विभत्स तस्बिर नछाप्न प्रेस काउन्सिलको आग्रह
काठमाडौँ: प्रेस काउन्सिल नेपालले त्रिशुली बस दुर्घटनामा मृत्यु भएका यात्रुको विभत्स तस्बिर छापिएकोप्रति ध्यानाकर्षण भएको बताएको छ ।
शुक्रबार दिउँसो विज्ञप्ति सार्वजनिक गर्दै काउन्सिलका अध्यक्ष बोर्डबहादुर कार्कीले दुर्घटनाका विभत्स तस्बिरले समाजमा नैरश्यता र सन्त्रास फैलिने भएकाले त्यस्ता तस्बिर नछाप्न ध्यानाकर्षण गराएका हुन् ।
विज्ञप्तिमा विभत्स तस्बिरले पत्रकार आचारसंहिता २०६० (संशोधन–२०६४) को दफा ४ (९) को उल्लंघन हुने भएकाले त्यसो नगर्न सबै सञ्चार माध्ययमलाई आग्रह गरिएको छ ।
‘यही २०७३ भाद्र १० गते त्रिशुलीमा भएको बस दुर्घटनासम्बन्धी समाचारमा मृत्यु भएका मानिसका विभत्स तस्बिर मिडियामा सप्रेषण भएको पाइएको छ,’ अध्यक्ष कार्कीले हस्ताक्षर गरेको विज्ञिप्तिमा भनिएको छ, ‘त्यस्ता विभत्स तस्बिर सम्प्रेषण हुँदा समाजमा नैराश्यता र सन्त्रास फैलिनुका साथै पत्रकार आचारसंहिता २०६० (संशोधन–२०६४) को दफा ४ (९) को उल्लंघन हुने भएकाले त्यसो नगर्न सबै सञ्चार माध्ययमलाई प्रेस काउन्सिल नेपाल ध्यानाकर्षण गराउँदछ ।’