्रभावित छन् । खेमको मृत शरिरलाई बिहीबारै शिक्षण अस्पताल लगिएको छ । खेमका जीवन, जीवन भाग २, अनमोल, धरान पोखरा, सोल्टी, आलुतामा लगायतका एल्बमहरु छन् । उनका १३ र ७ वर्षीय दुई छोरा र श्रीमती छन् ।

हङकङमा बस्दै आएकी श्रीमती गुरुङ बिरामी भएपछि नेपाल आएकी हुन् । आमा र तीन दिदीबहिनी विदेशमै रहेकाले आफन्त आएपछि मात्रै गुरुङको अन्तिम संस्कार गरिने माइला ज्वाइँ जुद्धबिर गुरुङले बताए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.